बीपीलाई प्रत्यक्ष नदेखे पनि उहाँकै कृतिबाट धेरै हदसम्म बुझेको थिएँ! हाम्रो परिवार राजनीति सँगसँगै साहित्य प्रधान समेत थियो! दीर्घबाहुका जासुसी उपन्यास देखि प्रकाश कोविदका रोमाञ्टिक उपन्याससम्म उपलब्ध हुन्थे घरकै पुस्तकालयमा! गुलसन नन्दाका उपन्यास किन्न सिलिगुडीसम्म धाउने काका बाउ भएको परिवारमा बीपीका कृति नहुने कुरै थिएन! बीपीका प्रायः सबै किताब पढिसक्दा पनि उहाँ मेरा लागि अन्धाले हात्ती छामेझैं हुनुहुन्थ्यो! अन्दाज मात्रै! किताब सबै पढे तापनि कुनैकुनै त बुझ्नै कठिन! सुम्निमा दोहोर्याएर पढ्दा समेत नबुझे पछि दाजुले बुझाई दिनु भएको थियो!
बीपीको साहित्यिक प्रभावबाट सिर्जित उहाँ प्रतिको धारणा ‘देश बेच्ने बीपी’ को पञ्चायती प्रचारले कन्फ्युजनमा पार्दिएको थियो भने अर्को तर्फ ‘बच्चा बेच्ने पञ्जावी’ को डरलाग्दो रुपबाट कन्फ्युजनको पारो उचाइमा पुग्थ्यो! तत्कालीन ईन्स्पेक्टर अफिसमा बच्चा बेच्ने आरोपमा समातिएको पञ्जावीलाई नजिकैबाट देख्दा उसको डरलाग्दो रुपबाट त्रसित मेरो बाल मष्तिष्कमा एउटै कुरो खेल्थ्यो– बच्चा बेच्ने त यति डरलाग्दो हुन्छ भने पञ्चायती प्रचार अनुसारको देश बेच्ने बीपी कति डरलाग्दो होलान्?
यहि जिज्ञासा दाजु समक्ष राखें! दाजुले मुस्कुराउँदै उल्टै प्रश्न गर्नु भो– कसले भन्यो तँलाई? बीपी देश बेच्ने हुन् भनेर!
बजारका भित्ताभरी पञ्चले त्यसै भन्दै पोष्टर टाँसेका छन् त! मेरो जवाफ पछि दाजु बोल्नु भो– पर्सि बिराटनगर हिँड्! वीपी आउँदै हुनुहुन्छ! वीपी देख्छस्! उहाँको संकेत जनमत संग्रह घोषणा पश्चातको वीपीले सम्बोधन गर्ने किसान र्यालि तर्फ थियो! अम्बिका काका (रिजाल) को ट्रक चढेर लागियो बिराटनगर! जनमत संग्रह ताका उहाँको ट्रक तेल हाल्दिने सर्तमा झापा मात्र हैन पुरै मेची कोशी घुमायो बहुदल प्रचार समितिले! बहुदल आईवरी दलदल भैसक्दा समेत त्यो तेलको भुक्तानी काकाले पाउनु भएको छैन! सायद त्यै ट्रक बेचेर तेलको पैसा तिर्नु भो होला! रिजाल कि गाडी! काङ्ग्रेस कि हि हि...! त्यसबेलाका बहुदलेले समेत बिर्सिसकेको कथा अहिले समानुपादिक (समानुपातिक हैन है!) सिफारिशमा पर्नेलाई थाहा हुने कुरै भएन! उहाँ सिफारिश भन्दा निकै पर हुनुहुन्छ! जतिबेला पनि घरमै बरण्डामा उपलब्ध हुनुहुन्छ!
बिराटनगर पुगियो! र्यालि सुरु भो! घोक्रो फुलाएर चिच्याईयो– ‘बहुदल ल्याउँ! देश बचाउँ’ उहिले हामीले चिच्याएको ‘देश बचाउँ’ चिच्याहटलाई अहिले हाम्रा नेताले ‘देश बेचाउँ’ बुझ्लान् भन्ने ब्रम्हज्ञान प्राप्त भएको भए किन पो चिच्याईन्थ्यो र? त्यस र्यालीमा रिक्साको पछाडि झुण्डेर सर्ट पाईन्टका साथ लामो कपालमा सजिएको खलपत्रे गोरो पातलो युवकको चिच्याहटले सबैको ध्यान तानेको थियो! निकैबेर पछि मात्र थाहा भो! हामीले युवक ठानेको उनी नेबिसंघ नेतृ कविता भट्टराई पो रैछिन्!
रंगशाला पुगियो! दाजुले ‘यसलाई नछोड्नु है, यो वीपी हेर्न आएको मण्डले हो’ भन्दै जेपी आनन्दको जिम्मा लाएर भिडमा हराउनु भो! जेपी दाईले मेरो छातीमा ‘स्वयं सेवक’ टाँसिदिए! गजगज हिलाम्मे मैदानमा जेपी दाइसँगै टाँस्सिएर ‘स्वयं सेवक’ भैटोपल्दा समेत मेरो ध्यान छातीको बिल्लामा भन्दा वीपीको दर्शनमा थियो!
देश बेच्ने कस्ता होलान् त? दिमागमा बच्चा बेच्ने कुरुप पञ्जाबीको कुरुप अनुहारसँग वीपीको तुलना चलिरहेको बेला मंचमा मान्छेको हुल उक्लियो! मैदान चिच्यायो– ‘वीर विश्वेश्वर जिन्दावाद!’ मैले जेपी दाईलाई कोट्याएँ– ‘दाई, वीपी चैं कुन हो त?’ उहाँले भन्नुभयो– ‘उ त्यो, हात जोडेर उभिएको अग्लो मान्छे नै वीपी हो!’
सेतो दौरासुरुवालमा कालो कोट अनि भादगाउँले टोपीमा सजिएर हात जोडेर विनम्रतापूर्वक उभिएको ब्यक्ति वीपी भन्ने थाहा पाएपछि मेरो मन मस्तिष्क सबै हुँडलियो! हिले मैदानमै टुक्रुक्क बसें म! हैट, यस्तो मान्छे पनि देश बेच्ने हुन्छ? साँच्चै भनेको– पञ्चायती कुप्रचारलाई मनमनै बिहारी गाली दिएँ मैले!
यसैबीच माईकबाट मधुरो आवाज सुनियो– ‘जय नेपाल, मेरो आवाज सुनिन्छ? ‘सुनिन्छ’ भन्ने आवाजले रंगशाला उचालियो! उपस्थित सबैको आवाज यति चर्को थियो कि हरेकको चाहना आफ्नो आवाज वीपी समक्ष पुगोस् भन्ने थियो! म पनि उग्रता साथ चिच्याएँ– सुनिन्छ! दङ्ग परें! यस्तो भ्रम भो कि वीपीले मेरो मात्र आवाज सुन्नु भो!
छट्पटी सँगसँगै आफ्नो पूर्व धारणाप्रति ग्लानी समेत भो! भिड छिचोल्दै अगाडि पुगें! वीपीलाई नजिकैबाट हेर्ने ईच्छापूर्तिका लागि मञ्च नजिक पुग्न केहीबेर अघि जेपी दाईले भिराई दिएको ‘स्वयं सेवक’ले ठूलो सहयोग गर्याे! मञ्च नजिक पुग्दा संसार जितेको भान सँगै आफू वीपीसँगै भएझैं महसुश भो! त्यसबेलाको रोमाञ्चकताको अहिले शब्दमा बर्णन सम्भव छैन!
सीके प्रसाईंसँग पहिले नै परिचीत भए तापनि उहाँको भाषण सुन्ने अवसर भनें त्यहीँ जुरेको हो! ‘पञ्चायतको नारा छ– पञ्चै हो, यो देश बनाई देउ! यो देश बनाउन पञ्च मात्रले सम्भव छैन! हामी काङ्ग्रेसले मात्र पनि सम्भव छैन! देश बनाउन पञ्च र काङ्ग्रेस मिलेर जानुपर्छ’ भन्दै मेलमिलाप नीतिको ब्याख्या सुनाउनु भएको थियो! करिब एक घन्टा बोलिसके पछि भरत बाबुले भन्नुभो– ‘दाजुभाइ तथा दिदीबहिनीहरु! अब म यहाँहरु समक्ष दुई शब्दमा राख्छु! सँगै रहनु भएको शैलेश आचार्यले कसैलाई कोट्याउँदै बोल्नु भो– ‘घडी हेर, अब भरत बाबुले ठ्याक्कै एक घन्टा बोल्नुहुन्छ! नभन्दै त्यस्तै भो! एक घन्टा बोलेर बिदा लिनु भो! मैले मात्र हैन सबैले महसुश गरेको कुरो– भरत बाबुले अगाडि बोलेका कुरा पछाडि दोहोरिन्थेन अनि जतिसुकै लामो बोलेपनि श्रोतामा अल्छिपनको हमलाको चान्स थिएन!
अरु कसकसले के बोले याद भएन! सायद बद्री बस्नेत मोरङ काङ्ग्रेस सभापति हुनुहुन्थ्यो! उहाँकै सभापतित्वमा समारोह भएको जस्तो लाग्छ! वीपीको पालो आयो! उहाँको सुरु शब्द ‘जय नेपाल’ लाई सम्पूर्ण मैदानले साथ दिँदा म छुट्ने कुरै थिएन! त्यसबेला मैदानमा वीपी पछिको उप वीपी थिएँ म! वीपीको कानमै पुग्नेगरी चिच्याएँ! वीपीले के बोल्नु भो? मेरो ध्यान त्यता थिएन! अर्जुनको ध्यान माछाको आँखामा भएझैं मेरो नजर वीपीको मुहारमा मात्र केन्द्रित! अनि तुलना चैं बच्चा बेच्ने पञ्जाबीको कुरुप अनुहार र देश बेच्ने वीपीको सालिन ब्यक्तित्वबीच! पञ्चायती कुप्रचारप्रति दिक्क त छँदैथियो!
समापन पछि कोईराला निवासमा भेटघाटको क्रम चल्यो! झापाली टोली परिचय गराउनेमा वीपी नजिकै भरत बाबु र शिवु दाजु –शिव भूर्तेल) हुनुहुन्थ्यो! वीपी अगाडि पुगेर ‘जय नेपाल’ भन्दै अगाडि बढ्दै गर्दा भूर्तेलको हुल देखेर वीपीले ‘ओहो, झापामा त भूर्तेल निकै रैछौ त’ भनेर शिवु दाइतिर फर्केर उहाँले छोडेको मुस्कान अनि संजोगले मेरो पिठ्युँमा परेको ढ्यापले मलाई त्यसबेला उप वीपी भएको भान भएको थियो! भूर्तेल टोलीमा जेष्ठ गोपाल भूर्तेल र कनिष्ठमा जुगल भूर्तेल समेत गरि २७ जना रैछौं!
पञ्चको कुप्रचार बिपरित वीपीको ब्यक्तित्वबाट प्रभावित मैले सम्भवतः झापा, मोरङ्ग र सुनसरीसम्मका वीपीका कार्यक्रम छुटाईन! ०३८ सालमा भरत बाबुको घर कम्पाउण्डको सुशील बिश्व निकेतनबाट निस्केका वीपी वाणी अहिलेसम्म मन मष्तिस्कमा जीवितै छ! त्यो नै मेरा लागि वीपीसँगको अन्तिम दर्शन हुनपुग्यो! बिराटनगरमा दाजुले सुनाउनु भो– सान्दाजु अन्तिम अवस्थामा हुनुहुन्छ! काठमाडांै फर्कार्इंदैछ! हामी काठमाडौं जाँदैछांै! बिराटनगरको टोली राजधानी लाग्यो! म भद्रपुर लागें! वीपीबारे बताउँदै दाजु उता जानु भएको सुनाउँदै गर्दा मुमाले– अनि, तँ चैं किन नगएको त तिमेर्को नेता भेट्न? भन्दा पो आफ्नो उल्टो बाटोप्रति पश्चाताप महसुश भो! मुमाले वीपीलाई ‘तिमेर्को नेता’ भन्नुहुन्थ्यो! तिमेरु हुरुक्क भएर कुद्ने नेता कस्ता रैछन्? म पनि हेर्न जान्छु भन्दै बिर्तामोड पुगेर वीपी भेटेर फर्किनु भएको थियो!
बेलुकी लाला गौतमको घरमा भेला भएर बीबीसी सुन्दै गर्दा समाचार बीचमै रोकेर बीपीको निधनको खवर प्रशारण गरेपछी काठमाडौं नगएकोमा अझ पछुतो भो! आफ्नै कारण आफ्नो प्रिय नेताको अन्तिम यात्रामा सरिक हुन नपाएको गुनासो यथावत् छ! सँगसँगै उसबेला उत्साहित भएर चिच्याएको ‘जय नेपाल’ अहिले सिथिल भएर ‘हाय नेपाल’ भन्नुपर्ने अवस्था आउँदा अर्को राष्ट्रिय पीडा थपिएको छ!
यस बर्षको बीपीको पुण्य तिथिको अवसरमा सडेका काङ्ग्रेसलाई वीपी बिचार अनुशरण गर्ने सद्बुद्धि प्राप्त होस्!
अनि लडेका काङ्ग्रेसलाई वीपी विचारमा अडिग रहने शक्ति प्राप्त होस्!
भावपूर्ण श्रद्धाञ्जली, श्रद्धेय नेता प्रति!!
प्रतिक्रिया