कतारी राजकुमारीलाई मनपरेको ‘हिमाली शेफ’

५० केजीको भारी उठाउन बरु सहज होला तर गरिबीको भारी उठाउन निकै गाह्रो हुन्छ। उनले चिसो हिमालका खोचमा भारी बोक्दा कहिल्यै गह्रुङ्गो भयो भनेर काम छोडेनन्। न असजिलो भयो भनेर अन्यत्रै लागे। 

उनी हुन्, चन्द्र बहादुर तामाङ। जसले नेपाललगायत बिश्वको प्राय: सबै उच्च हिमालको शिखर आफ्नो खुट्टाको पैतलाले नापिसके। ३६ वर्षका यी युवाले जीवनका सवै रङ्ग छोटो समयमै अनुभव गरिसकेका छन्। उनको जन्म ओखलढुंगास्थित चिसखुगढी गापा–७ मा भएको थियो। 

बुबा बीरवल र आमा आइतीमालाको कोखबाट गरिब परिवारमा जन्मिएका उनले जसोतसो गाउँकै स्कुलबाट कक्षा–८ सम्मको अध्ययन पुरा गरे। आर्थिक अभावका कारण उनले बीचैमा पढाइ छोड्नु पर्‍यो पनि। गरिबीकै कारण  गाउँका अग्रजसँग कामको खोजीमा उनले भौतारिनु पर्‍यो। 
 
सन् २००० देखि उनी ट्रेकिङ पेशामा संलग्न भए। सेभेन समिट कम्पनीमा खटिए। बेसक्याम्पसम्म भारी बोक्दाबोक्दै उनले बिदेशीका लागि खाना पकाउने कामसमेत सिके। यसले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो। 

chandra tamang1

सफलताको एक मात्र सुत्र भनेको– इमानदारिता तथा लगनशीलता हो। यसले मानिसलाई सफल बनाउँछ। यहि सुत्रलाई गुरुमन्त्र बनाएका चन्द्र बहादुर अहिले हिमाल आरोहण गर्ने आरोहीका लागि उत्कृष्ट शेफ मानिन्छन्। दु:खलाई सहज रुपमा लिने मानिसले नै संसार जित्न सक्छ भने जस्तै चन्द्र यतिबेला कुशल शेफका साथै हिमाल आरोहीलाई ब्यवस्थापन गर्न खप्पिस् मानिन्छन्। 

सन् २०१९ मा उनले सेभेन समिट छोडेपछि ६ महिना भित्रै बिश्वका ८००० मिटरभन्दा अग्ला शिखर चढेर कीर्तिमान कायम गरेका निर्मल पुर्जाको कम्पनी ‘इलाइट एक्सपेडिसन’ सँग जोडिएका छन्। उनीसँग ६००० मिटरभन्दा अग्ला दुईवटा हिमाल आइस ल्याण्ड र मेरोपिक चढेको अनुभव पनि छ।

हिमाल चढ्ने क्रममा दुई पटक बिरामी परेपछि उनलाई हेलिकोप्टरबाट उद्दार गर्नुपरेको थियो। २०१६ मा मकालु हिमाल चढ्ने क्रममा उनलाई चिसोको कारण निमोनिया भयो। यति बेला तुरुन्त उद्दार गरेका कारण बाच्न सफल भए। 

‘धन्न त्यति बेला बाँचियो र अहिले काममा निरन्तर छु,’ उनी भन्छन्। डेरामा श्रीमती र दुई बालबच्चा छन्। उता गाउँमा आमाबुबा सबैलाई भेटेर सहज माहोल बनाउँछन्। 

chandra tamang2

यस पल्ट पनि वसन्त ऋतुमा एभरेष्टको बेसक्याम्पमा मुटुको समस्या भएपछि पुन: उनको उद्दार गर्‍नु परेको थियो। भन्छन्, ‘साथीभाइ र आफ्नो काम गर्ने थलो नै हिमाल हो। त्यसैले मेरो समय हिमालको फेदमै बित्छ।’

जीवनमा एउटा घटनाले उनलाई साह्रै घोच्दो रहेछ। सन् २०१६ मा मनास्लुको क्याम्प–२ र क्याम्प–३ को बीचमा हिमपहिरो आउँदा १३ जना आरोहीको ज्यान गएको थियो। ‘बिहान गफ गरेको शेर्पा थरका एक जना मिल्ने साथीको मृत्यु भयो। १२ जना बिदेशी आरोहीले ज्यान गुमाए,’ उनी सम्झन्छन्,’अर्को दिन हेलीमा सबैको लास आँखाले देख्दा नमज्जा लाग्यो।’

हाल मनास्लुको बेसक्यामपमा पर्वतारोहीको ब्यवस्थापनमा ब्यस्त उनी हिमाल आरोहण गर्न नेपाल आउने बिदेशीलगायत स्वदेशीको लागि काठमाडौ हुँदै हिमालको बेसक्याम्पसम्म खाना र बस्ने बन्दोबस्त मिलाइरहेका छन्। 

हिमाल चढ्नेलाई चाहिने आवश्यक स्वस्थवर्द्धक खाना र चिसोबाट जोगाउन आवश्यक बन्दोबस्तीको ब्यवस्थापकको रुपमा कम्पनीले पनि उनलाई चिन्ने गर्छन्। 

chandra tamang3

उनी अहिले मनास्लु हिमाल आरोहण गर्ने समुहको ब्यवथापनका लागि सामागाउँको हेलिप्याडमा बिहानदेखि बेलुकासम्म हातमा कड्लेस लिएर घरि बेसीतिर त घरि बेस क्याम्पमा भएका साथीहरुलाई सम्झाउँदै हिँडेको भेटिन्छन्। 

‘कम्पनीले दिएको जिम्मेवारी बहन गर्नु मेरो दायित्व हो। त्यसैले कहिले काहीँ खाना खानेसमेत फुर्सद हुँदैन’, चन्द्र भन्छन्।  चिसो ठाउँमा पैसा तिरेर नेपालका अग्ला हिमाल चढ्न आएका बिदेशीको चित बुझाउन सकियो भने बिदेशमा समेत नेपाली पर्यटनको बारेमा सकारात्मक सन्देश फैलिने उनको तर्क छ। उनी हिमालको निरन्तर खटाइले आत्मबिश्वास चुलिएको बताउँछन्।
 
चन्द्रसँग मीठा र ताजा सम्झना पनि छन्। अन्तर्राष्ट्रिय ब्यक्तिवसँग हिमालमा सहकार्य गर्दा सबै दु:ख भुलिदिन्छन्। 

बहराइनका राजकुमार हिमाल चढ्न आउँदा प्राय: समय उनीसँगै बिताउने गर्थे। राजकुमारले हिमाल आरोहण गरेपछि उनलाई हृदयबाटै धन्यवाद दिए। ‘उहाँ अलि कम बोल्नु हुन्थ्यो। यो क्षेत्रमा काम गर्दा विभिन्न खाले मान्छे भेटिन्छन्।’

उनलाइ सबैभन्दा खुल्ला स्वभाव भएको मान्छे कतारकी राजकुमारी लाग्यो। बिश्वका १४ ठूला हिमाल चढ्ने क्रममा कतारी  राजकुमारीको ब्यवस्थापनका साथै खाना बनाउने शेफको काम पनि उनैले गरेका थिए। ‘आफू सुँगुर नखाने कारणले गर्दा होला उहाँले धेरै नै बिश्वास गर्नुभयो’, उनी भन्छन्। 

chandra tamang4

पाकिस्तानको केटु हिमालदेखि एभरेष्ट, मनास्लु आदि सबै हिमाल चढ्दा कतारी राजकुमारीको टिममा उनी पनि सहभागी थिए। ‘केहि समय पश्चात् कतारमा बिश्व कप फुटबल हुँदैछ। त्यसैले राजकुमारी आफ्नो देश फर्किनु भयो। उहाँ विश्व कप आयोजक समितिको ब्यवस्थापनमा हुनुहुन्छ,’ उनले भने, ’राजकुमारीले अझैं दुई वटा हिमाल चढ्न बाँकी छ। सायद विश्व कप सकिएपछि आउनुहुन्छ होला।’ 

राजकुमारीले विश्व कप हेर्न आफूलाई पनि निमन्त्रणा गरेको उनी बताउँछन्। ‘तर म जान सक्दिन्। किनभने त्यो बेला गाउँ फर्केर बुबाआमा भेट्नु पर्नेछ।’

बिगत १५ वर्षदेखि परिवारसँग बसेर दशै–तिहार मनाउन नपाएका उनी यसपालि समय मिलाउने प्रयासमा छन्। ‘सबै जना घरमा टिका लाउदा म हिमालको क्याम्पमा आरोहीको ब्यवस्थापनमा खटिएको हुन्छु। त्यतिखेर आमाबुबाको चित दुख्नु  स्वभाविक हो। त्यसैले दशै–तिहारपछि गाउँ फर्किएकै हुन्छु,’ उनी भन्छन्। 

ट्रेकिङ क्षेत्रमा काम गर्न निकै कठिन हुने गरेको उनको अनुभव छ। तर धैर्यताका साथ पाहुनासँग सहकार्य गर्ने हो भने कर्तब्य पूरा गर्न सकिने उनको भनाई छ।
 
यो पेशामा आबद्ध चन्द्र हिमालबाटै कमाएको पैसाले काठमाडौंमा जमिन जोड्न सकेको बताउँछन्। दु:ख–सुख जीवनको पाटो हो। सकिन्जेल इमान्दारीपूर्वक आरोहीको सेवा गर्ने उनको योजना छ। भन्छन्, ‘हिमाल जस्तै स्वाभिमानी भएर उभिने इच्छा छ।’ 

प्रतिक्रिया