काठमाडौं। माओवादीले सञ्चालन गरेको सशस्त्र हिंसात्मक गतिविधिका सर्बोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ किन आफूलाई एक्लो ठान्न थालेका छन्? शहरमा यस प्रश्नको चर्चा छ। दुइ दुइ पटक प्रधानमन्त्री भैसकेका छन् प्रचण्ड। वर्तमान सरकारको रोडम्याम बनाउने गर्छन् प्रचण्ड र कार्यान्वयन गर्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। यसअर्थमा सरकार पनि छ प्रचण्डसँग, राजकाजमा उनकै हालीमुहाली छ भन्दा अत्युक्ति हुँदैन। यतिमात्र होइन, आगामी निर्वाचनको क्षेत्र बाँडफाँडमा पनि उनकै दवदवा छ भनिन्छ। अनि किन एक्ला भए त प्रचण्ड? के कारण हो जसले सर्वशक्तिमान प्रचण्डलाई रातारात एक्लो महसुश गर्न वाध्य पार्यो?
शहरका शक्ति केन्द्रहरुमा यो प्रश्नले प्रमुखता पाएको देखिन्छ।
अचानक भनिदिए प्रचण्डले– ‘लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुश हुन थालेको छ।’ हुन त हो उनले आफ्नो उत्तराधिकारी गुमाए। पत्नी ओछ्यान परेकी छन्। शोक र चिन्ताले कहिले पनि छोडेको छैन प्रचण्डलाई। आखिर उनी पनि त मानिस नै हुन्, जतिसुकै कठोर बाटोबाट राजनीतिको यात्रा तय गरेका भएपनि प्रचण्ड वास्तवमा कोमल ह्रदय भएका नेता हुन्। त्यसैले उनी जतिसुकै गोप्य कुरा भएपनि कतै न कतैबाट त्यसको सुँइको दिईहाल्छन्, जसले राजनीतिमा हलचल उत्पन्न गरिहाल्छ। कतिपयले त यसो भन्छन्, प्रचण्डको रुद्रघण्टी नै छैन, उनी गोप्य भनिएको कुरालाई सकेसम्म छिटो चुहाउन हतारिन्छन्।
प्रचण्डले मंगलबार काठमाडौंमा आफ्नै कार्यकर्ताको पुस्तक लोकार्पण गर्ने क्रममा भनिदिए– ‘मलाई पनि एक्लो महसुस भएको छ।’ अझ उनले थपे– ‘जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महसुश हुन थालेको छ।’
प्रचण्डले ‘जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौँ?’ भन्ने अनुभूति हुन थालेको समेत बताए। यो उनको मनको गहिराईबाट उठेको आवाज जस्तो लाग्छ। यस्तो अनुभूति भएकै हो भने प्रचण्डले राजनीतिलाई सही मार्गमा उभ्याएर गतिदिन पनि सक्छन्। यस्तो मौका छ उनका सामु।
काठमाडौं महानगरमा नयाँ नेतृत्व आएपछि जेजस्ता चर्चित काम हुन थालेका छन्, यस्तो काम त माओवादी नेतृत्वको सरकारले पो गर्नुपथ्र्यो भन्नेहरु पनि छन्। माओवादीका दुइ दुइ जना नेता प्रधानमन्त्री भए तर उनीहरुले कुनैपनि उल्लेख्य काम गरेको रेकर्ड छोड्न सकेनन्। आमुल परिवर्तनका लागि ‘जनयुध्द’ हाँकेको दलले अन्तत आफैंलाई पनि सुरक्षित राख्न सकेन। प्रमुख नेताहरु नै छरपष्ट भैसकेका छन्। प्रचण्ड पनि अब आफूलाई एक्लो ठान्ने अवस्थामा पुगिसकेका छन्। उनीभित्र पलाएको यो भयको खास कारण हुनुपर्छ। होइन भने निर्वाचनको मुखमा आएर प्रचण्डले किन यस्तो मानसिक दूर्बलता प्रकट गरे त भन्ने चर्चा पनि सुरुभएको छ।
भर्खरै चीनका सभामुख काठमाडौं भ्रमण सकेर स्वदेश फर्किए। उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र अध्यक्षसँग भेटे। वामपन्थी दलका नेतालाई पनि भेट्न छुटाएनन्। उनको यो भ्रमणको कुनै औपचारिक एजेण्डा देखिएन। यो राजनीतिक उदेश्यको भ्रमण रहेको बताईएको छ। एमसीसी परियोजना अनुमोदन भएपछि चीन नेपालमा आफ्नो उपस्थितिलाई लिएर निकै चिन्तित रहेको कुटनीतिक समुदायमा चर्चा छ। यो परियोजना कार्यान्वयन सुरु भएपछि नेपालमा शक्ति राष्ट्र अमेरिकाको प्रभाव थप मजबूत हुँदैजाने चीनको बुझाई छ। नेपालका वामपन्थी दलहरुलाई निर्वाचनअघि नै फेरि पनि एक गराउन सकिएमा आगामी निर्वाचनमा उनीहरुको उपस्थिति बलियो हुने र त्यसो भएमा नीति निर्माणमा उनीहरुकै निर्णायक भूमिका रहने विश्लेषण गरेर चीनले वामपन्थी एकताको प्रयाश गरेको जानकार सूत्रहरु बताउँछन्।
परिस्थिति भने अलि फरक छ। नेपालका वामपन्थी शक्तिहरु एमसीसी परियोजना पास भएकोमा बेखुश होइन प्रशन्न छन् भन्ने कुरा चीनले बुझ्न किन ढिलो गर्यो भनेर आफूलाई अचम्म लागेको एकजना पूर्व राजदूतले बताएका छन्।
अहिले प्रचण्डको मनमा बुर्कुसी मारिरहेको भयको स्रोत पनि चिनियाँ नेतासँगको कुराकानी र देशको यथार्थवीच तालमेल नमिल्नु नै हो भनिन्छ। वामपन्थी एकता तत्कालका लागि असम्भव जस्तै देखिएकाले नै प्रचण्ड सत्ता गठबन्धनमा रहिरहन वाध्य भएको देखिन्छ। सार्वजनिक खपतका लागि धम्कीको भाषा बोल्नु प्रचण्डको वाध्यता होभनेर बुझ्दा पनि फरक नपर्ने अवस्था छ।
गठबन्धन छोडेर निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने र मतदानमा सहकार्य गर्ने छिमेकी सुझाव स्वास्थ्यवध्र्दक नहुने कुरालाई प्रचण्डले भलिभाँती बुझेकाले नै अहिले एक्लो महसुश गर्नुपरेको बताईन्छ।
प्रचण्डले आगामी निर्वाचनलाई लक्षित गरेर सहानुभूतिको वाण चलाएका पनि हुनसक्छन्। तर निर्वाचनलाई प्रभावित पार्न सक्ने क्षमताको वाण अब प्रचण्डको ठोकरीमा छैन। उनले अझैपनि यो रणनीतिसँग पारपाचुके गर्न सकेका छैनन्।
प्रतिक्रिया