राजु श्रीवास्तव भन्थे– नेपालीहरू खुला मनका हुन्छन्

‘गजोधर भैया’ अर्थात राजु श्रीवास्तवलाई मैले सर्वप्रथम हिन्दी फिल्मको सानोतिनो रोलमा देखेको थिए। उनको ब्यंग चेतनाको म पहिलेदेखि नै ‘फ्यान’ हुँ। अझ ‘लाफ्टर च्यालेञ्ज सो’ मा नियमित उनलाई हेर्न थालेपछि उनीप्रति मेरो आशंक्ति झन् बढेर गयो। 

भारतीय सिने उद्योगका सुपरस्टार अमिताभ बच्चनलाई हेरेर हुर्किएका उनी अमिताभकै ‘मिर्मिक्री’ गर्दै हुर्किएका थिए।

संजोगले उनीसँग मैले ७ वर्षअघि जावलाखेल मैदानमा भेट्ने अवसर पाएको थिए। त्यतिबेला भारतीय कलाकारसँगै उनी पनि नेपाल आएका थिए। गायिका सुनिधी चौहान, सबनम अवस्थीलगायत त्यतिबेला भारतीय संगीतका हस्तीहरू कार्यक्रम गर्ने उद्देश्यले नेपाल आएका थिए। 

म पनि राजु श्रीवास्तव आएको खबर सुनेर हानिदै त्यहाँ पुगेको थिए। सुनिधीले ‘क्रेजी किया रे’ र सबनमले ‘परदेशी परदेशी जाना नही’ गीत गाइसकेपछि एक जना नेपाली गायकको गीत गाउने पालो थियो। यसपछि स्टेजमा राजु श्रीवास्तव आउने कार्यक्रम तय थियो। 

तर, निर्धारित कार्यक्रम विपरित सुनिधी पुनः गीत गाउन स्टेजमा फर्किइन्। सुनिधीको गीतमा जावलाखेलमा उपस्थित सयौं युवायुवती जाडोमा मस्त नाचिरहेका थिए। तर, मलाई अझै राजुको ‘लाइभ’ प्रस्तुत हेर्ने मोहले तानिरहेको थियो।  

उनी स्टेजमा नआएपछि म ब्याक स्टेजतर्फ फर्किए। त्यति नै बेला राजु आफ्नो चिरपरिचित अन्दाजमा ब्याक स्टेजमा आइपुगे। जाडोले होला, उनी घरी ट्वाइलेट जान्थे भने घरी खल्तीमा हात हाल्दै यताउति गरिरहेका थिए। 

यति नै बेला उनी छोटो समयका लागि मसँग गफिन पुगे। उनले आफ्नो चिरपरिचित अन्दाजमा भने, ‘कितना ठन्ड हे यार।’ 
म त उनको बोल्ने शैली देखेरै मुर्छा परेर हास्न थाले। उता सुनिधीको गीत समाप्त हुन लाग्दैथियो। उनलाई फेरि पिसाबले च्याप्यो। 

त्यतिबेला पिसाब फेर्ने ठाउँ पनि ब्याक स्टेजतर्फ नै थियो। उनी पिसाब फेर्न जाँदा त्यहाँ दर्शकको ठूलो भिड थियो। उनले पिसाब फेर्न कुर्नुपर्ने भयो। यतिकैमा प्रस्तोताबाट अनाउन्समेन्ट भयो, ‘अब आउदै हुनुहुन्छ गजोधर भैया। अर्थात राजु श्रीवास्तव।’

राजु ट्वाइलेटमा अलमलमा परेँ। पिसाब फेरेर जाउँ भने ट्वाइलेटमा त्यति लामो लाइन छ। नजाउँ भने स्टेजमा नाम फुकिसके। 

जिन्स पेन्ट र कालो ओभरकोटमा ढल्केका उनी पिसाब नफेरी स्टेजतर्फ लागे। मलाई भने कौतुहलता भइरहेको थियो– उनले त्यहाँ गएर के भन्दै हँसाउने होलान?

पिसाब च्यापेर स्टेजमा पुगेका राजुले पाइन्ट छाम्दै भने, ‘नमस्ते काठमाडौं। बहुत ठन्ड हे। पेसाब से हैरान हे।’ उनले यति भनेको मात्र के थिए, दर्शकदीर्घाबाट हासोको पोहरा छुट्यो। 

म त्यो घटनाको प्रत्यक्षदर्शी थिए। अरुलाई उनले हसाए भन्ने लागेको होला। तर, उनले आफ्नो समस्या बयान गरिरहेका थिए। तर मानिसहरूको हासो थामिएको थिएन। कति त पेट मिचिरहेका थिए। 

यसपछि मलाई लाग्यो– उनको हास्य चेत वास्तवमै ‘गड गिफ्टेड’ थियो। आफ्नो समस्यालाई हास्य रसमा ढालेर भन्नसक्ने उनी गजबका कलाकार थिए। 

उनले त्यो प्रस्तुती नै पिसाबबाट गरेका थिए। बीचमा अन्य कुराले हसाउने क्रममा आफूलाई पिसाब लागेको पनि बिर्सिए। तर, अन्त्यमा फेरि पिसाबबाटै आफ्नो प्रस्तुती टुँग्याए। उनले भने, ‘जाडोले मेरो फुट्नै लाग्यो।’

यसपछि उनी सिधै ट्वालेट हानिए। भारत जाँदा मैले मुम्बईमा केही भारतीय कलाकारको अन्तर्वार्ता गरेको थिए। त्यसैले भारतीय कलाकारसँग कसरी बोल्नुपर्छ र व्यवहार गर्नुपर्छ भन्ने मलाई हेक्का थियो।

सामान्य भेटमै राजुसँग हल्का गफ हुन थालिसकेको थियो। उनी स्टेजमा कार्यक्रम गरेर ट्वालेट हुँदै कार्यक्रम स्थलमा फर्किदा मेरो पुनः उनीसँग भेट भयो। मैले जिज्ञासा राखे, ‘तिमीले किन पिसाबहरुको कुरा उप्काएको?’ 

उनले भने, ‘कमेडीमा सबै जायज हुन्छ। यसलाई प्रस्तुती गर्न मात्र जान्नुपर्छ। घटनालाई तत्कालै कमेडीमा ढाल्नु पनि ठूलो आर्ट हो।’

उनको गफ सुनेर म झन् प्रभावित नहुने कुरै भएन। उनले नेपालीहरू सफा मनका हुन्छन्। हासेर खुला मनले कुरा गर्छन भन्थे। उनीसँगको छोटो भेटकै क्रममा मैले आफू सञ्चारकर्मी भएको र भारतका केही कलाकारको अन्तर्वार्ता लिएको बताउन भ्याए। उनले छुट्टिने बेला मलाई भने, ‘मुम्बई आइस् भने भेट ल!’ 

तर, यसबीचमा मेरो मुम्बई जाने कुनै कार्यक्रम तय भएन। एक्कासी आज उनको निधनले आँखा रसायो। अलबिदा गजोधर भैया!  
 

प्रतिक्रिया