के भनेदेखि, जय नेपाल साथीहरु!
मेरो नाम शेर बहादुर देउवा। खासै भन्ने हो भने, मेरो पुरानो थर देउपा। अड्चालीस सालको पहिलो चुनाव डडेल्धुराबाट मैले यसै नामले जित्या हुँ। तर देउपा थर भनेको सुदूर पश्चिमको होईन क्या। हेपेर भनेको। पछि गृह मन्त्री भएपछि हातमा अलि पावर आयो। अनि बल्ल सच्याएको हुँ। त्यसका लागि मैले त्यो बर्ष पुलीसले निकालेको एउटा स्मारिकामा ‘देउपा’ छोपेर ‘देउवा’ बनाउन रातारात सयजना पुलीस खटाएको छु। उनीहरुले देउपा माथि देउवा नामको चिर्कटो टाँसेर त्यो किताब बाँडेपछि बल्ल मलाई सजिलो भयो।
प्राथमिक शिक्षा जन्मथलो डडेल्धुराको असीग्राममै पढेको हुँ। त्यतिबेला मेरो गाउँमा त्यो भन्दा माथिको स्कूल नै थिएन। अहिले स्कूल त छ तर बाटो घाटो छैन। पानी छैन। पुल पुलेसा बन्नै बाँकी छ। अस्ती जाँदा गाउँको खोलामा पुल चाहियो, केटाकेटीलाई स्कूल जान गाह्रो भयो भन्दैथिए। मैले ‘के लाई चाहियो पुल? एउटा रुख ढालेर खोलामाथि तेस्र्याईदेउ न भनेर भन्दिएँ। मलाई भोट दिइहाल्छन्। बड्डा भनिहाल्छन्। अनि के भो त? टेन्सन त मलाई काठमाडौंको राजनीतिको हो नि। मान्छेहरु कुरै बुझ्दैनन् यार!
मैले पनि डडेल्धुरामा स्कूल नभएपछि डोटीमा आएर एसएलसी दिएको हो। पछि राजधानी आएर त्रिचन्द्र कलेजमा पढ्दा मैले प्रजातन्त्र ल्याउन कम संघर्ष गरेको छु? मान्छेले मेरो ईतिहास नै बिर्सिन लागिसके यार।
कलेजमा पढ्ने टाईम नै कहाँ दिए र मलाई यिनले? ख्यालख्यालमा राजनीतिमा लागि हालियो। भनेपछि, राजनीतिमा लाग्दा साथीभाई खुब बनाउन पाईने के! नत्र हामी सुदूर पश्चीमेहरुको यिनीसँग न भाषा मिल्ने न अरु क्यै! केटीहरु त फुट्या आँखाले नहेर्ने भन्या। लौ त भनेर म पनि राजनीतिमा हाम्फालिहाल्या हो।
सत्र साल देखि सत्ताईस सालको बीचमा म सात पटक जेल पर्या कुरा अहिले कसैलाई याद छ? खासै भनुँ भने मलाई नेपाली कांग्रेसको राजनीतिक बिचार के हो भन्ने पनि थाहा थिएन। धन्न जेलमा हरिबोल भट्टराई थिए। उनको डाँका मुद्दामा परेका थुनुवाहरुसँग पनि हिमचिम थियो। जेलमा जाँड खान नपाइने। तर उनीहरु गाँजा तान्थे। मैलेपनि हरिबोलसँग मिलेर खुब गाँजा खाएर दिन बिताकै हो। तर यो कुरा धेरै कमलाई थाह छ।
२०२८ सालमा म नेपाल बिद्यार्थी संघको सभापति भएपछि बल्ल मान्छेले मलाई चिन्न बातावरण बन्यो। उहिले त्रिचन्द्र कलेजमा मलाई वास्ता नगर्ने केटीहरु पनि फर्की फर्की हेर्न थाले। मलाई सानै देखि राम्ररी बोल्न नआउने। एकैचोटी धेरै कुरा बोल्न खोज्छु, बोल्दा एउटा वाक्य पनि शुध्द निस्कन्न मुखबाट। धन्न यसको पनि एउटा उपाय निस्क्यो मेरो जिन्दगीमा।
२०४२ फागुन २० गते रुपन्देहीको सुरजपुरामा नेपाली कांग्रेसको एउटा कार्यक्रम थियो। त्यहाँ गिरिजाबाबुलाई मार्ने योजना बनाएका थिए मण्डलेहरुले। यो कुरा अर्कै हो कि तिनै दरवारिया मण्डले अहिले मेरा साथी भएका छन्। यादवनाथ आलोकलाई बञ्चरो हानेर मारिहाले। गिरिजाबाबु उम्किनुभयो। मलाई त एउटा ईंटाले मुख भत्किने गरी हानिहाले। शैलजा आचार्यले आफ्नो पछ्यौरीले मेरो मुख नथिचेको भए त म ब्लीडिंग भएर उतिबेलै मर्ने थिएँ होला! त्यो खत अझै मेरो ओठमा छ। यो संघर्ष र बलिदानको कथा नभए के हो त? तर कालान्तरमा, म गृहमन्त्री भैसकेपछि मेरो भाषण सुन्नेहरु कुरा नबुझेर उदेक मान्थे।
मैले गृह मन्त्रालयको हण्डी खाने पत्रकारहरुको जमात खडा गरिसकेको थिएँ। उनीहरुले लेख्न थाले, शेरबहादुरलाई पञ्चायती सत्ताले जीब्रोमा करेण्ट लगाएको थियो। चरम यातना दिएको थियो। त्यसैले उनी राम्रोसँग बोल्न सक्दैनन्।
खासै भन्ने हो भने म बडो भाग्यमानी मान्छे हुँ। मलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको त्यसै होईन। उसको सल्लाहमा मैले हातका औंलाभरी औंठी पनि लगाउन थालिसकेको थिएँ। आरजू जुध्दशमशेरकी नातिनी। उनीसँग हीरामोती मणि माणीक्यको कमी छैन। केही महिना लगाएँ पनि। पछि मेरै कोटरीका महत र खड्काले भने, “यो त बिहारी नेताले गर्ने खालको काम भयो। अमेरिकीहरुले राम्रो ठान्दैनन्।” अनि मैले फुकालेर राखिदिएँ। तर मलाई आफ्नो कर्ममा भन्दा भाग्यमा अझै बिश्वास छ।
भनेर भन्देखुन् के भयो भने, बयालीस सालको सत्याग्रहमा रामराजाले बम पड्काएर नेपाली कांग्रेसलाई आन्दोलन फिर्ता लिन बाध्य पारेपछि मलाई लाग्यो, अब नेपालमा प्रजातन्त्र आउँदैन। म सुदूर पश्चिमबाट आएको यार! यत्रो दुख्ख गरेको छु यार। सत्ता के हो त्यसको स्वाद नपाई मर्ने? कति उधारोमा जाँड खाने? बिपीन कोईराला पनि त्यो बेला परशुनारायण चौधरीको कदम ठीक छ। तँ त्यतै लाग भन्दै मेरो डेरामा बोतल बोकेर आउँथे। एक बिहान अघिल्लो रातीको ह्याङ्गओभर बाँकी नै थियो। लखर लखर हिँडेर किशुनजीको कोठामा गएर “म त पञ्चायती व्यवस्था स्वीकार गरूँ कि क्याहो?” भनिदिएँ। किशुनजीले झण्डै धोती मुन्तिरको लँगौटी खोलेर देखाइदिनुभएन!
दुई सातापछि किशुनजीको खबर आयो। उहाँलाई भेट्न गएँ। डर लागेको थियो। उहाँले त मलाई सोसलिष्ट ईण्टरन्यासनलले मेरो नाममा दिएको एउटा चिठ्ठी पो देखाउनुभयो। म पञ्चायत छिर्दा प्रजातान्त्रिक आन्दोलनमा असर पर्छ भन्ने लागेछ उहाँलाई। उहाँले मेरो निम्ति लण्डन स्कूल अफ ईकोनोमिक्समा पढ्ने व्यवस्था गरिसक्नुभएको रहेछ। म त छक्क परें भन्या!!
मान्छेहरु शेरे क्लास नै गएन त्यहाँ, जाँड खाएर बस्यो भनेर हल्ला गर्छन्। ए बाबा, मैले क्लास नै जानु पर्थेन भने म कुन क्लास जाउँ? किशुनजीले त मलाई नेपालबाट बाहिर पठाउन “रिसर्च फेलो” को रुपमा लण्डन पठाउनुभएको रहेछ। मलाई त थाहा थिएन अरुलाई के थाहा? त्यसै क्लास गएन भनेर हल्ला गर्ने? मैले त्यहाँको पुस्तकालय छिर्न मिल्थ्यो। त्यत्ति हो भन्या। अनि मलाई “जनरल गाइडेन्स” को लागि फ्रेड ह्यालिडे भन्ने एउटा प्रोफेसर पनि खटाएको थियो। उसले मलाई “पार्लियामेन्टरी डेमोक्रेसी” बारेमा एउटा पेपर तयार गर्ने असाइन्मेण्ट दिएको थियो। ए बाबा, नेपालमा पार्लियामेन्टरी डेमोक्रेसी नै थिएन त्यो बेला। मैले किताब पढेकै छैन। कसरी तयार गर्ने त्यो पेपर? नेपालमा भाषण गरेर गुजारा गर्ने मान्छेले लण्डनमा पेपर लेख्न सक्छ? हुँदै नहुने कुरा थियो त्यो। वाहियात! त्यो प्रोफेसरले नेपालमा मैले जेल गएर गरेको संघर्षको अर्थ नै बुझेन।
मैले पेपर तयार गर्न सकिन। प्रोफेसरले जसलाई भन्नुपर्ने हो उसलाई भन्यो होला। सोसलिष्ट ईण्टरन्यासनलले मेरो छात्रवृत्ति नै खारेज गरिदियो। अब त मेरो लण्डनमा मेरो गुजारालाई गाह्रो भयो नि। केही दिन नेपालीहरुले पालेकै हो। तर धेरै दिन पालेनन्। उनीहरु स्वास्नी बालबच्चा लिएर एउटा अपार्ट्मेन्टमा बस्ने। मलाई राती जाँड खाएर टेलिफोनमा नेपाली प्रजातन्त्रको चिन्ता गर्नुपर्ने। निकालिदिए दुई हप्तामै!
हो, त्यसपछि म एउटा ईण्डियनको रेश्टुराँमा स्टोर रुमको छेउमा सुतेको हो। मान्छेहरु शेरेले लण्डनमा भाँडा माझेर दिन चलायो भन्छन्। अनि ईण्डियनले भाँडा नमाझी सित्तैमा सुत्न दिन्छ? के यो मेरो संघर्ष होईन? मान्छे कुरै नबुझी बढ्ता बोल्छन्।
धन्न छयालीस सालको आन्दोलन भयो। सफल भयो। त्यसैले त मैले भनेको म भाग्यमानी। मैले प्रजातन्त्रको पक्षमा ‘क्याम्पेन’ गरेको कुरा गर्नेहरु मूर्ख हुन्। मैले केही गरेकै होईन। घरको बाघ बनको स्यालको कुरा कसले सुन्छ?
नेपाल आएँ, फोकटको स्वागत पाएँ। मान्छेले शेरे सुदूर पश्चिम भनिदिए। डडेल्धुराबाट म जति पढेलेखेको, देश दुनियाँ घुमेको मान्छे नै थिएन। त्यसमाथि मैले केही नगरेपनि मुलुकमा कांग्रेसको लहर आएको थियो। चुनाव जितें। गृह मन्त्री भएँ। गिरिजाबाबु त खुमबहादुरलाई गृहमन्त्री बनाउने मूडमा हुनुहुन्थ्यो। तर किशुनजी फेरी मेरो धर्मपिता भएर निक्लिनुभयो। गृहमन्त्री भएपछि लण्डनमा मलाई पाल्ने मान्छेहरु मलाई पालैपालो भेट्न आएका थिए। मैले लाज लागेर भेटिन। के भन्ने? उनीहरुलाई मेरो औकात थाहा थियो।
राजनीति हो किन कसैको पछि लागिरहने बरु आफैं नेता बन्ने भन्ने लाग्न थाल्यो मलाई। डडेल्धुराले पत्याएकै छ। ज्योतिषी पनि आफ्नै पक्षमा भए। अनि मैले गिरिजा प्रसादलाई देखाईदिनु पर्यो भनेर नेपाली कांग्रेस नै फुटाई दिएँ। नेपाली कांग्रेस (प्रजातान्त्रिक) बने पछि छरछिमेक अन्तर्राष्ट्रिय जगतले पनि देख्यो होला नि शेरेको हैसियत। तर जब संकटमा पर्दै गए गिरिजाबाबु अनि मलाई मिलौं भन्न थाले। म मिल्न आएपछि मात्रै त हो नि गणतन्त्र आउन सकेको। अहिले भाग्यले मलाई सिँगो नेपाली कांग्रेस जिम्मा लाएको छ। अब म जे चाहन्छु त्यही नै कांग्रेसको पनि चाहना र योजना बनेको छ।
बरु तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ्ग ब्लकसँग भेटेको भेट्यै गरें। उनले मलाई आरजू उपहार दिईन्। जुलिया अहिले मेरो एकमात्र छोरो, भविष्यको कर्णधार जयबीर सिंह देउवाकी धर्ममाता पनि हुन्। जयबीर हुर्किसक्यो। उसले नेपालीले पढ्नै नपाउने, नसक्ने लिंकन स्कूलमा प्राथमिक शिक्षा हासिल गर्यो। त्यसपछि लण्डन गयो। पढ्यो। कसले सक्छ नेपालमा मेरो छोराले जस्तो?
उ डडेल्धुराबाट नेपाली कांग्रेसको सकृय सदस्य भैसकेको छ। भोली उ चुनाव लड्नेछ। यसकालागि उसले नेपालमा बिदेशी सामान आयात गर्ने ब्यापार खोलिसकेको छ। अरु त अरु, उ नेपालमा महिलाका लागि अनिवार्य महिनावारी ल्याप्चे त्याप्चे सामानको समेत आयात गरेर महिलाको सेवा गर्दैछ। मैले उसको सेवामा भरथेग गर्न आरजू मार्फत जनार्दन शर्मालाई संदेश नै पठाएको हो। जनार्दनले फुटेज लुकाएर बडा राम्रो गर्यो।
ए! अर्को कुरा, ईतिहास बिर्सिने कुरा हो र भन्या? ईतिहासबाट शिक्षा पो लिने हो। हिजो माओवादीले मलाई मार्न खोजे, मैले माओवादीको टाउकाको मोल तोकेर यस्तो गरें उस्तो गरें भनेर हुन्छ? अगाडि बढ्नुपर्दैन?
भनेर भन्देखुन, ज्ञानेन्द्र सरकार कति असल मान्छे! कस्तो मीठो नेपाली, कति राम्रो अंग्रेजी! हैट। म त कहाँ सकुँला र त्यस्तो? त्यसमाथि आरजूको नातागोता पर्ने। म त ज्वाईं भैगएँ नि। मैले पार्टी फुटाएर, चुनाव थान्को लगाएर ईमर्जेन्सी लगाएँ। ठूलै काम गरें भनेको त महाराजाधिराजको मनसाय अर्कै रहेछ। आरजूको नाताको कारण ज्वाईं भएकोले एउटा प्राईभेट पार्टीमा म पनि थिएँ दरवारमा। ज्ञानेन्द्र सरकार मर्जी हुन्छ, “पीएम, आईदर यू टेक माई एड्भाइस अर यू वील बी सप्र्राइज्ड!”
त्यो राजनीतिक आत्महत्या म किन गर्थें? तर मैले जनताको सार्वभौम अधिकार किस्तीमा राखेर बुझाउँदा पनि राजाले मलाई धोका दिए। अहिले त्यसकै फल भोग्दैछन्। उनी पहिले प्रचण्डसँग मिल्न खोजेका थिए। अहिले म आफैं मिलिदिएँ। राजा हेरेको हेर्यै।
मलाई निकाले। अर्कोलाई बनाए। फेरी मलाई नै प्रधानमन्त्री बनाए राजाले। उनीसँग बिकल्प भए पो? फेरी माघ १९ मा कू गरे। थुने। छुटिसकेपछि सबैले आन्दोलन गरे। म चूप लागेर बसें। गिरिजाबाबु हुन्जेल म किन जानु? मेरो भ्यालु भए पो जानु? कहिलेकाहीं मुख देखाउन जानैपर्यो। त्यतिमात्रै हो। बरु खड्ग ओलीले बयलगाडा सिध्दान्त प्रतिपादन गर्दा मलाई उनको कुरा निको लागेको थियो। महाकाली सन्धी गर्दा देखि नै ओली र म मिल्ने साथी हौँ। बाहिरको झगडा त देखाउने दाँत मात्रै हो। जनताले यो कुरा कुरा नबुझेकै बेस। जनता मुला को हुन्? भोट। उनीहरुले हामीलाई भोट नहाले कसलाई हाल्ने?
संबिधान बनाउने कबड्डीमा पनि मलाई भाग लिन मन लागेन। ज्योतिषीले चुपचाप बस्नु भनेको थियो, त्यसै गरें। सुशील कोईराला मलाई त्यसै मन नपर्ने मान्छे। मेरो बिरुध्द सुदूर पश्चिममा खेमराज भट्ट मायालुलाई खडा गरेको मलाई याद थियो। सुशील फेल हुन् भनेर बसेको थिएँ। तर संबिधान आयो। त्यसमा मेरो एक थोपा योगदान छैन। तर भाग्यले दिएको छ, म त्यसको तर मार्छु।
के कांग्रेस? को बीपी कोईराला? कांग्रेसको बिचारले देशमा के परिवर्तन आयो? बढ्ता कुरा गर्ने? कांग्रेसका तीन तीन भाई प्रधानमन्त्री हुँदा जनता थपडी बजाउने। मेरी आरजू पाँच ठाऊँबाट सिफारिश हुँदा पनि उनलाई मैले समानुपातिकबाट उठाउनुपर्ने बाध्यता किन? म जस्तो मान्छेको साम दाम दण्ड भेदलाई कुचाले बढार्ने कैलालीको त्यो ओझा को हो?
कहिलेकाहीं मलाई पिरोल्छ। के म आफ्नो बंशबृक्ष उमार्ने यत्नमा आफ्नै जरो त उखेल्दै छैन? जे त होला। मेरो ईतिहास नेपालीमा कसैले बुझ्दैनन्। अब मेरो ईतिहास आरजू र जयबीर मिलेर अंग्रेजीमा लेख्नेछन्।
जय नेपाल!
प्रतिक्रिया