बुझ्नेलाई श्रीखण्ड

 राष्ट्र सेवकमा हुनुपर्ने आध्यात्मिक चेत

Binda Acharyaराष्ट्रको तर्फबाट जनताको सेवा गर्न स्थापना गरिएका संस्था वा सेवाहरु सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी हुनुपर्छ। देशको शासन ब्यवस्था संचालन गर्न, सेवा सुविधा प्रवाह गर्न र विकास निर्माणको कार्य गर्न स्थापना गरिएका निजामती सेवा, संस्थान सेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायत अन्य सरकारी निकाय जो जो राज्यको तर्फबाट जनतासम्म पुग्ने पुलको काम गर्दछन् ती निकायमा काम गर्ने जनशक्तिलाई राष्ट्रसेवक भनिन्छ। सरकार र जनतालाई जोड्ने पुलको काम राष्ट्रसेवकले गर्दछन्। योगको वास्तविक अर्थ पनि जोड्नु नै हो। आध्यात्मिक हुनुको अर्थ आफ्नै आत्मामा स्थापित हुनु हो। आत्मामा स्थापित भएपछि स्वयंको चेतनामा स्थिर रहन अर्थात् पुरापुर होश आफ्नो ठेगानमा रहने स्थिति बन्दछ। आफ्नै आत्माको आधारमा चल्नु आध्यात्मिक बन्नु हो।  

सरकारी सेवा मध्ये निजामती सेवालाई स्थायी सरकार भनिन्छ। स्थायी प्रकृतिका कर्मचारीको शारीरिक स्थति सुदृढ र मानसिक स्थिति सवल हुनुपर्छ। सरकारी सेवाको लागि योग्य हुन होश ठेगानामा भएको नेपाली नागरिकलाई योग्य मानिन्छ। होश जहाँ हुनु पर्ने हो त्यहाँ नभएर जहाँ पायो त्यहाँ भागेको अथवा ठाउँ छोडेको अवस्था होश ठेगाना नभएको भनिने रहेछ। सार्वजनिक पद धारण गर्न होश ठेगानामा रहेको हुनुपर्ने रहेछ। होश ठेगानामा भए नभएको निर्धारण गरिदिने कसले? यो कुरा चुनौतीपूर्ण छ। कुन हदसम्मको मानसिक स्वास्थ्यलाई सेवामा स्वीकार गर्ने? योग र अध्यात्मले होशलाई सही ठेगानामा राख्ने ज्ञान दिन्छ। होश ठेगानामा नभएर गलत निर्णय भएको, बोल्ने मुखले के बोलिरहेको छ भन्ने थाहा नपाएर मनपरी बोलेको, सरकारी कर्मचारी भएर के गर्नु पर्छ वा के गर्नु हुँदैन भन्ने थाहा नपाएको वा आफ्नो पद र जिम्मेवारी अनुसारको कर्तब्य पुरा नगरेको अवस्था होश ठेगानमा नभएको अवस्था हो। ध्यानले होशलाई ठेगानामा ल्याउने काम गर्छ। मानिसको चेतनालाई स्व अर्थात् म को केन्द्र नजिक पुर्याउँछ। यो सर्वाधिक उत्कृष्ट विधि हो।

एउटा राष्ट्र सेवकको गुण, स्वभाव अनि कर्म 

श्रीमद्भगवत गीताको अध्याय चारको तेह्रौं श्लोकमा भनिएको छ– चातुरर्वण्यं मया सृष्टं गुणकर्मविभागशः। तस्य कर्तारमपि मां विद्धयकर्तारमव्ययम् !!१३!! अर्थात मानिसहरु बीच खासै कुनै ठूलो भेद छैन तैपनि मानिसको गुण र कर्म अनुसार भेद हुन्छ भनिएको छ। प्रकृति अनुसार स्वभाव बन्दछ। महामाया प्रकृति त्रिगुणमयी छ। प्रकृतिलाई त्रिगुणात्मिका माया पनि भनिन्छ। सत्व गुण प्रकाशको रुपमा, रजगुण कर्मको रुपमा र तमगुण मोहको रुपमा प्रकृतिमा विद्यमान छ। मानिसले गुण अनुसारको कर्म वा अकर्म गर्दछ। आफ्नो स्वभाव अनुसारको कर्म रोज्यो भने मानिस बाहिर सफल र भित्रैबाट सुखी हुन्छ। तसर्थ स्वभाव अनुसारको पेशा वा व्यवसायको छनौट गर्नु पर्ने हुन्छ।

अब आफ्नो स्वभाव के हो त थाहा पाउनु पर्ने हुन्छ। आफैंलाई चिनेन भने संसार चिन्न सकिन्न। आफैंलाई चिनेन वा अरुलाई समेत चिनेन भने मानिसलाई विभिन्न प्रकारका सांसारिक समस्या, शारीरिक तथा मानसिक समस्यामा पर्न सक्दछ। प्रकृति अनुसार मानिस चार वर्ण ब्राह्मण, क्षेत्री,  वैश्य र शुद्र स्वभावको हुन्छ। अज्ञानतालाई जितेर ज्ञान आर्जन गर्ने, ज्ञान बाँड्ने, अध्ययन अनुसन्धान गर्ने, नीतिगत स्तरमा कार्य गर्न रुचाउने, बुद्धि र विवेकको कार्य गर्ने मानिस ब्राह्मण स्वभावको हुन्छ। डर र भयलाई जितेर निर्भयका साथ साहसीपूर्ण कार्य गर्ने, हातपाखुराको बलमा पेशा ब्यवसाय चलाएर जिविकोपार्जन गर्ने, विभिन्न खालका समस्या समाधान गर्ने, शासन  संचालन गर्ने, द्वन्द समाधान गर्ने, रक्षात्मक वा सुरक्षात्मक सम्बन्धी कार्य गर्ने जस्ता कार्यहरु गर्ने मानिस क्षत्रिय स्वभावको हुन्छ। आर्थिक अभावलाई जितेर उद्यम, ब्यापार ब्यवसाय मार्फत समृद्धि हासिल गर्ने, धन सम्पत्ति तथा सम्पदाको कारोवार गर्ने मानिस वैश्य स्वभावको हुन्छ। त्यसैगरी अल्छी र आलस्यलाई जितेर सेवा गर्ने मानिसलाई शुद्र भनिन्छ। अधिकांश राष्ट्रसेवकले गर्ने कार्य शुद्र वर्णमा पर्ने प्रकृतिको कार्य हो। एक राष्ट्र सेवकले आफ्नो गुण र स्वभाव थाहा पाउनु जरुरी छ। राष्ट्रसेवा भित्र चार वर्णका कर्म र राष्ट्र सेवकको गुण विश्लेषण र पहिचान गर्न सकिन्छ। नीति तर्जुमा गर्ने काम, कानुनको निर्माण  तथा मस्तिष्कको प्रयोग गरी गरिने कार्यहरु ब्राह्मणले गर्ने कार्य हो। सामान्यतया राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, विषय विज्ञहरुले यस्ता कार्य गर्ने जिम्मेवारी पाएको हुन्छ। 

राज्यमा राज गर्ने नीति बनाउने पद्धति नै राजनीति हो। यो सर्बोच्च कर्म हो। यस्तो सर्बोच्च कर्म गर्ने मानिस ब्रह्मनिष्ठ सत्यमार्गी हुनुपर्छ। सात्विक गुणले भरिएको ब्राह्ममण स्वभावको हुनुपर्छ। ब्यक्तित्व तेजिलो र बाणी ओजस्वी युक्त हुनुपर्छ। एउटा नीति निर्माता शौर्यवान र उर्जावान बन्न आध्यात्मिक बन्नु नै पर्छ। अन्यथा ब्रह्मले कर्म गर्नुपर्ने ब्यक्ति क्षत्रीयको जस्तो पाखुराको बल प्रयोग गर्ने, वैश्यको जस्तो द्रब्यमा रमाउने र शुद्रको जस्तो सेवामा संलग्न हुन्छ। सांसद बनेर कानुन निर्माण गर्न जिम्मेवारी पाएको मानिस कर्मचारीको सरुवामा अनि मन्त्री  बनेर देशको नीति निर्माण र समस्या समाधानमा केन्द्रित हुनुपर्ने मानिस जसले ब्राह्मणको कार्य गर्नुपर्नेमा वैश्य बनेर ठेक्का पट्टामा रुचि राख्न थाल्दछ। अहिलेका नेतृत्वकर्तामा स्पष्टता र निर्भयका साथ निर्णय गर्न सक्ने क्षमतामा कमी आएको महशुस हुन थालेको छ। सत्य र न्यायको पक्षमा अडान लिने क्षमतामा हास आएको छ। राष्ट्रिय स्वार्थ र जनताको साझा हित सोच्ने नेतृत्व पाउन मुस्किल हुन थालेको छ। समाजमा चरम विभाजन छ। 

यहाँनेर गलत पेशा चयन भयो। स्वभाव छ बैश्यको जस्तो द्रब्य मोह राख्ने, स्वभाव छ शुद्रको जस्तो सेवा गर्ने तर आफैंलाई नचिनेर पेशा रोजेको छ ब्राह्मणको जस्तो। यस्तो ब्यक्तिले न राम्रोसँग कार्य गर्न सक्छ न त सन्तुष्ट नै रहन्छ। अब कर्मचारीको स्वभाव र पेशाको तालमेलको कुरा गरौं। जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयमा जागिर खान्छ र सुविधा लिएको छ, पेशा छ शुद्रको अनि रुचि छ राजनीतिमा। राजनीतिक दलको भातृ संगठनको नेता वा कार्यकर्ता बनेको छ। जनताले तिरेको करबाट सेवा सुविधा लिएको छ र पेशा पनि जनतालाई सेवाप्रवाह गर्ने ठाउँमा छ तर काम गर्न चाहन्छ ब्राह्मणको जस्तो वा क्षत्रीयको जस्तो वा वैश्यको जस्तो ब्यापार ब्यवसाय गर्दछ। आफ्नो स्वभाव अनुसारको कर्म गर्न पायो भने त्यस्तो कर्मचारीको कार्यदक्षता र कार्यकुशलता अत्यन्त राम्रो हुन्छ। यसको लाभ संस्था समाजलाई, राज्यलाई, जनतालाई र स्वयं ब्यक्तिलाई समेत हुन्छ। राज्यको लगानी खेर त्यत्तिकै जाँदैन। राज्यले छात्रबृत्ति दिएर विभिन्न विषयमा अध्ययन गर्न पठाउँछ, तालिम दिन्छ तर काम गर्न भने रुचि नभएको काममा पठाउँछ। यस्तो अवस्थामा कर्मचारी आफूलाई मन नपरेको क्षेत्र र स्थानमा कार्य गर्न बाध्य हुँदा रोगी र दुःखी बन्दछ। यस्तो रोगी र दुःखी मानिसले बनाएको कानुन, गरेको सेवाप्रवाह र गरेको विकास निर्माणको गुणस्तर कस्तो होला?  

यदि कर्मचारीले गुण र स्वभाव अनुसारको कर्म गर्न पाएन भने कि आफैं अस्तब्यस्त हुन्छ कि त संस्थालाई अस्तब्यस्त बनाउँछ। श्रेष्ठ कर्म र कर्मफल ध्यानबाट मात्र उपलब्ध हुन्छ। चेतनाको श्रेष्ठता जात र धर्मका आधारमा होईन यो ध्यानमा आधारित छ। बालीमा ध्यान लगाए फसल राम्रो उत्पादन हुन्छ। पढ्नमा ध्यान लगाए पढाई राम्रो हुन्छ। खाना पकाउनमा  ध्यान लगाए खाना मीठो हुन्छ। अध्ययन अनुसन्धानमा ध्यान लगाए नतिजा सही निस्कन्छ। आफ्ना छोराछोरीमा ध्यान लगाए छोराछोरी सप्रिन्छन्। शरीरमा ध्यान लगाए तनोवल बढ्छ। मनमा ध्यान लगाए मनोवल बढ्छ। भावमा ध्यान लगाए भाववल बढ्छ र आत्मामा ध्यान लगाए आत्मवल बढ्छ। साधनामा ध्यान लगाए साध्य हासिल हुन्छ। काममा ध्यान लगाए कर्मफल राम्रो हुन्छ। कर्मफल राम्रो हुन परिणाममा हैन कि प्रकृयामा ध्यान दिनु पर्छ। ध्यानले शरीरलाई स्वस्थ्य, मनलाई प्रफुल्लित, भावलाई प्रेमल र चेतनालाई प्रज्वल्लित बनाउँदछ। मानिसले सही कर्म गर्न र सही मानिसलाई सही ठाउँमा काममा लगाउन योग ध्यान गर्नु र आध्यात्मिक बन्नु जरुरी छ। राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रबासीलाई सुशिक्षित र संस्कारी बनाउन सत गुण भएका राजनीतिज्ञ, प्रभावमा हैन स्वभावमा काम गर्ने कर्मचारी र सत्कर्म गर्ने नागरिकको जरुरत पर्दछ। सबैको सार्थक प्रयासले परमार्थिक लाभ हासिल गर्न सकिन्छ। 

(लेखक योगध्यान प्रशिक्षक तथा नेपाल सरकारको उपसचिव हुन)
 

प्रतिक्रिया