कुनै बेला उनी अरुको घरमा काम गरेर आफ्नो गुजारा चलाउँथे। तर, अहिले मोनास्लु हिमालको ‘प्रवेशद्धार’ मानिने सामागाउँमा ‘हिरो पर्वतारोही’ को रूपमा परिचित छन्।  

मिङ्मार छिरिङ लामा, गोर्खाको सबैभन्दा अन्तिम सामागाउँका स्थायी वासिन्दा। जो यस गाउँका एक मात्र पुरुष पर्वतारोही हुन्।

मोनास्लु हिमालको बेस क्याम्पभन्दा करिब अढाई किलोमिटर मात्र टाढा छ, सामागाउँ। तर, यति नजिक हुँदाहुँदै पनि यो गाउँमा उनीअघि एक जना पर्वतारोही जन्मिएका थिएनन्। 

उनले गत वर्ष मोनास्लु हिमालको सफल आरोहण गरे। यसपछि उनको परिचय फेरिएको छ। 

यो सिजन मोनास्लुमा हिमाल आरोहण गर्नेको भिड लागेको छ। एक्कासी यो कसरी सम्भव भयो? नेपाल सरकारलाई सायदै यसको जानकारी होला। तर, यी युवा पर्वतारोहीसँग यसको स्पष्ट जवाफ छ। 

सन् २०१८ मा उनको भेट भएको थियो, आफैसँग नाम मिल्ने इमेजिन नेपालका मिङ्मा लामासँग। यस अघिसम्म छिरिङ पोटरको काम गर्थे। 

‘सबैले तातो–चिसो, जाँडो–गर्मीको अनुभव गरेका हुन्छन्। तर, हिमाल चढेर फर्किदा मलाई मृत्युको मुखबाट फर्किएको अनुभव भयो। हिमालको चुचुरोमा पैसा थिएन। हरेक पाइलामा मृत्युको चुनौति थियो।’ 

१६ वर्षको उमेर नहुँदासम्म उनले सामागाउँमै अर्काको घरमा काम गरे। १६ वर्षपछि उनले हिमाल चढ्न आउने विदेशी पर्यटकको भारी सामागाउँबाट बेसक्याम्पसम्म पुर्‍याए।

mingmar chiring lama2

१७ वर्ष अनवरत पोटरको काम गरेपछि उनलाई लागेछ– हिमालसँग कुनै नाता नभएका मान्छे करौडौं रुपैयाँ खर्चिएर मोनास्लु चढ्न आउँछन्। हामी यसैको काखमा जन्मिएर पनि किन हिमाल चढ्न सकिरहेका छैनौं?  

विदेशीहरूको भारी बोक्दा बोक्दै मनमा लागेको यही कुरा कतिबेला दिमागमा चढ्यो, उनैलाई पत्तो भएन। 

मिङ्मासँगको भेट उनका लागि बरदान सावित भयो। मिङमाले नै छिरिङको महत्वकांक्षालाई ‘म साथ दिन्छु भन्दै’ झन् उकासे।  

छिरिङले हिमाल चढ्ने कुनै तालिम लिएका थिएनन्। न, उनीसँग भरियाकै रूपमा हिमाल चढेको अनुभव थियो। त्यसैले पहिलो प्रयास असफल भयो। 

सन् २०१९ मा उनले अर्को प्रयास नगरेका होइनन्। तर, कोभिड–१९ का कारण उनको सपना चकनाचुर भयो। ‘सबै कागजपत्र तयार पारेर हिमाल चढ्ने प्रयासमा थिए। कोभिडले मेरो सपना चकनाचुर पार्‍याे,’ उनी भन्छन्, ‘कोभिड–१९ का कारण २ वर्ष गाउँमै थन्किनु पर्यो।’

सन् २०२१ मा मिङ्मा कै सहयोगमा उनी मोनास्लु हिमाल चढ्न माथि उक्लिए, त्यो पनि सबैभन्दा जोखिम योजना बनाएर। 

यस अघिसम्म सबै पर्यटक मोनास्लुको ‘फोर्स समिट’ सम्म पुगेर फर्किने गर्थे। तर, उनको टोलीले ‘रियल पिक’ आरोहण गर्यो। 
वास्तवमा मोनास्लुमा दुई वटा चुचुरो छ। सबैभन्दा बढी आरोही पुगेर फर्किने चुचुरोलाई ‘फोर्स समिट’ भनिन्छ। त्यो भन्दा पनि अग्लो अर्को चुचुरो छ, त्यसलाई वास्तविक चुचुरो अर्थात ‘रियल पिक’ भन्ने गरिन्छ। 

‘फोर्स समिट’ बाट ‘रियल पिक’ चढ्न गाह्रो छ। यहाँ पुग्न अलिकति घुम्नु पर्छ। ‘फोर्स समिट’ बाट करिब ४० मिटरको डोरी प्रयोग भएको ‘रियल पिक’ पुग्न छिरिङको टोलीलाई एक घण्टा लागेको थियो। 

‘फोर्स समिट’ मा एक पल्टमा १२–१५ आरोही अटाउन सक्छन्। तर, ‘रियल पिक’ को चुचुरोमा एक पल्टमा ३ जना मात्र उभिन सक्छन्।  

यसअघि सन् १९७६ मा यो चुचुरोमा पुग्न एउटा पर्वतारोही दलले प्रयास गरेको थियो। ४६ वर्षको अन्तरालमा मोनास्लुको ‘रियल पिक’ मा छिरिङलगायतको टोलीले सफल आरोहण गरेको खबरले अहिले विश्व तरंगीत बनेको छ। यसअघि ‘फोर्स समिट’ लाई वास्तविक चुचुरो मान्दै आएका पर्वतारोही आश्चर्यमा परेका छन् र उनीहरूको रुची ‘रियल पिक’ तर्फ मोडिएको छ। 

mingmar chiring lama1

‘फोर्स समिट’ एक पल्टमा १२–१५ आरोही अटाउन सक्छन्। तर, ‘रियल पिक’ को चुचुरोमा एक पल्टमा ३ जना मात्र उभिन सक्छन्।  

यो सिजन मोनास्लुमा विदेशी पर्वतारोहीको भिड लाग्नुको मुख्य कारण पनि यही हो। ‘हिजो मोनास्लुको उचाईमा पुगेको मान्दै आएका पर्वतारोहीहरू ढाडमा मात्र पुगेका रहेछन्। अब टाउकोसम्म पुग्ने अभियानमा उहाँहरू जोडिन थाल्नु भएको छ,’ छिरिङले दृश्य टिभीसँग भने,‘हाम्रो कारण विश्वको सबैभन्दा अग्लो १४ वटा चुचुरोमा पुगेका पर्वतारोहीलाई पनि मोनास्लु फेरि चढ्नुपर्ने बाध्यता आइपरेको छ।’

छिरिङ गरिब परिवारमा जन्मिएका थिए। उनको बुवा छोइङ दोर्जे लामा र आमा कर्मा लामाले पनि अर्काको घरमा काम गरेर छोराछोरी हुर्काएका थिए। छिरिङले सामागाउँबाट बेस क्याम्पसम्म भारी बोक्दा दैनिक ज्यालादारी २५ सय रुपैयाँ लिने गर्थे। अहिले उनले सामागाउँमै मोनास्लु चढ्न जाने पर्यटकहरूका लागि खाना र बसोबासको व्यवस्था गर्न एउटा होटल खोलेका छन्। जसको नाम हो, नोर्लिङ होटल। 

छिरिङ आफ्नो गाउँका युवाहरू स्वावलम्बी भएको हेर्न चाहन्छन्। उनले अक्सिजन नबोकी पहिलो प्रयासमै ‘रियल पिक’ को सफल आरोहण गरे। त्यसैले उनको भनाई छ, मोनास्लु वरिपरिका गाउँहरूमा जन्मिएका युवायुवतीको शरीरको जिनमै हिमाल चढ्नसक्ने अद्भूत क्षमता रहेछ। उनी यो क्षमता प्रयोग गर्न सरकारसँग आग्रह गर्छन्। 

‘सरकारले मोनास्लु चढ्ने पर्यटकसँग वार्षिक २ करोड ३५ लाख रुपैयाँको हाराहारीमा रोयल्टी उठाउँछ। तर, हिमाल चढ्न जाने बाटोमा एउटा डस्टबिन पनि राखिएको छैन।’

‘शुन्य लेभलमा बसोबास गर्ने मान्छे यहाँ आएर हिमाल चढ्छन्। हामी त ३५ सयभन्दा माथि उचाईं भएको ठाउँमा जन्मिएका हौं नि। विदेशी हिमाल चढ्न करौर्डौं खर्चिन्छन्। हामी यही हिमालको काखमा हुर्किएको व्यक्ति हौं। त्यसैले यसलाई रोजगारीसँग किन नजोड्ने?’ उनी प्रश्न गर्छन्, ‘सरकारले मोनास्लु चढ्ने पर्यटकसँग वार्षिक २ करोड ३५ लाख रुपैयाँको हाराहारीमा रोयल्टी उठाउँछ। तर, हिमाल चढ्न जाने बाटोमा एउटा डस्टबिन पनि राखिएको छैन।’

उनी सरकारले आफ्नो क्षेत्रका जनताहरूलाई तालिम दिएको खण्डमा यो क्षेत्रबाट युवाहरूको पलायन रोकिने बताउँछन्। ‘मोनास्लुलाई यहाँका वासिन्दा भगवान सोच्छन्। त्यसैले यहाँ हुने फोहोर गाउँलेहरूले उठाउँदै आइरहेका छन्। सरकारले रोजगारी दिएको खण्डमा बेरोजगारीको समस्या कम हुन्थ्यो,’ उनी भन्छन्। 

३७ वर्षको उमेरमा छिरिङ आफ्नो अतितको गरिबीलाई भूल्याउने अभियानमा छन्। उनी आफ्नो बालबच्चाले आफू जस्तै गरिबीमा हुर्किनु नपरोस् भनेर दिनरात मिहिनेत गरिरहेका छन्। 

norling

पहिलो हिमाल चढ्दाको अनुभव दृश्य टिभीलाई सुनाउँदै उनले भने, ‘सबैले तातो–चिसो, जाँडो–गर्मीको अनुभव गरेका हुन्छन्। तर, हिमाल चढेर फर्किदा मलाई मृत्युको मुखबाट फर्किएको अनुभव भयो। हिमालको चुचुरोमा पैसा थिएन। हरेक पाइलामा मृत्युको चुनौति थियो।’ 

उनी यही अनुभवबाट आफ्नो जीवन परिवर्तन गर्ने अभियानमा जुटेका छन्। उनको अभियान सफल रहोस्। यही छ, शुभकामना।   

 


   


 

प्रतिक्रिया