किन भारतले ‘गोर्खा राइफल्स’ लाई नै सेनाको उच्च कमाण्डमा नियुक्त गरिरहेको छ?

काठमाडौं। विपीन रावत नेपाली गीतमा छमछमी नाच्ने मात्र गर्दैन्थे, गोर्खाली प्रति उनको विशेष लगाव थियो। तर, ९ महिनाअघि उनको विमान दुर्घटनामा निधन भयो। 

भारतीय आर्मीको सर्वोच्च पद ‘चिफ अफ डिफेन्स स्टाफ’ अर्थात सीडीएस बन्ने सौभाग्य पाएका रावत सुगौली सन्धिअघि नेपालको भूभाग रहेको भारतको उत्तराखण्डस्थित गढवाल जिल्लाको पाउरी गाउँमा जन्मिएका थिए। 

उनी निकै चिसो हुने चीन सीमा क्षेत्रमा युद्ध कलाका लागि माहिर मानिन्थे। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले देशको पहिलो जल, थल र बायु– तीन वटै कमाण्डका सेनालाई नेतृत्व गर्न आर्मीको सर्वोच्च कमाण्डरको नयाँ पद सिर्जना गर्दा उनलाई सम्झिए। 

रावतको निधनपछि सीडीएसको रिक्त पदमा भर्खरै सरकारले पूर्व लेफ्टिनेन्ट जर्नेल अनिल चौहानलाई नियुक्त गरेको छ। उनी भारतीय आर्मीको सर्वोच्च कमाण्डर बन्ने दोस्रो व्यक्ति हुन्। ६१ वर्षको उमेरमा उनी गत वर्षको मे महिनामा इस्टर्न कमाण्ड चिफको नेतृत्व गर्दागर्दै रिटायर भएका थिए। उनीसँग सेनामा बसेर काम गरेको ४० वर्ष लामो अनुभव छ। 

विपीन रावत र अनिल चौहानबीच धेरै कुरामा समानता छ। उनी पनि रावत जस्तै ११ औं गोर्खा राइफल्सबाट सेनामा भर्ना भएका हुन्। उनले पनि भारतीय आर्मीको देहरादुन एकेडेमीबाट अध्ययन पुरा गरेका थिए। सबैभन्दा रोचक कुरा, उनको जन्म पनि उत्तराखण्डको गढवाल जिल्लाको पाउरी गाउँमै भएको थियो। 

भारतको सुरक्षा निकायमा अहिले पाउरी गाउँको निकै ठूलो धाक छ। त्यसको प्रमुख कारण भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि गढवालको यही पाउरी गाउँमा जन्मिएका थिए। चौहानले आर्मीबाट अवकाश पाएपछि केही समय डोभालको मातहतमा बसेर काम गरेका थिए।  

anil chauhan1

चौहान चीन सीमा क्षेत्रमा प्रभावकारी योजना बनाउन उस्ताद मानिन्छन्। मेजर जर्नेलको रूपमा उनले उत्तरी कमाण्डअन्तर्गत जम्मु–काश्मिरको बारामुला क्षेत्रको एउटा इन्फेन्ट्री डिभिजन सम्हालिसकेका छन्। सन् २०१९ को सेप्टेम्बरमा उनी इस्टर्न कमाण्डको चिफ नियुक्त भएका थिए। यही कमाण्डले चीनसँग जोडिएको ‘लाइन अफ एक्चुअर कन्ट्रोल’ (एलएसी) अर्थात सीमा हेर्ने गर्छ। 

सन् २०१९ मा बालाकोटमा भएको चर्चित स्ट्राइकमा उनले सैन्य कार्यवाही अगाडि बढाएका थिए। उनीसँग आतंकवाद विरोधी अपरेशनको लामो अनुभव छ। भारत र म्यानमारको सेनाले संयुक्त रूपमा सुरु गरेको अपरेशन ‘सनराइज’ मा उनको ठूलो हात थियो। सन् २०१९ को मेमा भारतीय सेनाले म्यानमारको सीमाभित्र पसेर उग्रवादीविरूद्ध अपरेशन गरेको थियो। यो अपरेशन तीन साता सञ्चालन भएको थियो। यतिबेला उग्रवादी संगठन कामतापुर लिबरेशन, अर्गनाइजेसन केएलओ, एनएससीएन खापलाङ, युनाइटेड लिबरेशन फ्रन्ट अफ असम र नेशनल डेमोक्रेटिक फ्रन्ट अफ बेरोल्याण्ड अर्थात एनडीएफबीका ६ दर्जन उग्रवादी पक्राउ परेका थिए। यतिबेला उग्रवादी संगठनको क्याम्प पनि ध्वस्त पारिएको थियो। 

लामो समय इस्टर्न कमाण्डमा बसेर काम गरेको हुनाले उनलाई चीन विषयको विशेषज्ञ मानिन्छ। सन् २०२० मा चीनसँग गलवान उपत्यकामा संघर्ष हुँदा चौहान कमाण्डर थिए। उनले यस क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने काम गरेको भारतीय अखबारहरूको दावी छ। 

सन् २०२० को डिसेम्बरमा उनले भनेका थिए, ‘भारत र चीनबीच लामो बोर्डर छ। बोर्डरको एउटा भागमा भएको विवादलाई पुरै सीमासँग जोडेर हेर्नु हुँदैन। म यो भन्न चाहन्छु कि, लद्दाखमा भएको संघर्षपछि इस्टर्न कमाण्ड भएको क्षेत्रमा कतै दोस्रो घुसपैठ भएन। कुनै ठूलो घटना पनि भएन।’

विपिन रावतपछि अनिल चौहानको नियुक्तिलाई लिएर थुप्रै कोणबाट विश्लेषण हुन थालेको छ। तर, यसमा गोर्खा रेजिमेन्टको एंगल रोचक छ। किन भारतको रक्षा मन्त्रालय नेपाली भाषामा पोख्त तथा गोर्खा रेजिमेन्टकै व्यक्तिलाई चुनेर आर्मीको सर्वोच्च पदमा नियुक्त गर्दैछ? 

यसको कारण, हाईअल्टिच्युटमा लड्न सक्ने गोर्खालीहरूको स्वभाव र गोर्खालीहरूलाई भारतीय सेनामा आकर्षित गरिरहने रणनीति अन्तर्गत भएको हुनसक्ने आशंका गरिन्छ। भारत सरकारले केही समयअघि खुला गरेको ‘अग्निपथ’ कार्यक्रमको नेपालमा ठूलो विरोध भएको थियो। भारतीय आर्मीले भारतमा बसोबास गर्ने गोर्खालीहरूको लागि मात्र होइन, नेपालीहरूलाई पनि आकर्षित गर्न ‘अग्निपथ’ को नाममा भर्ना खुला गरेको थियो। 

भारत र चीनबीच ३४४० किलोमिटर खुल्ला सीमामा विवाद छ। भारतको लागि सबैभन्दा ठूलो खतरा ‘चिकेन नेक’ हो। जुन सिलिगुडी मानिन्छ। यो भारतीय आर्मीको ३३ औं कोरमा पर्छ। 

चीनसँग अर्को खतरामा रहेको ठाउँ अरुणाचल प्रदेश हो। चीनले पहिलेदेखि नै अरुणाचललाई आफ्नो भूभाग मान्दै आइरहेको छ। यी क्षेत्रहरूमा गोर्खालीहरूको उपस्थितिले भारतीय सेनालाई अतिरिक्त बल मिलेको छ। 
 

प्रतिक्रिया