रवीन्द्र मिश्र: एक मोनोलग

साथीहरु,
जय देश, जय नरेश। 

सबैलाई खान पुगोस्। दिन पुगोस्। 

यति भनिसकेपछि म को हुँ चिन्नुभो होला। नामै भन्न जरुरी छ र? तैपनि भनिहालौं, मेरो नाम रवीन्द्र मिश्र। ईन्टरनेट चलाउन आउँछरु आउँछ भने विकिपेडियामा गएर हेर्नुस्। त्यहाँ देखिन्छ, मेरो परिचय। परोपकारी, पत्रकार, लेखक, कवि, एउटा यस्तो राजनीतिज्ञ, जसले हेल्प नेपाल नेटवर्क नामको विश्वब्यापी परोपकारी संस्था मार्फत १४ देशमा परोपकारी काम गर्दैछ। के के काम गर्दैछ? त्यो तपाईंहरुलाई थाहा छैन। कसरी होस्रु मलाई नै थाहा छैन। 

विकिपेडियामा आफ्नो प्रोफाईल आफैं बनाएर राख्न पाईन्छ। मौका अनुसार एडिट गर्न पनि मिल्छ। हामी जस्ता अंग्रेजी बोल्ने र बुझ्ने महत्वाकांक्षी नयाँ राजनेताका लागि सित्तैमा उपलब्ध यो साधन बडो गजबको छ। तर आज म विकिपेडियामा नलेखिएका आफ्ना कुराहरु ईमादारीपूर्वक साझा गर्न चाहन्छु। मेरो पहिलो पार्टीको नाम नै साझा, त्यसैले। 

नेपालमा प्रतिगामी स्क्राउण्डलहरुको एउटा लस्ट रिफ्युज बाँकी छ। मेरो गन्तब्य नै त्यहि थियो। त्यहीं गएँ। राप्रपा बाहेक मेरो अरु कुनै गन्तब्य थिएन। म त्यहीं गएँ। मैले साझा पार्टी खोलेर स्वप्नबाग देखाउँदा हो मा हो गर्ने साथीहरु सम्झेर मलाई अहिले लाज लाग्छ। तर राजनीति र लाजको कुनै सम्बन्ध हुँदैन।

म राजधानीको एक कूलीन परिवारमा जन्मँदै चाँदीको चम्चा मुखमा हुलेर हुर्केको मान्छे। मेरा बुवा मनुजबाबु मिश्र। बिलक्षण चित्रकार। उहाँलाई एशियाकै सल्भाडोर डाली भन्दा पनि हुन्छ। उहाँ साहित्यकार पनि हुनुहुन्थ्यो। त्यो भन्दापनि ठूलो कुरा उहाँ गम्भीर राष्ट्रवादी र कट्टर राजावादी हुनुहुन्थ्यो। ०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि उहाँ यसरी बिरक्तिनुभयो कि, उहाँले सार्वजनिक कार्यक्रममा जानै छोडिदिनुभयो। बर्षौंसम्म बौध्द महांकालको घरको पर्खाल समेत छिचोल्नुभएन। यो कुरा बेग्लै हो कि, छ रोपनी जग्गामा फैलिएको आफ्नो घर भित्रै उहाँलाई हिंडडुल गर्न पर्याप्त ठाउँ थियो।  

मलाई मान्छेले मनुजबाबुको छोरा भनेर चिने। तर बाल्यकालमा उहाँसँग मेरो खासै निकटता हुनसकेन। मेरा ठूला बुवा घरेलु तथा साना उद्योग बिकासमा सरकारी हाकीम हुनुहुन्थ्यो। उहाँको जताजता सरुवा हुन्थ्यो, म उहाँसँगै हुन्थें। म स्कूल पढुञ्जेल हुर्किएकै ठूलो बुवासँग हो। तर त्यसो भन्दैमा मेरो आफ्नै बुवासँग तिक्ततापूर्ण सम्बन्ध थियो भन्ने पनि होईन। बुवा त बुवा नै हो। उहाँको छोरा हुनुको फाईदा मैले कागती निचोरेको जस्तो गरेर लिएँ, त्यसैले मेरो व्यक्तित्व बनायो। म आज जहाँ छु, उहाँकै कारण छु। बाउका बारेमा हरेक छोराले यस्तै कुरा गर्छन्। मेरो बारेमा मैले यसो किन भनें, एकछिनमा त्यसको पनि खुलासा गर्नेछु। 

खान पुगेकै थियो। दिनुपर्छ भन्ने सोच आएकै थिएन। ख्यालख्यालमै स्नातकोत्तर गरें, अंग्रेजीमा। महाराजगंज, पानी पोखरीको उकालोमा जापानी दुतावास थियो। ओरालो सकिने बित्तिकै पाकिस्तानी दुतावास। एकजना आफन्तले पाकिस्तानी राजदूतलाई सिफारीश गरिदिए। त्यहाँ जागीर पक्का भयो। क्लर्कको सामान्य जागिर थियो त्यो। तर काम गर्दै जाँदा के थाहा भयो भने, पाकिस्तान सरकारले त्यतिबेला नेपालका दूर्गम जिल्लाका बिपन्न बिद्यार्थीहरुका लागि उच्च शिक्षामा छात्रवृत्ति दिँदो रहेछ। मेरो घैंटामा घाम लागिहाल्यो। पाकिस्तानी हाकीमहरु रिझाएँ। नेपालका गरीब बिद्यार्थीको कोटा मिचेर पत्रकारिता पढ्न पाकिस्तान गएँ।  

उताबाट फर्केपछि कसो कसो एकपटक बेलायत जाने मौका जुर्यो। पत्रकारिता पढेको मान्छे, लन्डन पुगेको छु। बीबीसी त्यहीं छ। त्यसमाथि नेपाली सेवा पनि छ। भाग्यमानीको भूतै कमारो। संयोग कस्तो पर्यो भने, बीबीसी नेपाली सेवाका तत्कालीन हर्ताकर्ता खगेन्द्र नेपाली र मेरो बुवा त्रिचन्द्र कलेजमा एउटै क्लासको साथी। सोझै गएर भेटें खगेन्द्र 'अंकल' लाई। भनें, 'म मनुजबाबु मिश्रको छोरा। पाकिस्तानबाट पत्रकारिता पढेको छु। बीबीसीमा हजुरसँग काम गर्न मन छ।' अंकलले तीन महिने करारमा काम गर्ने व्यवस्था गरिदिनुभयो। म अंकलको परिवारिक सदस्य जस्तै भएँ। तर तीन महिनाको करार त सकिन लाग्यो। मैले हतार हतार नेपालमा बुवालाई गुहारें। बुवाले अंकललाई सकेसम्म करार अवधि थपिदिन आग्रह गर्दै एउटा चिट्ठी लेखिदिनुभयो। खगेन्द्र अंकलले त्यो चिट्ठी खोलेर हेर्दा बीबीसीमै त्यतिबेला काम गर्ने सुमन खरेल पनि साक्षी छन्। सुमनले पनि मान्छे ठीकै छ, गरोस् न त काम भनिदिए। अब सुमनका बुवा किरण खरेलले खगेन्द्र अंकललाई रेडियो नेपालमा 'ब्रेक' दिएको। 

ठाउँमा पुगेका बुवाहरुको छोरा हुनुको फाईदा! यसैबीच अंकलकी छोरी र मेरो मित्रता पनि गाढा भैसकेको थियो। शायद उनको सिफारीशले पनि काम गर्यो होला। मेरो करार अवधि थपियो। 

तीन बर्ष यसैगरी करार अवधी थप्दै, काम गर्दै बित्यो। खगेन्द्र अंकलले त्यो बेला मलाई खुब माया गर्नुभो। एक किसिमले उहाँले मलाई आफ्नो पखेटा मुनि ओथारो राखेजस्तै भयो त्यो तीन बर्ष हाम्रो सम्बन्ध। तर एक दिन राजाको राँगो फुस्कियो। युरोपियन युनियनको रेगुलेसन अनुसार, तीन बर्ष लण्डनमा काम गरेका सबै अस्थायी कर्मचारी स्वत: स्थायी हुने कानून पारित भयो। म पनि बीबीसीको स्थायी कर्मचारी भएँ। अब मैले अंकलको चाकरी किन गर्नुपर्यो र? 

चुपचाप नेपाल आएँ। नेपालकी आफ्नी प्रेमिकासँग बिहे गरें। लन्डन फर्किएँ। अंकल चकित! मलाई बालै फरर। नवाबिवाहिता बुढीलाई बीबीसीमै पार्ट टाईम जागिर पनि लगाएँ। अंकल हेरेको हेर्यै। बीबीसी नेपाली सेवामा मेरो कुराको वजन बढ्न थालेको थियो। 

बीबीसीले त्यो बेला बेलायतमा पाँचओटा न्यूज च्यानल चलाऊँथ्यो। तीमध्ये एउटामा जेरेमी प्याक्स्म्यान भन्ने एउटाले चलाउने 'न्यूजनाईट' भन्ने कार्यक्रम बडो लोकप्रिय थियो। बडा कडा प्रश्न गर्थ्यो त्यो मान्छे। म उसको फ्यान थिएँ। उसको कार्यक्रम आँखा नझिम्क्याई हेर्ने बानी थियो। पत्रकारितामा एउटा उक्ति छ, 'देयर ईज नो कपीराईट ईन स्टायल।' मैले त्यसैलाई मूलमन्त्र ठानेर बीबीसीमा 'नेपाल सन्दर्भ' कार्यक्रम चलाउन थालें। शुरु शुरुमा कडा प्रश्न सोध्दा आफ्नै कट्टू पनि खुस्किएको छ। नेपाली नेता भनाउँदाहरु ज्याद्रा छन्। तर बिस्तारै बानी पर्दै गयो। लाज पचाएपछि चर्चाको शिखर चढ्ने उकालो पनि सजिलो हुँदोरहेछ।   

यो दम्भ भन्ने कुरा राम्रो हो कि नराम्रो मैले अझै बुझ्न सकेको छैन। लण्डन बसेर नेपालका नेतालाई थर्काउन पाएको छु। म सँगै काम गर्ने नेपाली, त्यसमाथि आईमाई! साधन श्रोत र शक्तिको मिश्रण घातक हुन्छ भन्ने यथार्थको म एउटा उदाहरण हुँ। लण्डनमा हुँदा मलाई दुईओटा यौन दुर्व्यवहारको मुद्दा लाग्यो। एउटा पार्टी थियो। बीबीसीमै काम गर्ने एउटी टर्कीस मूलकी केटीसँग जिस्केको मात्र हो मैले। तर म जत्तिको मान्छेसँग नाम जोडिएपछि नामदाम प्राप्त हुन्छ भन्ने सोचेर हो कि क्या हो, म बिरुध्द सेक्सुअल हर्यास्मेण्टको उजुरी हालिछिन्। मैले उनको अंगप्रत्यंगमा अनुचित तरिकाले हात लगाएँ रे। सीसीटीभी थिएन। 'हर वर्ड्स अगेन्स्ट माईन' भयो। बीबीसीको म्यानेजमेन्ट पनि मेल डोमिनेटेड छ नि। त्यो कुरा उनले नबुझ्नु मेरो दोष थिएन। 

अर्को चोटी एकजना नेपाली केटीले फेरी उजुरी दिईन् मलाई लाञ्छित गरेर। मैले उनलाई एउटा होटलमा 'दाम पर्दैन, मीटर चढ्दैन,' भन्दै आफ्नो कोठामा तान्न खोजें रे। मलाई त याद छैन। तर एउटा कुरा, मैले त्यसो नगरेको भए त्यो मेरो फेवरेट थेगो उनलाई कसरी थाहा भयो होला? जे होस्, उनले बीबीसीमा उजुरी हालिन्। यो कुरा ईन्टरनल ट्राईब्युनलसम्म पुग्यो। तर प्रमाण भए पो? 

सेक्सुअल हर्यास्मेण्टको मुद्दा सावित हुन सकेन। अन्फेयर ट्रीटमेन्टको मुद्दामा प्रमाण पुगेन। त्यो बेला 'मी टू' को बिश्वब्यापी लहर चलेको थिएन। ढुक्क भयो। उसको तीन महिने करार सकिन लागेको थियो। मैले यो केटी ठीक छैन भनिदिएँ। उसको खेल खतम। मेरो टण्टा साफ।  

दुई दुई ओटा यौन काण्ड लागिसकेको छ। यता बीबीसीले पैसा बचाउन अस्टेरिटी मेजर लिंदैछ। रिजनल ल्यान्ग्वेजका कार्यक्रम या बन्द हुँदैछन् वा छोटो पार्दैछन्। मलाई लाग्यो, 'हैट्! नेपाल जाने हो। पोलिटिक्स गर्ने हो।' पोलिटिक्स त गर्ने। तर कसरी गर्ने? मैले रबीन्द्र मिश्र सात लाख महिना कमाउने मान्छे सबैकुरा छोडेर देश बनाउन नेपाल आउँदैछ भन्ने हौवा फिंजाए। लण्डनबाट प्रशारित हुने अस्सी प्रतिशत नेपाली कार्यक्रम काठमाडौंबाट उत्पादन गर्ने व्यवस्था गरेन। मैले तलब बेलायती पाउण्डमा लिएँ। मसँग बीबीसीमा काम गर्नेलाई लोकल पत्रकारको खुराक दिएँ। बीबीसी व्यवस्थापन मेरो किफायती योजनाबाट बडा खुशी भएको थियो त्यो बेला। 

नेपाल आएर मैले के गरिन? हेल्प नेपाल नेटवर्कको नामबाट परोपकारी काम गर्ने भन्दै पैसा उठाएँ। भ्रष्टाचारीलाई कीरा परोस् भनेर र्याली गरें। टीसर्ट बाँडे। पछि ब्याक फायर गर्यो। अहिले मलाई त्यो नाराको नाम सुन्न मन लाग्दैन। पैसा उठेको थियो। त्यो पैसा के गर्ने? सोच्न भ्याएको थिइन। सन्तानलाई लण्डनको स्कूलबाट बिचैमा निकालेर नेपालमा ल्याएको, उसलाई अब कता पढाउने भन्ने चिन्ता थियो। आफ्ना छोरा-छोरी सरकारी स्कूलमा पढ्ने कुरा आएन। छोरा-छोरीलाई शैक्षिक शत्रको बीचमा रातो बंगला स्कूलमा भर्ना गरें। उठेको पैसा कता खर्च भयो मलाई थाहा छैन। मैले पहिले आफ्नो उपकार गर्नुपर्छ। अनि परोपकार। 

अब कुरा गरौँ राजनीतिको।

मलाई बीबीसीमा नेपाली नेताहरुको अन्तर्वार्ता लिंदा लाग्थ्यो, राजनीति त एभरेष्ट मम हो, वा भैयाको फोहोरी हात डुबाएर बनाउने पानी पकौडा हो। म ती मध्ये पनि फोहोरी रहेछु। कमसेकम एभरेष्ट ममले जे हो त्यो बेच्छ। भैयाले आफ्नो फोहोर हात ग्राहककै अगाडि मसला पानीमा चोबल्छ। मसँग कुनै बिचार थिएन। बोलीचालीको भाषामा भन्ने हो भने भिजन थिएन। खुट्टा टेक्नका लागी मैले नेपालका अखबारमा लेख्न शुरु गरें। मेरो पहिलो शिकार त्यतिबेलाको नेपाल साप्ताहिकको सम्पादक सुधीर शर्मा थियो। अति महत्वाकांक्षी मान्छे हो त्यो। अहिले त कान्तिपुरको सम्पादक भैसक्यो। तर त्यो मान्छे जो सुकैको सम्पर्कमा जाने, तर प्रयोग भैदिने। प्रयोग हुँदैछु भन्ने थाहा नै नपाउने। मैले उसलाई प्रयोग गरेर नेपाल साप्ताहिकमा मेरै बाउको नाम उधारो लिएर लेख्न थालें। बाउको नाम मनुजबाबु। मेरो छद्म नाम मनुजबाबु चौधरी। मैले त्यो नामले नेपाली राजनीतिको नाडी छाम्न खोजेको, राजनीतिले मेरै आन्द्रा एस्क्पोज गरिदियो। लण्डनको चीसोमा मडरेट कनजर्भेटिभले मौसम तताउने गर्थे। मलाई पनि त्यसको चस्का लागेर नेपालमा साझा पार्टी नामको नांग्लो पसल थापेको। टिकेन त्यो। विवेकशीलसँग मिलेको, उज्जवल थापाको प्राकृतिक व्यक्तित्व देखेरै डर लाग्यो। उनि मरिसके। तर मलाई उनको भूतले तर्साउन छोडेको छैन। 

केही सीप नलागेर 'बिचार भन्दा माथि देश' भन्ने एउटा र्हेटोरिक झ्याम्म हानेको हो। त्यसले त मलाई झन् पंगु बनायो। मलाई खुईल्याएको अरु कसैले होईन। म आफ्नै कारणले खुईलिएको हुँ। नेपालमा प्रतिगामी स्क्राउण्डलहरुको एउटा लस्ट रिफ्युज बाँकी छ। मेरो गन्तब्य नै त्यहि थियो। त्यहीं गएँ। राप्रपा बाहेक मेरो अरु कुनै गन्तब्य थिएन। म त्यहीं गएँ। मैले साझा पार्टी खोलेर स्वप्नबाग देखाउँदा हो मा हो गर्ने साथीहरु सम्झेर मलाई अहिले लाज लाग्छ। तर राजनीति र लाजको कुनै सम्बन्ध हुँदैन। मैले लाज मात्र होईन घीन र स्वाभिमान पनि पचाईसकेको छु। 

मलाई थाहा छ, मैले यसपाली फेरी काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिने बिचार गरेको छु। पछिल्लो पटक म जम्मा ८१८ भोटले हारेको थिएँ। त्यो बेला राप्रपाले समेत प्रकाशमानलाई भोट हालेको थियो। अब त्यो अवस्था रहने छैन। राप्रपा मेरो पकेटमा आईसक्यो। बालेनको टीमसँग पनि मेरो कुरा हुँदैछ। म कति घातक छु भन्ने कुरा नबुझेसम्म उनीहरुले मलाई सहयोग गर्नेछन्। म नजिते पनि ठीक छ। ओलीको आशिर्वाद पाएर राजेन्द्र लिङ्ग्देनले फेरी जिते मेरो भाग्यमा खुवाको कराही पल्टिने पक्का छ। 

राजेन्द्र लिङ्ग्देन चुनाव जितेर संसदमा जान्छन्। म चुनाव हारेर बरिष्ठ उपसभापतिका रुपमा पार्टी चलाउँछु। लबींग गर्छु। भोलीको सरकार पनि गठबन्धन नै हो। पाँच बर्ष लामो समय। राप्रपा सरकारमा जावोस्। म पार्टीमा बखेडा गर्नेछु। सरकारमा राजेन्द्र जाउन्। पार्टी मैले चलाउने हो। 

मैले एकदिन चन्द्रागिरी केवल कार शुरु नहुँदै बीबीसीको ध्वाँस देखाएर तीस बर्ष घरबाट बाहिर नआएका बाउलाई समेत घुमाएर चर्चा बटुलें। भर्खर राजनीतिमा आएको मलाई त्यसले खुब माइलेज दियो। कमसेकम मेरा बाउ मोनालिसासँग आफ्नो टाउकोमा सिङ्ग उमारेको कल्पना गर्थे। चित्र बनाउँथे। म बिचित्रको छु। मेरो बिश्वास नगर्नुस्। 

(बाई द वे, एउटा कुरा झन्डै भन्न बिर्सेको। मेरो बुवालाई आफ्नो मात्र होईन, अरु नयाँ कलाकारहरुको प्रतिभा पनि प्रस्फुटित होस् भनेर बौद्द महांकालको त्यो जग्गामा 'हर्मिताज' नामको एउटा एउटा नि:शुल्क म्युजियम बनाउने धोको थियो। मलाई राजनीति गर्न पैसा चाहिएको थियो। त्यो बेचेर अर्कै ठाउँमा घर बनाएको छु।)

प्रतिक्रिया