गजब दुनियाँ

छिमेकी आन्टीको 'टन्कल'

gyanmani bhurtelसञ्चार क्रान्ति र फेसबुके जात्रा !!
   
कुनै समय थियो छिमेकी आन्टी झ्याल खोलेर चिच्याउँथिन्– ओई ज्ञानमणि, तिम्रो टन्कल आको छ काठमाडौंबाट!

लुङ्गी स्याहार्दै छिमेकीको कोठा पुग्दा सोफामा पल्टेर ‘आफ्नै  फुन’ मा गफ लाउँदै हुन्थिन्– हाम्रो ह्वाँ त... ! मेरो माईतमा त..! मेरा केट्केटी त..!

उनको ढलिमली देख्दा घुटुक्क थुक निल्दै सोचिन्थ्यो– मेरा लागि यस्ता दिन कहिले आउलान्? माहोल यस्तो हुन्थ्यो कि उनी पृथ्वीनारायण र म बिशे नगर्ची! छेउमा टुक्रुक्क बसेर फोन टुङ्गिने समयको प्रतिक्षाको बिकल्प हुन्थेन!

केही समय पछि आफ्नै घरमा फोन जोडियो! छिमेकी लेवलमा पुगियो आफू पनि! ‘ओई फलानो..तिम्रो फोन आको छ ‘भट्याउनेमा पुगियो! काठमाडौं पुगेपछि बिजय गच्छदार दाहिना भैदिएकाले ‘घरबेटी आन्टी, तपाईंको फोन आको छ’ भन्ने हैसियतमा प्रमोसन भो! पछि माईतिघरको पसल सँगै तीन सेट फोन  प्राप्ति पछि चोकको सबैभन्दा धेरै फोन हुने साहु पो भईयो! छानीछानी जुनबाट कल गर्दा पनि भो! शनिवार हाफ हुने हुँदा ‘टन्कल’ गर्नेको घुँईचो हुन्थ्यो!

टन्कल (ट्रङ्कल) युग पछि मोबाईल युग आयो! मोबाईलले ट्रन्कललाई पछि छोड्दै गयो! ‘रिचाज कार्ड, रिचार्ज कुपन किन्ने अनि’ मोबिलमा दस रुपैयाँ सार्दिनुस्् न’ देखि ‘टान्सफरम’ गर्ने पर्यटक बढ्न थालेपछि मेरा लागि मोबाईल अत्यावश्यक बस्तु भित्र पर्यो! पर्न त पर्यो नि! सिम पाउनै कठिन! थापाथली देखि भद्रकालीसम्मको भिड छिचोल्नु र छुचुन्द्राले बोरा उचाल्नु एकै जस्तो परिस्थितिमा टेलिकमका पद्मराज दाइ (कार्की) मेरा लागि मसिहा निस्किनु भो! लाईन नबसी पुलिसको डन्डा नखाई सरकारी दस्तुर १४३५ रुपैयाँमै सिम पाउँदा उहिले राफल चिट्ठा नपरेको पीडा बिर्सियो! न्यूरोड पुगेर नोकिया ११०० सेट भित्र सिम छिराएपछिको मेरो खुशी र अहिले काङ्ग्रेस समानुपातिक सिफारिसमा परेको बिन्देश्वर रिक्सावालाको खुशी उस्तै थियो!

मोबाईल गोजीमा बोकेको तीन दिन बितिसक्दा समेत घण्टी आउँदैन! हात घरीघरी गोजिमा पुग्छ! कतिबेला मोबाईल बज्ला र चोकै थर्किने गरि ‘हेल्लो’ भन्ने कत्रो आस? अचानक बेलुका ९ बजेतिर फोन बज्यो! ‘हेल्लो! अरुबेला लैण्डलाईनमा आउँथ्यो! आज मोबाईलमा फोन आयो त?’ भन्ने जवाफमा– कसैले फोन नगर्देकोले माया लागेर मैले नै गर्देको नि! ल लिन आउनु! भन्ने  स्वर सुनियो! पहिलोपटक आफ्नै मोबाईलमा आफुले सुनेको स्वर आफ्नै मायालुको थियो! (भ्रम नरहोस्! मायालु भन्दा सन्दीपले नगरकोट घुमाएझैं को मायालु हैन नि! आगो तापेर सात फेरा घुमाएको मायालु चैं हो क्या)!

अब आयो! फेसबुक युग!

देश गुनाको भेष भने झैं गरियो! छिमेकी भतिजिको सक्रियताले फेसबुक आईडी बनाईयो! दनादन रिक्वेस्ट पठाईयो, काङ्ग्रेसले कृयाशिल फर्म बाँडेझैं। अनि आएका रिक्वेस्ट आँखा चिम्लेर एसेप्ट  गरियो! काङ्ग्रेसले माले मण्डले मशाले पार्टीमा छिराएझैं! ४०९३ को बथानमा भूर्तेल मात्रै ५०० भन्दा धेर होलान्! लाईक कमेन्ट १०० पुग्दैन त्यो अलग बिषय हो!

फेसबुकको लत यस्तो लाग्यो कि मध्यरात भएको समेत पत्तो पाउन छोडियो! मध्यरातसम्म मोबाईलमा चम्किनु र बिहान पिठ्युँमा घाम आउञ्जेल ओछ्यानमा तन्किनु दैनिकी नै बन्यो! फेसबुक यात्राको क्रममा अनेक जात्राको सामना समेत गरियो! कतिलाई ब्लक हान्नु पर्याे! आएका रिक्वेस्ट धेरै सोचेर मात्र एसेप्ट गर्नुपर्ने ब्रम्हज्ञान पनि प्राप्त गरियो!

एउटा फेसबुके बुद्धिजीवीको स्टाटस यस्तो आयो– स्वर्गीय...को स्वर्गारोहण भएको र पशुपति आर्यघाटमा...जे अन्तिम दाहसंस्कार हुने भएको जानकारी गराईन्छ! स्वर्गीय भैसकेको मान्छेको स्वर्गारोहण कसरी हुन्छ? अनि दाहसंस्कार कति वटा हुन्छन्? पहिलो कहिले भएको थियो र यो अन्तिम भयो? फेसबुके बुद्धिजीवीले भेउ पाउँदैन!

खैर, आफ्नो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली लेखियो! अर्कोले तल लेख्यो– रिप! शोलेको रामगढबासिले अङ्ग्रेजको गुडबाई नबुझेझैं भो मेरा लागि! ए रिप क्या होता है भाञ्जा? कहिलेकाहीं मोबाईल जात्रा नबुझ्दाको मेरो गाईड भाञ्जाले प्रस्ट्यायो– रेस्ट इन पिस भनेको हो मामा!

हरे शिव! कसैको मृत्युमा भावपूर्ण श्रद्धाञ्जली या समबेदना भनेर चार शब्द कोर्न अल्छी मानेर क्रिश्चियन सिको गर्दै रिप लेख्ने अल्छे स्वाँठले जनै भिर्ने नाटक किन गर्नु? अल्छी बढेर अलिपछि आर मात्रै लेखे हामीले के बुझ्नु?

जात्राकै भिडमा जन्मदिनको शुभकामना भेटियो! एचबीडी भनेको ह्याप्पी बर्थ डे रैछ भनेर बुझ्न निकै समय लाग्यो! एउटी महिला मित्रको फोटो स्टाटस– म कस्ती छु? भैंसी जस्ती काली पहेँलो साडिमा बेरिएकी! सत्य लेखौं भने महिला हिंसाको आरोप खेप्नुपर्ने त्राश! ब्यूटिफुल लेखिदिउँ भने कुचो उचालेर आफ्नै अपोजिसनबाट ‘को हो यो नखरमाउली?’ भन्दै आउने प्रश्नको आतंक! हिम्मत गरेर प्रेमको संकेत चिन्ह  सहित पर मेटियो– अति सुन्दर! जवाफ आयो–टिक्यु, यहाँ पनि शोलेकै रामगढबासी भईयो! तेस्का बाजे! टिक्य भनेको थ्याङ्कयू  रैछ भनेर बुझ्न झण्डै हप्ता दिन लाग्यो!

अर्कि हाफपेन्टधारी दसमासा महिलाको टिकटक भिडियो– मै पानी पानी हो गई..! दर्जन नाति नातिना कि धनी खरानी हुने बेलाकी आमै पानी पानी भईन् रे! आफ्नै कपाल भुत्ल्याउनुको बिकल्प छैन! छोरालाई शुभकामना दिँदै कुनै बाउको स्टाटस आउँछ– हाल अमेरिकामा रहेको छोरा .....लाई जन्मदिनको शुभकामना! यस्तो लाग्छ कि उनका छोरा अमेरिकामा प्लेन उडाउँदै छन्, अरुका खाडिमा उँट चराउँदैछन्! बाबुराम भट्टराईले ‘नाती युगिन गम्भीरतापूर्वक पुस्तक अध्ययनमा’ लेखेझैं!

तेल भिषामा अष्ट्रेलिया पुगेकी आन्टी पनि के कम? ‘अष्ट्रेलियामा छोरीको आफ्नै घरमा आराम गर्दै’ हाल्न भ्याईदिईन्! उनकी छोरीको चैं घर छ! अरु सडक पेटिमा टेन्ट गाडेर बसेका छन्!
एउटा फन्टुस एयरपोर्टको दृष्य हाल्दै लेख्छ– केही दिनका लागि लागियो राजधानीतिर! बाईबाई झापा! केही दिनपछि फेरि लेख्छ– लागियो झापा तर्फ सियू काठमाडौं! घर पुगेर थप्छ– सकुशल आईपुगियो! थ्याङ्क्यू बुद्ध एयर!

केही बर्ष अघिसम्म नाईट बसको सस्तो टिकट खोज्दै लास्ट सिटमा बसेर चाउचाउ फक्याउँदै काठमाडौं पुग्ने बेरोजगार केटो कसरी हप्तै पिच्छे प्लेन चढ्छ? पछि नाटक बुझियो सोमको– एयरपोर्ट पुगेर लुगा फेर्दै विभिन्न पोजमा खिचेका फोटा पोष्ट्याउँदो रैछ केटो! बाईबाई काठमाडौं बाईबाई झापाको साप्ताहिक नाटक रहस्य!

आरती बुद्ध बस ठेल्दै बिहान ७ बजे बिर्तामोडबाट हिँडेर बेलुका ८ बजे हिलाम्मे फिदिम पुग्ने फेसबुके मित्र काठमाडौं एयरपोर्टमा बसेर पोष्ट्याउँछन्– थुक्क बुद्ध एयर! आधा घन्टा भो प्लेन कुरेको! तीन घन्टाको बाटो दिन बिताईदिंदा गाली नखाने आरती बुद्ध! आधा घन्टा ढिलो हुँदा थुक्क खाने बुद्ध एयर! यो बुद्ध एयर प्रतिको आक्रोश भन्दा पनि एयरपोर्टको फोटो प्रदर्शनी प्रष्ट थियो! आक्रोश भए त आरति बुद्ध ठेल्दा पनि थुक्क आउनु पर्ने हो नि!

अर्का मित्रले झनै रमाइलो गरे! मैतिदेवीमा फर्सिको मुण्टा किन्दा दलालिमा ब्यस्त केही घन्टा पछि त्यै मुन्टाको फोटो हाल्दै लेख्छन्– मेरी उनीको मेहनत! आफ्नै घरको कौशिको उत्पादन! आडम्बरको पराकाष्ठा!

एउटाले बिरामी भएको फोटो हाल्छ! अर्कोले लाईक ठोकिदिन्छ! अर्कोले लेखिदिन्छ– नाईस पिक! चितामा जलिरहेको फोटोमा समेत लाईक ठोक्नेको कमि छैन! 

अर्को मित्र घुक्र्याउँछन्– अब फेसबुक बन्द गरिन्छ! फेसबुक देखि दिक्क लागिसक्यो! माकुनेले सन्याश लिएर बृन्दाबन जान्छु भनेझैं! न उनले फेसबुक बन्द गरून्! न माकुनेले सन्याश लिउन्! खोक्रो घम्की!

एउटी महिला मित्रले त्यस्तै धम्की पोष्ट्याईन्– मेरो फोटोमा लाईक कमेन नगर्नेलाई अनफेरेन गर्दिन्छु! बलक हान्दिन्छु! तात्तो न छारोका पोष्टमा लाईक कमेन्ट नआउँदाको धम्की र आफुले सिट नपाउँदाको प्रचण्डको जनयुद्ध गर्ने धम्की समान छ!

दिदी बिर्सेर दि भएको छ! दादाको एउटा दा हराएर एक्लो दा भएको छ! जात्रा भित्र जात्रैजात्रा छ!

गणतन्त्रका नाममा गाँडतन्त्र आकैछ! आआफ्नै सुर गरौं! मनलाग्दी गरौं तर गुपचुप गरौं! फेसबुके जात्रा चैं बन्द गरौं कि?

कस्तो लाग्यो मेरो फेसबुके जात्रा?
 

प्रतिक्रिया