पाँच सय वर्षअघिका राजकुमारीहरु

इतिहासले न कसैलाई हेला गर्छ न त दया नै

इतिहासले अतीतका तीता मिठा सबै घटनाबारे वर्णन गर्दछ । इतिहासले न कसैलाई हेला गर्छ न त दया नै । यसले राजादेखि रङ्कसम्म सबैको पोल खोलिदिन्छ । हाम्रो देशमा पहिल्यैदेखि नै राजा , रानी , रजपरिवार र दरबारिया मामिलाको मात्र अभिलेखीकरण गर्ने चलन रह्यो  । परन्तु दरबारिया कुरा प्रकाश पार्दा कतिपय सामाजिक , सांस्कृतिक , आर्थिक र भौगोलिक विषयलाई समेत जनाउने कुराहरु प्रकट हुन पुग्दा रहेछन्।

कास्की राज्यका पण्डित गदाधर सुवेदीले मानसरोवर यात्रा गर्ने मनसुबाले कास्कीका तत्कालीन राजा राज शाहीसमक्ष बिन्ती गर्दा राजाले युवराज नारायण शाहका लागि डोलाजी चहार्ने ( दुलही खोज्ने ) काम समेत जिम्मा लगाएका रहेछन् । मानसरोवर यात्रा सम्पन्न गरेर फर्किने बेलामा पण्डित गदाधर सुबेदीले बाजुरा , डोटी , जुम्ला , दुल्लु , विलासपुर , जाजरकोट , सल्यान , प्युठान , अर्घा , खाँची , गुल्मी , धुर्कोट , इस्मा , र पर्वत हुँदै त्यहाँका राजकुमारीहरुबारे अनेकौं सोधखोज र चियो गरेर राजा राज शाहीसमक्ष प्रतिवेदन पेश गरेका थिए । राजासमक्ष पेस गरिएको त्यो अर्जीमा उल्लेख भएको विवरणले पश्चिम कुमाउ गढवालदेखि पर्वतसम्मका  राजकुमारीहरुबारे मात्र नभई ती राज्यको प्रतिष्ठा , धनसम्पत्ति र शक्तिको सम्बन्धमा पनि चाखलाग्दो वृत्तान्त दिएको छ । यो यात्रावृत्तान्तलाई इतिहासकार बालकृष्ण पोखरेलले अर्का इतिहासकार डा. राजाराम सुवेदीबाट प्राप्त भएको भनी जनाउँदै प्रकाशित गरेका छन् । पोखरेल लेख्छन् ,  ’गदाधर सुवेदीको यो कृति नेपाली भाषाको प्रथम निबन्ध हो । यो यात्रासाहित्यको प्रथम कृति हो नेपाली भाषामा  ’ ( बालकृष्ण पोखरेल , पाँच सय वर्ष )

प्रतिवेदनको सुरुमै गदाधर सुवेदी लेख्दछन् ,   ’कालीकमौका पालचन्द रायठौरका षायालायाका कन्या कास्कीका ठौरठाममा रत्तिन्या नभई छुट्या ।’  यहाँ पण्डितले बडो फरासिलो तरिकाले कुमाउतिरका खाएलाएका राजकुमारीहरु कास्कीमा रत्तिन र घर गर्न कठिन हुने  हुँदा त्यतातर्फका कन्या हेर्न नगई छुटाएको कुरा व्यक्त गरेका छन् ।

डोटीका राजा भूपति शाहीकी छोरी शैलेश्वरीका बारे सोधखोज गर्दा ती राजकुमारी खाएलाएकी , पाककलामा पारङ्गत , बोलीचाली नमिल्ने , मुखको कत्ला उडेकी , र पुड्की भएको हुँदा सन्तान पनि गर्च्या ( पुड्को ) हुने संभावनाबारे खुलस्त पार्दछन् । राजकुमारीको सम्बन्धमा सारा सत्य कुरा उल्लेख गरेपछि उनी फेरि व्यावहारिक ज्ञानका कुरा लेख्दछन्  ,  ’गर्ग गोत्रीय हुँदामा कास्कीका ठाकुरकन तहाँका ठाकुरका डोलाजी लिन – दिन हुन्यै हो । कन्याको रुप यस्तै हो । रुप चाट्न्या नभई सीप चाख्न्या भन्दामा उमेर पुग्या बढिया ठहरायाँ । जो आदिस् ।’ 

उनी अगाडि लेख्दछन् ,  ’थामीराजा  भिउसिंका मैयाँ पार्वतीका बल्ढ्याङ्रा आँषा , दन्तद्वार भैदिदा बत्तीस लक्षणमा एक कुलक्षण ठहर्‍यो । भातपानीका रेषभागमा आजमेहेर ( अजमेर ) कल्हौत ( गहलोत ) राजपुत कन्या हुँदो राजा भिउसिं मुलुक मान्याका दिग्विजै गर्‍याका , भोट्याको सिर्तो , जाड्याको वलक ( कोसेलीपात ) मालमधेसका दवलथ पूर्ण गर्‍याका ।’ परन्तु सबै कुरा राम्रो भएर मात्र के गर्नु ? पार्वतीको थ्याप्चो – च्याप्टो मोहडा , बडेमाको पुर्पुरो , मुस्काउँदा खिस्स सेता दन्तद्वारले गर्दा सबै गुमाउनुपर्‍यो ।

पण्डितले बाजुरेली रैतीसँग त्यहाँका राजा चुनरीपालकी  बहिनी मल्लिकावतीको विषयमा बुझ्न खोज्दा पराई देशबाट आएको अपरिचितलाई केही पनि भन्न मानेनन् । त्यस असहयोगलाई इङ्गित गर्दै उनी भन्दछन् , ’रैती लाक्षि ( लाछी )  हुँदा भेउ पाउन कष्ट पर्‍यो । धेरै दिनपछि येक चरबाट सुल्की बुझ्दामा ल्याइता जड्यानीका कोषकी कन्या भन्न्या गुन्जाइस भयाका अर्थले कुकुर मारी दसैं ठहर जो हो ठान्याँ ।’

पण्डित गुप्त तवरले जुम्ला पुगेर त्यहाँकी राजकन्याबारे बुझ्दछन् । जुम्ली राजा भान शाहीकी  तेह्र वर्षकी  छोरी चन्द्रावती मैयाँ देखेर उनी  कत्ति पनि आकर्षित भएनन् । पण्डित लेख्छन् ,  ’कैला केश फुस्रा कत्ला , कपालमा लटा पर्‍याका , तानाबाना फिज्यार्‍याकी तन्नम भोट्याकी चेली जसी । नाउँ भन्या चन्द्रावती मैयाँ । हाम्रा कुमार नारान शाहीकन कतै नसुहाउन्या ।

दुई दिन लामथाडा बसेर ज्वालाजीको दर्शनपूजा गरी पण्डितजी दुल्लु पुगे । दुलाल राजा उदय शाहीकी छोरी विजयश्वरीका बारे उनी लेख्छन् ,  ’खासा रुपकी छन् । बोली मसिनो मैनाचरी भन्या हुन्या। बाह्र टेक्याकी बाबा महातारीकी आँषाकी नानी ।’ तर ती कन्याको विवाह गर्ने उमेर भइनसकेको हुँदा ढुक्नु ( पर्खनु ) पर्ने व्यहोरा जाहेर गरेका छन् । उनी अगाडि भन्छन् ,  ’दुल्लुकी रानी दुर्छ्या भैदिदा काम तामिल हुन हम्मे ठहर्‍यायाको छु । दुल्लु राजेमा पोथीको डाँको चल्न्या रह्याछ ।’ यहाँ पण्डित महिलाप्रति पूर्वाग्रही देखिन्छन् । यसले तत्कालीन समाजमा महिलाप्रतिको दृष्टिकोण छर्लङ्ग पारेको छ ।

दैलेखको विलासपुरबारे उनले चाखलाग्दो वर्णन गरेका छन् । राजा सुधा शाही सिकार खेल्न जाँदा लोटेर खुट्टो भाँचिएको रहेछ । खुट्टामा काप्रो बाँधेको , दिसाजङ्गल जाँदा टहलुवाको सहयोग चाहिने । मिठो खानुपर्ने , च्याखुरा –  प्युराको शोख गर्ने र विलासी जीवन अपनाएको हुँदा नै विलासपुर नाम हुन गएको हो कि भन्ने भान पर्ने । आँगनमा रतुवाको पाठो छोपेर राखेको । राजाका मनमती र धनमती नाम गरेका छोरी रहेछन् ।

जाजरकोटे राजा मनवीर शाहीकी छोरी जलेश्वरी मैयाँ  ’औधी हुरुक्क गरी पाल्याको , बडो पुलपुल्याका रह्याछन् । जलेश्वरी मैयाँ ११रै वर्षमा झल्ल हुन्या भो । जाजरकोटे रैतीका सकल ( अनुहार, बनोट ) ढोड्या नाक , गाँडा , लटपट्या कर्कस बोली , हाम्रा कास्कीका घाचोकका रैतीसँग मिल्न्या । गलो बढ्याका , पानी घटिया छ भन्थ्या । यथानाम तथा राजा भन्याको जाजरकोट रह्याछ ।’ पण्डित खिसीट्यूरी र उपहास गर्न पनि खप्पिस देखिन्छन् । जाजरकोटेका कुरा गर्दागर्दै उनी कास्कीको घाचोकलाई समेत लपेट्न पुग्द्छन् । उनी अझै अगाडि बढेर लेख्दछन् ,

     ’कन्य ता जहारीमा छन् भन्थ्या । साहरै नै निर्धो राजेका द्वारमा कास्की पस्नु मनासिब छैन जसो ठानी तेता पसिन । विलम्ब गरिन ।’ 

पण्डित सल्यान पुग्दा त्यहाँका राजा त्रिलोक शाही नयाँ दरबार बनाउन व्यस्त रहेछन् । उनी सल्यानी राजालाई बडो रजगजले बसेका र तरक्की गरेका भनेर बखान गर्छन् । राजाका चार कन्या रहेछन् , काञ्चिला , घ्युकुमारी , मनकला र चन्द्रकला । गदाधर लेख्छन् ,  ’सप्पै झल्ल बल्याका ।’ तर उनी सल्यानी राजाका छोरीबारे कुरा गर्ने कुनै आदेश नभएको हुँदा केही कुरा नगरेको व्यहोरा उल्लेख गर्दछन् । पण्डितले सल्यानी राजाका पूर्वज गोतामे ब्राह्मण रहेको खुलासा पनि गर्दछन् यहाँ  । सल्यान दरबारमा अत्यन्तै सुन्दरी मगर्नी युवतीहरू देखेको कुरा पनि जाहेर गर्दछन् ।

परिबन्द पनि कस्तो परेको छ भने जुन राज्यका कन्या बढिया थिए , ती राज्य या निर्धा या अपायक या त आदेशको अभाव । उनी दाङको छिल्ली राज्यलाई हेपेको लवजमा लेख्छन् ,

 ’कन्या ता छिल्लीमा बढिया छन् भन्थ्या’ तर उनी त्यता जाँदै गएनन् । प्युठानी राजा दलपतिराजकी छोरी वर्ष चौधकी जानुकाबारे उनी लेख्छन् ,  ’ती मैयाँ कसी भन्या गोरो वर्ण , मोटा हात पाखुरा , थाक्स्या जिउ , चौडा दिदार ( निधार ) , छनमती छतौरीका लायक उफ्री उफ्री हिड्न्या ।’ गदाधर  कास्कीभन्दा प्युठान राज्य ठूलै बलबरकत भएको ठहर गर्दछन् ।

अर्घाली राजा ऐवर्ण शाहीका छोरी छन् भन्ने चाल पाउँदा पाउँदै पनि उनी अर्घालाई हेपेर  कास्कीका जोर लाग्न्या हैन भन्दै त्यसै छाडिदिन्छन् । खाँचीका राजा रामससिंह शाहीकी छोरी लक्ष्मीप्रभा साह्रै लायककी हुँदा चित्त बुझेको  कुरा जाहेर गर्दछन् । उनी अर्घा र खाँचीबीचको कलहबारे पनि बोलेका छन् । खाँचीका राजा सधै खेदो र कोचलो गर्नमा माहिर रहेछन् ।

पण्डित इस्मा पनि पुगे । इस्माली राजा गजकेशरीको व्यक्तित्वबाट उनी ज्यादै प्रभावित र भयभीत समेत भए । इस्माका ठाकुरहरु अलि रिसाहा पनि थिए । पण्डित लेख्छन् ,  ’खाउँ जस्तै ताक्दा भया ।’ राजा गजकेशरीकी छोरी रत्नावलीबारे उनी लेख्छन् ,  ’राइठोरकी मैयाँ रत्नाओती । सीप क्या कसो छ केही मेलो भयान  ।’

फेरि पण्डित बेनी पुग्दछन् । त्यहाँ पर्वते राजा प्रतापी नारायण मल्लको दरबारमा अत्यन्तै रूपवती किशोरी देखेर मोहित हुन पुग्दछन् गदाधर ।

उनी लेख्छन् ,  ’प्रताप नारान् मल्लकी साली भन्थ्या साहरै मन षिचन्या कन्या देख्याँ ।’  गदाधर ती कन्याबारे थप सोधपुछ गरेर सारा कुरा पत्ता लगाउँछन् । ती कुमारी थिइन् , पाल्पाली राजा मुकुन्द सेन ( प्रथम ) की छोरी । मुकुन्द सेनकी अर्की छोरी  विश्रवा देवीको विवाह प्रतापी नारायण मल्लसँग  भएको थियो । राजकुमारीले विवाह भएर पर्वत आउने बखतमा पाल्पाबाट कालीको मूर्ति लिएर आएकी थिइन् । बाग्लुङमा रहेको प्रख्यात कालिका मन्दिर तिनै पाल्पाली कालिका देवीको हो ।

राजाकी साली पाल्पाबाट दिदी भिनाजुलाई भेट्न आएको समय परेछ त्यो । साली राजकुमारीबारे गदाधर लेख्छन् ,  ’तस्ता कन्य ता सयमा मिल्लान् । ती कन्या कस्ती भन्या मुहुडा घोप्टो पार्न्या लाजले झुक्याकी , अति रूपवती , सिलवती , गुणवती । हाम्रा श्री श्री श्री नारान साहीकन  कन्याका रेषभागमा भावीले कसो लेष्याको छ सप्पै जैषी खुटाउन् । तपनि तस्ती कन्याका तलास गर्नु चाहिन्छ  ।’

पण्डित गदाधरले रिसिङ र घिरिङलाई चोक्रे ( रस नभएको , सुकेको , दुब्लो ) भन्दै त्यस्ता राज्यका राजकुमारीमा कास्की फस्न नहुने सुझाव दिएका छन् ।

उनी  धुर्कोट पनि पुग्दछन् ( हाल गुल्मी जिल्लामा पर्छ ) । बाइसी र चौबीसी राज्यका तत्कालीन राजकुमारीहरुमध्ये सर्वाधिक चर्चित हुन् धुर्कोटे राजकुमारी सरुमै रानी । उसै बखत लोकगाथामा छाइएकी र हाल झनै लोकप्रिय बनेकी सरुमै रानीको खास नाम सरुपावती हो । उनी धुर्कोटे राजा मानिक मल्लकी छोरी हुन् । सरुपावतीको विवाह कस्केली राजा जलाल शाहीसँग  भएको थियो । पण्डित गदाधर धुर्कोट पुग्नासाथ भावुक हुन्छन् । उनी लेख्छन् ,  ’हाम्रो माओली राज्य ।  धुर्कोट्या माराज मानिक मल्लज्यूकी मैयाँ सरुमै रानीका कोषका माराजका मावलीको बेलिबिस्तार क्या कामले झिकू । तहाँका मैयाका जाहेर गर्नु ता सुर्जेलाई बाती ।’ ( राज शाहीकी आमा हुन् सरुमै रानी ) ।

सरुमै रानी विवाह भएर कास्की पुगेको बाह्र वर्षसम्म माइत जान पाइनन् ।  ’विवाह भएर टाढा पुगेकी छोरीको माइतीप्रतिको अस्याट मेटाइदिनका लागि धुर्कोटे राजाले अभिभावकका रुपमा जैरथ भण्डारीलाई  काँस्कीको ढिकुरपोखरी  पठाएका थिए ’ ( प्रेम सुनार , साझासवाल डट कम ) । तर त्यसरी कति दिन अस्याट मेटिनू ? रानी साह्रै नै जिद्दी गरेर पतिलाई समेत साथै लिएर धुर्कोट जान्छिन् । किन्तु त्यो अभिशप्त यात्राले राजा र रानी दुबैको जीवनलीला समाप्त गरिदियो । इतिहासकार डा राजाराम सुवेदी लेख्छन्  ’एउटा विचित्रको कुरा के छ भने गुल्मी र कास्कीका पुराना गाइनेहरुले बडो मर्मान्तक रुपमा सरुमै रानीको कर्खा ( कुनै  वीर वीराङ्गना या मार्मिक पात्रको काव्यात्मक गाथा ) सुनाउने  गर्दछन् ।’ सरुमै रानीले माइत जान जोडबल गर्न थालेदेखि नै अनेकौं अपशकुन देखिए । तैपनि माइतीदेश जान नितान्त उत्सुक उनी पतिलाई साथ  लिएर यात्रामा निस्किन् । । माइतमा आमाको देहावसान भइसकेको थियो । द्वेषपूर्ण चरित्रकी सौतेनी आमाले झुक्याएर सरुमै रानीका पतिलाई विष खुवाएर मारिन । सौतेनी आमाको भित्री इच्छा सरुमै रानीलाई आफ्नो भाइसँग विवाह गराउने रहेछ । सौतेनी आमाले सरुमाको पति भुरे र आफ्नो भाइ वीरे भएको हुँदा विवाह गरे कल्याण हुने भन्दै निकै फकाइन् । परन्तु पतिव्रता सरुमा प्यारो पतिको सती भएर गइन् । (  जीवेन्द्रदेव गिरी , सरुमै रानी गाथामा परिवेश चित्रण ) ।

सरुमै रानीबारे असङ्ख्य गाथाहरु छन् । तैं पारी कालीलेख दमाहा प्रभु बज्यो , देखन पाइन मेरो माइतीको देश । खाम्ला पिम्ला भनी आमै तिम्रा देश आएतेम् , पियारालाई बिख हाली मार्‍यौ नि राम । माइत जान सरुमै रानी अब टुट्यो राम , जाने छैन सानीमाको माइती हो राम । युट्युबमा पनि सरुमै रानी भाखाका अनेकौं गीत भेटिन्छन् । धुर्कोटे राजकुमारी सरुपावती सती भएर गइन् । परन्तु उनी सरुमै रानीको भाखामा जीवन्त लोकगाथा र गीतमा अमर छिन् ।

प्रतिक्रिया