डा. सतिश चौधरी
काठमाडौं । नेपालका कम्युनिष्टहरुको अहिलेको मुख्य दुश्मन को हो ? यसबारेमा नेकपा(एमाले)को शुक्रवारदेखि प्रारम्भ भएको महाधिवेशनमा खासै चर्चा भएको पाइदैन । मुख्य दुश्मन किटान नगरी कुनै पनि कम्युनिष्ट आन्दोलन अघि बढन सक्दैन ।
बिगतमा कम्युनिष्ट आन्दोलनमा शत्रु र मित्र शक्तिको बहस चल्दै आएको छ । कम्युनिष्टहरुविचको टुटफुट र विभाजनको मुल जड नै बिगतमा ‘प्रमुख शत्रु र गौण शत्रु’को पहिचानकै विषय हुन्थ्यो । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले राणा शासन समाप्तीपछिको कालखण्डमा दरबार मुख्य दुश्मन भएकाले गौण दुश्मन भारत र नेपाली कांग्रेससँग मिलेर राजतन्त्र समाप्तीको आन्दोलन चलाउनुपर्ने विचार अघि सारेका थिए । उनको ‘संयुक्त राष्ट्रिय जन आन्दोलनको कार्यक्रम’ले राजतन्त्रलाई मुख्य दुश्मन मानेको थियो । तर, तात्कालीन कम्युनिष्ट नेता केशरजंग रायमाझीदेखि मोहनविक्रम सिंहसम्मले भारतलाई मुख्य दुश्मन मान्नुपर्ने विचार अघि सार्दै दरबारप्रति नरम नीति अपनाएका थिए ।
नेपालका कम्युनिष्टहरुले प्रारम्भीक चरणमा दुश्मनका रुपमा तीन शक्तिलाई मान्दै आएका थिए । कम्युनिष्ट ‘जार्गन’ अनुसार ‘अमेरिकी साम्राज्यबाद’, ‘भारतीय विस्तारवाद’ र ‘देशीय सामन्तबाद’ नै दुश्मनहरु हुन् । एमाले नेता बामदेव गौतमले एकपटक यी सबै दुश्मनलाई एउटै खाल्डोमा जाक्ने ‘खाल्डो सोच’ अघि सारेका थिए, तर समयक्रममा गौतम आफै कम्युनिष्ट आन्दोलनभित्रको आपसी कलह र व्यक्तित्वको टकरावले पारेको खाल्डोमा छन् ।
जे होस्, तीन दुश्मनमध्ये प्रमुख दुश्मन अमेरिका, भारत या राजतन्त्र कसलाई मान्ने भन्ने विषयमा कम्युनिष्टहरुबीच विवाद चल्दै आयो । विसं २०४६ सालको जन आन्दोलनमा तात्कालीन बाममोर्चाले दरबारलाई नै मुख्य दुश्मन ठहर गर्दै मुख्य प्रहार ‘सामन्ती पंचायती व्यवस्था’माथि गर्ने नीति लियो । नेपाली कांग्रेसको नेतृत्वमा हुने जन आन्दोलनमा बाममोर्चा पनि सहभागि भयो । र पंचायती व्यवस्था ढल्नपुग्यो ।
बहुदल यता नेकपा (एमाले)ले संवैधानिक राजतन्त्रको मान्यता अपनायो । र, उसको प्रहारको निशाना भारततिर सोझियो । टनकपुर सन्धी, सुस्ता अतिक्रमण र भुटानी शरणार्थी समस्या आदि मुद्दा उछालेर एमालेले ‘भारतीय विस्तारवादविरुद्ध’ थालेको ‘राष्ट्रियता’को आन्दोलन महाकाली सन्धी पारीत गर्दासम्म तुहीइसकेको थियो ।
दासढुंगा दुर्घटनामा मदन भण्डारीको अवसानपछि एमालेको शिर्ष नेतृत्वमा स्थापित माधव नेपाल र केपी शर्मा ओलीले भारतसँग निहुँ खोज्नुको साटो सम्बन्ध सुधार्ने रणनीति अपनाए । यसका विरुद्ध सीपी मैनाली र बामदेव गौतमहरु एमाले विभाजन गरेर नेकपा(माले) गठन गरे । त्यसयता एमालेको दृष्टिमा मुख्य दुश्मन को हो भन्ने अन्यौल कायमै रह्यो । कहिले ‘प्रतिगमन आधा सच्चियो’ भन्दै दरबारसँग हिमचिम बढाउने, कहिले भारतसँग चोंचोमोचो मिलाउने त कहिले अमेरिकालगायतका पश्चिमा मुलुकका राजदूत आउँदा पार्टी कार्यालयमा राखिएका माक्र्स र लेनिनका तस्वीर हटाउनेसम्मका द्वैध भूमिकामा एमाले देखियो ।
एमालेमा बहुदलपछिका दिनमा पश्चिमा प्रभाव निकै परेको देखिन्छ । एनजीओ र आइएनजीओमा एमालेका धेरै नेताहरु सामेल भए । एमालेले एनजीओ विभाग नै गठन गरेको थियो । एमाले साँसदहरुलाई अमेरिकी सांस्कृतिक केन्द्रले अंग्रेजी भाषा प्रशिक्षणसमेत दियो । अहिले पनि एमालेको तल्लो तहसम्मका कार्यकर्तामा एनजीओको प्रभाव छ, जो विभिन्न बहानामा एनजीओकर्मी भएका छन् । अचेल एमालेले ‘अमेरिकी साम्राज्यबाद मुर्दाबाद’को नारा लगाउन छाडेको छ । एमसीसीको झिनो विरोध गरेर ‘राष्ट्रबादी’ भइटोपले पनि एमालेको संगठनमा अमेरिकी प्रभाव तिब्र छ ।
विसं २०५२ सालमा नेकपा(माओबादी)ले भारतको उग्र विरोध र ‘भारतसँग सुरुङ युद्ध’कै नारा दिदै हिंशात्मक विद्रोह सुरु ग¥यो । तर, केही वर्षमै माओवादी नेताहरुको हिमचिम भारतीय खुफीया एजेन्सी रअसँग भएका तथ्यहरु बाहिर आइसकेका छन् । भारतलाई प्रमुख दुश्मन मानेर थालिएको विद्रोह अन्ततः राजालाई प्रमुख दुश्मन मान्दै शान्तिपूर्ण रुपान्तरणको दिशामा अवतरित भयो । अर्थात भारतसँगभन्दा पहिला दरबारसँगै लडनुपर्ने निश्कर्षमा माओवादी पुग्यो । तर, भारतसँग चाहिँ उसको दुश्मनी हैन, मित्रता कायम भइसकेको थियो भन्ने तथ्य माओवादीलाई भारतले खुला छुट दिएबाटै स्पष्ट हुन्छ । अझ, भारतलाई मुख्य दुश्मन ठान्ने मोहन बैद्य आदि नेताहरु त्यहाँ पक्राउ परेबाट माओवादीको संस्थापन पक्ष अर्थात पुष्कमल दाहाल र डा. बाबुराम भट्टराई ‘भारतपरस्त’ भइसकेको स्पष्ट हुन्छ ।
अचेल नेपालका कम्युनिष्टहरुमा मुख्य दुश्मन र गौण दुश्मनको विवाद खासै देखिदैन । यसको मुख्य कारण हो, जसलाई मुख्य या गौण दुश्मन बनाए पनि उनीहरुसँग लडने ल्याकत या साहस नहुनु । यसै कारण अचेलका कम्युनिष्टहरु भारत, अमेरिका या पूर्व राजालाई सकेसम्म आफ्नो मित्र बनाउन चाहन्छन् र सत्ताको सिंढी चढने ताकमा रहन्छन् । भोटको राजनीतिमा सहभागि भएपछि कम्युनिष्टको शास्त्रीय व्याख्यामा आधारित शत्रु र मित्रको परिभाषा पनि बदलीएको छ । उनीहरु मौकापरस्त भएका छन् ।
राजतन्त्र समाप्त भइसकेकाले अचेल ‘सामन्तबाद मुर्दाबाद’को नारा त्यति सुनीदैन, स्वाभाविकै हो । जहाँसम्म अमेरिका र भारतको प्रश्न छ, कम्युनिष्टहरुले आफ्ना पूर्व मान्यतामा बदलाव ल्याएका छन् । बाबा रामदेवलाई क्रान्तिकारी भन्ने पुष्पकमल दाहालले अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरसँग चोंचोमोचो मिलाएकै हुन् । अनि यूरोपेली सँघदेखि नर्वे र स्वीडेनसम्मका देशलाई रिझाउने कोशीस गरेकै हुन् । अब दाहालको शब्दकोषमा ‘साम्राज्यबाद’ शब्द हराइसकेको छ । भारतका बारेमा त उनले ‘कम्फर्टेबल सरकार’को अवधारणा नेपाली राजनीतिमा खोपी सकेका छन् ।
कम्युनिष्टको दुश्मन कम्युनिष्ट
अचेल नेपालका कम्युनिष्टहरुको मुख्य दुश्मन को हो त ? यो प्रश्नको जवाफ सरल छ, अचेल नेपालका कम्युनिष्टहरुको मुख्य दुश्मन स्वयं कम्युनिष्ट नै हुन् । माओवादी विद्रोहदेखि हालसम्मका राजनीतिक परिदृश्य नियाल्ने हो भने कम्युनिष्टका मुख्य दुश्मन कम्युनिष्ट नै हुन् भन्ने छर्लङग हुन्छ ।
मौजुदा परिदृश्य नियालौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा ठूलो राजनीतिक शत्रु अहिले को हो ? जवाफ हाजिर छ, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल । शत्रुता कुनहदसम्म घनिभूत रहेछ भने पाँच दशकसम्मका सहयात्री नेपाललाई ओलीले आफ्नो दशौं महाधिवेशनमा डाक्दै डाकेनन् । राजनीतिक विमती र मतभेदभित्र पनि एउटा सहिष्णुताको पक्ष हुन्छ । ओली सरकार ढालेर प्रधानमन्त्री बनेका त शेरबहादुर देउवा हुन्, तर देउवालाई डाक्ने ओलीले नेपाललाई चाहिँ ‘अवैध सन्तान’को संज्ञा दिदै महाधिवेशनमा बोलाएनन् । ओलीको सम्पूर्ण प्रहार अहिले नेपालमाथि खनिएको छ ।
माधव नेपालका लागि पनि अहिले मुख्य शत्रु केपी ओली नै भएका छन् । हरेक भाषणमा उनी ओलीको खोइरो खनिरहेका हुन्छन् । मुलुकको समसामयिक राजनीतिमा कम्युनिष्ट आन्दोलनको मौजुदा शत्रु को हो भन्ने बहस चलीरहेको छैन, बस मुख्य प्रहार अस्तीसम्म संगै राजनीति गरिरहेका नेताहरुमाथि केन्द्रित छ ।
शत्रुको शत्रु मित्र
माओवादी केन्द्रका नेता पुष्पकमल दाहालका मुख्य शत्रु पनि अहिले केपी ओली नै भएका छन् । यो शत्रुतामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङले भने झैं ‘शत्रुको शत्रु मित्र हुन्छ’ भन्ने सिद्धान्त पनि मज्जैले लागू भएको छ । अर्थात दाहालका लागि ओली शत्रु, ओलीका शत्रु नेपाल चाहिँ दाहालका मित्र ।
अहिले ओलीका शत्रु नेपाल चाहिँ दाहालका मित्र भएका छन् । यसै कारण जब ओलीले आफ्ना शत्रु नेपाललाई महाधिवेशनमा डाकेनन्, दाहालले पनि मित्र नेपालमाथिको यो ‘अपमान’ सायद सहन सकेनन् । यसैकारण निमन्त्रणा पाएर पनि दाहाल चाहिँ महाधिवेशनमा गएनन् । यसो गरेर दाहालले मित्र नेपालसँगको मित्रतालाई बढावा दिएका छन् भने ओलीसँगको शत्रुतालाई अझ चर्काएका छन् ।
शत्रुता र मित्रताको अर्को पक्ष पनि छ । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भने झैं कुनैबेला दाहालका मित्र रहेका रामबहादुर थापा बादल अचेल दाहालका करीब करीब शत्रु (राजनीतिक अर्थमा)ं र ओलीका अनन्य मित्र भएका छन् । दाहाल र थापाको कुनैबेला आपसमा शत्रुता पनि थियो । थापालाई ‘लिनप्याओ’सम्म भनेर दाहालले अपमान गरेकै हुन् । पुरानो शत्रुताको तुस तब विष्फोटक भयो, जब थापाले ऐन मौकामा दाहाललाई त्यागेर ओलीसँग मित्रताको हात बढाए । ओलीले पनि यहाँनेर माओकै ‘शत्रुको शत्रु मित्र’वाला सिद्धान्त अपनाए । अर्थात दाहालसँग विच्कीएका थापा ओलीका लागि मित्र बने । यसैले त दशौं महाधिवेशनको सम्पूर्ण अभिभारा उनले थापाकै काँधमा सुम्पिए ।
थापाले लिनु थियो दाहालसँग, पुरानो अपमानको बदला । भनिदिए, अब चितवनमा दाहालसँग भिडछु । अनि देखाइदिए, चितवमै महाधिवेशनको तामझाम । माओवादी विद्रोह कालमै ‘आफुलाई सिध्याउन खोज्ने’ र हाल आएर ओलीसँग गठजोड गर्ने थापाको व्यवस्थापनमै आयोजित एमालेको महाधिवेशनमा सहभागी हुन दाहालको मनले मानेन । दाहालले महाधिवेशनको उदघाटन सत्रमा सहभागि नभएर एकातिर माधव नेपालसँगको मित्रताको सम्मान गरेको देखाउन खोजे, ओलीले ‘हेपेको’मा सहानुभूति जताउन खोजे । अर्कोतिर थापाको व्यवस्थापनमा आयोजना हुने महाधिवेशनलाई उपेक्षा गरेको सन्देश पनि दिए ।
कसैकसैले दाहाललाई केही सूचना पनि दिएका थिए । दाहालप्रति रुष्ट हजारौं एमाले कार्यकर्ताले उदघाटन सत्रमा सहभागि भएका भए दाहालविरुद्ध ‘हुटीङ’ गर्नसक्ने सम्भावना पनि थियो । ओली गुटका अधिकांश नेता कार्यकर्ता के ठान्छन् भने माधव नेपाललाई भडकाउने दाहाल नै हुन् । दाहालसँग पार्टी एकिकरणपछि नै एमाले विभाजनको बिउ रोपिएको हो भन्ने कतिपयको विश्लेषण रहने गरेको छ ।
महेश बस्नेतलगायतका एमालेका युवा नेताले ‘दाहाललाई भक्तपुरमा छिर्न नदिने, मनहरा खोलाबाटै लखेटने’सम्मका भाषण गर्दै आएका थिए । बस्नेतहरुकै जगजगी भएको महाधिवेशनको उदघाटन सत्रमा दाहालमाथि अभद्र व्यवहार हुनसक्ने खतरा थिएन भन्न सकिन्न । अर्कोतिर उदघाटन शत्रमा ओलीको कटाक्ष सुनेर बसीरहने धैर्य पनि दाहालमा नहुनु स्वभाविकै हो । दाहालमा आलोचना सुन्न नसक्ने एकखालको स्वभाव छ । ओलीले त्यत्रो भिड सामु दाहालविरुद्ध कटु कटाक्ष नगर्ने प्रश्नै थिएन । आफ्नै छोरी मेयर रहेको क्षेत्रमा हाकाहाकी आफ्ना राजनीतिक शत्रुले आफुविरुद्ध आलोचना गरेको सुन्न दाहाल अभिशप्त पनि थिएनन् र उनलाई त्यहाँ जानैपर्ने बाध्यता पनि थिएन । त्यसैले गएनन् ।
यस्तो अवस्था किन उत्पन्न भयो भने माथि नै उल्लेख गरियो, अहिले कम्युनिष्टका मुख्य दुश्मन कम्युनिष्ट नै भएका छन् । यदि यसो नहुँदो हो त कम्युनिष्ट नेताहरुबिच अशिष्ट गालीगलौजको सिलसिला पनि चल्दैनथ्यो । वैचारिक मतभेद भए पनि सभ्य, शिष्ट र मर्यादित आलोचना हुन्थे । साँच्चै, देश, जनता, समृद्धि र उन्नतीको मुख्य शत्रु को हो भन्नेबारे सार्थक बहस हुन्थ्यो । एमालेको महाधिवेशनमा सहभागि हुन दाहाललाई कुनै कष्ट हुँदैनथ्यो । अतिथि जो भए पनि सम्मान हुन्थ्यो ।
तर, जुन कार्यक्रममा गैर कम्युनिष्ट नेता देउवा सहभागि हुन सके, त्यो कार्यक्रममा कम्युनिष्ट नेता (माधव र दाहाल) चाहिँ सहभागि हुन नसक्ने अवस्था उत्पन्न हुनु भनेको कम्युनिष्टहरुबिचको मतभेद शत्रुताको चरम उत्कर्षमा पुगेको बुझ्न सकिन्छ । कम्युनिष्टहरु आपसमा लडून् या सकियून्, त्यसमा अरुलाई सरोकार भएन । तर, यो शत्रुतापूर्ण सम्बन्धले सिंगो राजनीतिमा सदभाव र सहिष्णुताको संस्कारलाई चाहिँ ओझेलमा पार्दैछ, खतरा यो हो । जनतामा दरिलो प्रभाव भएका दलहरुले यस्तो संस्कार देखाएपछि राजनीति प्रदुषित हुने नै भयो ।
प्रतिक्रिया