पोखरा। २०४० साल पोखरामा सम्पन्न दोस्रो बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आउनुअघि पुष्करध्वज शाही उत्कृष्ट फर्ममा थिए। एक वर्षअघि भारतको दिल्लीमा आयोजना भएको नवौं एसियन गेम्समा उनको प्रदर्शन सम्झनलायक थियो। थाइल्याण्डलगायत विभिन्न राष्ट्रमा प्रशिक्षण लिएर फर्किएपछि उनलाई ५१ केजी फ्लाइवेटमा हराउनसक्ने नेपालमा कोही निस्किएनन्।
उनी यही आत्मविश्वासका साथ पोखरामा भएको दोस्रो बृहत राष्ट्रियमा सहभागी भए। तर, क्वाटरफाइनलमा उनले पनि नसोचेको नतिजा निस्कियो। उनको खेल हेर्न राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन संरक्षक अधिराजकुमार धीरेन्द्र शाह उपस्थित थिए। फेरि उनी आफ्नो अघिल्लो दुई खेलमा दुवै प्रतिद्धन्द्धीलाई नकआउट हान्दै क्वाटरफाइनल पुगेका थिए। तेस्रो खेल थियो, गण्डकी अञ्चलका लोक बहादुर गुरुङसँग।
सानो कदका गुरुङलाई प्रतिद्धन्द्धीको रूपमा देखेपछि दर्शकहरूले पनि ठानेका थिए, पुष्करले तेस्रो खेलमा पनि नक आउट नै हान्ने छन्। स्वयम् गुरुङले समेत आफ्नो प्रतिस्पर्धाभन्दा अगाडि घरमा सबैलाई भनेका थिए, मेरो खेल हेर्न नआउनु।
तर रोचक कुरा, तीन राउण्डको प्रतिस्पर्धा पुरा नहुँदै गुरुङले टिकेओको आधारमा पुष्करध्वज शाहीलाई पराजित गरे। यो खबर पोखरा हुँदै भोलिपल्ट देशभरी फैलियो। बक्सिङमा अजम्बरी मानिएका पुष्करध्वज स्तब्ध भए। अधिराजकुमार धीरेन्द्र र सदस्य–सचिव शरदचन्द्र शाहले एक–अर्काको अनुहार हेरे। पोखरेली दर्शक माझ गण्डकीमा नयाँ बक्सर कहाँबाट आइपुग्यो भनेर गाइगुइँ चल्न थाल्यो। गुरुङले फाइनलमा पूर्वका अनुप लामालाई नकआउट हान्दै स्वर्ण जिते।
अहिले पुष्करध्वज शाहीको निधन भइसकेको छ। तर, दोस्रो बृहत राष्ट्रियमा पुष्करलाई पराजित गर्दै तहल्का पिटेका तिनै लोक बहादुर गुरुङ नवौं बृहतमा गण्डकी प्रदेशको प्रशिक्षकको भूमिकामा छन्।
दृश्य टिभीसँगको कुराकानीमा उनले भने, ‘ओहो। त्यो घटना बितेको पनि ३९ वर्ष भइसकेछ।’ अहिले उनी पोखरामा भोलेन्टियर प्रशिक्षकको रूपमा गण्डकीका खेलाडीहरूलाई तिखार्ने काममा तल्लीन छन्। तर, उनको विगत भने धेरैलाई थाहा छैन।
लोक बहादुर दोस्रो बृहत राष्ट्रिय खेलकुदका सबैभन्दा ‘सरप्राइजिङ’ खेलाडी थिए। उनको खेलबाट प्रभावित खेल पदाधिकारीले नेपालमै बसेर बक्सिङ खेल्न आग्रह गरेका थिए। तर, रोजीरोटीका कारण उनले भारतीय सेनाको जागिर छोड्न सकेनन्। ‘त्यो खेलपछि पुष्करसँग मेरो यति राम्रो दोस्ती भयो। उसले जापानबाट ल्याएको टिसर्ट र ट्रयाकसुट मलाई उपहार दियो,’ विगत सम्झिदै उनले भने, ‘मलाई अझै याद छ, त्यो टिसर्टमा नकआउट लेखिएको थियो।’
पुष्करले उपहारको रूपमा दिएको ट्रयाक सुट उनले अहिले पनि सम्हालेर राखेका छन्। ‘उसले जुत्ता र ग्लोब्स लिन काठमाडौं आउँ भन्थ्यो। जागिरको कारण काठमाडौं जान सकिन,’ लोक बहादुर भन्छन्।
वास्तवमा दोस्रो बृहतभन्दा अघि उनी छुट्टिको बिदामा पोखरा आएका थिए। यहाँ राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई प्रशिक्षण दिन दक्षिण कोरियाका प्रशिक्षक किम आएका रहेछन्। भारतमा बस्दा उनी कमाण्ड च्याम्पियन भइसकेका थिए। सबैले जोस्याए। उनलाई पनि विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिन मोह जाग्यो। आमाले आराम गर्न आएको नखेल भन्दाभन्दै उनी छनोटमा हाम्फाले। घर बस्दा अलिकति तौल बढेको ५१ केजी फ्लाइवेटमा उत्रिए। खेल जिते। यसपछि जे भयो, त्यो इतिहास बन्यो।
‘मलाई आमाले नखेल भन्दै हुनुहुन्थ्यो। तर, टेरिन। खेले,’ उनले विगत सुनाए, ‘पुष्करध्वज शाहीसँग भिडन्त हुँदा मैले परिवारका सम्पूर्ण सदस्यलाई कुटाई खाने डरले खेल हेर्न नआउने भनेको थिए। उहाँहरू त सबै आउनु भएछ। यतिबेला उहाँहरूले मेरो कुरा टेर्नु भएन। दर्शकदीर्घाबाट चिच्याई रहनुभएको थियो–ठोक माइला। ठोक भन्दै।’
लोक बहादुरको बक्सिङ प्रवेशको कथा पनि उत्तिकै रोचक छ। उनको बुवा डम्बर बहादुर गुरुङ भारतीय सेनाका अवकाशप्राप्त सुवेदार। बुवाले दाजु कर्ण बहादुरलाई सानैमा आफूसँग लिएर गएका थिए। भारतमा आर्मीको छाउनीमा बस्ने क्रममा दाजुले बक्सिङ सिकेका रहेछन्। बिदामा घर फर्किदा दाजुले टोलका सबैलाई कुटेर हैरान। उनलाई दाजुको त्यही जुझारुपनले आकर्षित गरेको रहेछ।
‘सन् १९७८ मा आर्मीमा भर्ती हुन् जाँदा मैले पनि बक्सिङ सिके,’ उनले भने, ‘भारतमा हुँदा म ४८ केजी लाइट फ्लाइवेटबाट खेल्थे।’
उनी सन् १९८४–८५, १९८५–८६ मा लाइट फ्लाइवेटमा भारतको च्याम्पियन भए। उनले भारतीय बक्सिङको प्रतिनिधित्व गर्दै सन् १९८५ मा इन्डोनेसियाको जकार्तामा भएको आठौं प्रेसिडेन्ट कप खेले। तर, पछि खेलमा झेल सुरु भयो। उनलाई क्लोज क्याम्पमा बोलाउनै छाडियो। ‘यसपछि म प्रशिक्षणतर्फ लागे। १९८७ मा मैले पटियालाबाट बक्सिङको १० महिने प्रशिक्षणको तालिम लिइसकेको थिए,’ उनले भने, ‘प्रशिक्षक भएपछि मेरो प्रमोशन हुँदै गयो।’
लोक बहादुरले सिकाएका बक्सरमा सन् १९९८ मा अमेरिकाको सिकागोमा भएको ओलम्पिकमा भारतीय टिमबाट खेल्ने देवेन्द्र थापा, लक्का सिंह समावेश थिए। कमनवेल्थ गेम्समा स्वर्ण जितेका सोमबहादुर पुन पनि उनकै चेला हुन्। ‘हाल अमेरिकामा रहेको देवेन्द्र थापा अस्ति स्याङ्जा घर आउँदा मलाई भेट्न आएको थियो। ट्रयाकसुट उपहार ल्याइदिएको थियो,’ उनले खुसी हुँदै भने।
उनले भारतीय अर्मीको सुवेदार मेजर हुँदै सन् २००४ मा अवकाश पाएका थिए। ५ वर्ष इराकमा सुरक्षागार्डको काम गरिसकेका भारतका यी पूर्वअन्तर्राष्ट्रिय बक्सर २०७० सालदेखि पोखरामा भोलेन्टियर बक्सरको रूपमा कार्यरत छन्।
उनी भन्छन्, ‘अहिले बक्सर उत्पादन गर्न धेरै गाह्रो छ। अलिकति राम्रो भयो कि विदेशीहाल्छन्।’ उनले तयार पारेका पवन गुरुङ नवौं बृहत राष्ट्रियभन्दा २ महिनाअघि पोल्याण्ड पलायन भएका थिए। ‘खेलमा लागेर केही देख्दैनन्। त्यसैले सबै पलायनको बाटो रोजिरहेका छन्,’ उनले गुनासो गरे।
प्रतिक्रिया