पोखरा। नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक जना खेलाडीको दुर्घटनामा निधन भयो। नेपाली सेनाका प्याराग्लाइड खेलाडी निसिम थापाको २९ असोजमा निधन भयो।
उनको निधनमा नेपाली सेनाले मात्र होइन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गहिरो दुःख प्रकट गर्यो। देश–विदेशमा रहेका नेपालीहरू शोकमा डुबे। नेपाल अर्मीले आफ्नो खेलाडीको सम्मानमा ४० जवानको टुकडीबाट सलामी अर्पण गर्यो।
खेलकुदमा दुर्घटना नौलो कुरा होइन। तर, ज्यानकै क्षति हुने घटना भने नगन्य मात्रामा हुने गरेको छ।
यतिबेला पोखरामा भएको यो दुर्घटनालाई लिएर विभिन्न कोणबाट बहस हुन थालेको छ। किनभने २०४० सालमा दोस्रो बृहत राष्ट्रिय हुँदा पनि यस्तै दर्दनाक घटना भएको थियो। त्यतिबेला रिहर्सलमा संलग्न २ स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको थियो।
‘प्याराग्लाइडिङ खेलाडी निसिम थापाको निधनको खबर सुनेपछि मलाई ३९ वर्ष अगाडिको घटना याद आयो,’ राखेपका पूर्व कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठले दृश्य टिभीसँग भने, ‘खोइँ के हो? यति लामो समयपछि प्रतियोगिता आयोजना हुँदा फेरि एक जना खेलाडीको ज्यान गएको छ।’
२०४० सालमा प्रतियोगिताका लागि रिहर्सल गरेर घर फर्किएकी एक स्कुले नानीको निधन भएको थियो। यस्तै, रिहर्सल गरेर घर फर्किन लागेकी अर्की स्कुले नानीलाई पनि उनी चढेको बसले किचेर निधन भयो।
दोस्रो बृहत राष्ट्रिय खेलकुदको तयारीका लागि २ वर्षदेखि पोखरा रंगशाला निर्माण कार्य तिब्र रूपमा अगाडि बढाइएको थियो। काम गर्ने क्रममा हरेक दिन २०–२५ जना विरामी पर्न थालेपछि यो किन भइरहेको छ भन्दै खोजीनीति भएको थियो।
‘एक दिन त ३२ जनासम्म विरामी भए। दुई नानीको निधन भएपछि आपत परेको थियो,’ श्रेष्ठले सम्झिए।
त्यतिबेला उद्घाटन समारोहका लागि नृत्य निर्देशक भैरव बहादुर थापालाई काठमाडौंबाट पोखरा झिकाइएको थियो। सबै जना टाउकोमा हात हालेर बसिरहेको बेला उनले नहास्नु है, म एउटा कुरा भन्छु भन्दै– पोखरा शक्तिपीढ भएको स्थान हो। यहाँ खसीको बलि नचढाई हुँदैन भने। यसपछि सबैले एक–अर्काको अनुहार हेरेका थिए।
‘वैज्ञानिक मानिने खेलकुदमा कहाँ धर्म र रुढीवादी कुरा गर्ने भन्दै सबै तर्किन थालेका थियौं। तर, सधै विध्न मात्र भएपछि हार खाएर हामीहरू उनको कुरा मान्न विवश भयौं,’ विष्णुगोपालले भने, ‘यसपछि कसैलाई थाहा नदिने कुरा भयो र राती ११ बजे कालो बोका खोजेर ल्याउने काम भयो। तर, बोकालाई बलि दिने समय बिहान ३ बजे जुर्याइयो।’
परिषद्का पदाधिकारीले केही शीप नलागेपछि बिहान ३ बजे पोखरा रंगशालामा कालो बोकाको बलि दिएका थिए। रोचक कुरा, यसपछि कुनै घटना भएन। ‘मैले बलिप्रथालाई प्रोत्साहन गर्न खोजेको होइन। तर, यो अचम्मको घटनाको बारेमा जानकारी दिन खोजेको मात्र हुँ,’ उनले भने।
प्रतिक्रिया