हाम्रा नेता

रामचन्द्र पौडेल: एक आत्मालाप

 जय नेपाल साथीहरु,

rajesh mishraम रामचन्द्र पौडेल। उमेरले ७८ बर्ष पुगें। तर मलाई अझै सबैले दाई भन्न रुचाउँछन्। शेरबहादुर देउवा म भन्दा दुई बर्षले कान्छो छ, उसलाई पनि सबैले दाई नै भन्छन्। हामी कांग्रेसीहरुलाई दाई हुनमा आनन्द छ। ओलीजस्तो 'बा' हुनुछैन। यस्तो पुस्तान्तर घातक हुन्छ। नयाँ पुस्तासँग जोडिने सम्बन्धको सेतु भनेको 'दाई' हो। 'बा' होईन। कम्युनिष्टहरु आफ्नो स्वार्थको लागि जे पनि नाता लगाउँछन्। मौका पर्नासाथ 'बा' लाई डोकोमा हालेर भीरबाट घोक्र्याउँछन्। 

नपत्याए अस्ती भर्खर चिनियाँ जन-कांग्रेसमा भएको त्यो नाटक हेर्नुस् त! म त छक्क परें। सी जिनपिंग चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र राष्ट्रपति हुनुअघि २०१२सम्म हु जिन्ताओ पनि 'बा' बराबरै थिए। त्यसपछि तीन कार्यकाल खाएर जिनपिंगले आफ्ना 'बा' जिन्ताओलाई दुनियाँका सामुन्ने कसरी अर्धचन्द्राकार दिएर बैठकबाटै निकालिदिए। कस्तो अपमान? 

अपमान मैले पनि कम भोगेको छैन यो जीवनमा। २००१ सालमा तनहुँको एक कट्टर ब्राह्मण परिवारमा जन्मिएकोले होला, म मन नलागेर पनि प्रारब्धमा बिश्वास गर्न अभिशप्त छु। कपाटमा नलेखिएको कुरा जति हातखुट्टा चलाएपनि नपाइने रहेछ। मलाई हेर्नुस्। लेखिएको छ भने, जाँड खाएको भरमा पनि पाइने रहेछ। शेरबहादुरलाई हेर्नुस्। 

सत्र सालमा राजा महेन्द्रले दुई तिहाई बहुमत ल्याएको बीपी कोईरालाको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दा म सोह्र बर्षको थिएँ। त्यसको एक बर्ष पछि सत्र बर्षको उमेरमा हातमा बन्दूक बोकेर 'भरतपुर (चितवन) सीज अभियान'मा म पनि हामफालेको कुरा अहिलेको पुस्तालाई थाहा नहुन सक्छ। छब्बिस सालमा नेपाल बिद्यार्थी संघको गठन हुँदा म पनि एक संस्थापक सदस्य थिएँ। मेरो जेल यात्रा शुरु भएको त्यसै वर्ष देखि हो। 

कुनैबेला नेपाली कांग्रेसको दोश्रो पुस्तामा आरएसएस भन्ने 'टर्म' प्रचलित थियो। आर अर्थात् रामचन्द्र। एस अर्थात शैलजा आचार्य। एस अर्थात् शेरबहादुर। शैलजा जुझारु तर मनकी रानी थिईन्। आफ्नो ब्रह्मले जे देख्यो, त्यसको बिपरित कसैसँग सम्झौता नगर्ने। म सबैसँग मिलेर बस्ने। शेरबहादुर केही पनि नगर्ने।

पाँच बर्षसम्म मलाई तत्कालीन पंचायती सत्ताले कुट्यो, लतार्यो, घिसार्यो। कतिपटक थुने, कतिपटक छोडे अहिले मलाई सम्झना छैन। तर मलाई एउटै कुरा सोधिन्थ्यो, 'बीपी कोईरालाका तँ जस्तै हिमायती नेपालमा अरु को को छन्, भन्' गाउँको घ्यू खाएको मान्छे, चिम्मट थिएँ। कुटाई सहें, मुख खोलिन। भित्र बाहिर गर्दागर्दै चौबीस सालमा शास्त्रीसम्मको पढाई गर्न भ्याएँ। एक बर्षपछि सत्ताईस सालमा मैले नेपाली साहित्यमा स्नातकोत्तर गर्दा जेलबाटै परीक्षा दिएको हो। 

मेरो राजनीतिक जीवनमा मैले कतै जागीर खाईन। घरको मानो खाएर नेपाली कांग्रेसको पक्षमा जय नेपाल भनेर लागिरहें। २०४४ सालतिर बल्ल मेरो टाउकोमा किसुनजीको आशीषयुक्त नजर परेको हो। उहाँले मलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य मात्र होईन, प्रचार विभागको समेत जिम्मा दिनुभयो। म लेख्ने पढ्ने मान्छे। २०३३ सालमा नै मैले 'नेपाली कांग्रेस के भन्छ?' नामको एउटा पुस्तिका लेखिसकेको थिएँ। त्यसको फल पाउन मलाई एघार वर्ष लाग्यो। 

२०७० सालमा मैले 'कृषि क्रान्ति र समाजवाद' नामको किताब पनि लेखेको छु। ०३३ र ०७० को बीचमा मेरा अन्य पाँच ओटा किताब प्रकाशित भएका छन्। तर कांग्रेसीहरुको नराम्रो बानी के हो भने उनीहरु पढ्दैनन्। शेरबहादुर देउवा केही पढ्दै नपढी, केही लेख्दै नलेखी पाँच पटक प्रधानमन्त्री भए। म हेरेको हेर्यै!  

२०४८ सालमा पंचायतकालपछिको पहिलो जननिर्वाचित सरकारमा जिम्मेवारी पाउँदा मलाई केही गर्छु भन्ने बिश्वास थियो। नेपाली कांग्रेसका सभापति तथा संबिधान ल्याउने अन्तरीम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई जस्केलाबाट आएको मदन भण्डारीसँग चुनाव हारेको बडो असहज अवस्था थियो। मलाई अचानक बनेका प्रधानमनत्री गिरिजाप्रसाद कोईरालाले कृषि तथा स्थानीय बिकास मन्त्रालयको जिम्मेवारी दिए। ०४६ साल अघि नेपाली कांग्रेसको समाजवादी नीतिको व्याख्या गर्ने कोही थियो भने म मात्रै थिएँ। मलाई केही गर्छु भन्ने लागेको थियो। 

तर सोभियत संघको पतन र विश्वमा बजार परस्त पुँजीवादको हावा चलेको बेला गिरिजाबाबुले नेपाली कांग्रेसको, अझ बीपीले अर्थ्याएको समाजवाद बिर्सिदिनुभयो। उहाँलाई डा. रामशरण महतलाई अर्थमन्त्री बनाउने धोको थियो। विदेशीले पनि केही भनेका होलान्। तर महतले नुवाकोटको चुनाव हारे। महतलाई राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष बनाईदिए गिरिजाबाबुले। त्यो पंचायती संरचना नै थियो। अर्थ मन्त्रालयमा महेश आचार्यलाई राज्यमन्त्री बनाइदिए। राष्ट्रिय सभाबाट। यी दुवैजना कथित 'फ्री मार्केट ईकोनोमी' का हवल्दार। बीपीको समाजवादी सपना त कता उड्यो कता!  

म गिरिजा ग्यांगको जस्तो हाट्हुट् गर्न नसक्ने मान्छे। क्याबिनेट बैठकमा मेरो कुरा कसैले सुन्दै नसुन्ने। त्यसमाथि मेरै जिल्लाका खुराफाती गोविन्दराज जोशीलाई पनि शिक्षा मन्त्री बनाएर हुलेका थिए गिरिजाबाबुले। मेरो हरेक प्रस्तावमा जोशी भाँजो हाल्ने। जोशीको शिक्षा मन्त्रालयमा बजेट पनि धेरै, त्यसमाथि दुनियाँ दिवाना आईएनजीओको पैसा पनि उनैलाई आउने। उनले आफ्नो क्षेत्र बिस्तार गरे। मलाई खुम्च्याउन थाले। गिरिजाबाबु सबैकुरा बुझेर पनि चूप! उनले मलाई किसुनजीको मान्छे, जासुसी गर्छ भन्ठाने क्यारे। 

हो, मलाई मान्छेले लोभी भन्छन्। लोभ कसलाई हुँदैन? जीवन दिएको छु। मलाई एकपटक नेपाली कांग्रेसको सभापति वा प्रधानमन्त्री भएर मर्नुछ। नेपाली कांग्रेसको नाममा मैले सत्र पटक संसदीय चुनाव लडेको छु। सत्र पटक हारेको छु। तर मलाई हारेकोमा ग्लानी छैन। गर्व छ। कमसेकम, म मेरा तत्कालीन प्रतिद्वन्दी पुष्पकमल दहाल अथवा प्रचण्डले जस्तो दरवार गुहार्न गएको थिईन। त्यो बेला प्रचण्डले हात्तीगौंडामा बसेका राजाका प्रीयपात्र डा. तुलसी गिरीसँग गएर बिन्ति भाउ गर्दै के भने थाहा छ? 

मैले त्यो बेला बेलैमा मल आयात गर्न नसकेको पनि त्यै गोविन्देले गर्दा हो। किसान मल नपाएर रिसाएका थिए। एमाले नामको पार्टी भर्खर संसदीय व्यवस्थाको तर मार्न आएको थियो। उसलाई सडक र संसदको भिन्नता थाहै थिएन त्यो बेला। उसले रास्ट्रिय सभामा ल्याएको उसकै पार्टीको भावभंगिमा मिल्ने मान्छे थियो, गोल्छे सार्की। किसानले मल नपाएको झोंकमा सोझै आएर संसद भित्रै मेरो गाला पो चड्काईहाल्यो मोराले। ईतिहास नै भयो त्यो। तर त्यो ईतिहास दोहोरियो। संसदमा होईन, संसद बाहिर। नेतालाई ठोक्ने अभियान म बाटै शुरु भएको हो। प्रचण्डले झापड खाए, झलनाथले खाए। शुशील कोईरालाले कुर्सी खाए। रामशरण महतले बोतल। म एक्लो होईन, त्यसैले मैले लाज मान्नुपर्ने कुनै कारण छैन। 

एउटा कुरामा मलाई अलि पछुतो लागेको छ। नेपाली कांग्रेसको कलहले देश अस्थीर हुँदैथियो। म प्रतिनिधि सभाको सभामुख थिएँ। संसदमा कुनै बिजनेस नै थिएन। अचानक नगरपालिकाले चुङ्गी कर लिने चलन खारेज गर्नुपर्छ भन्ने एउटा प्रस्ताव संसदबाट पारित भएर आयो। चुंगी करमा अर्बौंको चलखेल हुँदोरहेछ। सरकारले पाउने राजस्वको तुलनामा दोब्बर बढी ठेकेदारले कमाउँदा रहेछन्। म खाने खुवाउने खालको मान्छे होईन। तर तनहुँकै भाईहरु डेलिगेशन लिएर आए म कहाँ। यो प्रस्ताव रोकिदिनुपर्यो। नत्र दाईलाई भोली चुनाव जित्न समस्या हुन्छ भन्न थाले। अब चुनाव जित्नै समस्या हुन्छ भनेपछि मैले पनि सोच्ने पर्यो। लालमोहर लगाउन दरवार पठाउनुपर्ने त्यो प्रस्ताव मैले सात महिना रोकिदिएँ। सात महिनामा जसले जति कमाउनुपर्ने हो उनीहरुले कमाए होलान्। तर मैले एक पैसा हातमा लिएको छैन। त्यसबेला यो कुरा एउटा नाम चलेकै पत्रकारले थाहा पाएपछि त्यसको मुखमा पनि सानोतिनो बुझो लगाउनु परेको थियो। 

त्यो बेला म बालाजुको बोहोराटारमा घर बनाउँदै थिएँ। शायद त्यो चुंगी करको प्रभावले होला, मेरो घरमा ईंटा, बालुवा, फलामे छड, सिमेन्ट आदीईत्यादि हुर्हुरी झर्न थाल्यो। मैले केही गर्नै परेन। घर आफैं बन्यो। मलाई यो कुराले पोल्थ्यो। तर नेपाली कांग्रेसको पछिल्लो महाधिवेशन पछि मलाई यसबारेमा चिन्ता छैन। 

साथीहरुलाई थाहै होला, त्यो महाधिवेशनको चर्काचर्कीमा आफ्नो पार नलाग्ने भएपछि मैले आफ्नो उम्मेदवारी मात्र होइन, सक्रिय राजनीति नै हापिदिन्छु भनेर घर फर्किएँ। बोहोराटारको त्यो बाटो हिलैहिलोले भरिन्छ। म एकचोटी पैदल हिंड्दैगर्दा एक हूल स्थानीय युवाहरु चोकमा चिया गफ गर्दैथिए। मेरो टोलका मान्छेहरु सूर्य छापे एमाले हुन्। तैपनि मैले खिसिक्क हाँसेर 'यो बाटो त बनाउनु पर्ने हो बाबु' भनेको, कसैले जवाफ फर्काउनु त के, मेरो अनुहारसम्म हेरेनन्। मलाई फकाउन शेरबहादुर मेरै घर आउने भएपछि, सडक विभागले बाटो एक घन्टामा बनायो। नेता हुनुको रवाफ बुझेर होला, आजकल मलाई उनीहरु मैले नदेख्दा पनि नमस्कार गर्छन्। 

हो, मलाई मान्छेले लोभी भन्छन्। लोभ कसलाई हुँदैन? जीवन दिएको छु। मलाई एकपटक नेपाली कांग्रेसको सभापति वा प्रधानमन्त्री भएर मर्नुछ। नेपाली कांग्रेसको नाममा मैले सत्र पटक संसदीय चुनाव लडेको छु। सत्र पटक हारेको छु। तर मलाई हारेकोमा ग्लानी छैन। गर्व छ। कमसेकम, म मेरा तत्कालीन प्रतिद्वन्दी पुष्पकमल दहाल अथवा प्रचण्डले जस्तो दरवार गुहार्न गएको थिईन। त्यो बेला प्रचण्डले हात्तीगौंडामा बसेका राजाका प्रीयपात्र डा. तुलसी गिरीसँग गएर बिन्ति भाउ गर्दै के भने थाहा छ? 

उनले भनेको कुरा मेरो खबरीलालले मलाई सुनाएको छ। म पनि कुनैबेला गृह र उपप्रधानमन्त्री भएको मान्छे हुँ। हाम्रा मान्छे हरेक ठाउँमा हुन्छन्। प्रचण्डले त्यो बेला भनेको कुरा हो, 'हेर्नुस् डाक्टर साब, तपाईंलाई सबै कुरा थाहा छ, हामीले त गणतन्त्रको मुद्दा राजनीतिक रुपमा उचालेको मात्र हो। काङ्ग्रेस र एमालेले त्यसलाई 'क्यास' गरिदियो। ईण्डियाले भजाईदियो। राप्रपाको भोट मलाई दिलाइदिनुस्, म तपाईं जे भन्नुहुन्छ त्यो गर्छु त्यसपछि।' 

शेरबहादुर दरवारको काखमा उचालिएर, पछारिएर फेरी कांग्रेसकै काखमा लुट्पुटिन आएका स्वार्थी मान्छे हुन्। उनले आरजूसँग बिहा गरेपछि नै वर्ग परिवर्तन गरिसके। यो कुरा मैले गिरिजाबाबुलाई पनि भनेको हो। गिरिजाबाबुले 'ठीकै छ नि, हामीलाई कम्युनिष्ट बिरोधी एउटा शक्ति मिल्छ' भनिदिनुभयो। आखिर दरवारले देउवा र गिरिजा दुवैलाई लात हान्यो। 

मैले आफ्नो बंशबृक्ष खडा गर्ने सोचेको छैन। नेपालको नयाँ पुस्ता नै मेरो बंश हो। 

तर शेरबहादुर देउवालाई हेर्नुस्। उनी नयाँ युगका नयाँ राजा भएका छन्। राणाकी भित्रिनी खलकसँग बिहा गरे। टेबलमुनीबाट कमाएको पैसालाई दाईजो बनाए। छोरालाई लिंकन स्कूलमा पढाए। त्यसपछि बेलायत पठाए। उताबाट आएपछि एउटा कम्पनी खोलेर आयातित सामान बेचेर पैसा कमाउन सिकाए। उसको व्यापारलाई फाईदा गराउन अर्थमन्त्रीलाई भनेर कर र दरमा खुराफात गराए। आफ्नोलाई फाईदा गराए, स्वदेशी उद्योगलाई डुबाए। शेरबहादुरका छोराले बाउआमाबाट सिकेको कुरा यही हो। अहिले शेरबहादुरको छोरा डडेलधुराबाट नेपाली कांग्रसको सक्रिय सदस्य भैसक्यो। भोली उ चुनाव लड्नेछ। जितेर हाम्रो थाप्लोमा गीर खेल्नेछ। 

तपाईंहरु मलाई लोभी भन्ने? 

कुनैबेला नेपाली कांग्रेसको दोश्रो पुस्तामा आरएसएस भन्ने 'टर्म' प्रचलित थियो। आर अर्थात् रामचन्द्र। एस अर्थात शैलजा आचार्य। एस अर्थात् शेरबहादुर। शैलजा जुझारु तर मनकी रानी थिईन्। आफ्नो ब्रह्मले जे देख्यो, त्यसको बिपरित कसैसँग सम्झौता नगर्ने। म सबैसँग मिलेर बस्ने। शेरबहादुर केही पनि नगर्ने। बाहिर बाहिर बस्ने, जाँड  खाने, मस्ती मार्ने ।  

शेरबहादुर भन्दा धेरै गरेको छु। तर कम पाएँ। मैले अघिनै प्रारब्धको कुरा गरेको थिएँ नि, हो त्यही भयो। 

आज आएर मैले आफू जित्नका लागी गठबन्धनको नाममा प्रचण्ड र माकुनेका लागी भोट माग्दै हिंड्न बाध्य हुनु परेको छ। जसका बिरुध्द मैले आजीवन संघर्ष गरें, एउटा धारणा बनाएँ, आज मेरो फगत एउटा सांसदको सीटका लागी म एक लाचार निरीह लम्पट भीखामंग्गा भएको छु। राजनीतिले मान्छेलाई बाँदर बनाउँछ भनेको यही हो। बाँदर अरुको तालमा नाच्छ। म पनि नेपाली कांग्रेसका लागी एउटा बाँदर भएको छु। 

तर म नेपाली कांग्रेसको बाँदर भएँ कि शेरबहादुरको? महाधिवेशनमा मैले गरेको निर्णय ठीक थियो कि गलत? मलाई यो बारेमा नसोध्नु। मलाई ग्लानी हुन्छ। 

तर, म मरेपछि, त्यो गोविन्देलाई मेरो लाशको वरिपरी आउन पनि नदिनु। 

जय नेपाल। 


 


 

प्रतिक्रिया