कृष्णप्रसाद सिटौलाः एक आत्मलाप 

rajesh mishraजय नेपाल साथीहरु, 

म कृष्णप्रसाद सिटौला। उद्योेग वाणिज्य राज्यमन्त्री, गृहमन्त्री हुँदै उपप्रधानमन्त्री समेत भैसकेको मान्छे हुँ। तर तपाईंहरु मलाई सुडान घोटालाका प्रमुख मतियारका रुपमा चिन्नुहुन्छ। मलाई वास्ता छैन यस्ता कुराको। राजनीतिमा यस्ता आरोप लाग्छन्, हराउँछन्। 

आज म आफ्नै जीवनको सवाई ईमान्दारीपूर्वक कहन्छु। मेरो जन्म तेह्रथुमको संक्रान्ति बजारमा ७६ बर्ष अघि भएको हो। हाम्रो हुनेखाने परिवारलाई त्यतिबेला त्यहाँका लिम्बुहरु “ढाडे सिटौला खलक” भन्थे। हाम्रो गाउँको एउटा पाटोमा कांग्रेसी कीलो गाडेर बसेका थिए। अर्कोतिर कम्युनिष्ट। कालिपाका केपी ओली, चोकपुरका सीपी र आरके मैनाली। चुहानडाँडाका सूर्यमान कन्दङ्वा कम्युनिष्ट भएर निक्ले। तर मेरा दाजू डिल्लीप्रसाद सिटौला खुँखार कांग्रेस। उनी २०४८ सालमा नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्य पनि भए। 

हामी सानै छँदा तेह्रथुममा जग्गा जति भएपनि पनि गरिखान गाह्रो थियो। लिम्बुहरु काठा बाहुन भनेर हेप्ने। लिम्बुहरुको ‘क्यारेक्टर’ नै घरको बाघ बनको स्याल हुने हो। त्यैबेला राजा महेन्द्रले पहाडबाट खस आर्यलाई मधेशको, त्यो पनि भारतसँग सिमाना जोडिएको जिल्लामा बन फडानी गरेर झोडा गर्ने अनि गाउँ बस्ती बसाल्ने “जेण्ट्रीफिकेसन” अभियान शुरु गरे। पहाडमा भनेको बेला तिउनमा हाल्ने नून र तेलको जोहो हुँदैनथ्यो। त्यसमाथि राजाले भनिसकेपछि मधेश नताक्ने को होला र? सक्नेजति सबै बसाईं गए। को कांग्रेस, को कम्युनिष्ट सबै हुर्हुराएर झापा झरे। 

मलाई एकपछि अर्को चिट्ठा पर्दैगयो। पावरमा पुगेपछि दम्भ आफैं पलाउँदोरहेछ। मलाई झापा कांग्रेसको निर्विकल्प हर्ताकर्ता बन्ने आकांक्षा पलायो। कांग्रेस जे सुकै होस्, झापामा कांग्रेस भनेकै म हुँ। मलाई त्यस्तै लाग्यो। मैले पहिले झापाका रैथाने कांग्रेसी भूर्तेल खलकलाई ठीक पारें। त्यसपछि चापागाईं परिवार।

झापामा फडानी गरेको रुख किन्न ईण्डियाका ब्यापारी लाईन लागेर बस्थे। ‘क्लियर’ गरेको जग्गामा धान रोप्न मिल्थ्यो। हाम्रो परिवार दिन दुई रात चारका दरले सम्पन्न हुँदैगयो। हाम्रो देखासिकी गरेर झापा झरेका दुई चार लिम्बुहरुलाई त हामी त्यतिकै हेप्ने भयौं। तकदीर भन्ने कुरा गजबको हुँदोरहेछ!

म राजनीतिमा किन लागें? कहिले लागें? अथवा कसरी लागें भन्ने कुराको मलाई हेक्का छैन। तर मलाई यो ठाउँमा पुर्याउन जे गरे, मेरै दाई डिल्लीप्रसादले गरे। उनी त्रिमोहन हाईस्कुलका हेडमाष्टर थिए। मलाई पनि घैलाडुब्बाको एउटा स्कूलमा जागिर लगाईदिए। आफू परियो जमिन्दारको छोरा। पढाउन नजाने। पढाउने बेला पाए लोकल, नत्र ताडी नै सही, दुईचार गिलास लगाईदिने। खाएकै सूरमा एउटी स्थानीय कन्यामा मेरा आँखा गढ्न पुगेछन्, बबाल भयो। बबाल मात्र होईन, मेरो सरुवा नै भयो, झापाकै अनारमनी स्कुलमा। खेलकूद टिचर भएँ म अब। 

नानी देखि लागेको बानी। खाएर गएको थिएँ। गोलमाल भयो। हेडमाष्टर दाताराम खनाल थिए। साह्रै कडा थिए ती। उनले मलाई सरुवा त के, ठाडै निकालिदिए जागीरबाट। दाई दिल्लीप्रसादको भनसुनले पनि काम गरेन। तर भाग्यमानी मान्छेका लागि एउटा ढोका बन्द भयो भने अर्को ढोका खुलिहाल्छ। खेलकुद टीचर  थिएँ। पंचायतकाल थियो। खेलकूद परिषद्का तत्कालीन शक्तिशाली सदस्य सचिव झापा आएका थिए। उनले म मा के खुबी देखे कुन्नी, मलाई मेची अञ्चल खेलकूद बिकास समितिको सदस्यको टीका लगाईदिए। 

तर उनले छुट्टिने बेला गुह्य खोल्दै भने, “तँ अब झापाली कम्युनिष्टहरुसँग नजिक भएस्, कांग्रेसीका कुरा बुझेस्, उनीहरुको सूचना मलाई दिएस्।”

त्यतिबेलासम्म मैले वकालत पास गरिसकेको थिएँ। देखाउनका लागि झापामै शारदाप्रसाद उपाध्यायको ल फर्ममा काम गर्न थालें। झापाली कम्युनिष्टहरुलाई त्यतिबेला एक छाक कुखुरा भात, दुई ग्लास ठर्रा अनि एक खिल्ली याक चुरोट दियो भने मनका कुरा खोलिहाल्थे। त्यसमा केही थपथाप गरेर म शरदचन्द्र शाहलाई पठाइदिन्थें। उनीपनि खुस, म पनि दंग। कांग्रेसको जासुसी गर्नै नपर्ने। दाईबाट सबै कुरा आईहाल्थ्यो। 

जिन्दगी रमाईलो थियो। ०४६ सालको आन्दोलन भयो। म त ताडी तानेर बसें। चैत २७ मा पंचायत ढल्यो। मलाई थाहै भएन। ०४८ सालमा कांग्रेसको सरकार बनेपछि मलाई हुटहुटी जाग्यो। डिल्ली दाईले पनि मेरो कुरा बुझेर मलाई कांग्रेसी खालमा घोक्र्याईदिनुभो।

झापाका द्रोणप्रसाद आचार्य फ्याट्टै मरे। उपनिर्वाचन हुनेभयो। लीला उदासी लायक उम्मेदवार थिए। तर डिल्ली दाईले किसुनजीको कानमा के फुक्नु भयो कुन्नि, चारतारे टीकट मेरो हातमा आईपर्यो। मैले केही गर्नै परेन। कांग्रेसी लहर थियो, त्यसैले मलाई चुनाव जितायो। टीकट किसुनजीको। सत्तामा गिरिजाप्रसाद! चुनाव जित्ने बित्तिकै मेरो भाउ बढ्यो। गिरिजाप्रसाद यस्तो खेलमा खेलाडी हुँदैथिए। उनले उमेश गिरीलाई पठाए। उमेशले मलाई नोना कोईरालाकहाँ लगे। नोना भाउजुले गिरिजाबाबुसँग भेटाईन्। गिरिजाबाबुले भने, “म तिमीलाई मन्त्री बनाउँछु, मलाई साथ दिनुपर्छ।” 

मलाई एकपछि अर्को चिट्ठा पर्दैगयो। पावरमा पुगेपछि दम्भ आफैं पलाउँदोरहेछ। मलाई झापा कांग्रेसको निर्विकल्प हर्ताकर्ता बन्ने आकांक्षा पलायो। कांग्रेस जे सुकै होस्, झापामा कांग्रेस भनेकै म हुँ। मलाई त्यस्तै लाग्यो। मैले पहिले झापाका रैथाने कांग्रेसी भूर्तेल खलकलाई ठीक पारें। त्यसपछि चापागाईं परिवार। संखुवासभाको मादीबाट झरेका दाहालहरु चाहिने भन्दा बढी बुज्रुक हुने। यिनलाई ठीक नपारेसम्म मेरो दाल नगल्ने। हुँदाहुँदा आफूलाई जन्मजात कांग्रेसी भन्ने रिजाल र ढुङ्गाना खलकलाई पनि म एक्लै सोत्तर पार्न सफल भएँ। मेरो कूटनीतिका सामुन्ने सबै ईतिहास बुझेका गिरिजाबाबु समेत ‘त्वं शरणं’ भए। डिल्ली दाईले मलाई किसुनजीको धोतीको फेर नछोडेस् भन्थे, मैले गिरिजाबाबुको दौराको फेर समातेर उहाँलाई चकित पारिदिएँ।

कुरा पैसाको हो। पैसाको कुरा गर्दा मैले सुडान काण्डको चर्चा नगर्ने हो भने मेरो आत्मलाप अपूरो हुन्छ। हो, मैले गरेकै हो। सुडान शान्ति मिसनमा जाने प्रहरीका लागि आवश्यक आमर््ड पर्सनल कार (एपीसी) र बन्दोबस्तीका सामान किन्दा सप्लाई गर्ने एजेन्सी घटीया छ भन्ने मलाई थाहा थियो। तर कमिशन एजेण्टहरु यति राम्रो प्रस्ताव लिएर आए कि मैले नाईं भन्नै सकिन। पुलीस मरे मर्छन्, उनीहरुलाई राज्यले दिने सम्मान दिईहाल्छ क्यारे। तर मलाई चुनाव लड्ने पैसा, कार्यकर्ता पाल्ने पैसा कसले दिन्छ? मैले उठाउने यस्तै “डील” बाट नै हो। मैले जानेरै ४२ करोड घोटाला हानेर काम नलाग्ने पत्रु सामान सप्लाई गर्न लगाएकै हो सुडानमा। गिरिजाबाबु दाहिने हुञ्जेल मलाई केको डर? 

यो कुरा बिशेष अदालतमा पुगेको पनि हो। गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र अनि केदारप्रसाद चालिसेको ईजलासले मलाई “ईम्प्लिकेट” गर्न खुब कसरत गरेको हो। तर लास्टमा उनीहरुलाई कसैले भयङ्कर दवाव दियो। कसले दियो मलाई थाहा छैन। जसले दियो त्यो पक्कै ठूलो शक्ति हुनुपर्छ। किनभने, सही गर्ने सबै पुलीसका हाकिम जेल परे।  म फुक्काफाल! देखिहाल्नुभो, म फेरी चुनाव लड्दैछु। 

मेरा यस्ता किस्सा धेरै छन्। मोहम्मद अफताब आलमको नाम सुन्नुभएको छ? हो त्यही मान्छे! उसले २०६५ को संबिधान सभा चुनाव बिथोल्न आफ्नो घरमै बम कारखाना खोलेको थियो। चैत २७, २०६४ मा झुक्किएर बम पड्कियो। उनले घाइते सबैलाई ईंट्टा भट्टीमा लगेर खरानी पारेको भनेर मानिसहरु कुरा गर्थे। म त्यतिबेला गृह मन्त्री थिएँ। मैले त्यो बेला जिल्ला एसएसपीलाई घटना सामसुम पार्न निर्देशन दिएको हो। बिचरा त्यो एसएसपीलाई पछि थारुहरुले टीकापुरमा घोची घोची मारे। तर म आजसम्म सग्लै छु। 

त्यो पनि कुनै जमाना थियो जब अम्बिका रिजाल र जितबहादुर पुरी समेत मेरो चाकरी गर्न आउँथे। उनीहरुको योगदानको कुरा गर्ने हो भने त्यो बेला म जन्मेकै थिईन। त्यो ओम सरावगीलाई ठाउँमा पुर्याएको कसले हो? मैले हो। अमृतलाल राजवंशीलाई दुई पटक राष्ट्रिय सभामा ल्याउने मान्छे को हो? मै हो। लाभहानीका कुरा अहिले नगरौं। नगदमा सबैको निष्ठा उस्तै नै हुन्छ क्यार। त्यसैले उ अहिले एमालेमा छिरिसक्यो। मलाई वास्ता छैन। 

म गृहमन्त्री हुँदा मधिसेले २१ दिन आन्दोलन गरे। ३८ जना मधिसे मेरै मन्त्रालयले खटाएको गोली खाएर मरे। मधिसे नेताहरु मसँग कुनै गुनासो गर्दैनन्। बरु मिलेर सत्ता  कज्याउने कुरा गर्न चिप्लो चिपालु भएर आउँछन्। उनीहरुलाई आफ्नै आन्दोलनका शहीदको कुनै चिन्ता छैन। म जस्तो छु, उनीहरु ठ्याक्कै त्यस्तै छन्। गौरमा उपेन्द्र यादवको तत्कालीन  मधेशी फोरमले व्यवसायिक सूटर बोलाएर २७ जना माओवादी कार्यकर्ताको हत्या गर्यो। म त्यतिबेला पनि गृहमन्त्री थिएँ। माओवादीले मसँग कुनै गुनासो गरेन। किनभने प्रचण्ड पनि ठ्याक्कै म जस्ता छन्। हाम्रो सत्ताका खातिर एक समयमा दुईचार दर्जन कार्यकर्ताको बलिदान जायज छ। नेता बन्ने नै यसैगरी हो। 

त्यसमाथि मलाई छिमेकीको प्रभावशाली साथ थियो त्यो बेला। नेपालमा उसलाई नरिझाई राजनीति गर्न सम्भव छैन। कुनैबेला कांग्रेसबाट अमरेशकुमार सिंह थिए उतैका कठपुतली। कम्युनिष्ट खलकमा छिमेकीले हरि रोकालाई खडा गरेको थियो। अहिले उनीहरु उताबाट कागती निचोरेर रछ्यानमा फालिदिएको अवस्थामा छन्। त्यो ठाउँ म लिन्छु। 

म सक्छु। चक्र बाँस्तोला जीवित र सकृय हुँदा म गिरिजाप्रसाद र उहाँको बीचमा फाटो ल्याउन लागेको थिएँ। मलाई छिमेकबाट कसैले कान फुकेको थियो। भन्नैपर्दा, जो ओलीसँग मध्यरातमा भेट्न आयो, त्यो मान्छे त्यो बेला त्यस संस्थाको सेकेण्ड म्यान थियो।

उसले भने अनुसार मैले केही नाटकबाजी गरेको हो। चक्र बाँस्तोलाले एकदिन भनेको कुरा मैले आफ्नै कानले सुनें। “गिरिजालाई माओवादीले थुतेर लग्यो। सारथी सिटौला भए।” 

हो, त्यो सत्य हो। त्यसैले मलाई कांग्रेसीहरु अझै प्रचण्डको सवारी मन्त्री भन्छन्। गिरिजाबाबुले त मसँग मुन्टो हल्लाईदिएको मात्र हो। लुकेर बसेका प्रचण्ड र बाउरामलाई हेलिकप्टरमा राजधानी ओलार्ने निर्देशन मलाई त्यतिबेला दिईएको थियो। यो गुण लगाए बापत् मलाई ठूलै स्यावासी पनि मिलेको थियो।

गिरिजाको निर्देशन अनुसार सुशील कोईरालाले मलाई महामन्त्रीमा मनोनित गर्दा शेरबहादुर देउवाको घोर आपत्ती थियो। त्यसै छेक भारतीय विदेश मन्त्री  नेपाल आएका थिए। म अचानक महामन्त्रीमा नियुक्त भएँ। अब बुझ्नुस् मेरो पहुँच कहाँ छ?

त्यो हिजोको फुच्चे विश्वप्रकाश मसँग निहुँ खोज्दैछ। बरु अग्नी खरेल जितोस्। मैले पहिले षड्यन्त्र गरेको हो। मेरो पुरानो क्षेत्रमा वडा नम्बर ९ र १० कम्युनिष्ट गढ थियो। मैले धुईँपत्ताल गरेर त्यो क्षेत्र अहिले बिश्वप्रकाशको नाममा हालेको छु। यही दुई वडाका कारण उ हारोस् भन्ने म चाहन्छु। झापामा कि म अथवा नो बडी। 

मलाई किन यसो भन्ने आँट आयो? किनभने मसँग सबै सामथ्र्य छ। नेपालको बुर्जुवा बहुदलीय राजनीतिमा पैसा चाहिन्छ। मेरा एजेण्ट ठाउँ ठाउँमा खडा छन्। अग्नी एयरको शेयर मैले त्यसै किनेको होईन। ससुराली आसाममा मेरो लगानी छ। झापाका सुपारी तस्कर सबै मेरा हनुमान हुन्। ओलीका पनि हनुमान सुपारी मात्र होईन, पाए जे पनि तस्करी गर्छन्। राजेन्द्र लिङ्गदेनको मोटर पार्ट्स तस्करीको ब्यापार अहिले झन् मौलाएको छ। 

नपत्याए मेरो व्यवसाय हेर्ने भद्रपुरको जेपी शर्मा मारवाडीलाई सोध्नुस्। नरसिंह च्या वालाको त्यो कारिन्दालाई मैले कहाँबाट कहाँ पुर्याईदिएको छु। काठमाडौंको त्यो सुवेदी बाहुनलाई सोध्नुस्, जो मेरो हरेक हिसाबकिताबको जिम्मेवार हो। त्यतिले बिश्वास नलागे गोविन्द सरियालाई सोध्नुस्। एक नम्बरको हुण्डी ब्यापारी अनि मेरो व्यापारिक साझेदार हो त्यो। 

राजनीति गर्न नाटक गर्नुपर्छ। पहिलेको त्यो तामसी कृष्ण सिटौला अब म होईन। अचेल जाँड रक्सी त के, लसुन प्याज पनि खाँदिन। बिहारको छेउमा एकजना जय बाबा भन्ने सिध्द पुरुष छन्। उनको कन्ठी माला लगाएर बसेको छु। तर यो मोक्षका लागि होईन, चुनावका लागि हो। यत्ति चैं बुझ्नुहोला। 

संसार छाड्नु अघिको चुनाव हारियो भने मोक्ष मिल्छ भनेका छन् बाबाले! तर मलाई हार्न मन छैन। 

 

  


 

प्रतिक्रिया