जाजरकोटमा बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

जाजरकोट । जाजरकोटको कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगंजबाट रुकुम पश्चिमको राडिबजार गइरहेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादव छन् । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुन् ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको उनले बताए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।
 

प्रतिक्रिया