फुटबल जिन्दाबाद, नेपाली श्रमिक मुर्दाबाद !

rajesh mishra"हाम्रो समाजमा मान्छेले आफ्नो मगज र समय खर्च गर्नका लागि धेरै कुरा छन्। जस्तै राजनीति, तर हरेक मान्छे गम्भीरतापूर्वक राजनीतिमा सहभागी हुन सक्दैन। उसलाई खाने लाउने समस्या हुन्छ। त्यसैले उनीहरु आफ्नो ध्यान अरु कुरातिर मोड्छन्, जस्तै खेलकूद। राज्यले मान्छेलाई आज्ञाकारी हुन तालीम दिन्छ। मान्छेसँग आफ्नो रुचि अनुसारको काम हुँदैन। मान्छेको कल्पनाशिलतामा धमीरा लाग्छ। यस्तो वातावरणमा मान्छे अर्थहीन कुरामा आनन्दित भएर आफ्नो समय गुजार्न बाध्य हुन्छ। किनभने, राज्यका क्रूर कदमको बिरोध र हस्तक्षेप गर्ने अधिकार मान्छेले गुमाएको छ। मुट्ठीभर धनी मान्छेले लादेको निर्णय शिरोधार्य गर्न उ विवश छ। अब के बाँकी रह्यो त? खेलकूद। खेलकूदले जनसंख्याको ठूलो अंशलाई यसरी ब्यस्त तुल्याईदिन्छ कि, उनीहरु वास्तविक र अर्थपूर्ण कुरामा ध्यान दिन फुर्सद नै पाउंदैनन्।"- नोम चोम्स्की

 यतिबेला नेपालीलाई चुनाव ०७९ को परिणाम र कतार विश्वकप फुटबलको रोमाञ्चले एकैचोटी गाँजेको छ। यी दुवैका कारण नेपालीको जीवनस्तरमा कुनै परिवर्तन भने आउने छैन। फुटबलको ज्वरो एक महिनाको हो। त्यसपछि त्यो उत्रिन्छ। चुनावको परिणामले बिगत पाँच वर्ष देखिएको यथास्थिति र राज्यबिहीनतालाई निरन्तरता दिने कुरामा कुनै शंका छैन। 

फेसबुकमा पाँच हजार भन्दा अलि कम साथीहरु जोडिएका छन् म सँग। त्यो भन्दा बढी फलोअर्स रहेछन्। सबैको पोष्ट हेर्छु, या चुनावी झटारो छ, वा फुटबलको प्रसंग। अहिले नेपालीले सम्भवत अरु धेरै कुरा बिर्सिएको अवस्था छ। हुनेखाने नेपाली मध्येका एकजना, एनआरएन अभियन्ता र अन्तर्राष्ट्रिय ब्यापारी जीवा लामिछाने सपरिवार कतार पुगेका रहेछन्। जापान र जर्मनीको भिडन्त हेर्दाहेर्दै फेसबुकमा फोटो हालेका रहेछन्। मैले पनि एक लाईक ठोकिदिएँ।

jiwaएनआरएन अभियन्ता जीवा लामिछानेको परिवार कतारमा विश्वकप हेर्दै।  तस्विर : जीवा लामिछानेको फेसबुक 

 कतार गएर आफ्नै दाजुभाईले ज्यान दिएर बनाएको रंगशालामा खेल हेर्न नसक्ने औसत नेपालीको पीडा अर्कै छ। विश्वकप फुटबल हेर्नकै निम्ति साविकभन्दा पाँच सय रुपियाँ चानचुन अतिरिक्त शुल्क उठाउने टेलिभिजन केवल संचालकहरुको सेवा सुविधा लाजमर्दो छ रे! फेसबुक भरी रोईलो बगेको छ।

 आखिर मेरो पनि मन न हो, अर्कै ब्याण्ड बाजा बजाउँदैछ। बाह्र बर्ष अघि सन् २०१० मा फीफाका अध्यक्ष सेप ब्ल्याटरले बन्द खामबाट कतारको नाम फुत्त निकालेर ‘सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता यो तेलको धनी मरुभूमिमा हुने’ घोषणा गरेपछि दुई हजार एक सय नेपाली श्रमिकको लाश काठको बाकसमा आफ्नो गाउँ फर्कियो। यो केवल सरकारी आँकडा हो। ती आर्थिक आप्रवासी मजदुरका परिवारलाई अहिले विश्वकप फुटबलको चर्चा हुँदा कस्तो लाग्दो होला?

नेपाल बस्ने नेपालीले नेपाललाई एउटा गुण लगाएका छन्। भोट हालेका छन्। कसलाई र किन? धेरैलाई यसको मर्म थाहा छैन। आफ्नै दाजुभाईको रगत र पसिनाले पोतिएको वातानुकुलित रंगशालाको गोलमा ताली बजाउँछन् नेपाली! सरकार, दलाल र कतारी कम्पनीले लगातार हानेको फाउलमा उस्स पनि गर्दैनन् नेपाली।  

कतार विश्वकपका लागि त्यो देशले २ सय २० बिलियन डलर लगानी गर्यो। त्यो भन्दा अघि विश्वकप आयोजक राष्ट्रहरुले १२ वा १४ बिलियन भन्दा बढी खर्च गरेका थिएनन्। घाममा राखेको पानी आधा उम्लिने तापक्रममा असुरक्षित ढंगले काम गर्न नेपालबाट ताँती लागेर कतार पुगेका नेपालीहरुको पैसाले सरकारले आफ्नो प्रशासनिक गर्जाे टार्ने मौका पायो। दलाल मोटाए, मन्त्री मोटाए। तर ती श्रमिकका कति परिवार टुहुरा भए। कतिका घरबार बिग्रिए। समाजको नकारात्मक रुपान्तरणको एउटा शृंखला नै आरम्भ भयो।

सन् २०१० ताका नेपालमा गम्भीर राजनीतिक परिवर्तन भएको चार बर्ष बितिसकेको थियो। राजतन्त्र ईतिहासको टुकुचामा बगेको थियो, अनि मुलुकलाई  समाजवादी गणतन्त्रको नयाँ जामा पहिरिएर नेता नाचको तालमा कम्मर मर्काउँदै फुर्सद थिएन। दश बर्षे कथित जनयुध्दले गाउँका मान्छे मारिएका वा बेपत्ता थिए। खेत जोत्ने मान्छे थिएनन्। साधन थिएन। मल थिएन। बजार थिएन। गणतान्त्रिक सरकारको समस्या थिएन यो। सरकारहरु आफ्नै समस्यामा थिए। सत्ताको रोटेपींग खेल्दैगर्दा सरकारलाई मुलुकको युवाशक्तिको तीब्र पलायनको आभाष नै भएन। अझ जनयुध्दका सरदारले त आफ्नै गैर लडाकुलाई सेनामा रहेको कागज गराएर अर्बौं खाईदिए। पोल खुल्ने डरमा तिनलाई खाडी कटाईदिए। अहिले चुनाव जितेर आएका होनहार युवा नेताहरुले यसको एकदिन छिनोफानो गर्नेछन् भन्ने आशा गरौँ।

अघिल्लो नोभेम्बरमा मेरो जन्मदिनको उपहार स्वरुप श्रीमती जुनिताले मलाई एक बर्षका लागि टाईम ‘म्यागजिन’ को ग्राहक बनाइदिएकी थिईन्। तर यो अमेरिकी साप्ताहिकको महत्व नेपालमा हुँदा जस्तो लाग्दैन। सरसर्ती हेर्यो, कफी टेबलको साईडमा चाँग लगायो। त्यसको उपादेयता त्यति मात्रै थियो। तर यसपटकको अङ्कले ध्यान तान्यो। टाईमका आर्यन बेकरको एउटा रिपोर्ट रहेछ। उनीसँग वासिंगटन डीसीमा परिचय भएको थियो। १० बर्ष अघि। उत्सुकताबस हेरेको, कतार विश्वकप र नेपाली श्रमिकहरुको पीडाका बारेमा मार्मिक रिपोर्ट रहेछ। जनकपुरबाट नेपाली पत्रकार रामु सापकोटा र काठमाडांैबाट श्वेता कोइरालाको सहयोगमा उनले गरेको वर्णनले द्रवित बनायो!   

कतारमा काम गर्ने गरीब मुलुकका श्रमिकहरु सुरक्षित छैनन्। गडबडी छ। त्यो भन्दा ठूलो गडबडी नेपाल मुलुक चलाउने राजनीतिकर्र्मीहरुको सम्वेदनशीलतामा छ। नेपालको कूल गार्हस्थ उत्पादनको तीस प्रतिशत अहिले बिदेशिएका कामदारले पठाएको ‘रेमट्यान्स’ ले धानेको छ। रकमको कुरा गर्दा यो खर्ब पुग्छ। नेपाल हाँकेको दावी गर्ने नेताका सन्तान बिदेशमा छन्। उनीहरु वातानुकुलित कोठामा पढ्छन् वा काम गर्छन्। श्रमिकले बिदेश जाँदा चढाएको कमिसन घुमिफिरी दलालहरुको हातबाट नेताहरूकै हातमा पुग्छ।

बेकरले नेपालका सुरेन्द्र तामांग नामका एक श्रमिकलाई प्रतिनिधि पात्रका रुपमा देखाउँदै भनेका छन्, ‘सुरेन्द्र सन् २०१५ मा ऋण गरेर, दलाललाई कमिसन दिएर बडो कष्टका साथ कतार आए। उनको सपना थियो, पैसा कमाऊँछु, घरमा पैसा पठाउँछु, ऋण तिर्छु, विश्वकप पनि हेर्छु, अर्जेण्टीनाका मेस्सीको टीसर्ट लगाएर सान देखाउँदै घर फर्किन्छु।’

तर अघिल्लो बर्षको अक्टोबरमा उनलाई उनको कम्पनीले घर फर्काईदियो। उनले काम गर्न सकेनन्। कम्पनीले भन्यो, तँलाई ग्यास्ट्रिक भएको छ। तर काठमाडांै आएर अस्पतालमा उपचार गराउँदा उनी झसंग भए। उनको दुईवटै मृगौला काम नलाग्ने भैसकेका थिए। उनको कतारी कम्पनी यो कामको कारण लागेको रोग मान्न तयार छैन। सुरेन्द्र तामांग अहिले अस्पतालमा डाईलेसिस गराउँदै मोबाईलमा विश्वकप हेर्दैछन्।

surendra tamangसुरेन्द्र तामांग

बेकरको रिपोर्टमा धनुषा, नगराईनका २२ बर्षे इन्द्रजीत मण्डल भन्छन्, ‘हाम्रो काम त खेती किसानी नै हो। तर आम्दानीले नपुगेपछि म पनि दलाललाई डेढ लाख तिरेर कतार आएको हुँ। यहाँ अपमान त सहनुपर्छ नै, भनेको बेला तलब दिँदैनन्। गर्मीको कुरै नगरुँ।’ मण्डलका अनुसार, कतारमा काम गर्ने नेपालीहरु प्राय मुटु र मृगौलाको रोग लिएर घर फर्किन्छन्। ‘मेरै काका कृपाल मण्डल १२ बर्ष कतारमा काम गरेर फर्किए। ४० बर्षको उमेरमा घर फर्किंदा उनलाई मुटु रोगले च्यापिसकेको थियो। यसै बर्ष उनी हृदयाघातले मरे।’

kripalइन्द्रजीत मण्डलको तस्विरसंग उनको परिवार 

कतारमा काम गर्दागर्दै मरेका श्रमिकहरुलाई त्यहाँको अस्पतालले ‘डेथ सर्टिफिकेट’ दिँदा मृत्युको कारणमा हृदयाघात वा मृगौलाको समस्या लेखिदिन्छ। तर यो अत्यधिक गर्मी र असुरक्षित वातावरणमा काम गर्दा भएको हो भन्ने तथ्य लुकाइदिन्छ। कम्पनी भनिदिन्छ, यो कामसँग सम्बन्धित घटना होईन। यसो गर्दा सम्बन्धित कम्पनीले श्रमिकलाई तिर्नुपर्ने हर्जानाको दायित्वबाट उन्मुक्ति पाउँछ।

टाईम म्यागजीनले मृगौला रोग बिशेषज्ञ डाक्टर ऋषि कुमार काफ्लेलाई पनि उदृृत गरेको छ। डाक्टर काफ्ले भन्छन्, ‘हामीले २५ बर्ष अघि यो मृगौला उपचार केन्द्र खुल्दा सोचेका थियौं, यहाँ आउने बिरामीहरु मध्ये धेरैजना बुढापाका, डाईबिटिज र हाईपर टेन्सनले पीडित होलान्, तर अहिले हाम्रो अस्पतालमा खाडी राष्ट्र, अझ कतारबाट आउने बिरामीहरुको चाप बढी छ। उनीहरु युवा छन्। अरु कुनै समस्या छैन। पक्कै कतारको काम गर्ने वातावरणमा केही गडबडी हुनुपर्छ।’

कतारमा काम गर्ने गरीब मुलुकका श्रमिकहरु सुरक्षित छैनन्। गडबडी छ। त्यो भन्दा ठूलो गडबडी नेपाल मुलुक चलाउने राजनीतिकर्र्मीहरुको सम्वेदनशीलतामा छ। नेपालको कूल गार्हस्थ उत्पादनको तीस प्रतिशत अहिले बिदेशिएका कामदारले पठाएको ‘रेमट्यान्स’ ले धानेको छ। रकमको कुरा गर्दा यो खर्ब पुग्छ। नेपाल हाँकेको दावी गर्ने नेताका सन्तान बिदेशमा छन्। उनीहरु वातानुकुलित कोठामा पढ्छन् वा काम गर्छन्। श्रमिकले बिदेश जाँदा चढाएको कमिसन घुमिफिरी दलालहरुको हातबाट नेताहरूकै हातमा पुग्छ।

सत्तासीन नेपाली राजनीतिकर्र्मीहरू बिदेशिएका श्रमिकको रगत पसिनाको कमाई खाएर ढाडे जुम्रा भएका मात्र छैनन्। उनीहरु बैदेशिक रोजगारलाई आफ्नो राजनीतिक हतियार समेत बनाउन पछि परेका छैनन्।

बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाकी दरवारिया धर्मपत्नी आरजू देउवा अहिले समानुपातिकबाट संसदमा आउने चेष्टामा छिन्। उनले ‘हामीलाई भोट दिनेलाई सित्तैमा बैदेशिक रोजगारीमा पठाईदिने’ भनेको कुरा सेलाएको छैन। नेकपा समाजवादी पार्र्टीका नेता माधव नेपालले आफ्नो जिल्ला रौतहटमा ‘बिना ढेउवाके’ विदेश पठाइदिने बाचा गरेको कुरा झन् तातै छ।

अरु त अरु, अहिले विश्वकपको बाढीमा बगेका आम नेपाली जनताको पनि बैदेशिक रोजगारमा गएका नेपालीप्रति सहानुभूतिशील लक्षण देखिन्न। खाएकै उनैका छन्, गाली उनैलाई गर्छन्। फेसबुकमा कुनै मन परेको नेतालाई केही भन्नुस्, कमेन्ट आउँछ, ‘नेपाल आएर कुरा गर।’
बिदेशिएका सबै नेपाली स्वदेश फर्किने हो भने नेपाल सरकारको मुखमा माड लाग्दैन। जनताले किन्ने पेट्रोल, खाना पकाउने ग्यास मात्र होईन, एक मुठा रायोको सागमा पनि भाउ बढ्नेछ। 

नेपाल बस्ने नेपालीले नेपाललाई एउटा गुण लगाएका छन्। भोट हालेका छन्। कसलाई र किन? धेरैलाई यसको मर्म थाहा छैन। आफ्नै दाजुभाईको रगत र पसिनाले पोतिएको वातानुकुलित रंगशालाको गोलमा ताली बजाउँछन् नेपाली! सरकार, दलाल र कतारी कम्पनीले लगातार हानेको फाउलमा उस्स पनि गर्दैनन् नेपाली।  

त्यसैले, फुटबल जिन्दाबाद। ब्राजील जिन्दाबाद। अर्जेन्टीना पहिलो गेममा हारेपनि जिन्दाबाद!  ईङल्याण्ड पनि जिन्दाबाद। फ्रान्स अझै जिन्दाबाद! 

परदेशिएका नेपाली श्रमिक मुर्दावाद! 
 

 

   

 

प्रतिक्रिया