अस्ट्रेलिया पूर्णतः दक्षिणी गोलार्धमा अवस्थित देश हो । यसका छिमेकी देशहरू न्युजिल्यान्ड , पपुवा न्युगिनी , सोलोमन द्विप , न्यु क्यालिडोनिया र इन्डोनेसिया हुन् । अस्ट्रेलियाको राजधानी क्यान्बेरा नामको सानो सहरमा अवस्थित छ I यहाँको सबैभन्दा ठूलो सहर सिड्नी हो । अस्ट्रेलियाको क्षेत्रफल करिब ७६ लाख ९२ हजार वर्ग किलोमीटर छ । आकारका हिसाबले यो नेपालभन्दा ५२ गुणा ठूलो छ । अस्ट्रेलियाको जनसंख्या लगभग २ करोड ६० लाख छ । नेपालको भन्दा झन्डै ३२ लाख कम । काठमाडौंबाट अस्ट्रेलियाको सबैभन्दा उत्तरको सहर डार्बिन ६ हजार ६०० र सिड्नी करिब ९ हजार ७०० किलोमीटर टाढा रहेका छन् ।
हाल अस्ट्रेलियामा बसोवास गर्ने सम्पूर्ण जनसंख्याको झन्डै ३० प्रतिशत मानिसहरू अस्ट्रेलियामा जन्मेका होइनन् । बढी सुविधायुक्त जीवनको खोजीमा अस्ट्रेलियातिर बसाइ सर्नेमा सबैभन्दा ठूलो संख्या ग्रेट ब्रिटेनमा जन्मेका मानिसको छ । त्यसपछिको संख्या क्रमशः भारत, चीन, न्युजिल्यान्ड, फिलिपिन्स, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया ,इटाली, श्रीलंका, नेपाल, संयुक्त राज्य अमेरिका, जर्मनी, दक्षिण कोरिया, हङकङ र ग्रीसको छ ( १ लाखभन्दा बढी संख्या मात्र समावेश गरिएको ) । अहिले अस्ट्रेलियामा करिब १ लाख ३३ हजार नेपालीहरू रहेको अनुमान छ । यसरी जति पनि नेपालीहरू सहज र सुविधापूर्ण जिन्दगीको खोजीमा अस्ट्रेलिया आए , ती सबै तुलनात्मकरूपमा प्रतिभाशाली र केही गरौं भन्ने भावनाका थिए । आजको संसारमा एक देशका मानिसहरू अर्को देशमा बसाइ सरेर जानु स्वाभाविक नै हो । संयुक्त राज्य अमेरिका, जर्मनी, इटाली, ग्रीस र दक्षिण कोरिया जस्ता सम्पन्न देशका मानिस पनि अस्ट्रेलियातिर बसाइ सरेको देखिन्छ । किन्तु नेपालको मामिला फरक छ । नेपालका मेधावी युवाहरू अस्ट्रेलिया , अमेरिका, क्यानाडा र युरोपका विभिन्न देशतिर गइरहेका छन् । बेहतर जीवनको खोजीमा आफ्नो मातृभूमि छाडेर जान लालायित अन्य युवाहरू पनि लाखौं लाख छन् ।
मनुष्य स्वभावैले सहज रोजगारी, अधिकतम भौतिक सुविधा र स्वतन्त्रता चाहन्छ । यी सुविधा प्राप्त गरेपछि जिउधनको सुरक्षा, शान्ति र स्वतन्त्रताको स्थायित्वको चाहना हुन्छ । आज संसार सानो भएको छ । आफ्नै मातृभूमिमा सारा सुविधा हुनेहरू त देश छाडेर हिँड्ने रहेछन् भने नेपाल जस्तो गरिब देशका मानिसको के कुरा । संसारभरिका मानिसहरूले अस्ट्रेलियालाई सपनाको गन्तव्य बनाउनुमा अनेक कारण छन् । अस्ट्रेलियामा व्यक्तिगत स्वतन्त्रता र मानवीय गरिमाको उच्च सम्मान गर्ने संस्कृति छ । अरुको व्यक्तिगत जीवनको चियोचर्चो गर्ने चलन छैन । बोल्ने स्वतन्त्रता छ भन्दैमा कोही पनि होहल्ला र बकबक गर्दैन । जाति, रङ्ग, धर्म र लिङ्गको भेदभावबिना सबैलाई समान अवसर ( फेयर गो ) को सुविधा प्राप्त छ । अस्ट्रेलिया सही अर्थमा लोकतान्त्रिक पद्धति फुले फलेको देश हो । मानिसहरूबिच प्रचुर मात्रामा आपसी सम्मान, सहनशीलता र करुणा रहेको पाइन्छ । सबैजना आफ्नो कारणले अरुलाई वाधा नपरोस् भन्ने कुरामा सचेत देखिन्छन् । यो विश्वकै सफलतम वहुसांस्कृतिक र सामुदायिक सद्भाव भएको देश हो । अस्ट्रेलिया संसारकै बस्न लायक देशहरूमध्ये अग्रणी स्थानमा छ । कामको सम्मान, परिश्रमको समुचित ज्याला, औचित्यपूर्ण सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र सरसफाइको उच्चतम प्रबन्ध यहाँका प्रमुख विशेषता हुन् । राज्यको तर्फबाट स्याहार सुसारपूर्ण बुढेसकाल अस्ट्रेलियाको अनुपम विशेषता हो । यहाँ सुसङ्गत र मर्यादित जीवन पद्धतिलाई अङ्गीकार गरिएको हुँदा सबैले आफूलाई मानवीय गरिमाले युक्त व्यक्तिको रूपमा महसुस गर्दछन् । फराकिला एवं सफा सडक, हरियाली, स्वच्छ हावापानी र उत्तम फोहोर व्यवस्थापनले गर्दा अस्ट्रेलियाका शहरहरू सुन्दर तथा रमणीय देखिन्छन्
अस्ट्रेलियामा आफ्नो पद, परिवार र प्रतिष्ठाको धाक लगाउने र बढाइ चढाइ गर्ने चलन छैन । यहाँ व्यक्तिलाई हेरेर होइन, कामलाई हेरेर मूल्यांकन हुन्छ । कार्यालय या कार्यस्थलमा आपसी सम्बन्धको ठूलो महत्व हुन्छ । सबै आफ्नो पद अनुसारको ‘पोजिसन’ मा बस्नैपर्छ । सहायकले आफ्नो सुपरभाइजरप्रति समुचित सम्मान गर्नैपर्छ । नोकरी छाडेर हिँडे पनि सम्बन्ध र व्यक्तिगत छविमा निकै ध्यान दिने चलन छ । आफ्नो काम गर्ने तरिका र व्यक्तिगत बानी व्यहोराप्रति अर्को व्यक्तिको दृष्टिकोण सम्बन्धमा ख्याल राख्नुपर्छ । एक ठाउँको काम छाडेर अर्को ठाउँमा जानेको सम्बन्धम हालवालाले सबिकवालासँग नेकीबदी माग्ने हुँदा कामदारहरू निकै होसियार हुन्छन् । यहाँ ‘डु नट बर्न द ब्रीज’ भन्ने लोकोक्ति प्रसिद्ध छ । के थाहा जीवनको कुनै मुकाममा फेरि भेट भएर सँगै काम गर्नुपर्ने पो हो कि ।
यहाँका कामकाजी महिलाहरूलाई महिला भएकै कारण कसैले सहानुभूति प्रकट गरेको मन पर्दैन । आफ्नो शक्तिले भ्याउँदासम्म सबैले कामै गरेर खान्छन् । सबैले भरसक स्वावलम्बन र स्वाभिमान कायम राख्छन् । वृद्ध भएका महिलाहरू पनि सुकिलो र छरितो पहिरनमा शृङ्गार गरेर हिँड्छन् । कुनै सरकारी कामका लागि भनसुन, सिफारिस र सोर्सफोर्सको संस्कृति छैन । चाकरी, चुक्ली र चापलुसीलाई कुनै स्थान छैन । टेबुलमुनिको घुसपेसको चलन नभएको हुँदा अतिरिक्त आम्दानी गर्न चाहनेले अतिरिक्त श्रम गर्नुपर्छ । यहाँ नेपालमा जस्तो साथीभाइ या नातागोता भेट्न कार्यालयमा जाने चलन फिटिक्कै छैन । अफिसमा हाजिर गरेर जन्त, न्वारान, अन्त्येष्टि, मठ- मन्दिर आदितिर जाने कुराको कल्पना पनि गर्न सकिंदैन । जागिरेले अर्को अफिस र कोठा चोटा चाहारेर गफ गर्न र साथीभाइ भेट्न मिल्दैन । कसैको धाकधक्कु , सोर्सफोर्स र सम्पर्क जस्ता कुरा मान्य छैनन् । ड्युटीमा रहेको बखतमा बाहेक पुलिस फोर्सका मानिस अफिसियल पोशाक लाएर हिँड्दैनन् । ड्रेस पहिरेर रेस्टुरेन्टमा खानपान गर्दैनन् । प्रहरीसँग डराउनुपर्ने या घृणा गर्नुपर्ने कुनै परिस्थिति छैन । सरकारी काम नियमबद्ध तरिकाले आफै हुन्छ । कार्यालयमा पियन र ड्राइभरको दरबन्दी हुँदैन । कार्यकक्षमा चिया खाएर फाल्तु गफ गर्ने चलन छैन । ट्रेड युनियनको नेता हुँ भन्दै दुईचार मानिस अघिपछि लगाएर रवाफी हुँदै हिँड्ने संस्कृति छैन । यस्तो पद्धति बसालिएको छ कि काम नगरेर ठगठाग गर्ने गुन्जायस नै हुँदैन । कहिल्यै पनि आफ्नो इमान र मानवीय गरिमाको उल्लंघन नगर,परिश्रम गर, कमाऊ, खाऊ र मोज गर । कसैले कसैको ईर्ष्या, डाह र द्वेष गर्नुको प्रयोजन छैन । समाजमा व्यक्तिगत स्वतन्त्रताको पूर्ण मर्यादा हुन्छ ।
अस्ट्रेलिया अत्याधुनिक सोचाइ र रहनसहन भएको देश हो । यहाँ आपसी सहमति र मेलमिलाप हुँदासम्म मात्र दाम्पत्य जीवन कायम रहिरहन सक्छ । असहमतिका विषयहरू र कलह बढ्दै जान थालेपछि वैवाहिक जीवनको अन्त्य गर्नुमै कल्याण हुन्छ भन्ने आम धारणा रहेको पाइन्छ । विवाह हुनु जति स्वाभाविक हो, त्यत्ति नै स्वाभाविक डिभोर्स पनि हो भन्ने सामाजिक मान्यता छ । पुरानो पतितर्फका सन्तान लिएर नयाँ पतिसँग बस्न जानु या नि:सन्तान महिलाले सन्तानवान पुरुषसँग विवाह गर्नु सर्वस्वीकार्य छ यहाँ । बाजे बराजुका पालादेखि चल्दै आएको हुँदा यो प्रवृत्ति समाजमा स्थापित रीति र संस्कृति बनिसकेको छ । अचेल विवाह नै नगरी सँगसँगै बस्ने चलन पनि बढिरहेको छ ।
सत्र /अठार वर्ष उमेर पुगेको सन्तान भरसक मातापिताको घर छाडेर स्वतन्त्र जीवन बिताउन चाहन्छ । मातापिताको सम्पत्ति हुनेहरू पनि आफै कमाएर खान थाल्छन् । बाबुआमाको इज्जत जाला कि, जोरीपारीले केही भन्लान् कि भनेर चिन्ता गर्नु पर्दैन । काम सानो- ठूलो हुँदैन । बरु काम नगर्नेको इज्जत हुँदैन । बाबुआमाले छोराछोरीको विवाहको चिन्ता लिनु पर्दैन । आफै खोज्छन् । प्राइभेट स्कुल र अस्पताल पनि छन् । धनाढ्यहरू प्राइभेटतर्फ जान्छन् । किन्तु सरकारी स्कुल र अस्पतालको सेवा पनि उम्दा छ ।
केटाकेटीहरूलाई जन्मनेबित्तिकैदेखि अलग्गै ओछ्यानमा सुताउँछन् । गाडी चढ्दा नवजात शिशुलाई पनि काखमा राख्न मनाही छ । अलग्गै सिटमा बेल्ट कसेर राख्नुपर्छ । नेपालमा जस्तो बच्चाहरूलाई पुलपुल्याउने, ‘मेरो बाबा’ भन्दै रुन्चे बनाउने र स्कुल लैजाँदा झोला बोकिदिने चलन छैन । बालबालिकाले सानैदेखि स्वावलम्बी बन्नुपर्छ, आफ्नो काम आफै गर्नुपर्छ, काम गरे ज्याला पाइन्छ र परिश्रम गर्नु नै मनुष्यको कर्तव्य हो भन्ने ज्ञान पाएका हुन्छन्।
वैवाहिक विग्रह र डिभोर्सका कारण धेरै जना एक्लै हुन पुग्छन् । यस्तो अवस्थामा पाल्तु कुकुर या बिराला नै साथी हुन् । छोराछोरी साथमा हुने एकल महिला या पुरुषलाई झनै कठिन हन्छ । छिमेकीकहाँ दु:ख देखाउन जाने प्रचलन छैन । प्रायः कसैको घरमा कोही जाँदैन । जानै परे पूर्वसूचना दिएर मात्र जानुपर्छ । मिल्ने साथीलाई पनि प्रायः पार्क या रेस्टुरेन्टमा भेट्ने परम्परा छ । आफ्नो बगलकै घरमा मारपिट र अशान्ति भएको थाहा पाए पनि सम्झाउनु या बिचबचाव गर्नुलाई उचित मानिदैन । पुलिसमा खबर गरे छिमेकीको दायित्व पूरा हुन्छ । सङ्कटको घडीमा सूचना पाएको पाँच मिनेटभित्र प्रहरी आइपुग्छ । प्रहरीले कसैलाई शारीरिक या मानसिक यातना दिन , गालीगलोज गर्न या अपमान गर्न मिल्दैन । पारिवारिक गोपनीयता र ‘प्राइभेट लाइफ’ को ठूलो सम्मान गर्ने संस्कृति छ । अस्ट्रेलियामा काम गर्ने मान्छेलाई खान लाउनको दु:ख हुँदैन । तर आवास धेरै महङ्गो छ । आफ्नो घर नभएकाहरूलाई एक्लो कमाइले ऋणमा लिएको आवासको किस्ता बुझाउन या घरभाडा तिर्न मुस्किल पर्छ । यस्तो अवस्थामा केही दुर्भाग्यशालीहरू घरबारविहीन भएर सडकमा पुग्दछन् ।
प्रतिक्रिया