विराटनगर। मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्।
निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको अवस्थामा गठबन्धनमा आवद्ध दलहरुको सहभागितामा सरकार बन्ने उनको भनाइ छ।
बिहीबार बिहान विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।
निर्वाचनबाट सातवटा दल राष्ट्रिय दलका रुपमा आइसकेको उल्लेख गर्दै कोइरालाले केही स्थानको परिणाम आउन बाँकी भएको र एकीकृत समाजवादी पनि राष्ट्रिय दलका रुपमा आउँछ भन्ने आशा रहेको बताए।
चुनावीअघि गठबन्धन गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाली कांग्रेस एकठाउँ रहेको भन्दै कोइरालाले त्यसमा अरु कोही थपिनुपर्ने अवस्था आयो भने थपिने उल्लेख गरे।
आफू पहिले निर्वाचनपछिको गठबन्धनको पक्षमा रहे पनि अब निर्वाचन भइसकेको अवस्थामा, अधिकांश परिणाम पनि आइसकेको अवस्थामा पहिले के हुनुपर्थ्यो भन्नेतिर ध्यान दिनु नहुने कोइरालाको भनाइ थियो।
‘अब गठबन्धनकै सरकार बन्छ र नेपाली कांग्रेसको नेतृत्वमै गठबन्धन बन्छ’ कोइरालाले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादी हामीसँगै हुन्छन्।’
प्रधानमन्त्री को बन्ने भन्नेबारे काठमाडौं गएर आफूले साथीहरुसँग सल्लाह गर्ने जनाएका कोइरालाले पार्टी सभापति, वरिष्ठ नेताहरुसँग कुरा गर्ने जनाए।
तपाईं प्रधानमन्त्री बन्नुहुन्छ भन्ने जिज्ञासामा कोइरालाले भने, ‘प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने होइन। संसदीय प्रणालीमा नम्बरको खेल हुन्छ भन्ने बुझ्नुपर्छ। पहिले संसदीय दल बन्नुपर्यो। संसदीय दलको नेता बन्नुपर्यो। यसबारे हामी सल्लाह गरेर निर्णय गर्छौं।’
गगन थापा प्रधानमन्त्री बन्ने अनि त्यसमा विश्वप्रकाश शर्माको पनि समर्थन रहेको कुरा सार्वजनिक भएको सन्दर्भमा कोइरालाले भने, ‘कसैले समर्थन गरेरमात्र हुने होइन। नम्बरको खेल हुन्छ भन्ने बुझ्नुपर्ने कुरा हो, कसको नम्बर के छ भन्ने कुरा हेर्नु परेन?’
विराटनगरको राजनीतिक साख गुम्दै गएको अवस्थामा अब फिर्ता गर्ने कुरामा कसरी ध्यान दिनुहुन्छ भन्ने जिज्ञासामा कोइरालाले भने, ‘विराटनगर राजनीतिक राजधानीका रुपमा पहिलेदेखि नै परिचित थियो। २००७ सालको क्रान्तिदेखि नै अग्रणी हो। तर पछिल्लो समय केही ओझेलमा परेको छ। यो सबैले महसुस गरेको कुरा हो।’
विराटनगरको साख फेरि फर्काउनका लागि हामीले काठमाडौंबाट र डेमोक्र्याट, वामपन्थी साथीहरु अनि जनता सबैको सहयोग चाहिने उल्लेख गर्दै कोइरालालेसबैको सहयोगबाट विराटनगरलाई राजनीतिक राजधानी फेरि बनाउन सक्ने विश्वास व्यक्त गरे।
विराटनगरको राजनीतिक साख फर्काउन तपाईं प्रधानमन्त्री बन्नुहुन्छ भन्ने प्रश्नमा कोइरालाले भने, ‘प्रधानमन्त्री हुनैपर्छ भन्ने कुरा पनि होइन। प्रधानमन्त्री हुन्न भन्ने कुरा पनि होइन। विराटनगरलाई राजनीतिक राजधानी बनाउनु अलग कुरा हो।’
प्रतिक्रिया