निर्वाचनमा हारेर पनि मन जितेकी उम्मेदवार

काठमाडौं। संसदीय निर्वाचनको प्रतिष्पर्धामा पराजीत भएकी सिने नायिका रेखा थापा भारी मन लिएर बिजयी उम्मेदवार सुनील शर्मालाई वधाई दिईन्। रेखाले वधाई दिएको थाहा पाएर सुनीलका समर्थक समेत दंग परेका छन्। उनको सकारात्मक सोच र व्यवहारले सकारात्मक सन्देश प्रशार गरेकोले मानिसहरुको मन जितेको छ।

मोरङ क्षेत्र नम्बर ३ मा पहिलेका प्रतिस्पर्धी नेपाली कांग्रेस र एमालेका उम्मेदवार चर्चामा रहेकामा यसपटक नयाँ अनुहारको प्रवेशले बेग्लै माहौल बनाएको थियो। निर्वाचनमा नयाँ अनुहार भए पनि राप्रपाका तर्फबाट उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा दर्शकका लागि नयाँ थिईनन्।

उनले निर्वाचनमा निकै मेहेनत गरिन्। फरक शैलीको प्रचार अभियानले धेरैको ध्यान तानेको थियो। तर पहिलोपटक चुनावी मैदानमा होमिएकी रेखाले सफलता भने पाइनन्। पराजित भए पनि उनी उत्तिकै चर्चामा छिन्। उनी १२ वर्ष अघिदेखि राजनीतिक क्षेत्रसँग प्रत्यक्ष सम्बद्ध भएकी हुन्।  
 
उनले आफू निर्वाचन लडेको क्षेत्रबाट विजयी बनेका नेपाली कांग्रेसका सुनील शर्मालाई बधाई दिएकी छन्। मोरङ ३ का मतदातालाई सम्बोधन गर्दै अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

उनले लेखेकी छन्, ‘यसपटक निर्वाचन जितेर तपाईँहरुका आवाज संसदमा राख्ने अवसर नपाए पनि तपाईँका समस्याका आवाजलाई थप सशक्त बनाउने मान्छेका रुपमा अब तपाईँले मलाई पाउनुहुनेछ, हाम्रो सहकार्य र हातेमालो पनि कायमै रहनेछ ।’ उनले सबै मतदातालाई धन्यवाद पनि दिएकी छन्।

यसपालिको चुनावमा कलाकार रेखा, कोमल वली, मनोज पण्डित, रोज राणा, हिमेश पन्त, सीते बा भनेर चिनिने मधुसुदन पाठक र सञ्जय श्रेष्ठ प्रतिनिधि र प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए।

उम्मेदवार बनेकामध्ये कलाकार तथा निर्देशक राणा कांग्रेसबाट प्युठान प्रदेशसभा ‘ख’ मा विजयी भए भने अरु ६ जना पराजित भएका छन्।

प्रतिक्रिया