नेपालमा भर्खरै संसदीय चुनाव सकिएको छ। चुनावको नतिजाले नेपाली जनता अब अलि सार्वभौम, स्वतन्त्र एवं स्वविवेकीय बन्न थालेको सन्देश प्रकट भएको छ। नेपालमा लोकतान्त्रिक परिपाटी सुरु भएको पनि ३३/३४ बर्ष बितिसकेको छ। तर लोकतान्त्रिक अभ्यास भने परिपक्व, विश्वसनीय एवं जनमुखी हुँदै जानुपर्नेमा झन प्रत्युत्पादक बन्दै गएको छ। यसैको प्रतिक्रिया स्वरूप लोकतन्त्रलाई दुरुपयोग गर्ने कथित लोकतन्त्रबादी दलहरूलाई बलियो ‘सिण्डिकेट’ का बाबजुद पनि यस पटकको चुनावमा जनताले गतिलो झापड हानेका छन्।
चुनावभन्दा अगाडि नै चुनाव जित्नका लागि बैचारिक रूपमा पूर्णतः विधर्मी दलसँग गठबन्धन गर्नु लज्जाजनक विषय हो। त्यसमाथि नेपाली कांग्रेस जस्तो समुदायमा आधारित (मास बेस्ड) पार्टीले बैचारिक दर्शनदेखि नै नेताको निरंकुश हुकुमबाट चल्ने कम्युनिष्ट पार्टीलाई भोट दिन पटक पटक हुकुमी शैलीमा कम्युनिष्ट मन नपराउँने मतदाताहरूलाई निर्देशन दिनु लोकतान्त्रिक परिपाटीको उपहास हो।
कम्युनिष्ट समर्थकहरू नेताको ईशारामा चल्ने रोबोर्ट मात्र हुन् भन्ने कुरा बिगतमा एमाले माओबादी मिलनमा करिब शतप्रतिशत मतान्तरण भएको र अहिले पनि माओबादी बिचारका मतदाताहरूले कांग्रेसलाई ठूलो परिमाणमा मतान्तरण गरेको कुराले पुष्टी गर्छ। तर कांग्रेस समर्थक वा लोकतन्त्रबादी मतदाता धेरैले माओबादीलाई भोट नदिएको देखिन्छ। तथापि कांग्रेसभित्र पनि अवसरबादीहरूको बाहुल्य बढ्दै गएको र लोकतन्त्रबादीहरू किनारामा परिसकेको हुनाले ६० प्रतिशतको हाराहारीमा माओबादीले पनि भोट पाएको देखिन्छ।
माओबादीलाई भोट दिनेहरू अवसर लिन कांग्रेस भएका, निष्ठा, सिद्धान्त एवं नैतिकता नभएका र डरपोकहरूले तथा केही लहै लहैमा लागेकाहरू मात्रै हुन् भन्दा फरक पर्दैन। केही झिनो प्रतिशत आजसम्म यही पार्टी वा नेताको कुरा मानियो अब किन अवज्ञा गर्नु र भन्ने रुढी मानसिकताबाट पनि माओबादीलाई भोट हाल्न पुगे। निष्ठा र सिद्धान्तका आधारमा कांग्रेस बनेका स्वाभिमानी समर्थक एवं लोकतन्त्रबादीहरूले माओबादीलाई भोट हालेनन् तर त्यस्तो संख्या अब कांग्रेसमा यति कम भैसकेछ कि लोभी पापी र सिद्धान्तहीन झुण्डहरूकै बाहुल्य रहेको देखिन्छ। कांग्रेसको बर्तमान नेतृत्वको सत्ता लिप्साका कारण लोकतान्त्रिक पद्धतिकै धज्जी उडेको छ। देउबा–प्रचण्ड गठबन्धनले भनेझैं संविधान र लोकतन्त्रप्रति खतरा त कांग्रेसकै प्रचण्डपथगमनबाट बढी देखिन्छ। खेत बारीको बाली जोगाउन बाँदरको जमातलाई नै खेत बारीमा हुलेपछि बाली कसरी जोगिन्छ?
अहिलेको देउबा र प्रचण्डको गठबन्धनले राजनीतिलाई केवल सत्तामा पुग्ने र सत्तामा पुगेपछि आफ्नो छुद्र स्वार्थ पूरा गर्ने साधन मात्र देखेको छ। आफ्ना नाता कुटुम्ब, भाइ भारदार, जी हजुरी गर्ने चाकडहरूको झुण्ड, दलाल–तश्कर, भ्रष्ट एवं दुइ नम्बरी धन्दाबाट देश र जनतालाई लुटेर अकूत कालो धन थुपारेका ब्यक्तिबाट फाइदा लिन मात्रै राजनीतिलाई उपयोग गर्ने दुष्ट भावबाट यो गठबन्धन बनेको हो।
माओबादीसँग गठबन्धन बनेकै कारण यसपटक धेरै कांग्रेस मतदाताहरू अन्यत्र पलायन भए। पार्टी गठन भएको दुइ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १५ लाखको हाराहारीमा मत त्यत्तिकै पाउँदैन। देश र जनताको लागि उल्लेख्य भूमिका भएका ब्यक्तिको नेतृत्वमा खुलेको दल पनि होइन तर पनि असन्तुष्टीकै कारण नयाँ दलको उदय भयो जुन कुरा लोकतन्त्रबादीहरूका लागि बेखुसीको कुरा होइन। कांग्रेसको पतन नै नयाँ लोकतान्त्रिक दलको लागि अनुकूल वातावरण बन्यो।
कांग्रेसको पतन २०५१ सालदेखि नै सुरु भएको हो। ठूलो उत्साह, आशा, भरोसाका साथ २०४८ सालको आम निर्बाचनमा कांग्रेसलाई जनताले भारी बहुमतका साथ सत्तामा पुर्याएका थिए, तर कांग्रेसद्वारा बनाइएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जनादेशको मर्म र आशय बिपरीत मनपरी गर्न थाले र अकारण संसद बिघटन गरिदिए। २०४६ सालको जन आन्दोलनबाट प्राप्त लोकतन्त्रलाई कोइरालाले सुरुदेखि नै आफ्नो शक्ति आर्जन गर्ने र सत्ता विलासमा मदहोस हुने साधन बनाए। जसको फलस्वरूप नेपाल, नेपाली संस्कृति, माटो तथा भूगोल एवं विश्व राजनीतिसँग कत्ति पनि मेल नखाने कम्युनिटहरूको उर्वर भूमी बन्दै गयो। संसदीय राजनीतिलाई कोइरालाले सीमान्त दुरुपयोग गरे।
यतिसम्मकि आफ्नै पार्टीका सभापति, प्रजातान्त्रिक आन्दोलनका सहयोद्धा कृष्णप्रसाद भट्टराईलाई हराउन उनले आफ्नो सत्ताको चरम दुरुपयोग गरे। आफु प्रधानमन्त्री रहेर आफु हारेर भएपनि आफ्नो पार्टीलाई बहुमत दिलाउने सन्त नेता भट्टराईलाई हराउन कोइरालाले राजनीतिको सम्पूर्ण नैतिकता, लज्जा, इमान, सिध्दान्त, निष्ठा एवं नेपाली कांग्रेसको अब्बल परम्परालाई कुल्चिए। यही नै नेपाली राजनीतिको कुरूप एवं विभत्स अभ्यासको सुरुआत थियो। सारांशमा भन्नुपर्दा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउबा नेपाली कांग्रेस भित्रका खलपात्र नै हुन् र यिनै दुइ पात्रको हातमा निरन्तर पार्टी र सरकारको बाग्डोर रह्यो। नेपालको लोकतान्त्रिक ब्यबस्थालाई बदनाम गर्ने एक प्राम्भिक कालखण्ड २०५१ को अस्वाभाविक मध्यावधि निर्बाचन हो। उक्त मध्यावधि चुनाब कोइरालाको भावोत्तेजनापूर्ण कदम थियो।
कोइरालाकै पद चिन्ह पछ्याउँदै २०६० सालमा शेर बहादुर देउबाले तत्कालीन संसद भंग गरी मध्यावधि चुनावमा जाने निर्णय गरे, जसको परिणाम तत्कालीन राजाले २०४७ को संबिधान नै खारेज गरेर आफ्नै निरंकूश शासन लादे। यिनै परिघटनाहरू लोकतान्त्रिक ब्यबस्थालाई कमजोर पार्ने र वितृष्णा पैदा गर्ने मुख्य मापक बन्न पुग्यो।
यिनै स्वार्थ केन्द्रित दम्भी कदमका कारण कम्युनिष्टहरू बलियो बन्दै गए। विश्व मानव सभ्यतामा लोप भैसकेको कम्युनिष्ट परिपाटी नेपालमा झांगिदै गयो। जहाँ फोहोर हुन्छ त्यहाँं झिंगाहरू भन्किन्छन्। यहाँ दोष झिंगाको होइन, फोहोर बनाउँनेको हो। झिंगाको त धर्म नै हो फोहोरमा भन्किनु। फोहोरकै फाइदा उठाउँदै प्रचण्ड नेतृत्वको माओबादी नामको एक हिंस्रक जत्था जन्मियो। नेपालको हुर्मत लिएर छाड्यो। आजभोलिको राजनीतिमा निर्दोष मान्छे मारेर नेता मात्रै होइन देशको प्रधानमन्त्री नै हुनु कतिसम्म लज्जाको बिषय होला। हामी नेपालीको हैसियत वा अवस्थालाई जनाउन योभन्दा अरु के चाहिएला र। अझै उसैलाई बोकेर कांग्रेस हिंडिरहेको छ।
नेकपा एमालेको पनि सबै छर्लंग छ। केपी ओलीको कुनै कोणबाट पनि सकारात्मक पक्ष देखिँदैन, किनभने उनी पनि त्यही कम्युनिष्ट स्कुलिंगबाट आएका हुन् र जीवनभर झुटो बोलेर र अरुलाई सरापेर बुढो भएका नेता हुन्। माओबादीको १० बर्षे हिंसा कसरी राजनीतिक हुन्छ? निर्दोष जनता मार्ने, अनि जनताको शासन हामीले ल्याएको भन्ने? अनि त्यही कुरालाई सारा बुद्धिजीवी भन्नेहरू पत्याउने र कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी उसैलाई काँधमा बोकेर लोकतन्त्रको रक्षाको निम्ति भन्दै गठबन्धन गर्ने, यो कस्तो राजनीति हो?
अढाई बर्ष अगाडि केपी ओलीले घोषणा गरेको मध्यावधि चुनावमा प्रचण्ड र माधव नेपालको कुरा नसुनी कांग्रेस चुनावमा गएको भए कांग्रेस एक्लैले बहुमत वा बहुमत नजिकको नतिजा प्राप्त गर्ने प्रचुर संभावना थियो। तर शेर बहादुरले आफु प्रधानमन्त्री हुने लोभमा कम्युनिष्ट रूपी झार फाँड्ने गतिलो अवसर गुज्रिएको मात्रै होइन फेरी पनि देशमा कम्युनिष्टकै बहुमत बन्यो।
अझै पनि कांग्रेस जोगाउने हो भने अहिले प्रत्यक्षबाट जितेका र समानुपातिकबाट आउने हरेक सांसदहरूलाई मतदाता एवं कार्यकर्ताहरूले देउबा निषेध अभियानमा लाग्न दबाब दिनुपर्छ। देउबा, रामचन्द्र, प्रकाशमान, शशांक जस्ता अयोग्य साबित भैसकेकाहरूलाई रोक्न “नो नट अगेन” को मिसन तीब्रताकासाथ अघि बढाउनै पर्छ। अब विश्वप्रकाश, गगन, बद्री, प्रदीप, धनराजहरूको टीमले देश र पार्टी हाँक्नुपर्छ।
प्रतिक्रिया