घरफिर्ती

–होसे मारिया दियाज पेरेज

पचपन्न घण्टा यात्रा गरेर सुनिल र शान्ति रक्सौल उत्रिए । सुनिल चाहन्थे शान्ति सुरक्षित घर पुगुन् । त्यसैले उनी रक्सौलबाट रिक्सा लिएर शान्तिसँगै वीरगञ्ज बसर्पार्क आए । हेटौँडा जाने बसको टिकट लिए र पर्खिन थाले । बसभित्र छिर्नुअघि शान्तिका आँखा केही क्षण सुनिलका अनुहारमा थामिए । उनका रसिला आँखा भन्दै थिए, ‘सुनिल, अहिलेसम्मका सबै सहृदयी सहयोगका लागि मुरीमुरी धन्यवाद ।’

शान्ति बसभित्र छिरिन्, झ्यालछेउको सिटमा बसिन् । सुनिलका आँखा उनैलाई पछ्‌याइरहेका थिए । दुबैका आँखा आँसुमा डुबेका थिए तर ओठमा मुस्कान पनि थिए । शान्तिको गाडी हेटौँडातिर लाग्यो । सुनिल रक्सौल फर्किए । बाटामा उनलाई सम्हालिन र आशाको नजरले अगाडि हेर्न निकैबेर लाग्यो । 

वास्तवमा त्यो शान्तिको मात्रै नभएर उनको पनि नयाँ जीवनको सुरुआत थियो । उनी जीवित महसुस गर्न थालेका थिए, आफूभित्र सुषुप्त बाँचिरहेको सुन्दर जीवात्माप्रति सचेत हुन थालेका थिए । शंका पनि थियो– के म नयाँ जीवनको गोरेटोमा शान्तिबिना एक्लै हिड्न सकुँला रु अबका दिनमा पनि सधैँ यस्तै शान्त र खुशी रहिरहन सकुँला ?’

शान्तिको मनमा बाल्यकालदेखि भरखरैसम्मका स्मृति तँछाडमछाड गरिरेका थिए । उनले झ्यालको सिसा खोलिन्, चिसो हावाले अनुहारमा स्पर्श गर्‍यो । सन्तुष्टिले भरिएर मुस्कुराइन् । मुस्कुराइरहँदा ओठ थोरै खुलेको, गाला तन्किएको थाहा राखिन् । हावाले कपाल सुम्सुम्याएको, गालाको पुक्क उठेको भाग मुसारेको थाहा राखिन् । शिरदेखि पाउसम्म महसुस भइरहेका संवेदना नियालिन्, मानौँ शरीरलाई आकार दिने हरेक कोषिका निरीक्षण गर्न चाहन्छिन् । उनले चाक र घुँडामा शरीरको भार परेको, ढाडले बसको सिटमा छोएको पनि थाहा राखिन् । 

यसरी उनी वर्तमान संवेदनामा जति मग्न हुँदै गइन् उति नै बसको सीटमा हराउँदै गइन्, मानौँ सबै आन्तरिक अङ्गहरूलाई आनन्दित तुल्याउने मालिस पाइरहेकी छिन् । उनले नाकका प्वालबाट भित्र छिरिरहेको श्वासलाई स्पष्टताका साथ गोचर गरिन्, श्वास भित्र छिर्ने प्रक्रिया पछ्‌याउँदै जाँदा पेट हल्का फुलेको थाहा पाइन् । श्वास बाहिर निस्कँदा पेट स्वभाविक अवस्थामा फर्किएको थाहा पाइन् । उनको सजगताले यो समग्र प्रक्रियालाई कत्ति पनि अन्देखा रहन दिएन– मांसपेशी खुम्चिएको, फैलिएको, शरीरको कुनै भागमा सजगता पुर्‍याउँदा संवेदना महसुस हुन नसकेको, परेला झिम्क्याएको, मुखमा निस्किएको थुक निलेको ।

ती सजगताका क्षणहरूमा उनले जीवनलाई धन्यवाद दिइन्– जीवनमा भएगरेका सबै कुराका निम्ति, वर्तमानमा ध्यान अड्याएर बाँच्दासम्म अपरिमित शान्ति आफ्नो पहुँचभित्रै हुन्छ भन्ने बोधका निम्ति, आजसम्म जीवित रहन पाउनुका निम्ति धन्यवाद । 

सजग ध्यानका क्षण हामीमा आक्रोश वा इर्श्या हुँदैन । असल वा खराब स्मृति हुँदैन । नापतौल हुँदैन । सपना हुँदैन । मनचिन्ते कल्पनाको उडान हुँदैन । वर्तमान भन्नु यस क्षणको वास्तविकता हो, शरीरमा उत्पन्न भइरहेका संवेदना हुन्, दिमागमा फनफनी घुमिरहेका विचार हुन्....। यीप्रति सजग र सचेत रहनुले हामीलाई एउटा शान्त र आनन्दित जीवनयात्रातिर डोर्‍याउँछ ।

गाडीभित्र ध्यानस्थ हुँदैजाँदा शान्ति अर्कै संसारमा पुगिन् । त्यस्तो संसार जहाँ उनी एउटा शरीर नभएर केवल चैतन्य थिइन् । उनका आँखा भने बाहिर डुलिरहेका थिए । उनी गाडी अघि बढ्दै जाँदा पछाडि छुट्दै गइरहेका घर, गाईवस्तु, गोठाला नियालिइरहेकी थिइन् । प्रकृतिको एकमुस्ट दृश्य हेरिरहेकी थिइन्– आँगनमा नाङ्गै नुहाइरहेका केटाकेटी, घुर्‍यानमा चरिरहेका कुखुरा, दाउरा चिरिरहेका पुरूष, अन्नपात केलाइरहेका महिला, क्यारामबोर्डसँग बेरोजगारी साटिरहेका युवा र अरू थुप्रै ।

जब हामी कुनै कुरालाई विश्लेषण गर्दैनौँ, तुलना गर्दैनौँ र केवल अवलोकन मात्र गर्छौँ तब हरेक कुरा सुन्दर लाग्न थाल्छ । जीवनलाई, प्रकृतिलाई तिनकै इच्छानुसार व्यक्त हुन दिन सक्ने हुन्छौँ । हरेक कुरालाई यथारूपमा स्वीकार गर्छौं । जस्तैः हरियो, वर्षा, रूख, चर्को आवाज, चराका चिरबिर, बच्चाको जन्म, फूलहरूको फुलाइ, माया गरिएकाहरूको मृत्यु इत्यादि । शान्ति पीडा एउटा महान् गुरू भएकोप्रति पनि सचेत थिइन्, आफैँसँग भन्थिन्– हरेक कुरा सुन्दर छ, भलै त्यसले चोट र दु:ख दियोस् ।
 
पीडारूपी गुरूले लिने परीक्षाले हामीलाई आत्मघात वा स्वर्ग जता पनि डोहोर्‍याउन सक्ने रहेछ । कता डोहोर्‍याउछ भन्ने कुरा चाहिँ हामी ती परीक्षाले सिकाएका पाठप्रति सजग रहन्छौँ कि वास्तविकताको प्रतिकार गर्नतिर लाग्छौँ भन्नेमा भर पर्दोरहेछ । नेपाल फर्कँदै गर्दा हिजो बिहान शान्तिले सुनिललाई भनेकी थिइन्, ‘जीवन बगिरहने कुरा हो, समाएर राख्न सकिँदैन । मानिस वा चिजहरूलाई पनि नियन्त्रणमा राख्न सकिँदैन । हामीले गर्ने भनेको अहिले भइरहेका कुरा पनि अनित्य छन् भनि थाहा पाउने र स्वीकार गर्ने मात्रै हो । आशक्ति वा अपेक्षाले अन्ततस् पीडामै पुर्‍याउँछन् । पीडाको संकेत हो– अझै केही सिक्न बाँकी छ ।’

पढेलेखेको, संसार घुमेको म यस्तो पूर्णानन्दमा बाँच्नबाट सधैँ एक कदम पछाडि हुन्छु । जीवनमा कुनै किताब नपढेकी शान्ति भने कति सजिलोसँग वर्तमान बाँच्छिन् । सामान्यतस् हाम्रो सोझो समझभन्दा गहिरा सत्यलाई शब्दले दुषित पार्छन्, यथारूपमा वर्णन गर्न सक्दैनन् । यसैकारण हुनुपर्छ शान्ति हामी प्रत्येकले आफैँ हिड्नु पर्ने बाटोतिर संकेत मात्र गरिदिन्छिन्, मूलतस् जीवन बँचाइको नमुना प्रस्तुत गरेर । उनी योजना बनाएर त्यसो गर्दिनन्, थाहै नपाई स्वस्स्फूर्त गर्छिन् । बुझाइ र उमेर दुबैले परिपक्व हुँदै जाँदा उनलाई महसुस हुन थाल्यो– यो खजाना मेरा लागि मात्रै दिइएको आशीर्वाद होइन, सम्पूर्ण मानवसँग बाँड्नका लागि पनि हो । तर त्यो खजानालाई कसरी व्याख्या गर्ने रु अरूलाई कसरी बुझाउने ?  

बस हेटौँडा पुग्यो । शान्तिको पेट भोकले बाउँडिन थालेको थियो । छेउको पसलबाट पाउरोटी किनिन् र गाउँ जाने बसको काउण्टरतिर लागिन् । बस हिँड्न केही समय बाँकी रहेछ । त्यहीँ उभिएर पाउरोटी र पानी खान थालिन् । पर्तिर चारजना अल्लारे केटा बसेका थिए । शान्तिलाई देखेर एउटाले सुसेली मार्‍यो, अर्कोले ठूलो स्वरमा अभद्र बोल्यो । चारैजना छिल्लिएर हाँस्न थाले । तिनका शब्द र हेराइबाट यौन उच्छृङ्खलताको दुर्गन्ध आइरहेको थियो । शान्तिको मन कुँडिएर आयो । 

शान्ति बस कुरिरहेकी थिइन् । उनको मन भरेको कल्पनामा डुब्यो– आमालाई भेटेको, अंगालो हालेको, छातीमा टाँसिएको, छातीको न्यानो छोड्न मन नलागेको, आँशुले आँखा भरिएको, मुखबाट शब्द निकाल्न नसकेर हिकहिक गरेको, छोरीको उपस्थिति विश्वास गर्न नसकेर आमाको अनुहार अलमलिएको, आमाका खस्रा औँलाले गाला सुम्सुम्याइदिएको...।

खलासीले बस हिँड्न लागेको जनाउ दिए । शान्ति बसभित्र छिरिन् । बसमा मान्छे मात्र होइन बजारे सौदाका नानाथरी पोकाहरू पनि टनाटन थिए । बस धेरैथोक बोकेर सुस्त गतिमा अघि बढ्न थाल्यो । भित्र चटपटाउने ठाउँ थिएन । प्रचण्ड गर्मीले बाफिएका यात्रीहरूको ज्यानबाट अमिलो गन्ध आइरहेको थियो । हिन्दी र भोजपुरी गीत चर्को आवाजमा बजाउँदै, आजै चन्द्रमा पुग्नुछ जसरी हतारिँदै, अनगिन्ती खाल्डाखुल्डीमा बुर्कुसी मार्दै, यात्रीलाई धुलोले शिरपुच्छार पुर्दै बस फापरबारी पुग्यो । शान्ति उत्रिन् । उनका मनमा अघि कल्पिएका कुराको नामनिसान बाँकी थिएन । केवल घर पुग्ने हतारो थियो । उनी घरतिर हिँड्न थालिन् । 

बाटोमा चिनारु भेटिए । उनलाई देखेर प्रायस् सबै चकित परे । कतिले प्वाक्क सोधिहाल्थे– आम्मामा, यत्रो दिनसम्म कहाँ थियौ ? के गर्दैथ्यौ ? त्यस दिन उनले जीवनमा सायद पहिलोपटक झुट बोलिन् । गाउँमा अस्वीकृत भइने डरले सत्य बोल्न सकिनन् । 

शान्ति गाउँ छिरिन्, घरै पुग्न लागिन् तर वरिपरिको माहोल छक्क लाग्दो थियो । उनको आगमनले छरछिमेकमा उत्साह ल्याएको थिएन । मात्रै केटाकेटी उनीतिर दगुरादगुर गर्दैथिए, मानौँ को पहिला शान्ति छेउ पुग्ने भनेर बाजी थापेका छन् । केटाकेटीको बालसुलभ हर्कतले उनको मन न्यानो भयो । त्यो न्यानोले वयस्कहरूबाट प्राप्त चिसो स्वागतलाई केही क्षणका लागि भुलायो । 

शान्ति अघि बढिरहेकी थिइन्, सुनिताको घरछेउ पुगिन् । आमा दिलमाया गुन्द्रुक बनाउन बोरामा रायो र मुलाको साग कोचिरहेकी थिइन् । शान्ति उनको नजिक गइन् र थोरै निहुरिएर अभिवादन गरिन्, ‘ल्हास्सो, आमा च्याङ ।’

प्रतिउत्तर आएन । दिलमायाबाट शान्तिले यस्तो अमिलो स्वागतको अपेक्षा गरेकी थिइनन् तर थाहा थियो– पीडा र शोकले वास्तविकता देख्न दिँदैन, दिमागमा नचाहिने कुरा भरिदिन्छ, आफूभित्रका समानुभूतिका भावनाबाट आफैँलाई अलग्याउँछ । आखिर सुनिताको मृत्युको दोष कसै माथि थोपरिनु नै थियो, दिलमायाको रिस पोखिनु नै थियो, निराशा र शोक घोप्टिनु नै थियो । वास्तविकता सामना गर्नुभन्दा अरूलाई दोष लगाउनु धेरै सजिलो हुन्छ । 

बम्बैबाट हिँडेपछिका हरेक दिन र रात शान्ति परिवारलाई भेट्न पाएको, अँगालो हाल्न पाएको, स्पर्श गर्न पाएको, आमाले मात्रै दिन सक्ने संरक्षण र माया महसुस गर्न पाएको सपना देखिरहेकी थिइन् । बम्बैमा हुँदा उनले हजारौँ पटक प्रार्थना गरेकी थिइन्– ‘हे भगवान्, मर्नुभन्दा अघि कमसेकम एकपटक परिवारका सबैलाई कसिलो अँगालो हाल्न पाउँ ।’

कोठीमा उनको बारम्बार निन्दा हुन्थ्यो, बलात्कार हुन्थ्यो, अपमान हुन्थ्यो, शोषण हुन्थ्यो । ती सबैथोकबाट सकेसम्म कम पीडा होस् भनेर उनले अभिनय र आत्मसमर्पणको साहारा लिएकी थिइन् । कोठीका कुनै क्षण त कति कठोर हुन्थे भने उनलाई पनि सुनिताकै बाटो पछ्‌याउँ जस्तो चस्का लाग्थ्यो । भाग्यवस, उनको आत्मामा हुर्किएको जीवनको बीज यति बलशाली रहेछ कि त्यो चस्काले उनलाई हराउन सकेन । बरू अर्को एकदिन बाँच्ने, अर्को एक रात सहने तागत दियो । 

उनी घर पुग्न लागेकी थिइन् । मनमा पछिल्ला स्मृति र तीसँग जोडिएका संवेदना आउँदै, हराउँदै गरिरहेका थिए । उनलाई आफ्नो हिँडाइ आजसम्मकै सबभन्दा शिथिल लागिरहेको थियो । खुट्टा उचालिनसक्नु गह्रौँ भएका थिए । घर पुग्ने चाहना बाँकी छैन जस्तो भएको थियो । गाउँघरमा नचाहेको पाहुना भइएला भन्ने डर लागिरहेको थियो । उनलाई थाहा थियो– दिलमायाको जस्तो चिसो स्वागत आफ्नै परिवारबाट पनि हुनसक्छ र त्यो अवस्थामा संसारमा उनको आफ्नो भन्ने कोही बाँकी रहने छैन । यस्तो त्रासदीले घोच्दा उनका घुँडा झनै लुला भए । शरीरको बोझ थामेर पाइला चाल्न नसकिएला जस्तो भयो । टाउको निहुराएर हिँड्न थालिन्, मानौँ उनको घाँटीलाई सिधा अड्याइरहेको मेरूदण्ड स्वाट्टै गायब भयो । अथवा, आत्माको स्वीच बन्द भयो र उनी एउटा निर्जीव शरीर जस्तो ढलपल हिँड्दैछिन् ।

कुनै एक निर्णयले अथवा अनपेक्षित घटनाले जीवनलाई कसरी केही सेकेण्ड वा मिनेटभित्र नयाँ मोड दिँदोरहेछ १ जीवन बाँच्न जारी राख्नु, हरेक बिहान ओछ्‌यानबाट उठ्नु, हिँड्नु, काम गर्नु, संसारको सामना गर्नु कति गाह्रो हुन सक्दोरहेछ ! मनमा यस्ता कुरा खेलिरहेका बेला उनी वरिपरिको हरियाली, बादल, वस्तुभाउ, बाटो, केटाकेटीलगायत सबै कुराबाट बेखबर थिइन् ।  

मन बिथोलिएको थाहा पाएर शान्ति छेउका कान्लामा एकछिन बसिन् । अब त एकरत्ति बाँकी छैन होला भन्ने ठानेको साहस र ऊर्जा आफूभित्रैको कुनै गहिरो स्थानबाट बटुलेर जम्मा पारिन् । अनि अविभाजित सजगता लगाएर आफ्ना अघिल्तिरको क्षितिजतर्फ हेरिन् । देखिन्– फाट्टफुट्ट घरहरू छन्, हल्का भिरालो पाखामा मान्छेहरू काम गरिरहेका छन्, बाख्राहरू जंगलमा अघाँउजी चरेर घर फर्किरहेका छन्, चराहरू चिरबिर कराइरहेका छन् । उनी जीवनका ती वर्तमान लय र माधुर्यमा केहीबेर ध्यानमग्न रहिन् । 

उनका आँखाबाट आँशु झर्न थाले, गालाबाट बग्दै ओठका कुनामा पुगे । उनले आँशुका प्रत्येक थोपा महसुस गरिन्, तिनले छोएका गालाका चर्मछिद्रमा ध्यान पुर्‍याइन् । भरखरैको एउटा तनावग्रस्त उथलपुथलले आफूभित्र कपासको भुवाजस्तो हलुका शान्तपन जन्माएको थाहा पाइन् । त्यो शान्तपन साँच्चै सुखदायक थियो, उनलाई भरखरैको उथलपुथलबाट बिश्राम दिएको थियो, घरतिरको र जीवनको बाँकी यात्रा बिना त्रास अघि बढाउने ऊर्जा प्रदान गरेको थियो । जीवनले आफ्नासामु प्रस्तुत गर्ने हरेक कुरा सामना गर्ने साहस पनि बढाएको थियो । उनले मनमनै कृतज्ञता जनाइन्– भगवान्, यो सबैका लागि मुरीमुरी धन्यवाद ।

उनी उठेर अघि बढ्न थालिन् । संसारले झुप्रो ठान्ने, आफूलाई आलिशान दरबार लाग्ने घर अब धेरै मिटर टाढा छैन । देखिन्– आमा फूलमाया दाउरा लिएर जंगलबाट फर्किँदैछिन् । आमा दाउराको भारीले थिचिएर छिटो हिँड्न सकिरहेकी थिइनन् । उनको सारा ध्यान त्यो साँघुरो गोरेटोबाट दायाँबायाँ हटिरहेको थिएन, खुट्टा चिप्लिएर कान्लामुनी मुन्टिउँला भन्ने डर थियो । 

फूलमाया घर पुगिन्, भारी बिसाउन टाउको यस्सो उठाइन् । उनका आँखा अगाडिको गोरेटोतिर सोझिन पुगे । परबाट एउटा मान्छे आइरहेको देखिन् । त्यता हेर्न नछोडी भारी भुईंमा पछारिन् । थाहा पाइन्– त्यो आइरहेको मान्छे कुनै अपरिचित पाहुना नभएर शान्ति हुन् । उनको तनमन अपरिमित हर्षले भरियो । घर फर्किरहेकी छोरी देखेर आमाको मुटु निचोरियो । दुई वर्षसम्म छोरीबाट कुनै खबर नआएपछि उनलाई लाग्न थालेको थियो– छोरीले पनि सुनिताकै बाटो समाइ होला, अब कहिल्यै घर फर्किन्न होला । 

आमाछोरीका आँखाले परैबाट एकअर्कालाई भेटे । शोक, वेदना, पीडा र भेट्न पाउनुको उत्साह सबैथोक एकैपटक साटासाट गरे । खुशीले हो कि केले हो, दुबैलाई ऐठन होला जस्तो भयो । शान्ति आमा छेउ पुगिन्, उनले बडो कोमलतापूर्वक छोरीका दुबै हात समाइन् । आमाको स्पर्श पाउनेबित्तिकै उनका आँखामा अघिदेखि थामिएर बसेको मर्स्याङ्दी बग्न थाल्यो । उनले आमाका हत्केला महसुस गरिन् र जीवनप्रति अथाह अनुगृहित भइन् । सोचिन्– अब आमाको हात र साथ कदापि छाड्ने छैन । फूलमाया आमा थिइन्, देख्नेबित्तिकै अनुमान गरिन्– छोरी मन र शरीर थिलथिलो पार्ने भयंकर कष्टबाट बाँचेर फर्किएकी छ । 

उनले दुबै हातले स्नेहपूर्वक शान्तिका गाला सुम्सुम्याइन् र मुसुक्क हाँसिदिइन् । छोरीको अनुहार आफूतिर तानेर छातीमा टाँसिन् र दुबै हातले कसेर अँगालोमा बेरिन् । एक शब्द नबोली केवल अंगालो हालिरहन् । त्यसबेला शान्तिका आँखाबाट मर्स्याङ्दी होइन, सप्तकोशी बगिरहेको थियो । त्यो सप्तकोशीले उनीभित्र थुप्रिएर बसेको त्रास र संतापको पहाड बगाइरहेको थियो । 

छोरी केही शान्त भएपछि फूलमायाले मायालु स्वरमा भनिन्, ‘थाकेकी छस्, भित्र हिँड । तातो केही खाएर आराम गर्नु ।’ 

शान्तिले आमासँग भाइबहिनी र बुवाबारे सोधिन् । सबैजना बिहानै छिमेकीको खेत जोत्न, आली लाउन गएका रहेछन् । शान्तिलाई घरपरिवार र छरछिमेकबारे केही खबरहरू सुनाएपछि  फूलमाया केहीबेर मौन बसिन् । मनभरि प्रश्न हुनु तर सोध्न नसक्नुको असमञ्जसमा परिन् र अन्ततस् शान्तितिर नहेरी सोधिन्, ‘त्यो रमा असत्तिसँग बाटो लागेपछि केके भयो शान्ति रु मलाई सुना त ।’

शान्तिले आमालाई सत्य बताइन् । आफू कसरी, कहाँ पुगेकी थिइन्, त्यहाँ के भयो र आज उम्किएर कसरी घर आइपुगिन् बताइदिइन् । फूलमाया घरि छोरीले खेप्नु परेका सास्ती सुनेर ब्याकुल हुन्थिन्, घरि उनका साहसका कथा सुनेर चकित पर्थिन् । उनलाई लागिरहेको थियो– छोरी त्यस्तो कठोर जीवन भोग्नुपर्दा पनि पूर्ण नै रहिछन्, टुटेकी रैनछिन्, प्रशान्तिको प्रभावशाली भाव सिर्जना गर्न अझै सक्दिरछिन् । छोरीले केही महिनाकी हुँदैदेखि छर्ने गरेको त्यस्तो भावले फूलमायालाई छक्क पार्ने गरेको थियो । 

‘सुन् त’, शान्तिका कुरा सुनिसकेपछि फुलमायाले छोरीलाई साउती मारिन्, ‘अघि मलाई सुनाएका कुरा अरूका कानमा नपरुन् । नत्र तँलाई ‘कोठीबाट फर्केकी’ भनेर यहाँ बसिनसक्नु पार्छन्, परिवारलाई नै बसाईं हिँडाउन बेर लाउँदैनन् । त्यसैले चुप रहेस् ।’

उनले छोरीलाई थप सम्झाइन्, ‘कथंकदाचित कोठीमा काम गर्नुपरेको कुरा कबुल गरिस् भने तँलाई यहाँ कसैले दया देखाउनेवाला छैन । पहिल्यै अरूसँग सुतिसकेकी भनेर विहे गर्ने केटो पाउन पनि असम्भव हुन्छ ।’

शान्तिले टाउको निहुराएर, नबोलेर आमाको सल्लाहमा सहमति जनाइन् । 

गाउँलेलाई सुनाउनका लागि आमाछोरीले यस्तो कथा रचे– रमाले शान्तिलाई इण्डिया लगेर चकटी बनाउने कारखानामा बेचिदिइन्, मालिक साह्रै कडा खालको थियो, छिसिक्क बाहिर निस्कन दिँदैनथ्यो, तलब पनि नदिनुपरे हुन्थ्यो झैँ गर्थ्यो, त्यसैले त्यो भन्दा त गाउँमै आनन्द छ भनेर शान्ति काम छोडेर फर्किएकी हुन् । 

सुनिताबारे अर्को एउटा कथा रचे– इण्डिया पुग्ने बित्तिकै ती महिलाले सुनिता र शान्तिलाई अलग पारिन्, त्यसपछि शान्तिले सुनिताबारे कहिल्यै केही खबर पाइनन्, पछि एकैचोटी नेपाल आउने बेला एउटी साथीले उनी बितेको सुनाएकी थिइन् । 

उनीहरूले घरका मान्छेलाई पनि अघि रचेकै कथा सुनाउने सल्लाह गरे । तब उनीहरूको मनमा आशाको दियो बल्यो– समय बित्दै जाँदा शान्ति र सुनिताका कथा इतिहास हुनेछन्, गाउँलेका स्मृतिबाट हराउनेछन् र शान्तिबारे कानेखुशी हुन छोड्नेछ । 

फूलमायाले ढिँडो फत्काइन्, साग ओल्स्याइन् । शान्तिले आफैँसँग बात मारिरहेकी थिइन्– अगेना छेउमा बस्नु, डढ्न नदिई ढिँडो ओडाल्नु, साग केलाउनु, भरे भाइबहिनी र बुवाले खुशी हुँदै यी खानेकुरा खानेछन् र भोक मेटाउनेछन् भनि थाहा पाउनु, आमाका छेउ बस्नु, कुनै यौनपिपाशु अकस्मात आएर झम्टेला भन्ने डर नहुनु । संसारमा यो भन्दा आनन्द र खुशी अर्को के होला र रु

मेला गएका कपिल र केटाकेटी फर्किए । कपिल भित्र छिरे । आमाछोरी ढोकातिर ढाड फर्काएर अगेनाछेउ बसेका थिए । उनले छोरीलाई पछाडिबाट चिनेनन्, अनुमानै गर्न सकेनन् । अफ्ठ्यारो मान्दै पिरा तानेर अगेनाबाट अलिक पर्तिर बसे र ती केटीलाई एकपटक फेरि छड्के नजरले हेरे । खुट्याउन सकेनन् । बुवाको अन्योल बुझेर शान्तिले अनुहार यस्सो उनीतिर फर्काइदिइन् । तब आफ्ना आँखालाई विश्वास गर्न नसकेर कपिलले आफैँलाई सोधे– यो शान्ति हो त ? 

अनि पिरा तानेर फूलमायाका छेउतिर सरे । फूलमायाले हाँसीहाँसी कपिलको अन्योलमा पानी छम्किदिइन्, ‘हन के भाको यो मान्छे, आफ्नै छोरी देख्दा पनि ट्वाँ पर्छ त ? बौलायो कि क्या हो र?’

के भन्नु, के गर्नु असमञ्जसमा परेका कपिलले फूलमायासँग एक गिलास सेन्तेरेम मागे र कतै नहेरी स्वाट्ट पारे । उनी छोरी देखेर एकमन त खुशी नै थिए । अर्को मनले भन्दैथियो– गाउँमा चलेका मन बिझाउने हल्ला र गाउँलेका अमिला व्यवहार सम्झिँदा त बरू यसलाई देख्नु नपरेको भए हुन्थ्यो । अब आइ नै सकी, के गर्नु रु सोचे– बूढीले छोरीबारे सबैथोक बुझिहोली, भरेभोली एकान्तमा उसैलाई सोध्नुपर्ला । त्यसरी, नानाथरी सोचेर बस्दाबस्दै उनमा शान्तिप्रति माया र श्रद्धा जागेर आयो । सम्झे– यो माया र श्रद्धाको बीऊ त्यही बेला रोपिएको थियो जतिबेला छोरीले उनलाई हिंसा र रक्सीले उनी र परिवार दुबैको जीवन ध्वस्त पारिरहेको महसुस गराएकी थिइन् । त्यो स्मृति कोटिँदा उनलाई अहिले पनि लाज लागेर आयो तर मुखबाट शब्द निस्कन सकेनन् । शान्तिले बुवालाई परेको सकस बुझिन् । त्यसैले, मौनताको पर्खाल भत्काउने सुर कसेर सोधिन्– ‘आप्पा, कहाँ जानु भएको थियो रु थाक्नु भएजस्तो देखिन्छ ।’

भाइबहिनी हुर्रिँदै भित्र पसे । नसोचेको दृश्य देखेर विलखबन्दमा परे । क्षणभरमै माया र वसन्ती शान्तिका छेउमा गए । तीनैजना दिदीबहिनी बसिबसि अँगालोमा बेरिए । सविनलाई शान्ति रहिछ भन्ने टुङ्गोमा पुग्न केही सेकेण्ड लाग्यो, चतिक परेर दिदीबहिनी अँगालोमा बेरिएको हेरिबसे । सोचे– त्यो हर्षोल्लासमा आफू पनि मिसिन पाए...। तर संकोचले कुण्ठिएर रमिते मात्रै बन्न सके । 

भाइलाई देखेर शान्ति नजिक गइन्, पोक्चे गाला मुसारिदिइन् । उसलाई आफूतिर तानेर छातीमा टाँस्न मन थियो तर तन्नेरी जस्तो देखिन थालेको झस्कोले त्यसो गरिनन् । सट्टामा भाइका गालामा म्वाँई खाइन् । सविन लाजले भिजेर मुसुक्क हाँसे ।

Hose(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा  नेपाल आएका थिए  र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गूणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचविखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच बर्ष अघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’  राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ र भोलि शनिवार हेटौँडामा विमोचन हुँदैछ ।)
 

प्रतिक्रिया