पोर्चुगलको राष्ट्रिय टिमका खेलाडी भएपनि क्रिस्टियानो रोनाल्डोलाई फुटबल प्रेमीहरुले आफ्नै ठान्थे, मान्थे पनि। उनका फ्यानको संख्यालाई चानचुने मान्न मिल्दैन। उनी ‘सुपरस्टार’ नै थिए।
समयले मानिसको शरीरलाई बूढो बनाउँदै लान्छ, चाहे उसले जति नै हेरचाह गरोस्, जतिसुकै पोषिलो भोजन गरोस्। रोनाल्डो पनि बूढो हुँदैजाने शरीरधारी मानिस नै हुन्। शरीरको स्टामिना उनको काबुको बिषय होइन, अरु कसैको पनि होइन। यही कारण हो २०२२ को जारी फिफा विश्व कप फुटबल प्रतियोगितामा कतारका मैदानमा दर्शक उचाल्नेगरी जम्नुपर्ने ती रोनाल्डोले बेञ्चमा बसेर डेढ घण्टा समय बिताउनु परिरहेको छ। यसमा उनी दोषी छैनन, यो त समयको खेल मात्र हो।
समय अनुसार आफ्नो स्टामिनामा क्षय हुँदै गएको थाहा नपाउनु र आफूलाई नै सर्वोपरी र सर्वकालिक ठान्नु जो कसैका लागि पनि ठूलो भूल हो। यसलाई महामूर्खता भने पनि अन्यथा हुने छैन। रोनाल्डोलाई त्यो मूर्खताबाट उनको व्यवस्थापकले बचाएका छन्। जतिसुकै छटपटी खटपटी भैरहे पनि रंगशालाको बेञ्च नै यो विश्वकपमा रोनाल्डोको मैदान हुन पुगेको छ। यही सत्य हो।
मंसीर ४ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन भयो। मत गणना पनि सकियो। जनादेश अनुसार राजनीतिक दलहरुको आसन पनि निश्चित भैसकेको छ।
अब सरकार कसले बनाउने र नेतृत्व कसको हुने भन्ने बिषयले जोर पक्डेको छ। अहिले सरकार चलाईरहेका पाँचवटा दल यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने भनेर गृहकार्यमा जुटेको सन्देश दिईरहेका छन्। तर सँगसँगै गठबन्धनकै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफ्नो पार्टी माओवादी केन्द्रलाई वामपन्थी गठबन्धनमा जोड्न आतूर रहेको सूचना चुहाईरहेका छन्। यो दोधारे भूमिका किन भैरहेको छ भनेर जनताले चैं मेसो पाउन सकिरहेका छैनन्। किन यस्तो छटपटी? प्रचण्डको चञ्चलता नयाँ बिषय त होइन तर यसपटक कसले चिमोट्यो प्रचण्डको बैठक कक्षमा? यसमा धेरै किसिमका आशंका उत्पन्न भएका छन्।
भन्न त भनिँदैछ, सभापति शेरबहादुर देउवा नै हुन् अबको प्रधानमन्त्री। सांसद शशाङ्क कोइरालाको भनाई बाहिर आएपछि देउवा नै बलिया हुन् भनेर प्रचार गराईएको देखिन्छ। प्रतिनिधिसभा सदस्यका संख्याले नेपाली कांग्रेसलाई ठूलो दलको हैसियतमा उभ्याएको छ। यसकारण पनि देउवा छैटौं पटक प्रधानमन्त्री हुने तर्क गरिएको हुनुपर्छ। पाँच दलीय गठबन्धन तोडेर अरु दलको नयाँ गठबन्धन नबनेसम्म देउवाको विकल्प नदेख्ने धेरै छन्। तर प्रचण्डलाई पनि प्रधानमन्त्री हुन रहर छ। उनको रहर केवल रहर मात्र नभएर वाध्यात्मक आवश्यकता पनि हुनसक्छ।
एमाले विपक्ष नै भएर रहन्छ कि पाँच दलीय गठबन्धन तोडेर आफ्नो नेतृत्वको नयाँ गठबन्धन बनाउन चाहन्छ भन्ने कुरा अझैसम्म निश्चित भएको छैन। भन्न त उसले बलियो प्रतिपक्ष हुने र सरकारको खबरदारी गर्ने भनिरहेको छ। बलियो जनमत तुहाएर कमजोर विपक्ष हुनुपरेकामा अध्यक्ष केपी शर्मा ओलीलाई कति पीडावोध भएको छ भन्ने कुरा उनले बाहेक अरु कसैले भन्न सक्ने कुरा पनि भएन। घाईते बाघ जस्ता भएका ओलीले सत्तारुढ गठबन्धन तोड्न कुनै चालबाजी नगरी बसिरहेका होलान् भनेर कोही पनि ठोकुवा गरेर भनिहाल्न सक्दैन। अरु कुरा त संसदको अधिवेशन सुरु भएपछि प्रष्ट हुँदै जाने नै छ।
सरकार जसको बनेपनि संसदको आगामी अधिवेशन रोचक नै हुने छ। हिजोअस्तिका चञ्चल पत्रकार रबि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ जोशमा घण्टी बजाउने नै छ। कमल थापाको विस्थापनपछि राजेन्द्र लिङ्गदेनको नेतृत्वमा सिट बढाएर आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति प्रदर्शन गर्नु नै छ। स्वतन्त्र सदस्यको उपस्थिति पनि देखिने नै छ। अर्को रोचक पक्ष के छ भने सत्ताको शिखरमा रजाईं गरिरहेका उपेन्द्र यादवलाई धुलो चटाएर आएका सिके राउतको तुजूक पनि नयाँ प्रतिनिधिसभामा देख्न पाईने छ।
कुनैबेला शक्तिशाली पार्टी एमालेका महासचिव र अध्यक्ष भैसकेका एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सिंहदरबारमा संसदीय दलको कार्यालय पनि खोल्न पाउने छैनन्। राष्ट्रिय दलको मान्यता नपाएपछि आफ्ना दलबाट निर्वाचित सदस्यलाई जोगाएर राख्नु नै माधव नेपालको टाउको दुखाईको बिषय हुने देखिन्छ।
मिलीजुली सरकार चलाउने जनादेश पाएको नयाँ प्रतिनिधिसभा बलियो भने भएन। नीति निर्माणमा यसको भूमिका फेरि पनि कामचलाउ र फितलो नै हुने छ। यसको प्रमुख दोष र दायित्व नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रकै हो। उनीहरुले पध्दति बसाउन नसकेकैले कसैले पनि सरकार बनाउने स्पष्ट मत पाउन सकेनन्। राज्यका संवैधानिक र संवेदनशील अंगहरुलाई राजनीतिको हिलोमा लपेटेर जुन विकृति विस्तार गरिएको छ, त्यसले राजकाजमा राजनीतिक प्रभावकारिता ज्यादै कमजोर बनाउँदै लगेको छ। यही कारण आफ्नै कर्मले कमजोर भएका दलहरुले एक्लै बहुमत ल्याउन चाहिने जनताको विश्वास जित्न नसकेका हुन्। स्थिरताको बदलामा अस्थिरतामै राजकाज चलाउनु जो सरकामा आएपनि नियति बनेको छ।
जसको जति संख्यामा सदस्य निर्वाचित भएका भएपनि यो संसदीय निर्वाचनले दिएको एउटा महत्वपूर्ण सन्देश हो– बूढाहरु हो आराम गर, युवालाई अघि बढ्न देउ, बागडोर सुम्प!
निर्वाचनको मैदानतिर फर्केर हेर्ने होभने केहीलाई छाडेर ‘कैयौं मै हूँ’ भन्ने नेताहरु उत्तानो परेको स्थानबाट उठेर हात टक्टक्याईरहेका देखिने छन्। चाहे ती देउवाका हनुमान हुन् या ओलीका या त प्रचण्डका नै। आगामी निर्वाचनमा उनीहरु असान्दर्भिक हुने खतरा त छँदैछ। जसले जितेका छन्, देउवा, ओली, प्रचण्ड, माधव नेपाल या महन्थ ठाकुर। उनीहरुले रोनाल्डो जस्तो ज्ञानी हुन सिक्नुपर्छ, रोनाल्डोबाट सिकेर राजनीतिको पर्यवेक्षक बेञ्चमा बस्न हिचकिचाउनु हुँदैन। नत्र जबर्जस्ती गरेर फेरि पनि सत्ताको मैदान ओगटिरहने हो भने उनीहरुलाई जनताले रेडकार्ड देखाईदिने छन्। यो कुरा निश्चित छ।
सरकार कसले बनाउँछन् त्यो दलहरुको आन्तरिक बिषय हो। तर निर्वाचनको सन्देश महसुश गर्ने र समयको चाल बुझ्ने हो भने अब बन्न लागेको सरकारको नेतृत्व नयाँ नेतालाई दिनुपर्छ। नयाँ पुस्ताको क्षमताको परीक्षा पनि हुनुपर्छ नभए कसरी नेतृत्वको बिकास हुनसक्ला? सरकार बनाउन दौडधुप गरिरहेका नेताहरुले यति कुरामा त ध्यान दिनैपर्छ। निर्वाचनको यो सन्देशको उपेक्षा गरेर क्लान्त शरीरमा आफैं प्रधानमन्त्री बन्ने लिँडेढिपी नछाड्ने हो भने ती नेताको विश्रामसँगसँगै उनको दल पनि पक्षाघात लागेको शरीर जस्तै हुने छ।
जस्तो कि रोनाल्डोको अशक्त शरीरको अवस्था बुझेपछि पोर्चुगलले त्यही बाटो रोज्यो जसले राष्ट्रिय टिमलाई फितलो हुनबाट जोगायो। रोनाल्डोविना नै खेल्ने अनि राम्रो नतिजा निकाल्ने फैसलाले पोर्चुगल विश्वकपमा राम्रो टिम बन्न पुगेको छ। मेहनत नगर्ने अनि साथीले दिएको पासको सदुपयोग पनि गर्न नसक्ने, सधैं गोल गरेको जसमात्र लिन पल्केका रोनाल्डो नेपालका सत्तालोभी नेता जस्तै भैसकेका थिए। राजनीतिका हुन् कि फुटबलका, यस्ता धुर्त खेलाडीलाई सिधै बेञ्चमै हो पठाउनुपर्ने।
यो संसदीय निर्वाचमा पहिलो पटक मतदान गरेका युवा मतदाता असली रेफ्री हुन्। उनीहरुले यी नेताहरुको खेलकूदलाई चनाखो नजरले ‘वाच’ गरिरहनु आवश्यक छ, जसलाई भविष्यमा कुन कार्ड देखाउने, रातो कि पहेंलो कार्ड देखाउने हो,आगामी निर्वाचनमा त्यो देखाउन सकियोस्!
प्रतिक्रिया