नेपाल स्काउटको जग्गामा सांसदको रजाईं

काठमाडौं। खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटको स्वामित्व रहेको जग्गा मनोमानी तरिकाले उपभोग गरिरहेको स्काउटले जनाएको छ। आफ्नो स्वामित्वमा रहेको सम्पतीको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग स्काउटले माग गरेको छ।    

स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालिसँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि पनि खाली नगराएकोले सो जग्गा खालि गर्नुपर्ने नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले बताए। 

स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा।लि।को कुनै हक दाबी नहुने फैसला आएको भएपनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ। आफूहरुले पटक–पटक सो जग्गा खाली गर्न भनेपनि अटेर गरिएको अध्यक्ष भण्डारीले बताए। 

अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरुमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालय समेत तोडफोड गरिएको भण्डारीको भनाई छ। उनले स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी छ। बिहीवार नेपाल स्काउट केन्द्रिय कार्यालयको सुरक्षाको लागि बन्द गरिएको गेट प्रहरी प्रशासनको बलमा जबरजस्ती खोलेर तोडफोड भएको पनि भण्डारीले बताए।

खड्काल्याण्ड डेभलपमेन्ट प्रालि नेपाली कांग्रेसका सांसद दिपक खड्काको स्वामित्वमा रहेको थाहा भएको छ। सांसद खड्काले लैनचौरको जग्गा बाहेक अन्यत्र पनि सरकारी स्वामित्वका जग्गा शक्तिको प्रभावमा व्यापारिक प्रयोजनका लागि उपयोग गरिरहेको जानकार सूत्रले बताएको छ।

प्रतिक्रिया