विर्तामोड । पूर्वी पहाडी अनि तराईको मुख्य उत्पादन चिया लोकप्रिय छ । डेढ सय वर्षभन्दा लामो इतिहास रहेको नेपाली चिया स्थानीय स्तरमा मात्र होइन, समुद्रपारका मुलुकमा पनि लोकप्रिय बनिरहेको छ ।
चियाको भरपर्दो बजार व्यवस्थापन हुन सके यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । यसका लागि मुख्य रुपमा चियाको गुणस्तरमा ध्यान दिनु जरुरी छ ।
गुणस्तरमा बेवास्ता गरे हाल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको नेपाली चियाप्रति पारखीहरु आकर्षित नहुने अवस्था पनि आउन सक्छ ।
यसै कुरालाई ध्यान दिंदै हरियो चिया पत्तीको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाले आग्रह गरेका छन् ।
विश्व बजारमा चियाको भविष्य राम्रो रहेको भन्दै उनीहरुले उत्पादनसँगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गरेका हुन् । सरोकारवालाले हरियो चिया पत्तीको गुणस्तर वृद्धि गर्न सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । समयमै मलखाद र सिंचाईको प्रबन्ध गरेको खण्डमा हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सकिने उनीहरुको भनाइ छ ।
झापाका चिया किसान र उद्योगीका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हरियो चिया पत्तीको गुणस्तरीय मापदण्डसम्बन्धी तीन दिने अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
झापाको हल्दिबारी, पृथ्वीनगर र बाहुनडाँगीमा आयोजित अन्तरक्रियाका सहभागीले हरियो चिया पत्तीको गुणस्तर वृद्धिको विकल्प नभएको बताए ।
उनीहरुले गुणस्तर नहुँदा भारतीय चियाले विश्व बजारमा विश्वास गुमाउँदै गएको अवस्थामा नेपाली चिया किसान त्यसतर्फ सचेत हुनु पर्नेमा जोड दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.बिष्णुप्रसाद भट्टराईले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि लगातार सरकारको ध्यानाकर्षण गराउने काम गरिरहेको बताए ।
उनले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि यो सिजनमा झापाका किसानलाई पर्याप्त हुने मलखाद्यको व्यवस्था गर्ने काममा आफू स्वयम् जुटेको बताए ।
उनले चिया बगानमा सिंचाइको पर्याप्त व्यवस्थाका लागि प्रदेश सरकारमार्फत अनुदानमा बोरिङको व्यवस्था गर्न लागेको जानकारी दिए ।
नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले अस्वस्थ्य प्रतिस्पर्धाका कारण झापामा हरियो चिया पत्तीको गुणस्तर वृद्धि गर्न समस्या भएको बताए ।
उनले किसानले समयमै पर्याप्त मलखाद्य र सिंचाईको सुविधा पाए हरियो चिया पत्तीको गुणस्तर वृद्धिमा कुनै कन्जुस्याई नहुने बताए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले हरियो चिया पत्तीको गुणस्तरमा ध्यान दिन नसके नेपाली चियाको भविष्य खुम्चिदै जाने बताए ।
तर, गुणस्तर वृद्धि गर्न सके चिया खेती दीगो र राम्रो आम्दानीको खेतीको रुपमा विकास गर्न सकिने बताए । उनले गुणस्तर वृद्धि गर्न सके नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने बताए ।
कार्यक्रममा हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि किसानलाई चिया बगानमा गर्नुपर्ने न्यूनतम कामहरुका बारेमा जानकारी दिइएको थियो । त्यस्तै बगानमा गर्नुपर्ने सालेना काँटछाँट र रेखदेखलगायत विषयमा प्रयोगात्मक प्रशिक्षण समेत दिइएको थियो ।
चिया खेती र हरियो चिया पत्तिको गुणस्तर वृद्धिबारे बोर्डका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया