समानुपातिकमा महिलाको साटो पुरुष सिफारिस, आयोगले भन्यो, ‘सच्याऊ’

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि निर्वाचन आयोगले दलहरुलाई समय दिएको छ ।

आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाईसच्याएर पुनः विवरण पठाउनका लागिसोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभा सदस्यका लागि दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।

केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा त्रुटि देखिएकाले सच्याएर पठाउन दलहरुलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

आयोगले दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण गरिने भएको छ ।

प्रदेश सभातर्फ केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुईजना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको पाइएपछि आयोगले सच्याउन भनेको हो ।

मुस्लिम समुदायतर्फ १ नम्बरमा सिफारिस नगरेर २ नम्बरको प्राथमिकता क्रममा रहेको व्यक्तिलाई सिफारिस गरिएको पाइएको छ ।

अल्पसंख्यक एकजना हुनुपर्नेमा दुई जनाको नाम लिइएको देखिएको आयोगले जनाएको छ । खस आर्यको पहिलो प्राथमिकता क्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको समेत पाइएको छ ।

यसैगरी ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरिएको छ । महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस भएको छ । कुन दलले त्यस्तो सिफारिस गरे भन्नेचाहिँ खुलाइएको छैन ।

खस आर्यको नाम सिफारिस हुनुपर्नेमा थारुको नाम सिफारिस भएको पनि भेटिएको छ । खस आर्य महिलाको नाम सिफारिस गर्नुपर्नेमा सो बाहेक अन्यको नामावली सिफारिस गरिएको लगायतका त्रुटिगत विषयहरु देखिएको आयोगले उल्लेख गरेको छ ।

प्रतिक्रिया