महामारीपछिको खाद्य संकटबारे छलफल गर्न किसान प्रतिनिधि जुट्दै

काठमाडौं । कोरोना महामारीपछि बढेको आर्थिक मन्दी र विश्वव्यापी रुपमा देखिएको खाद्य संकट र गरिबीको अवस्थाबारे छलफल गर्न विश्वभरबाट किसान प्रतिनिधि नेपालमा भेला हुँदैछन् ।

अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकका क्रममा उनीहरु भेला हुन लागेका हुन् ।

सन् १९९३ मा बेल्जियमबाट सुरु भएको लाभिया क्याम्पेसियनको नेपालले सदस्यता प्राप्त गरेको २० वर्षपछि पहिलोपटक नेपालमा यस्तो बैठक बस्न लागेको हो ।

वैठक मंसिर २६ गतेदेखि पुस २ गतेसम्म  नेपालमा हुन लागेको हो । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

उक्त आन्दोलन अन्तर्गत प्रगतिशील वामपन्थी, खाद्य सम्प्रभुता पक्षधर राष्ट्रको सञ्जाल विश्वव्यापी रुपमा विस्तार गरिएको छ ।

विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान सङ्गठनलाई क्षेत्रीय विभाजन गरिएको छ ।

दक्षिण एसिया, दक्षिण पूर्वी एशिया, मध्य पूर्वी एशिया, युरोप, उत्तर अमेरिका, मध्य अमेरिका, दक्षिण अमेरिका, पश्चिम अफ्रिका, मध्य अफ्रिका, दक्षिण अफ्रिका, उत्तर अफ्रिकाका किसान सङ्गठनका नेताहरूको सहभागिता हुने जनाइएको छ ।

बैठकमा कोभिडपछि अन्तर्राष्ट्रिय तहमा देखा परेको आर्थिक मन्दीले बढेको खाद्य सङ्कट, गरिबी, भोकमरीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका उत्पादन र उत्पादकत्वमा आएको कमी, शक्ति राष्ट्रहरूबीच चलेको युद्धले कृषि क्षेत्रमा देखापरेको असरबारे पनि छलफल गरिने भएको छ ।

यसैगरी, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने, किसानको जीवन र जिविकामा सुधार ल्याउन उनीहरूको आर्थिक रुपान्तरणका विषयमा बैठकमा गहन छलफल गरिने जनाइएको छ ।

नेपालका तर्फबाट नेकपा (समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घले प्रतिनिधित्व गर्ने महासचिव प्रमेश पोखरेल बताए ।

प्रतिक्रिया