'चुनौतीरहित छैन लोकतन्त्र'

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शासनको सबैभन्दा राम्रो स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नभएको बताएका छन् ।

“इतिहासदेखिनै मानिसले निर्णय प्रक्रियामा सहभागिताका लागि प्रयास गरेका छन् । यसले बताउँछ कि लोकतन्त्र किन शासनको अन्तिम स्वरूपको रूपमा विकसित भएको छ । किनभने यसले व्यावहारिकरूपमा सम्भव भएसम्म राष्ट्रिय नीति निर्माणमा मानिसलाई धेरै भूमिका दिन्छ” उनले भने ।

नोभेम्बर २६ देखि स्पेनको म्याड्रीडमा जारी अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १४३औँ सभामा ‘लोकतन्त्रको समकालिन चूनौतिः विभाजनमाथि विजय र समुदाय निर्माण’ शीर्षकमा सम्बोधन गर्दै सभामुख सापकोटाले अन्तराष्ट्रिय समुदायलाई सुदृढ बनाई विभाजनलाई जित्नका लागि हुने छलफलले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी समस्यालाई सम्बोधन गर्न सकिने बताए ।

सूचना र सञ्चारको विस्तार पहिलेभन्दा आज धेरै सजिलो र व्यापकरूपमा पहुँचयोग्य रहेको तथा सामाजिक सञ्जालको अत्याधिक फैलावटले जो कोहीले पनि आफूले भन्न चाहेको कुरा सजिलैसँग अभिव्यक्त गर्न सक्ने भएपनि गलत सूचना फैलाउनसमेत सजिलै प्रयोग भइरहेकामा उनले चिन्ता व्यक्त गरे । सापकोटाले भने, “गलत तथ्यांक, भ्रामक तथ्याङ्क, क्रोध र निराशा सबै कुरा छिटो र चाँडो फैलिन्छ । यसले राजनीतिक संस्थाप्रति जनताको विश्वासलाई कमजोर बनाइदिएको छ ।”

चुनौतिबीचमा जनताको विश्वास पुनःप्राप्त गर्न राजनीतिक संस्थाले प्रभावकारीरूपमा जवाफ दिन आवश्यक रहेकामा जोड दिँदै सभामुख सापकोटोले विभाजन लोकतन्त्रका लागि राम्रो होइन, यसले रिस र घृणा निम्त्याउने बताए । सम्बोधनका क्रममा उनले भने, “सीमान्तकृत वर्गलाई राष्ट्रिय जीवनको मूलधारमा ल्याउन जरुरी छ । तिनलाई निर्णय प्रक्रियामा समावेश गर्नु महत्वपूर्ण छ ।”

संसद् लोकतन्त्रको जीवित स्वरुप भएकाले जनताले शान्तिपूर्ण तरिकाले आफ्ना शासक परिवर्तन गर्न सक्ने सभामुख सापकोटाको कथन छ । जनप्रतिनिधिले कमजोर वर्गलाई न्याय र निष्पक्षता सुनिश्चित गरेर विश्वास र सम्मान कमाउने उल्लेख गर्दै उनले त्यसको अभावमा जनताले लोकतान्त्रिक प्रणालीले पनि काम गर्छ कि गर्दैन भन्ने प्रश्न उठाउने तथ्य पेश गरे ।

लोकतान्त्रिक संस्थालाई सुदृढ गर्नेतर्फ नेपालले असाध्यै ठूलो पहल र प्रयत्न गरेको स्मरण गर्दै सापकोटाले समुदायको सीमान्तीकरणको लामो इतिहासले सिर्जना गरेको निराशाले समावेशी संविधानसभाको गठन गरेको स्पष्ट पारे ।

प्रतिक्रिया