कामले सिन्को नभाँच्ने मुखले संसार जोड्ने

rokat basnet copyनेपाली समाजमा सिन्को नभाँच्ने मुखले संसार जोड्ने प्रवृत्तिको साम्राज्य निकै व्याप्त छ । यो प्रवृत्तिले हामीलाई आधुनिक विश्वमा निकै पछाडि पारेको छ । धेरै वा थोरै, जुनसुकै परिमाणमा भए पनि यो टुक्काको मर्मले सरकार, सार्वजनिक सेवा, समाज, समुदाय, परिवार र व्यक्ति सबैलाई छोएको छ ।  विशेष गरी नेपालको नेतृत्वमा रही नीति निर्माणको तहमा पुगिसकेका राजनेताहरुको भाषण र व्यवहारमा यसको ज्वलन्त प्रयोग देख्न पाइन्छ । त्यस्तै गरी चुनाबका बेला राजनीतिक दलहरुले सार्वजनिक गर्ने घोषणा पत्रहरु तथा प्रतिवद्धताहरु प्रकाशन गरी सार्वजनिक गर्दछन् । निर्वाचन पछि सरकार गठन गर्ने दलले सो पतिवद्धताको ख्याल राखेको पाइन्न । कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा यस टुक्काले साक्षत्कार गरेकै हुन्छ । समाज र टोलमा पनि यस प्रवृत्तिले गाँजेको छ । टुक्काको मर्मलाई अक्षरश लागू गर्न दलका सदस्यहरुमध्येका उदियमान नवयुवक नेताहरु अग्रणी छन् । जव निर्वाचन घोषणा हुन्छ, राजनीतिक दलहरुले उम्मेदवारहरुलाई मत माग्न टोलटोलमा पठाउँछन् । उम्मेदवारहरुले नयाँनयाँ आशा देखाउँछन् र मत माग्दछन् । होला त नि भनेर मतदाताले मत खसाल्छन्  तर व्यवहारमा उही प्रवृत्ति दोहोरिन्छ । 

सिन्को नभाँच्ने मुखले संसार जोड्ने यो टुक्का मैले सानै देखि सुनेँ । काममा पटक्कै भर नभएका तर मुखले धेरै काम गरेको देखाउने छिमेकी भाइभतिजालाई भन्ने गरेको सुन्दथेँ । म सानो छँदा यो अपूरो वाक्य गाली जस्तो लाग्थ्यो ।  केटाकेटी बेलामा म र मेरो भाइसँग एक जना छिमेकी दाइ केके बारेमा हो कुरा गरिरहेका थिए । भाइ र म सुनी रहेका थियौँ । गफ दिएको समयमा उनलाई यताउता हेर्ने फुर्सद भएनछ क्यार ! उनका कुरा  हजुरआमाले पनि सुनी रहनु भएको रहेछ । उहाँले त्यो दाइलाई के काम अह्राउनुभएको थियो कुन्नी ! झर्केर भन्नु भयो सिन्को नभाँच्ने मुखले संसार जोड्ने ।  सायद पहिलो पटक त्यही नै होला, मेरो बाल मानसपटलमा यो  उपवाक्य घुसेको थियो । मैले यसमा हजुरआमाको रिस र गाली पाएँ । केटाकेटी भएकाले भनाइको अर्थ खासै बुझिन तर हामीलाई दाईले सुनाइरहेकोे गफको रफ्तार भने रोकियो । 

म युवा हुँदा मैले यो उपवाक्यलाई पटकपटक सुनेँ । युवा अवस्थामा मलाई यो उपवाक्य कुनै खलनायकले नायकलाई होच्याउनका लागि भन्ने डाइलग जस्तो अनुभूत हुन्थ्यो । यो उपवाक्य भन्ने मानिसलाई म खलनायकका रुपमा पाउँथे । चलचित्रमा खलनायकले पर्दामा आफैलाई वास्तविक नायक ठानेर फूर्ति लाउँदा नायकबाट रामधुलाई खाएपछि थला परेको अवस्थामा लागू हुने डाइलगका रुपमा बुझेको थिएँ । गाउँघरमा यो उपवाक्य निकै प्रचलनमा छ । यो व्यङ्ग्य अलि हैकमवालाबाट अलि निर्धोलाई प्रयोग हुन्छ ।  निर्धोले समाजमा आफूलाई बढाइचढाइ गर्दै कुरा गर्न लागेको बेला, कुरामा सहभागीमध्येको अलि प्रभावशालीबाट निर्धोको कुरा जोशिलो अवस्थामा पुग्ने समयमा भन्ने गरेको पाउँथे । यो सुनेपछि कुरा गरिरहेको मान्छे टाउको निहुराउँदथ्यो । त्यहाँ उपस्थित स्रोताहरु गलल हाँस्थे । मलाई खासै सम्झना त छैन, मैले पनि अभिभावकहरुबाट कति पटक यो टुक्काको झटारो भेटेको छु या भेटिन ! तर, भेट्नेको अवस्थाचाहिँ सम्झन लायक नै हुन्थ्यो । जसले भेट्थ्यो उ ङिच्च दाँत देखाएर प्रसङ्गबाट मोडिन्थ्यो । 

राजनीतिक दलका घोषणा पत्रमा गरिएका प्रतिवद्धता चुनाव सकिन नपाउँदै चर्चाविहीन हुनथाल्दछ । लोकतन्त्रमा शासन प्रणालीलाई  समावेशी बनाउनका लागि प्रावधानमा राखिएको समानुपातिक प्रतिनिधित्वको मूल मर्मलाई लात मारिएको छ । समानुपातिक प्रणालीबाट प्रभावशाली नेताका श्रीमती र आफन्त नातेदारलाई निर्वाचित गरिन्छ ।

युवा अवस्था पार गरेर व्यवहारपरक जिन्दगीमा लागे पछि पनि त्यो चीरपरिचित उपवाक्य निकै सुन्न पाइन्छ । मलाई हिजोआज यो उपवाक्य व्यवहारिक लाग्दछ । व्यवहारमा खारिएका र कामको महत्व बुझेकाले यसलाई प्रयोग गरेको पाएको छु । केही काम नगर्ने तर ‘म काम गर्न सक्ने र योग्य हुँ’ भनेर समाजमा आफूलाई उपल्लो दर्जामा राख्ने मानिसहरु धेरै भएका छन् । त्यस्ता मानिसलाई सक्षम र राम्रो नतिजाको आशा राख्ने परिपक्क मान्छेले प्रयोग गर्ने व्यङ्ग्यवाणको रुपमा यस उपवाक्यले समाजमा स्थान बनाएको छ । कुन परम्परामा मानिसको कुन पूर्खाले यस्ता  टुक्काहरुको प्रयोगमा ल्याए होलान् !  त्यसको बारेमा अध्ययन र खोज त मैले गर्न पाएको छैन । यसले नेपाली समाजमा मौलाउँदै गएको ‘काम नगर्ने तर फुँइ लगाउने’ प्रवृत्तिको साम्राज्यको मर्ममा चाहिँ तीखो प्रहार गरेको छ । मैले भाइसँग कुरा गर्दा हजुरआमाले म वाल्यकालमा  हुँदा नै  गफाडी दाइलाई प्रहार गर्नुभएको थियो । यस उपवाक्यलाई हजुरआमाले  पनि आफ्नो अघिल्लो पुस्ताले उहाँको पुस्ताको कसैलाई भन्दा त सुन्नु भएको थियो होला र त प्रयोग गर्नु भयो । बुढा मरे भाषा सरे भन्ने पृथ्वी नारायण शाहको दिव्योपदेशलाई मान्ने हो भने सामाजिक व्यवहारमा सिन्को नभाँच्ने मुखले संसार जोड्ने प्रवृत्ति र यस प्रवृत्तिका मानिसहरु निकै पुस्ता खपत भइसकेका रहेछन् भनेर चित्त बुझाउन पर्ला । 

नेपाललाई अर्धऔपनिवेशिक, साम्राज्यवादको प्रभावमा रहेको सामन्ती शासन सत्ता र त्यसैमा आधारित  समाज व्यवस्था रहेको राज्यको रुपमा परिभाषित गरियो । कालखण्डको अन्तरालमा  ठूलाठूला बहस र आन्दोलनहरु भएका छन् । राणा शासनका विरुद्ध गरिएको प्रजातान्त्रिक आन्दोलन, निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि गरिएको आन्दोलन, गणतन्त्र, संघीयता, तथा अर्धसामन्ती राज्य व्यवस्थामा रहेका विकृतिहरुका विरुद्ध गरिएको १० वर्षे जनयुद्ध, पूर्ण प्रजातन्त्र र लोकतन्त्रका लागि भएका जनआन्दोलनहरुले देशमा ठूलो परिवर्तन ल्याएको घोषणा लाखौँ जनसमुदायको बीचमा गरियो । हामी स्रोताहरुले उपलब्धीमा गडगडाहट ताली बजायौँ । आन्दोलनका वखतको भाषणमा नयाँनयाँ आकर्षक नाराहरु सुनिए । मुठी कसेर ती नारा लगाउँदै रत्नपार्क र भूगोलपार्क अगाडि जम्मा हुने भिडमा उफ्रदा रगत निकै उम्लन्थ्यो ।

कुरा होइन काम गर्ने, शासन होइन सेवा गर्ने, परिवर्तन मात्रै होइन समुन्नत र विकसित राष्ट्र निर्माण गर्ने, पुरानो होइन नयाँ नेपाल बनाउने दिनको शुरुवात भयो जस्तो लाग्दथ्यो । त्यस्तो दिन ल्याउन वलिदान दिनेको संख्या पटकपटक थपियो । व्यवस्था फेरिदै गए । हर्षबढाइँ ग¥यौँ । किन कि ती सबै ठूलाठूला परिवर्तनका कर्ता, द्रष्टा, साक्षी र भोक्ता हामी नै हौँ । आकर्षक प्रतिवद्धताका साथ दलका नयाँनयाँ अनुहारहरु नेतृत्वमा पुगे । समाजमा काम गर्नेको भन्दा कुरा गर्नेको इज्जत भइरह्योे । श्रम र उत्पादनका लागि भन्दा पद र पैसा सम्मानित भयो । नेपाल विश्वमानचित्रमा विपन्न राष्ट्रको रुपमा नै रही रहयो । छिमेकी देशले चामल र गँहुको विक्रीमा कर बढाउँदा नेपाल जस्तो कुषिप्रधान देशमा भोकमरी हुने त्राशले नेपालीलाई छुन्छ । खोई, कुनै आन्दोलन, व्यवस्था, निर्वाचनका कारण सिन्को नभाँच्ने मुखले संसार जोड्ने प्रवृत्तिबाट देश, समाज र नेतृत्व मुक्त भएन त !  

कुरामा भन्दा बढी कामका लागि कसैको ध्यान गएको पाइदैन । कुरामा नै देशको विकास सीमित भएको छ । राजनीतिक दलका घोषणा पत्रमा गरिएका प्रतिवद्धता चुनाव सकिन नपाउँदै चर्चाविहीन हुनथाल्दछ । लोकतन्त्रमा शासन प्रणालीलाई  समावेशी बनाउनका लागि प्रावधानमा राखिएको समानुपातिक प्रतिनिधित्वको मूल मर्मलाई लात मारिएको छ । समानुपातिक प्रणालीबाट प्रभावशाली नेताका श्रीमती र आफन्त नातेदारलाई निर्वाचित गरिन्छ । जब कि व्यवस्थाका विरुद्ध भएका आन्दोलनको मूल नारा तल्लो वर्गको उत्थान भन्ने हुन्छ । तर तल्लो वर्ग पहुँचमा छैन । छात्रवृत्तिको कोटामा पदमा बसेका मानिसको नै हालीमुहाली हुन्छ । विदेश भ्रमण विषयको विज्ञले भन्दा दलको कार्यकर्ताले गर्ने गरेको समाचार सुनिन्छ ।

कुनै पनि राष्ट्रिय महत्वको विषयमा होस् या वैदेशिक मामिलाको विषयमा विश्वविद्यालयका सम्बन्धित विषयका प्रोफेसरहरुभन्दा राजनीतिक दलका नेताहरुको भनाइलाई सञ्चारका माध्यमबाट प्रसार गरिन्छ । सरकार गठनका लागि वहुमत पु¥याउन अदालतले अपराधी घोषणा गरेर जेलसजाँय तोकेर कैद भुक्तानी गरिरहेका मानिसहरुलाई छुटाउने जस्तो घृणित काम गर्न नेतृत्व उद्दत भएको पाइन्छ । देशको कानून, सामाजिक मान्यता, हाम्रो परम्परा र अभ्यास तथा अन्तराष्ट्रिय मान्यतालाई पनि हामीले दैनिक जीवनमा र राजनीतिक जीवनमा पनि गुमाउँदै गएका छौ र सिन्को नभाँच्ने मुखले संसार जोड्ने प्रवृत्ति  मूल मन्त्र बनेको छ । जे काम गर्ने हो त्यही र त्यत्तिमात्रै बोल्ने सँस्कार र प्रवृत्ति नेपाली समाज र राजनीतिक वृत्तमा कहिले शुरु होला ? जसले गर्दा सबैले सबैको बोलीमा विश्वास गर्न सक्ने दिन आउला !

प्रतिक्रिया