१२ वर्षमा विश्वविद्यालय, १८ मा पीएचडी तयारी

क्यानाडा । कलिलै उमेरमा कडा मेहनत। अनौपचारिक कक्षामा सहभागी नभइ प्रारम्भिक शिक्षा घरैमा। विषयगत पाठ्यक्रममा मात्र होइन व्यावहारिक अभ्यासहरुमा सानैदेखि गहिरो रुचि। रुचिअनुसार अभिभावकको साथ। सामान्यभन्दा अलि अनौठो लाग्ने यस्ता कुराहरुसँग जोडिएका क्यानाडाका दुई दिदी बहिनीले कलिलै उमेरमा समकालीनभन्दा धेरै प्रगति गरेका छन्। अध्ययनमा धेरैलाई उछिनेका छन्। उत्कृष्टता हासिल गरेका छन्।

यी सबै कुराहरु उनीहरुले सजिलै प्राप्त गरेका भने होइनन्। रोचक र संघर्षपूर्ण कथा जोडिएको छ यसमा। तिनै दिदी बहिनीमध्ये एकजना इसावेल जेवेलको अनुभव यहाँ प्रस्तुत गरिएको छ।

* * *

म क्यानाडाको एडमन्टनमा जन्मिएर त्यहीँ हुर्किएकी हुँ। तीनजना दिदीबहिनीमध्ये म माइली। दिदी सोफिया तीन वर्ष जेठी छिन्। मेरी बहिनी रोजलिन मभन्दा चार वर्ष कान्छी हुन्। मेरा आमाबुवा दुवैजना वकिल हुनुहुन्छ।

२००७ मा जब म तीन वर्षकी थिएँ, मेरी आमाले कानुन अभ्यास गर्न छाड्ने निर्णय गर्नुभयो। अनि हामी तीनैजनालाई घरैमा पढ्ने व्यवस्था गर्नुभयो। मेरा आमाबुवाले परम्परागत विद्यालयका पाठ्यक्रममा सीमित हुनुभन्दा हाम्रा रुचिहरुमा आधारित शिक्षा दिने तरिका राम्रो मानेर त्यसो गर्नुभएको हो।

हामी कलामा गहिरो रुचि राख्थ्यौं। संगीत, गायन, पियानो, रचनात्मक लेखन, चित्रकला यी सबैमा हाम्रो समान रुचि थियो। हामी कथा वाचन (स्टोरी टेलिङ) मा पनि उत्तिकै ध्यान दिन्थ्यौं।

२०१५ सम्म मेरा दिदीबहिनी र म ‘होमस्कुल’ कै अध्ययनमा थियौं। सामान्य दिनमा हामी उठ्थ्यौं, भान्साको टेबलमा हाम्रा पाठ्यपुस्तकहरु खुला राख्थ्यौं। अनि परिवारै मिलेर सँगै अध्ययन गर्थ्यौं। सिक्थ्यौं।

ल्याटिन र फ्रेन्च जस्ता अन्य विषयहरु पनि समेट्ने क्रममा हामीले गणित र विज्ञान जस्ता केही मानक पाठ्यक्रमहरु पनि सिक्यौं।

अतिरिक्त क्रियाकलापका रुपमा पियानो बजाउने, गाउने, पौडी खेल्ने, बास्केटबल र फुटबल खेल्ने गर्थ्यौं।

यी सबै गरिरहँदा मलाई विद्यालयको नियमित कक्षा गुमाएको जस्तो कहिल्यै अनुभव भएन। मलाई मेरा दिदीबहिनीहरुसँग घरैमा सिक्न रमाइलो लाग्यो।

२०१६ मा सोफिया १४ वर्षकी हुँदा अल्बर्टा विश्वविद्यालयमा युक्रेनी भाषा पाठ्यक्रम सिक्ने निर्णय गरिन्।

हाम्रो परिवारले सधैं विभिन्न संस्कृति र भाषाहरुमा चासो राख्दै आएको थियो। मेरो बुवा वंशावलीमा निकै रुचि राख्नुहुन्छ। हामीसँग विविध पृष्ठभूमि छ– हामी पोलिश, कोरियाली, आइरिस, अंग्रेजीलगायतका अंश हौं भन्ने लाग्थ्यो। सँगै युक्रेनीसँग पनि जोडिएका रहेछौं भन्ने त्यसबेला थाहा थिएन।

विश्वविद्यालयले उमेर वा शैक्षिक योग्यताको पर्वाह नगरी जोसुकैलाई खुला अध्ययनका लागि दर्ता हुन दिन्थ्यो। सोफियासँग त्यसअघि कुनै औपचारिक कक्षाको अनुभव थिएन तर उनले ए–प्लस प्राप्त गर्दै युक्रेनी पाठ्यक्रममा उत्कृष्ट भइन्।

सोफिया कक्षा सकेर घर आउँदा विश्वविद्यालयको कुरा गर्थिन्। हामी रुचिपूर्वक सुन्थ्यौं। उच्चस्तरको शैक्षिक वातावरणमा सिकाइ, अरु विद्यार्थीहरुसँग अन्तरक्रिया, अनुभव आदानप्रदान जस्ता कुराहरु हुन्थे।

ती सबै कुरा सुन्दा उनीसँगै सहभागी भएर सँगै अध्ययन गर्ने विचार पलाउँथ्यो। त्यसैको प्रभावले २०१७ को सुरुतिर म १२ वर्षको हुँदा सोफियासँग युक्रेनी पाठ्यक्रमको दोस्रो भागमा अध्ययनका लागि सहभागी भएँ।

सोफियाले मलाई सहयोग गरिन्। हामीले एकअर्कालाई सघाउँदै अध्ययन गर्यौं। त्यसका लागि ‘क्वीजलेट’ जस्ता अनलाइनहरुको मद्दत पनि लियौं।

नयाँ विद्यार्थी भए पनि म पुराना विद्यार्थीहरुसँग कलेजमा असहज महसुस गरिरहेको थिइनँ। म अन्तरमुखी पनि थिइनँ। मलाई किन पनि सहज थियो भने, मेरो छेउमा सधैं दिदी हुन्थिन्।

सोफिया र मैले सँगै विभिन्न पाठ्यक्रममा आधारित भएर अध्ययन अघि बढायौं। क्यानाडाको इतिहासदेखि लिएर ल्याटिन अमेरिकी अध्ययन, भौतिक संस्कृतिमा अनुवादका सामग्रीसमेत।

२०१८ को समरमा हामीसँग कलाको स्नातक कार्यक्रममा प्रवेश गर्न पर्याप्त आधार थियो। मलाई त्यतातिर जाँदा एउटा रोमाञ्चक काममा लागेजस्तो अनुभव भयो। त्यति बेला म १३ वर्षको मात्र भए पनि कम त्यसो गर्न हुनै असहज भएन।

विश्वविद्यालयको विद्यार्थीका रुपमा जीवन चुनौतीपूर्ण भए पनि रोमाञ्चक थियो। हामी घरैबाट आउजाउ गर्थ्यौं। गाडीबाट करिब २५ मिनटमा पुगिन्थ्यो।

नियमित कक्षापछि हामी अध्ययन गर्न पुस्तकालय जान्थ्यौं। प्राध्यापकहरुसँग कुराकानी गर्थ्यौं। विद्यार्थीहरुसँग रमाइलो गर्थ्यौं।

साहित्य र अनुवादसम्बन्धी अध्ययनका प्राध्यापकहरु वाक्ल ओसाडनिक र नतालिया पिलिपुक, युक्रेनी भाषा र साहित्यका प्राध्यापक थिए। दुवै हाम्रो स्नातक अध्ययनमा रुचि दिन्थे।

हामीप्रति, हाम्रो मेहनतप्रति उत्साही थिए। उनीहरुसँग हामी आज पनि सम्पर्कमा छौं। २०२१ मा हामी दुवैले आधुनिक भाषा र सांस्कृति अध्ययनमा स्नातक गर्यौं। दुवैले ४.० जिपिएका साथ सम्मानजनक उपलब्धि हासिल गर्यौं।

सोफिया र म पढाइ जारी राख्न चाहन्थ्यौं। त्यसैले हामीले अल्बर्टा विश्वविद्यालय र टोरन्टो विश्वविद्यालयमा स्नातक डिग्रीबारे बुझ्यौं। त्यहाँ भाषा कार्यक्रम प्रभावशाली थियो। दुवैले ‘क्यानाडा ग्राजुएट स्कलरशीप’ पायौं।

१७ हजार ५०० डलर बराबरको यो स्कलरशीप विद्यार्थीहरुलाई उनीहरुको स्नातक अध्ययनका क्रममा राम्रो उपलब्धि हासिल गरेका आधारमा दिइन्छ। त्यसले घरदेखि टाढा रहेर अध्ययन गर्न खर्च व्यवस्थापनका लागि ठूलो काम गर्ने रहेछ।

त्यसपछि हामीलाई युनिभर्सिटी अफ टोरन्टोले फेलोशीप प्रस्ताव गर्यो। त्यसले हाम्रो पढाइ खर्चका साथै जीवनयापनमा आवश्यक खर्चमा पनि भरथेग गर्यो।

फेलोशीप अनुसार हामी टोरन्टोबाट नौ महिने भ्रमणमा क्यानाडाका विभिन्न स्थान पुगेर विविधतायुक्त संस्कृतिहरु बुझ्दै, स्लाभिक भाषाहरु अनि साहित्यबारे पनि अध्ययन गर्न निस्कियौं।

२०२१ सेप्टेम्बरमा बुवाबाहेक मेरो परिवार टोरन्टो सर्यो। बुवाचाहिँ कामका लागि एडमन्टनमै बस्नुभयो। बहिनी रोजलिना अझै ‘होमस्कुल’ मै थिइन्। म त्यसबेला १६ वर्षकी थिएँ। स्थलगत अध्ययन भ्रमणका लागि निस्केपछि हामी केन्सिङ्टन मार्केट नजिकै बस्यौं।

प्रारम्भिक दिनहरुमा हामीले विदाका बेला परिवार घुम्न निस्केजस्तै अनुभव गर्यौं। सहरबारे धेरै कुरा थाहा पायौं। टोरन्टोमा मैले त्यसरी समय बिताएको पहिलो पटक थियो।

र, मलाई त्यसो गर्नु निकै रमाइलो लाग्यो। सहरबारे जान्ने, विभिन्न फरक खालका मानिस र संस्कृतिबारे थाहा पाउने, यी सबै कुराले तान्यो।

टोरन्टो एउटा ठूलो एडमन्टन जस्तै लाग्यो। हामीले त्यहाँ सडक आसपास बसेका साना व्यवसायीकहाँ गएर खायौं। मेलाहरुमा सहभागी भयौं। हाम्रो बुवा बर्लिङटनमा हुर्कनुभएको हो। त्यसैले हामी त्यहाँ गयौं र बुवाको बाल्यकालको घर पनि पुग्यौं।

हामी अध्ययनमा धेरै मेहनती थियौं। कहिलेकाहीँ भने नियमित तालिकामा अचानक फेरबदल पनि आउँथ्यो। यो स्वाभाविक पनि थियो।

दिदी र मैले प्रति सेमेस्टर चारवटा कक्षा लियौं। बिहान आमाले हामी दुवैलाई क्वीन्स पार्कको पूर्वतिर रहेको हलमा लैजानुहुन्थ्यो। धेरैजसो हाम्रा कक्षाहरु त्यहीँ हुन्थे।

पढाइ सकेर घर फर्कन्थ्यौं। खाना खान्थ्यौं। अनि १–२ बजेसम्म पढ्थ्यौं। हामीले पढ्ने क्रममा धेरै लेख्यौं पनि। मुख्य रुपमा निबन्ध र पुस्तक समीक्षाहरु लेख्यौं।

‘डायस्पोरा र ट्रान्सनेशनल स्टडीज’ कोर्समा प्रत्येक कक्षाका लागि लगभग ३०० पेजका किताब पढ्नुपर्थ्यो। अर्को कक्षामा मैले टोल्सटोयका बारे पढें। अनि त्यसलाई नारीवादी दृष्टिकोणबाट विश्लेषण गरें।

हाम्रो सांस्कृतिक दृष्टिकोणलाई फराकिलो बनाउन यहूदी पोलिश इतिहास र मध्ययुगीन भूमध्यसागर जस्ता विभिन्न पाठ्यक्रमहरु लिन पाउँदा निकै रमाइलो भयो।

दिदी र म कक्षाको अगाडि सँगै बस्न मन पराउँथ्यौं। त्यसो गर्दा प्राध्यापकहरुले भनेका सबै कुरा बुझ्न सहज हुन्थ्यो।

हाम्रा सहपाठीहरुको उमेर २० को दशकको अन्त्यदेखि ३० को दशकको सुरुसम्म थियो। हामीले त्यसलाई असामान्य मानेनौं।

हामीले पुराना विद्यार्थीहरुसँग अध्ययन गर्न पाएर धेरै नयाँ अनुभवहरु हासिल गरेका थियौं। हामी उनीहरु सबैलाई उत्तिकै आदर र माया गर्यौं। उनीहरु कसैले पनि हामीलाई कम उमेरका छौ भनेनन् र त्यसअनुसारको व्यवहार पनि गरेनन्।

अलग–अलग सेमस्टर भएका बेलामा सोफिया र मैले पोलिश कक्षामा शिक्षण सहायकका रुपमा पनि काम गर्यौं। कक्षामा १४ जना विद्यार्थी थिए। सबै मभन्दा जेठा थिए।

सातामा दुईपटक हामीले उनीहरुलाई गृहकार्य गरेर, अभ्यासमूलक कक्षाहरु चलाएर अनि सहपाठीहरुबीच समीक्षात्मक अन्तरक्रिया गराएर सिकाउन मद्दत गर्यौं।

रचनात्मक क्रियाकलाप गरेर सिक्न प्रोत्साहित गर्यौं। त्यसैक्रममा एउटा अभ्यासका लागि विद्यार्थीहरुलाई पोलिश रेस्टुरेन्टको मेनु र भूमिका खेल्ने वेटर र ग्राहकहरुलाई अर्डर गर्ने प्रक्रिया जस्ता कुरामा पनि अभ्यास गरायौं। अभिनयका माध्यमले यसो गर्दा व्यावहारिक रुपमा सिकिन्छ भन्ने पक्का कुरा हो।

हामीलाई ‘ग्रामर गेम’ हरु बनाउन र विद्यार्थीहरुलाई परीक्षाका लागि तयारी गराउन मन पर्थ्यो। कक्षा बेन्जामिन ब्यान्डोज नामका पीएचडी विद्यार्थीले चलाएका थिए। त्यही कक्षामा हामीलाई शिक्षणसम्बन्धी अनुभव र भूमिका खेल्न मौका दिइयो।

हामीले त्यहाँ भेटेका सबैभन्दा राम्रा व्यक्तिहरुमध्ये उहाँ एक हुनुहुन्थ्यो।

हामीले २०२२ अप्रिलमा कक्षाहरु सक्यौं। नोभेम्बरमा सोफिया र म दीक्षान्त समारोहमा सहभागी भयौं। त्यसबेला जब दीक्षान्तका लागि मञ्चमा सँगै गयौं, एकअर्कालाई हेर्दै मुस्कुरायौं।

त्यतिबेला म भर्खर १८ वर्षकी थिएँ। सोफिया २१ पुगेकी थिइन्।

दीक्षान्तको क्षण हाम्रो परिवारका लागि ठूलो महत्वको थियो। बुवा र आमा दर्शकदीर्घामा हुनुहुन्थ्यो। हाम्रो सफलतामा हर्षोल्लास मनाइरहनुभएको थियो।

त्यो उल्लास, खुसीको क्षण स्मरणीय बनाउन हामीले व्यावसायिक फोटोग्राफरलाई जिम्मा दिएका थियौं।

त्यसपछि हामी पारिवारिक डिनरका लागि रोयल योर्क होटलमा गयौं।

स्नातकको केही समयपछि बुवाले ‘सीबीसी’ सँग सम्पर्क गर्नुभयो। हाम्रो कथा भन्नुभयो। र, हाम्राबारे एउटा लेख प्रकाशित भयो।

युनिभर्सिटी अफ अल्बर्टा र युनिभर्सिटी अफ टोरन्टो दुवैबाट हाम्रा धेरै सहपाठी र प्राध्यापकहरु हामीलाई बधाई दिन आए। कलिलै उमेरमा पाएको सफलताले धेरैलाई चकित पनि बनायो अनि प्रोत्साहित पनि गर्यो भन्ने अनुभव पायौं।

बधाई दिन आएकाहरुमध्ये धेरैले हामीलाई कलिलै उमेरको पाउँदा आश्चर्य पनि व्यक्त गरे।

अब, हामी एडमन्टनमा फर्केका छौं। सबैले सोधिरहेका छन्, ‘अब के गर्ने ?’

बहिनी रोसालिना १४ वर्षकी छिन्। सोफियाकै युनिभर्सिटी अफ अल्बर्टामा अध्ययन गर्न चाहन्छिन्।
सोफिया र म भने अब के गर्ने भन्ने विकल्पलाई खुला राख्ने योजनामा छौं।

दुवैले केही कला परियोजनाहरुमा सहकार्य गर्दै आएका छौं। सँगै गीत गाउने, कविता लेख्ने र पुस्तकहरुमाथि काम गर्ने गरिरहेका छौं।

म शिक्षणमा पनि रुचि राख्छु। यो मेरालागि पीएचडी प्राप्त गर्ने एउटा माध्यम पनि हो।

म केही विज्ञहरुसँग कुरा गर्न खोजिरहेकी छु। म केही गर्न चाहन्छु। अरुलाई मद्दत गर्न मेरो शिक्षा प्रयोग गर्ने उत्तम तरिका पत्ता लगाउने प्रयास गरिरहेकी छु।

अहिले मेरालागि सम्भावनाहरु अनन्त छन्।

(‘नेपालटच डटकम’ बाट)

प्रतिक्रिया