छरपस्ट जिन्दगी

bhagawat khanalकवि जस्तै देखिने युवक मदिरालयको एक कुनामा बसिरहेको छ । ऊ एक्लै फलाकिरहेछ अविरल । भन्दैछ ‘जीवन एक मधुशाला हो । यहाँ कोही भिडमा पनि एक्लै छ । यहाँ कोही एक्लै पनि भिडमा छ । यो एक स्वप्नजगत हो, आशाको यात्रा । कहिले तीर्थयात्रा जस्तो । कहिले पिकनिक खेले जस्तो । कहिले धौलागिरी झैं अग्लो, शुभ्र, सौम्य एवं कञ्चन । कहिले भयावह अन्धकूप जस्तो । कहिले धूलो झैं, खरानी जस्तो । कहिले डढेलोले तुर्न नसकेर छाडेको ठुटो जस्तो ।’  झ्यापुल्ल कपाल पालेको मैलो युवक एक्लै छ । उसको कुनै साथी देखिंदैन । तथापि ऊ ‘साथी साथी ’ भनेर सम्बोधन गर्दैछ । काउण्टरमा बसेर मन्द मुस्कुराउने युवतीतर्फ अपलक हेर्दै फेरि बोल्यो युवक, ‘महासागर हो यो जीवन, प्रशान्त । कहिले सागरमा एक थोपा जल मिसिए जस्तो । कहिले एक थोपा जलमा  सागर मिसिए जस्तो । तिमी सागर हौ सुन्दरी ! तिमी नै मदिरा, तिमी नै जीवन  ।

तिमी शिखर हौ टाढैबाट दुर्गम प्रतीत हुने । चाख्यो कि नुनिलो, छोयो कि  काउसो, चढ्न खोज्यो कि सुरिलो, अगम्य । तिम्रो, मेरो र सबैको जीवन एक व्यवस्थाहीन जङ्गल हो प्यारी ! एउटा झरेको  गुलाफ । एउटा डढेको बागवानी । एउटा सडेको बाग्मती । एउटा अभिनय, एउटा निरन्तर नाटक । पर्दा खुल्यो एउटा दृश्य, पर्दा खस्यो एउटा अन्धकार । फेरि पर्दा खुल्यो अर्को दृश्य ।  सदाकाल खुला छ सुन्दरी !  जीवनको मधुशाला । कोही मधुबालाको खोजीमा लखतरान छ । कोही आधुनिक युगको टेण्टालस झैं अरम्य । नजिकै लटरम्म फल फलिरहे जस्तो । टिपौं  कि भनेर हात उठायो कि परपर भाग्ने निर्दयी । घाँटीसम्म अमृत जल भरिएको छ, तर  मुखले भेट्दैन । जिब्रोले चाट्न खोज्छ, तर छोटो छ । 

परापूर्वदेखि खुला छ मधुशाला । न कोही अघायो, न कोही तृप्त भयो, न कोही आउन छाड्यो यहाँ । फेरि बिहानी, फेरि दोपहर, फेरि साँझको रमझम र फेरि रातको भयभीत पार्ने घोर नीरवता । एक दिन फेरि मृत्यु आउनेछ, शीतल बिहानी बनेर । फेरि जीवनको मधुशालाले आफैलाई नवीकरण गर्नेछ । पृथ्वी घुमे जस्तो । कहीँ मिठो र कहीँ तितो । कहिले कर्कस कहिले महनीय । सारा गोरखधन्धाभन्दा टाढा जीवनको मधुशालाको एक कुनामा बसेर मैले जस्तै अवलोकन गर त साथी १ तिमी  ब्रह्माण्ड देख्नेछौ ।’ 

चोट लाग्छ एउटालाई, दुख्छ अर्कोलाई । सफल हुन्छ कोही, पीडा हुन्छ कसैलाई । कतै उफानमा हुन्छ रोदन,  तर खुसी हुन्छ कोही । कहीँ हृदय फुट्दा कतै खुसीमा बोतल फुट्छन् । मीरा, प्रह्लाद र उद्धवको प्रेम । अभिव्यक्त गर्ने शब्द छैन, मन बोल्दैन । द्रौपदीको भङ्गिमा नबुझेका पाण्डवहरूले द्रौपदीलाई चिनेनन्, शरीर मात्र चिने । राधाबारे बोल्ने शब्द बोलक्कण कृष्णसँग छैन । आँसु बोल्दैन पोखिन्छ । हाँसो बोल्दैन अभिव्यक्त हुन्छ । ज्यादै ठूलो खुसीमा निस्शब्द हुन्छ मान्छे ।  ज्यादै दारुण  दुस्खमा  पनि निस्शब्द हुन्छ मान्छे । अत्यधिक प्रेम र शोकको भावातिरेकमा शब्द फुट्दैन । मानिस खम्बा जस्तै हुन्छ, स्तम्भित र मौन । विश्वास  गरेको पात्रले दिएको धोकामा वाणी फुट्दैन । त्यसलाई अभिव्यक्त गर्ने शब्द छैन । मान्छे केवल स्तब्ध हुन्छ । 

जीवन शैलशिखरबाट झर्दो निर्झर जस्तै रमणीय पनि छ । सङ्गीतमय मनोरम कलरव हो जीवन । नयनाभिराम  जलकणहरू परपरसम्म उड्दै असीम सुखानुभूति प्रदान गर्छन्, शीतल शीतल । स्निग्ध शीतवाष्पको सेचनले शब्दातीत आनन्द प्राप्त हुँदाको क्षण । सुन्दर रूप र मुस्कानमय मनोहारी छटाको वर्णन गर्नसक्ने शब्दको आविष्कार भएकै छैन । वाणीहीन हुन्छ प्रेम र मिठासको आनन्द, वर्णनातीत । त्यो सत्, चित् र आनन्दको बयान गर्न कठिन छ । एकले गरेको अनुभव अर्कोलाई बुझाउन असम्भव । परिश्रमको पसिनाले लुछुप्प भिजेको बोल्न नसक्ने मजदुर युवकलाई एक चाका गुड र एक करुवा चिसो पानी खान दिनुहोस् । त्यो खाइसकेको उसलाई इशाराले सोध्नुहोस्, ‘कस्तो लाग्यो रु’ अनि उसको अनुहारमा हेर्नुहोस् । ऊ शब्दहीन छ, तर उसको अभिनयले  हजार शब्द बोलिरहेको हुन्छ । ऊसँग त वाक् थिएन, त्यसैले फुटेन । किन्तु उसको खुसीलाई व्यक्त गर्नसक्ने शब्द तपाईंसँग पनि छैन । खुसी हुनका खातिर  हेलिकप्टर चढ्नु पर्दैन साथी !

उनले खाएको मदिरा र धाएका मधुशालाहरू उनका अनुभवका महाकाव्य हुन् । उनले भन्न थालिन्, ‘यहाँ प्राप्ति सधै अपर्याप्त हुन्छ है युवक ! छाला कसिलो र गाला रसिलो हुँदासम्म हरेक प्राप्ति अपर्याप्त हुन्छ । जीवन एक मदिरा हो, एउटा चाख्यो, अर्कोको चाहना । प्यालाको रङ्ग, मदिरा खन्याउने हातहरू, बसेको आसन, चाखेका सितनहरू सबै अपर्याप्त । एउटा मदिरालयमा पियो, जे खोजेको हो त्यो प्राप्त भएन ।


 हरेक सुन्दरको पछाडि असुन्दर लुकेको हुन्छ । धवल हिमचुलीको छायाँ अँध्यारो हुन्छ । रूपमती विश्वसुन्दरीलाई कालो छायाँले लखेटिरहेकै हुन्छ । सुन्दर झरनाको प्रपात कठोर हुन्छ । तल जमिनमा आफूलाई पछार्ने खाडल आफै खनिरहन्छ । शत्रु खोज्न कहीँ जानु पर्दैन, आफैभित्र छ । दुस्ख दिन कोही खोज्दै आउनु पर्दैन, आफैभित्र छ । सुन्दर देहको सुकोमल छालाभित्र चायाँ पनि हुन्छ । सौन्दर्य चलायमान हुन्छ, अस्थायी । चायाँ अटल हुन्छ, स्थायी । आकर्षक गुलाफको फूलको सुन्दरताभित्र ओइलाउने र कुहेर जाने धर्म पनि अन्तर्निहित छ । हामी झट्ट गुलाफको सौन्दर्य र वासनाले मुग्ध हुन्छौं । त्यसभित्र ओइलाएर झर्ने र दुर्गन्धित हुने लक्षण पनि लुकेर बसेको छ भन्ने बिर्सन्छौं । वासनाको स्वागत गर्नेले कालान्तरमा दुर्गन्ध पनि सहनुपर्छ । सुन्दर झरनाको जोस तल पछरिएपछि शान्त हुन्छ । त्यहाँ प्रवाह रोकिन्छ । त्यो अचलायमान जलमा सुन्दरता हुदैन  । त्यहाँ शीतलता हुँदैन । हामी स्वार्थी छौं । हामी सुन्दर झरनाको जलप्रपात हेर्न जान्छौं, किन्तु तल जमिनमा पुगेर जम्मा भएको नीरवताको दुस्ख कोही पनि हेर्दैनौं, बुझ्दैनौं ।

शब्द मानिसले निर्माण गरेको कृत्रिम वस्तु हो । खुसी , मनस्ताप र हार्दिक दर्द सनातन हो, शाश्वत । जुन कुरा वर्णनातीत हुन्छ, त्यो अवश्य नै शब्दातीत हुन्छ । त्यसैले यहाँ शब्दहरू बनावटी लाग्छन्, आँसु र मुस्कान प्राकृतिक । जीवन कहिलेकाहीँ एउटा मजाक बनिदिन्छ । खुसी पनि तमासा देखाउन आएको फसाद प्रतीत हुन्छ यहाँ । फाँसीमा लट्काउने बेलामा ‘के इच्छा छ रु’ भनेर दया गरे जस्तो । पर्सेको बोकालाई जीवनको उद्देश्य र गन्तव्य सोधे जस्तो । आफ्नै घरमा आगो लागिरहेको दृश्यलाई  बलिन्द्र विलाप गर्दै हेरिरहेकी वृद्धालाई ‘केही भन्नुछ आमै रु’  भनेर सोधे जस्तो । 

पाण्डवहरू राजपाट त्याग गरेर  महायात्रामा निस्के । उत्तराभिमुख भई एकोहोरो यात्रारत युधिष्ठिरले पछाडि भाइहरू र श्रीमतीको हालखबर के कस्तो छ भनेर फर्केर पनि हेरेनन् । सबैभन्दा पछाडि रहेकी द्रौपदीलाई उनीभन्दा अगाडि रहेका सहदेवले सायद सोधे होलान्, ‘मलाई अझै अरू बाँच्न मन थियो द्रौपदी ! म त ज्येष्ठ भ्राताको डरले केही बोल्न सकिन । परन्तु तिमी किन चुप लागेर हाम्रो आमरण यात्रालाई अनुगमन गर्दै छ्यौ रु’ यस्तो प्रश्नको उत्तर दिन कुनै शब्द पर्याप्त थिएन । द्रौपदी चुप लागेर पाइला सारिरहिन् । कहिलेकाहीँ जीवन तिनै द्रौपदीको प्रतिनिधि पात्र बनिदिन्छ । वाणीहीन यात्रा गर्न विवश । एक लाख लुटेर पोको पारेपछि आफैद्वारा लुटिएको पीडितलाई एक मोहोरको सिक्का दिंदै  डाँकाले भन्यो, ‘यो लेऊ चिया नास्ता खर्च ।’  पीडितले बडो कृतज्ञ भावले लुटेराको अनुहारमा हेर्दै मोहोर समात्यो । कहिलेकाहीँ जिन्दगीमा यस्तै डाँका लाग्छ ।  

परन्तु उल्टै डाँकाप्रति अनुगृहित हुनुपर्छ,  झुक्नुपर्छ । केही कुरा व्यक्त गर्ने शब्द नै हुँदैन । केही कुरा भन्ने शब्द त हुन्छ किन्तु व्यक्त गर्न सभ्यताले मान्दैन । केही कुरा व्यक्त गर्न अहङ्कार तगारो बनिदिन्छ । केही कुरा व्यक्त गर्दा आफ्नो कमजोरी छताछुल्ल हुन्छ ।  मनुष्य एक्लै मर्दैन । उसका अव्यक्त वाणी र अतृप्त आकांक्षाहरू पनि पार्थिव शरीरसँगै मरेर जान्छन् । यो मधुशाला हो । यहाँ रित्तो खल्तीको कुनै  इज्जत छैन । पैसा बुझाऊ र आँसु झार । पैसा देऊ र दुई हाँसो हाँसिदेऊ । जीवन एक मधुप्याला हो साथी ! तिम्रो खल्ती खाली भयो कि खलास हुनेछौ । हिन्दी गीतको बोल जस्तो ‘सुखमे तेरे साथ चलेङ्गे दुखमे मुह मोडेङ्गे ।’ तिम्रा दर्दका दुई वचन सुन्न को तयार हुन्छ फोकटमा रु तिमीले रुन पनि केही तिर्नुपर्छ । नत्र को सुन्छ तिम्रो शोकगाथा ।

फेरि पात्र फेरिन्छ मदिरालयको । झ्यापुल्ले मैलो युवक आउन छाड्यो । पहिलेकी सुन्दरी पनि आउन छाडिन् । सायद बुढी भइन् । सायद उनको प्रयोजन सकियो । अब अर्की युवतीको पालो आयो । मैलोको ठाउँमा सुकिलो युवक आएछ । अब आफ्नो पालो नसकिएसम्म कविता भन्ने जिम्मेवारी उसैले बोक्नेछ । मैलोले युवतीलाई हेरिरह्यो । किन्तु युवतीले अर्कैलाई हेरिरहिन् । आज सुकिलोलाई युवतीले हेर्दै छिन्, परन्तु सुकिलो अरु कसैको खोजीमा छ । मधुशालाको अर्को कुनामा एक जना अधबैंसे नारी रमिता हेर्दैछिन् । उनी कहिले युवती र कहिले सुकिलो युवकलाई हेर्छिन् । प्रशस्त जीवनको मदिरा पिएर पनि अतृप्ति छ उनमा । तर केही परिपक्वता पनि छ । गुमेको अवसरको महत्व थाहा छ उनलाई । जीवनमा अब कुनै चमत्कार हुनेवाला छैन ।

जैविक शरीरका  रोमान्चित हुने रोमकूपहरू पुरिइसके । उत्तेजनाका जैविक अङ्ग प्रत्यङ्ग ओइलाएर झरेका फूल जस्तै बनिसके । परन्तु खुमारी बाँकी नै छ । बितेका पलहरू जीवन्त छन् । जीवनयात्राको यस मुकाममा पनि यादहरू ताजै छन् । अधबैंसे सुकिलो युवक र उसलाई नियालिरहने युवतीकी व्यतीत प्रतिनिधि हुन् यी प्रौढा । उनले खाएको मदिरा र धाएका मधुशालाहरू उनका अनुभवका महाकाव्य हुन् । उनले भन्न थालिन्, ‘यहाँ प्राप्ति सधै अपर्याप्त हुन्छ है युवक ! छाला कसिलो र गाला रसिलो हुँदासम्म हरेक प्राप्ति अपर्याप्त हुन्छ । जीवन एक मदिरा हो, एउटा चाख्यो, अर्कोको चाहना । प्यालाको रङ्ग, मदिरा खन्याउने हातहरू, बसेको आसन, चाखेका सितनहरू सबै अपर्याप्त । एउटा मदिरालयमा पियो, जे खोजेको हो त्यो प्राप्त भएन । फेरि अर्कोमा गयो । नशा त निकै लाग्यो, तर खोजेको कुरा प्राप्त भएन । हे युवक ! मेरो कुरा सुन ! म एक अनुभव हुँ । म एक भोगाइको जीवन्त उदाहरण हुँ । तिम्रो जीवन एक मधुशाला हो । मधु भनेको थाहा छ रु मधु भनेको मह हो । मधु मदिरा हो, मादक रस । मधु भनेको आनन्ददायी वसन्त हो । मदनको मारले उन्मत्त चैत्र महिना जस्तै । 

परन्तु हे युवक ! जीवनको जवानीको नशामा किन अहङ्कार गर्छौ ? मधु भनेको मनोरम मदिरा मात्र होइन । मधु भनेको एक राक्षसको नाम पनि हो । तिमीले सुखद मधुलाई पान गर्ने मात्र होइन । तिमीले विष्णु बनेर पीडक र दुस्खद मधु नामक  राक्षसको वध पनि गर्नुपर्छ ।  तिमी माधव पनि बन्नुपर्छ । तिमी मौकामा मधुकर अर्थात  कामुक भमरो पनि बन्नुपर्छ । किन्तु तिम्रो सभ्यताले तिमीलाई मधुकरलाई जति स्वतन्त्रता दिएको छैन । तिमीले सभ्यताको सीमालाई सहनुपर्छ युवक । जीवनको मधुशालामा तिमी योगशास्त्र प्रणीत रजोगुण र तमोगुणको नाश भई सत्वगुणको अभ्युदय हुने मधुमती पनि बन्नु आवश्यक छ । जीवन समथर मैदान मात्र होइन । जीवन  भयावह  उबडखाबड र भड्खालाहरूले पनि भरिभराउ छ ।’

फेरि मधुशालाको पर्दा झर्‍यो । फेरि मधुशालाले नयाँ कलेवर धारण गर्‍यो । फेरि पर्दा खुल्यो । यसपालि स्वागतमा एक युवक र एक युवती देखिए । पर कुनामा त्यही पुरानो झ्यापुल्लेको वृद्ध रूप प्रकट भयो । कपाल सबै झरेछ । ऊ दन्तहीन मुस्कान भर्दै थियो । निकै बूढो भएछ भूतपूर्व झ्यापुल्ले । कविताको बोल फेरियो । शरीरको खोल फेरियो । जीवनमा पान गर्ने झोल फेरियो । आज उसले युवतीतर्फ हेरेन । ऊतर्फ हेरेर युवती मन्द मुस्कुराइन्, किन्तु उसले वास्ता गरेन । ऊ आफ्नै कुनोमा अडेस लाएर बस्यो र बर्बराउन थाल्यो, ‘मदिरालय हो जीवन ! जवानीमा जोस हुन्छ । मदिराको पासो हो यो । यहाँ मानिस बेहोस हुन्छ । नशा सकिएर होस आउँदासम्म समयले नेटो काटिसक्छ । जीवन हाँसो हो, जीवन प्रेम हो, जीवन कलह हो र रोदन पनि । मित्रता तिक्तता, अभिमान, झूट र महाको जञ्जाल हो जीवन । यो अभिशाप हो, स्वीकार गर । जीवन  लज्जाहीन उधारो आश्वासन हो । जीवन क्लेश, क्रन्दन, कोप, कपट, क्रोध, कुठाराघात र क्रूरता हो । परन्तु यो कुरौनी पनि हो र कोमलता पनि  । बाँच्ने कौशलको पहिचान गर । कर्म गर्दै जाऊ हे युवा ! प्रयत्न नछाड ।’ 

फेरि एक जना पण्डित पस्यो मधुशाला । सबैले उसलाई हेरे । ऊ सुन्दर थियो । उसका औंलाहरू हिराका औंठीहरूले भरिभराउ थिए । उसको हातको घडीको मूल्यले साधारण परिवारको वर्षदिनको खर्च चल्थ्यो । उसलाई हेरेर युवती मन्द मुस्कुराउन थालिन् । पण्डित आफूलाई आधुनिक विश्वामित्र ठानेर दङ्ग पर्‍यो । कसैले भनेको सुनियो, ‘मविद्यपानरहित मधुशाला आविष्कार गर्नुपर्‍यो गुरुजी !’ ऊ फेरि मुस्कुरायो । युवतीले उसमा कुन्जविहारी कन्हैयाको छटा देखिन् । ऊ भन्दै थियो, ‘असम्भव !  भगवान भन्नुहुन्छ,  तमेव शरणं गच्छ सर्वभावेन भारत। तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्यसि शाश्वतम् । हे अर्जुन !  तिमी सर्वभावले उनै ईश्वरको शरणमा जाऊ । संसारका सबै क्लेशको नाश गर्न मन, वाणी र कर्मद्वारा ईश्वरको आश्रय ग्रहण गर ।

फेरि उनै ईश्वरको अनुकम्पाले परम शान्ति र परमधामको प्राप्ति हुनेछ ।’  ऊ बोल्दै गयो,  ‘मेरो कुरा सुन्नुहोस् महानुभावहरू । जीवन आफै एक मदिरा हो । यसमा भगवानरूपी अर्को मदिरा मिसाउनुभयो भने यो पूर्ण हुन्छ ।  हाम्रा इन्द्र महाराजलाई मदिरा मन पर्छ । हाम्रा देवाधिदेव सदाशिव महादेवलाई विष,  भाङ  र धतुरो मन पर्छ । प्राचीन युनानी देवता डायोनिससलाई अङ्गुरी मदिरा चढाउने चलन थियो । त्यसैले उनलाई ‘गड अफ वाइन’  पनि भनिन्छ । यदुकुलका मानिसहरू प्रेमले मदिरापान गर्थे । उनीहरू मदिरामै बाँचे, मदिरामै लडे र मदिरामै मरे । यौवन, धन, सत्ता, रूप, पद, प्रतिष्ठा पनि मदिरा नै हुन् । मदिरापान गरेर यहाँ कोही अहङ्कारी बनिदिन्छ । कोही संयम धारण गरेर जोगिन्छ । भगवानको प्रेम असीम छ । भगवानको घरमा विलम्ब होला तर वितण्डा हुँदैन ।’ 

अर्को कुनामा एउटा सठियाएको दार्शनिक जस्तो मनुष्य बसिरहेछ । यसो हेर्दा लाग्दछ, ऊ एक मूर्त्ति हो । निर्वाक्, निस्पन्द र अचल । ऊ  सुनिरहेछ पण्डितलाई । बडो अनासक्त र निस्पृह जस्तो देखिन्छ ऊ । लाग्दथ्यो ऊ नखाएरै अघाएको मान्छे हो । ऊ नभोगेरै तृप्त भयो सायद । ऊ सुस्तरी बोल्न थाल्यो । मदोन्मत्त सबै उत्सुक भए । अहो ! एउटा शालिक जस्तो मान्छे बोल्दैछ ।  ‘परन्तु म त्यागी होइन । म नै असली मधुशाला हुँ । म तेल सकिएको बत्ती हुँ । तर बल्दै छ धिपधिपे जीवन । मालिकले छाडेर गएको बूढो बँधुवा गोरु जस्तो हुँ । जिब्रोले ओठ चाट्दै छु ।’ ऊ एक्लै अविरल बोलिरह्यो, ‘बुझ्यौ रु म असली मान्छे  हुँ । तर म किन प्रमाणित गर्दै हिड्ने ? हे मेरा भाइबहिनीहरू हो ! ध्यान दिएर सुन । कसैको करुणा नपाए पनि जीवनको यात्रा चलिरहन्छ । वञ्चित जिन्दगीको मदिराको स्वाद कस्तो हुन्छ ?  थाहा छ ?

मैले सबैभन्दा ज्यादा मलाई मन पराउँछु । त्यसको आनन्द मलाई नै थाहा छ । तर मसँग त्यसलाई व्यक्त गर्ने शब्द छैन । तिमीहरू अरुलाई प्रेम गर्न दगुर्छौ । म भने मेरो मलाई प्रेम गरिरहन्छु । पण्डितका कुरा अर्धसत्य हुन् । महादेव भाङ र धतुरो खाएर मस्त हुन्थे साँचो हो । प्रकृतिमा पैदा भएका कुरा खाएर गम्भीर चिन्तनमा निमग्न हुन्थे, साँचो हो । परन्तु हलाहल विष पिएर लोककल्याणकारी कार्य गर्ने पनि उनै हुन् । हे युवा ! के तिमी नीलकण्ठ बन्न तयार छौ रु’  फेरि ऊ केही बेर त्यहीँ  निदायो । ऊ जाग्दा अरु सबै गइसकेका थिए । उसले यसो यताउता हेर्‍यो । त्यहाँ एकथरीको ठाउँमा अर्काथरी बसिसकेका थिए  । ऊ फेरि बोल्यो, ‘सबै जीवनहरू उस्तै हुन् । कहाँबाट आए, किन आए, कसले पठायो, को हुन् र कहाँ जान्छन थाहा छैन । परन्तु सबै उस्तै हुन ।’  


 

प्रतिक्रिया