मर्यादित र इज्जतदार पेसा मानिन्थ्यो पत्रकारिता कुनैबेला। प्रतिवन्धितकाल झन् उर्जावान थियो संचारकर्मका लागि। कर्ममा रमाउने इमान्दारीता थियो। अग्रजहरूले सुरूगरेको साप्ताहिकको पाना भर्ने काममा दूरदराजबाट शहर पसेकाहरूको बोलवाला थियो पत्रकारितामा। उतिबेला, पत्रकारिताका ताज मदनमणि देखि गोविन्द वियोगी बादेपा देखि गोपालदाससम्मको सामीप्यको न्यानो पाएका पत्रकारहरू अझै कलम चलाउँदै छन्। त्यो प्रतिबन्धकालको पत्रकारिताको आनन्द आजको झिल्के आवरणले ढाकिएको पत्रकारितामा पाइँदैन।
अनुभवको ढुकुटी खोतल्दा भेटिने घटनाक्रमको वर्गीकरण त साध्य नहोला। मानसपटलमा ताजै रहेका घटनाको स्मरण गर्दै जाँदा देशान्तर देखि सुरूचिकाल पत्रकारिताको लहलहाउँदो काल थियो। जोस र होस त्यतिखेरको पत्रकारिता गर्नेहरूका लागि चुनौति थियो, तथापि यदाकदा जोसमा होस गुमाएको अनि होसमा जोस हराएको घटनाहरू पनि हुन्थे।
समाचारको ओज थियो, खोजीखोजी साप्ताहिक पत्रिका पढ्ने चाख विद्वत वर्ग देखि सर्वसाधारणमा पनि उत्तिकै देखिन्थ्यो। शुक्रवारे विमर्श, आइतवारे देशान्तर र सुरूचिको माग प्रकाशित भए भन्दा बढी नै हुन्थ्यो कहिलेकाहिँ। समाचारले ल्याउने तरंगले हप्ताभरी चर्चा पाउँथ्यो। अझ वाइलाइन रिपोर्ट छ र त्यो रिपोर्टले बजार पिट्यो भने पत्रिकाको सम्पादक भन्दा रिपोर्टरको आयतन बढेर नाक त घिरौंलाकार नै हुन्थ्यो। त्यतिखेरको त्यो सम्मान र चर्चा स्मरण गर्दा आजको सन्दर्भ फिका लाग्छ।
पत्रकारिताको सम्मान, पत्रकारको इज्जत र समाचार प्रतिको विश्वसनियता यति बिघ्न थियो कि पत्रकार हूँ भन्दा छाती चौडा हुन्थ्यो। कम्पोज प्रणालीको साप्ताहिक पत्रिका आजको प्रविधि पत्रकारिता गर्नेहरूका लागि दन्त्य कथा नै हो। पत्रकारिताको पढाइ कुन चराको नाउँ हो? भन्ने कालखण्डका अग्रजहरूको प्रेरणादायी दीक्षा पाएका पत्रकारहरू अझै सक्रिय छन्। तर,चाइनिज फुलटिनले समाचार लेख्न थालेकाहरूले कम्प्यूटरको किबोर्ड र माउसमा रमेर त्यो लेखनकला पनि बिर्सिसके।
समयले फड्को मारेको हो कि प्रविधिले मान्छे मेसिन भको? पक्कै प्रविधिले ब्रम्हाण्डको आयतन खुम्च्याइ दिएकै हो। मान्छे सम्वेदना शून्य हुँदै गएकै हो। यसो गमेर चिन्तन गर्ने हो भने चौथो अंग, अंगभंगको अवस्थाबाट गुज्रिरहेको छ। पेसा र संगठनको उचाइ बचाइ राख्न जरूरी छ तर यहाँ पनि प्रश्न तेर्सिएको छ, उचाइ बचाउने चैं कसले?
हरेक पेसाको मर्यादा बचाउने कर्तब्य पेसाकर्मी कै हो। पंचायती शासकले प्रतिवन्ध गरेको पत्रकारिता गरेवापत जेलनेल भोगेका अग्रजहरूको अनुभव सुन्ने हिम्मत अहिलेको पुस्ताले गर्नुपर्छ। हरेक बिगत ईतिहास बन्छ र त्यहि ईतिहास बर्तमानको पाठशाला हो भन्ने बिर्सन हुँदैन। यसो भनिरहँदा बर्तमान संचारजगत ब्यावसायिक बाटो छोडेर कुबाटो लागेको हो कि भन्ने चिन्ताको पारो बढ्दो छ। संचार प्रवाह गर्ने दायित्व धार्मिक दृष्टिले हेर्ने हो भने पनि पाप र धर्मकै वरिपरि घुम्छ भन्दा अन्यथा नहोला।
सत्य र तथ्य नै समाचारको मुटु हो र अक्षरको सिंगारपटार त धमनि मात्रै हुन। मुटु चलायमान भए धमनिको अस्तित्व रहन्छ अन्यथा धमनि मात्रले समाचारको प्राण धान्न मुस्किल हुन्छ। सत्य र तथ्यमा अडेर पस्कने समाचारले पाउने विश्वास नै पत्रकारिताको धर्म हो भने झुट र फरेवको सस्तो खेती पापको कुण्ड हो। आजको पत्रकारिता कता कता भड्केको लगाम बिनाको घोडा जस्तै भएको छ। र यसो हुनुमा पत्रकार र संचारगृह नै जिम्मेवार छन्।
पत्रकारिताको भर्याङ धेरै पत्रकारहरूका लागि अवसरको माध्यम भयो होला। तर पत्रकारिता नै आफ्नो जीवनशैली ठान्ने पत्रकारका लागि बिगतको भन्दा चुनौति थपिएर घिडघिडो ब्यवसाय बनेको छ पत्रकारिता यतिखेर। सात दशक काटेका किशोर नेपाल आज पनि कुनाकन्दरामा पुगेर सत्य र तथ्यको अक्षर खेतिमा रमाउनु असलि पत्रकारका लागि प्रेरणा बन्नु पर्थाे तर बन्न सकिरहेको छैन। टेलिभिजनको पर्दामा चर्काे स्वर गरेपछि पपुलर हुने अहम् र गालिगलौजको भाषामा समाचार लेखेर पत्रकार बन्ने होडबाजीले पत्रकारिताको विश्वसनियता मात्रै गुमेको छैन संचार ब्यवसाय नै धरापमा परिसकेको छ।
हिजो, ब्यवस्था परिवर्तन गर्ने सारथि बनेको संचारजगत आज ब्यापारीको लागि बिचौलिया र भ्रष्टाचारीको लागि भरिया भएको यथार्थ कसैबाट लुकेको छैन। पेसाकै मानमर्दन भैरहँदा पनि पेसाकर्मी र पेसाको अभिभावक संस्थाले चुप्पि साँध्नु चै बुझिनसक्नुको रहस्य बनेको छ। न त अग्रजहरूले मुख खोलेका छन् न त पत्रकारको छाता संगठन बनेको महासंघले चिन्ता प्रकट गरेको पाइन्छ। कुनै समय व्यवस्था परिवर्तनको आन्दोलनमा नेतृत्व गरेको थियो पत्रकार महासंघले भन्यो भने सत्यकथा कि दन्त्यकथा? भनेर सोध्छन् अहिलेका पत्रकार पुस्ता।
पक्कै हो, हरेक ब्यवसाय कालबेला अनुसार परिवर्तन हुन सक्नुपर्छ तर परिवर्तनको नाउँमा कर्मको धर्म नै नालिमा बगाउने हर्कत कदापि पाच्य हुनसक्तैन। एउटा सम्मानित पेसा वरिपरि कालोवादल मडारिनु पत्रकारका लागि चिन्ता हुनैपर्छ। पत्रकारिताको बाटोमा पैरो झरेको छ पन्छाउन ढिला नगरौं अन्यथा पेसाले बाटो बिराउने छ।
प्रतिक्रिया