मानिसहरुलाई यस्तो लाग्छ, एक दृष्टिबाट हेर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाग्यमानी नेता हुन्। अर्को दृष्टिले नियाल्दा उनी अभागी नेता हुन्। यसरी दुइ दृष्टिले परख गर्ने मानिसहरु देउवाका तीन अडान उनका लागि अफापसिध्द सावित भएको ठान्छन्। जसले गर्दा ‘भाग्य दिने कर्म ठेल्ने’ भनेजस्तो नियति भोग्न देउवा विवश छन्। सत्ताको शिखरमा पाँच पटक आरोहण गरेपनि देउवाको अवतरण—इतिहास कहिले पनि सुखद् र सम्झनलायक रहेन।
ज्योतिषीले अझै दुइपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरिदिएपछि देउवालाई अडान लिन दवाव दिने अवसरवादीहरु सक्रिय नहुने कुरै भएन। जसको परिणाम सारै खल्लो, तिक्ततापूर्ण र विस्मृतिमा राख्नलायक हुनपुगेको छ। सायद पछिल्लो ऐतिहासिक भूल सभापति देउवालाई निकै महँगो अनुभव हुनपुगेको छ। यही भूलले चिमोटेर देउवाका आगामी रातहरु अधकल्चो बित्नेछन्। आफैंलाई क्षमा गर्न नसक्ने यस्ता भुलहरु कमै नेताले मात्र गर्छन् भनिन्छ। तर देउवाले नयाँ अध्याय थपेका छन्। इतिहासका विद्यार्थीलाई नेपालको राजनीतिक इतिहासको अध्ययन गर्न यो एउटा ताजा पाठ उपलव्ध भएको छ। यस निम्ति भने देउवाले धन्यवाद पाउन पनि सक्लान्।
पहिलो अफापसिध्द घटना
२०५२ सालमा माओवादी पार्टीको सार्वजनिक स्वरुप धारण गरेको संयुक्त जनमोर्चाले सरकारलाई बुझाएको ४२ बँुदे माग पत्रलाई वेवास्ता गर्नु देउवाको पहिलो तर निकै गम्भीर दोष थियो। जो उनका लागि राजनीतिक यात्रामा छवि धमिल्याउने अफापसिध्द घटना बन्न पुग्यो। त्यसपछि देशमा मच्चिएको हिंसात्मक घटनाले पारेको असरबारे थाहा नपाउने को नै होलान् र?
दोस्रो अफापसिध्द घटना
जननिर्वाचित संसद मध्यरातमा नारायणहिटी दरबारमा लगेर बुझाउनु देउवाको दोस्रो अफापसिध्द राजनीतिक कदम थियो। जसले गर्दा देशले लामो राजनीतिक अस्थिरता भोग्नुपर्यो। हज्जारौं मानिसले रगत पसिना बगाउनुपर्यो।
देउवाले आफ्नै पार्टी फुटाएर अलग्गै बस्ने रहर पनि पूरा गरे। तर अन्तत माउ पार्टीमै फर्किएर राजनीतिको मूल प्रवाहमा जोडिएर प्रधानमन्त्री पनि भए। पर्टी फुटाउँदा भएको क्षतिको दोष भने देउवाकै भागमा बढी पर्ने चर्चा भैरहन्छ।
तेस्रो अफापसिध्द घटना
पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेका सभापति देउवा पुस १० गते आईतबार अपरान्हदेखि निवर्तमान प्रधानमन्त्रीको स्थानमा झरेका छन्। नयाँ सरकारको नेतृत्व गर्न जोडबलले लागेका उनी पत्नी, परिवार र चौबिसैघण्टा उनलाई घेरेर बस्ने अवसरवादीहरुको दवावमा पर्दा लिएको हठका कारण हातमा आईसकेको राजकाजको नेतृत्व गुमाउन विवश भएका छन्।
सभापति देउवाका यी तीन मुख्य कदम उनको राजनीतिक यात्राका अफापसिध्द घटना हुन्। अरु मसिना घटनाको चर्चा विस्तारै सतमा आउँदैजाला। पछिल्लो घटना भने देउवा स्वयंका लागि अति अप्रिय र पीडादायी घटना भएको हुनुपर्छ। यसका लागि देउवाले आफ्नै पार्टीभित्रबाट चर्को र तीतो आलोचना सुन्नु परिरहेको छ।
देउवाले व्यक्तिगत रुपमामात्र यो क्षति बेहोर्नुपरेको होईन। हालै सम्पन्न संसदीय निर्वाचनमा पहिलो पार्टी बन्ने शौभाग्य पाएको नेपाली कांग्रेसले सबैजसो संवैधानिक पदहरुमा कुनै स्थान नपाउने दुर्भाग्य पनि सहनुपरेको छ। नेतृत्वमा बसेका नाताले देउवा यसका लागि मुख्य जिम्मेवार छन् नै तर उनकी पत्नी आरजु राणा देउवा र अवसरवादी समुह पनि नेपाली कांग्रेसलाई इतिहासकै ठूलो राजनीतिक क्षति भोगाउने दोषी देखिएका छन्। यतिबेला स्तव्ध भएका नेपाली कांग्रेसलाई मत दिएका लाखौं मतदाताको चित्त बुझाउने जवाफ सभापति देउवासँग हुने कुरै भएन। अरुसँग भएपनि त्यसको केही अर्थ हुनेछैन।
नेपाली कांग्रेसभित्र मात्र होइन जनसाधारणले पनि यो कुरा किटेर चर्चा गरिरहेको पाईन्छ। यतिबेला चोकचोक, गल्लीगल्छेंडा र शहरबजारमा प्रमुख चर्चाको पात्र बनेका छन् निर्वतमान प्रधानमन्त्री देउवा।
यो स्पष्ट भैसकेको छ कि पछिल्लो हठधर्मिताको कारण सभापति देउवा छैटौं पटक प्रधानमन्त्री बन्न सकेनन्। सात पटक प्रधानमन्त्री बन्ने उनको सत्ता यात्रा यसपटक अवरुध्द हुनपुगेको छ। यो अवरोध कहिले खुल्छ कसैले भन्न सक्दैन। स्वयं सभापति देउवा यसबारे अनभिज्ञ छन्।
सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने चाहना पुरा हुननदिँदा देउवाको हातबाट राजकाजका सबै हतियार खोसिएका छन्। उनी सिंहाशन गुमाएका राजा जस्ता भएका छन्। देउवाको यतिधेरै आलोचना भैरहेको छ कि उनी वाणको शैय्यामा सुतेका भीष्मपितामह जस्ता देखिन्छन्।
देउवाको हठ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने फलिफापसिध्द भएको छ। पाँच दलीय गठबन्धन तोड्ने चाहना पूरा भएकोमा ओली दंगदास छन् भने माधव नेपाल र झलनाथ खनाललाई सडकमै छाड्न पाएकामा उनी हर्षविभोर नहुने कुरै भएन। यतिमात्रै होइन प्रचण्डको महत्वाकांक्षामा मलजल गर्दै उनैलाई उपयोग गर्दै संवैधानिक अंगहरुमा रोजेको पद आफ्नो भागमा पार्न र सरकारमाथि निरन्तर अंकुश पनि लाईरहन पाउनु ओलीको राजनीतिक यात्राका चानचुने उपलव्धि होईनन्। यसरी हेर्दा देउवाको हठ ओलीलाई शक्तिशाली बनाउन प्रमुख कारण बन्नपुग्यो भन्दा अन्यथा हुनेछैन।
अत्यन्त चञ्चल र महत्वाकांक्षी नेता प्रचण्ड नेतृत्वको सरकारको आयु अहिले नै मापन गर्न सकिने कुरा पनि भएन। हिजो नेकपामा सँगै बस्न नसकेर अलग भएका एमाले र माओवादी केन्द्र अहिले गठबन्धनमा जोडिएका मात्र हुन्, सत्ताको स्वार्थले। त्यहाँ यी दुइवटा दलमात्र छैनन्, राजनीतिक दर्शन र मान्यता नै विल्कुल फरक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दल तथा स्वतन्त्र सांसद समेत यो गठबन्धनका सहयात्री हुनेछन्।
प्रतिनिधिसभाको अधिवेशन सुरु भएपछि सबैको असली परिचय पनि खुल्दैजाने नै छ।
सत्ताका सबै स्थान गुमाएको नेपाली कांग्रेस स्थानीय निकायमा जितेका पदहरुको सम्झना गरेर बस्न अहिलेका लागि वाध्य छ। सत्ताको नेतृत्व गुमाएको बिषयको मूल्यांकन, समीक्षा र आलोचनाले नेपाली कांग्रेसलाई कस्तो गति दिन्छ त्यो भने भविष्यको कुरा हो।
नयाँ गठबन्धन सक्रिय भैसकेको छ। सत्ताको साँचो बूढानिलकण्ठबाट बालकोट दरबार सरेको छ। सख्खरसँगै झिँगा पनि सर्छन् भनिएजस्तै सत्ताको दूरुपयोग गर्न पल्केको वर्ग पनि बालकोटतिरै ढल्किसकेको छ। विगतमा सत्ताको दुरुपयोग गरेको आरोप अध्यक्ष ओलीमाथि पनि नलागेको होईन। यसपटक सत्ताको बागडोर हातमा लिएका ओलीले विगतको त्रुटीबाट शिक्षा लिँदै सरकारलाई पारदर्शी र जनमुखी बनाउन योगदान गरुन्, प्रधानमन्त्री प्रचण्ड आफ्नो चञ्चल स्वभावमाथि नियन्त्रण राख्दै सन्तुलित नेतृत्व दिन सफल होउन्, अहिलेलाई यही शुभकामना!
प्रतिक्रिया