देउवालाई उछिनेर चर्किएपछि जे भयो

काठमाडौं। सत्ता बाँडफाँडमा सहमति जुटाउने प्रयाश असफल भैरहेका बेला पार्टीका पदाधिकारीहरुसँग परामर्श गर्न सुझाव दिँदा नेपाली कांग्रेसका उपसभापति आफूभन्दा कनिष्ठ नेताबाट अपमानित भएर घर फर्किएको थाहा भएको छ।

सभापति शेरबहादुर देउवालाई राजनीतिक संकट आईपरेको अवस्थामा महामन्त्री र अरु पदाधिकारी बोलाएर उनीहरुको सुझाव लिँदा सहज हुने छ भनेर सल्लाह दिएका उपसभापति पूर्णबहादुर खड्कालाई प्रवक्ता प्रकाशशरण महतले हप्काउने शैलीमा जवाफ फर्काएका थिए। सभापतिलाई नै उछिनेर महतले आफूलाई ललकारेपछि उपसभापति खड्का रातो मुख लाएर घर फर्केको जानकार सूत्रले बताएको छ। 

बढ्यो छटपटी

आईतबार अपरान्ह बालकोटमा नयाँ समीकरण बनेपछि अब सत्ताका सबै स्थान गुमाएको स्पष्ट भएपछि सभापति देउवालाई घरेर बस्ने समूह अत्तालिएको सूत्रको भनाई छ। राजनीतिमा अचानक प्रकट भएको अनपेक्षित परिणामले नेपाली कांग्रेसमा मात्र होइन प्राय सबै राजनीतिक दलका चिन्तकमा छटपटाहट  देखिएको छ। कल्पना भन्दा बाहिरको परिणामले सुखद अनुभूति गर्नेहरूको झुण्ड सानो छ। अधिकांशको मानसपटल अहिले पनि घुमिरहेको छ कि ट्रेलर विपरीतको सिनेमा कसरी बन्यो?

बुढानिलकण्ठमा देउवाको अनुपस्थितिमा बनेको सांसद आरजु राणाको योजना अन्तत देउवाको लागि गलपासो बनेरै छाड्यो। नुवाकोटको निर्वाचन क्षेत्रबाट समानुपातिकमा शरण परेका प्रवक्ता प्रकाशशरण महत बुढानिलकण्ठमा रजगज गर्नथाले देखि देउवा कोटरीको जमघट सधैं खल्लो हुनेगरेको गुनासो बिस्तारै बाहिरिन थालेको छ। देउवाका राजनीतिक रणनीतिकार उपसभापति पूर्ण बहादुर खड्का र प्रवक्ता प्रकाश शरण महतवीच झण्डै हात हालाहालको स्थिति देखेर वालुवाटारबाट फर्केका प्रत्यक्षदर्शीले सुनाएअनुसार अहिले कांग्रेसको यो अवस्था आउनमा महत सहितका नेताको योगदान छ।

आईतबार बिहान खड्काले प्रचण्डलाई  प्रधानमन्त्री दिएर अगाडि बढ््दा सहज हुने भनेर सभापति देउवालाई सल्लाह दिँदा महतले ठाडो विरोध गर्दै पहिलो पार्टीले सरकारको नेतृत्व नगरी तेस्रो दललाई सरकार चलाउन दिन नहुने अडान राखेपछि खड्का झोक्किँदै ल चलाउनोस् सरकार भनेर बाहिरिएका थिए।

देउवाले बस्न आग्रह गर्दा पनि नमानेर खड्काले भोलि आइपर्ने अपजसको भारी आफू बोक्न नसक्ने भन्दै छलफल छोडेर हिँडेका थिए। 

बैठकमा पदाधिकारीहरूलाई पनि बोलाउँ भन्ने प्रस्तावमा महतले गर्जिदैं किन बोलाउने हाम्रो उछित्तो काड्नेहरूलाई भन्दै चर्किएपछि सभापति देउवा जुरूक्क उठेर आरजुतिर हेर्दै बाहिरिएका थिए।  

नयाँ सत्ता समीकरणको सरकार बनिनसक्दै कांग्रेसको ओरालो रफ्तार सँगसँगै प्रधानमन्त्री प्रचण्ड पनि ओलीको कोपभाजनमा परेको व्याख्या सुनिन थालेको छ। वालुवाटार सूत्रका अनुसार देउवालाई नआत्तिन शक्ति केन्द्रको आश्वासन आइसकेको छ भन्ने कुरा पनि देउवाका विश्वास पात्रले प्रचार गर्दै हिँडेका छन्। 

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई असफल पार्ने योजना बनिसकेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको भनेर प्रचार गर्न थालिएको थाहा भएको छ। 
 
‘भाउजुले कुरा मिलाउँदै हुनुहुन्छ किन हतार गरेको’ भन्दै सुदूर पश्चिमका एकजना नवनिर्वाचित सांसद बानेश्वरस्थित पाँचतारे होटलको स्वीट रूममा बसेर छलफल गरिरहेको समाचार पनि बाहिरिएको छ। ‘हेर्दै जानोस् खेल, को कहाँ पछारिन्छ घटनाक्रमले छर्लङ्ग हुन्छ’ भनेपछि स्वीटरूमको मिटीङको आकार बढ्दै गएको थाहा भएको छ।

उच्च राजनीतिक सूत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति देउवालाई फोन गरेर ‘तपाईं हाम्रो समझदारी कार्यान्वयन गर्न नाटकीय रूपान्तरण भैरहेको छ’ भन्ने आश्वासन दिएका छन्। आकस्मिक रुपमा राजनीतिक कठिनाई आउनसक्ने संकेत गर्दै ओलीले त्यस्तो बेला प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाले नै नयाँ सत्ता समीकरणको भविष्य निश्चित हुने देउवासँग बताएको सूत्रको भनाई छ।
 

प्रतिक्रिया