सफलताको कथा

अठासी वर्षमा कैलाश मानसरोवर

 -नन्दकला सुवेदी 

अब त सारै बुढी भइसकेँ घुम्न जान कसरी सकूँला भन्ने थ्यो तर पनि कैलाश पर्वत मानसरोवर जान चैँ कताकता रहर थ्यो    मनमा । धेरै बुढाबुढी भएपछि जान मिल्दैन पनि भन्थे । उहिल्यै बड्डा हुँदैखेरि हामी दुवैको ठूलो इच्छा थ्यो मानसरोवर कैलाश पर्वत जाने । तर के मिलेन के ? सोचेर पनि जान सकेनौँ कैल्यै । यसपाली साइँला छोराले कैलाश जाने कुरा चलायो । लाने ल्याउने सप्पैै जिम्मा लिने टाभल हो कि के भन्ने हुन्छन् भन्यो । गारोसारो परे पनि सप्पैै उनैले बेहोर्छन् रे भन्यो । पछि त उमेरका कारणले जान मिल्दैन रे भन्ने खबर पो आएछ । हुन त उमेरले पनि त डाँडो काटिसक्यो नि । अठासी वर्षको उमेरमा हिँन्दै छु यतिबेला । दिक्क पनि लागो, उइले नै किन गइएनछ जस्तो भो । भारत र नेपालका धेरै ठाम घुमियो, चीनको मानसरोवर कैलाश पर्वत नगै मर्ने भइएछ जस्तै लागो । एकचोटि अझै प्रयास गरौँ भने छोराहरूले । बीचबाटोमा क्यै गारोसारो परे तुरन्त फर्काउने, उपचार गर्ने सप्पैै खर्च हामी नै व्यवस्था गर्छौँ, आमालाई लैजाऊँ भनेछन् । सप्पैै कागज गरेपछि टाभल एजेन्सी भन्नेले मलाई पनि जान मिल्ने बनाएछ  । छोराहरूले अरू यात्रुहरूको भन्दा साठी हजार रूप्याँ बढी तिरेछन् म बुढीका लागि ।

जाने मिति नजिकिँदै थ्यो, गाग्रेतालको भतिजो टीकाराम बित्यो । जुठो परेपछि जाने कुरा भएन । बल्लबल्ल मिलेको मौका पनि गुम्ने त्रास बढ्यो । तीनहप्ताजति पर्खेर अर्को समूहमा जान मिल्ने चाँजोपाँजो मिलाएछ टाभल एजेन्सीले । झोला, टोपी, ज्याकेट टाभलले नै दे’को थ्यो । काठमाडौँ साइँला छोराको घरबाट उसैले दे’को ज्याकेट र टोपी ला’र, उसैले दे’को झोला बोकेर हिँनिउँ हामी पचत्तर सालको साउन महिनाको अन्तिममा । जिपगाडीको बन्दोबस्त भ’को रै’छ । टोखाको बाटो लग्यो गाडीले ।

जानेहरूमा माइला छोरा—बुहारी, साइँला छोरा—बुहारी र म थिउँ । देवीघाटमा गाडीवालाले नै भात ख्वायो । मैले रोटी तर्कारी खाएँ । बेलुका स्याप्रुबेँसी पुगेर बास बसियो । हुटेल राम्रो थ्यो बस्न, खान । बिहान खाजा खाएर हिँनिउँ स्याप्रुबेँसीबाट । केरूङमा पुग्दा दश÷एघार जति बजेको थ्यो होला । केरुङ नेपाल र चीनको सीमाना हो रै’छ । नेपालतिर सामान्य घरहरू थे । पारि चीनपट्टि चैँ अफिसका राम्राराम्रा घरहरू थे । एकछिन रोकेर सीमाका चौकीहरूले जाँचपास गरेपछि केरुङ बजार पुगेर खाना खाइयो । याँ पनि तर्कारीसँग सुख्खा रोटी नै खाएँ मैले । केटाहरूले दालभात, तर्कारी नै खाए । केरुङ बजार त ठूलो   रै’छ । केरुङ बजारबाट अरू पनि तीर्थालुहरू थपिए । एउटा ठूलो बस र एउटा माइक्रो बस रै’छन् । महेन्द्रनगरका चार जना नयाँ मान्छे र हामी पाँचजना गरेर नौजना भयौँ माइक्रो बसमा । महेन्द्रनगरकाले मलाई दिदी भनेपछि केटाहरूले तिनलाई मामा भने । हामी त परिवारकै मान्छे जस्ता भइगयौँ । नाताका आफन्तजस्तै भयौँ । ठूलो बसमा बुद्धनगरको शंखमूल आश्रमका मान्छेहरू रै’छन् । सप्पैै नेपाली । तिब्बतको साँगा पुगियो साँझमा । ब्रम्हपुत्र नदीको किनारमा रै’छ साँगा । साँझ परिसकेको र सिमसिम पानी परिर’काले धेरै राम्ररी हेर्न पाइएन ।

बिहान हिँनेपछि एकैचोटि खाना खाने ठाममा पु¥यायो । ठामको नाम चैँ के थ्यो कुन्नि सम्झना नै भएन । जाँदा बाटोमा ठूलाठूला पाटनहरू देखिन्थे । चौँरी, घोडाहरू चरिर’का थे । भोटे कुकुरहरू वरपर दौडिर’का थे । गोठालाहरू पनि देखिन्थे कतै कतै । गाडीबाटै देखेको दृश्य पनि सारै राम्रो थ्यो । अक्सिजन कम होला कि मलाई भनेर नेबुलाइजर बोकेका थे छोरा—बुहारीले । बेला बेला त्यसैबाट औषधि राखेर बाफ लिन लाउँथे । खाना खाने ठाममा केटाकेटीहरू दालभात तर्कारी खान्थे । म दाल रोटी खान्थेँ । मैदाका रोटीले मलाई त सन्चो भएन । पेट लाग्न थालो । निकै गारो हुन थालो । औषधिमूलो गरेर निको पारे । अर्को बसमा गएका आश्रमका गुरुले आमाले पनि तीर्थवर्तमा जाँदा अरूको सरह खाए हुन्छ भन्नुभो । त्यसपछि मैले पनि अरूले खाएको जस्तै खाना खाएँ ।

मानसरोवर पुग्दा उज्यालै थ्यो । ताल देखियो संसारै ढाकेजस्तो ठूलो । परपर काँ हो काँसम्मको । सारै राम्रो रै’छ । माथि चमचम चम्केको कैलाश पर्वत रै’छ । तालकै छेउमा रै’छ बस्ने ठाम पनि । त्याँ पुग्दा झमक्कै भो । बस्ने ठाममा बिजुलीमा नेबुलाइजर जोड्ने पलग थे’न । सास फेर्न गारो गारो हुँदै थ्यो । अलि पर अफिसमा चैँ नेबुलाइजर जोड्न मिल्छ भने कसैले । हामी त्यतैतिर लागिउँ । छोराहरू पनि हिँन्नेबित्तिकै स्वाँस्वाँ हुन्छ भन्न थाले । म त झन पाइला चाल्नै नसक्ने भइगएँ । टाभलका केटाहरूले बोकेर बल्लतल्ल अफिससम्म पु¥याए । हतार हतार पलगमा नेबुलाइजर जोडेर मलाई लगाइदिए । अबचैँ बल्ल सजिलो भो । सासै फेर्न नसकेर मरिहाल्छु कि जस्तो भैसकेको थ्यो । जुनी फर्किए जस्तै भो ।

बिहान उठेर बाहिर निस्कदा पूर्व–दक्षिणतर्फ स्वर्ग झरेजस्तै सारै सुन्दर ताल देखियो । मनै चङ्गा भो । हामी विस्तारै विस्तारै पानीतिरै गयौँ । तालको छेउसम्म आ’को पानी भ’कै ठाममा पुगियो । पानी छो’को त हिउँ । पूरै हिउँजस्तै चिसो । हातै चँुडिएर पोखरीमै झर्ला जस्तो । तालमै न्वाउँदा फोहोर हुन्छ भनेर होला अलि छेउमा बारेर न्वाउने ठाम बनाइदे’को रै’छ । पानी ल्याएर त्यैँ न्वाउनु पर्ने । यस्तो चिसोमा के गरी न्वाउनु र ? यसो पानी छर्केर हरहर महादेव भन्दै पुछ्ने त हो नि । त्यसै गरिउँ ।

परपर तालको बीचतिर हाँस र अरू चराहरू खेलिर’का थे पानीमाथि । चिसो नहुँदो रै’छ तिनलाई । तीर्थालुहरू रमाइर’का वरपर तालको छेउकिनारमा उभिएर ताल र ती चराहरूलाई हेर्दै ।

श्राद्ध गर्ने भनेको त ब्रामण नै भेटिएनन् । बड्डाको धेरै सम्झना भइरा’को छ । दुवैजना सँगै आउने इच्छा पूरा नभए पनि हजूरको इच्छा ले’र आ’की छुँ भन्दै सम्झेर श्राद्घ गर्ने सोचेकी छुँ । कैलाश पर्वततिर फर्केर वाँको याँसम्म आउने ठूलो इच्छा थ्यो भनेर सुनाउन मन लागेको छ भगवान महादेवलाई । शंखमूल आश्रमका स्वामी हरिहर आनन्दले आफूले यो कर्म गर्न नमिल्ने भए पनि ब्रामण नभ’का कारणले गर्दा अड्कोपड्को फुकाउन मैले नै कर्म गरिदिन्छु भन्नुभो । सन्यास लिएका स्वामीले त्यसो गर्न नमिल्ने रै’छ । हामीले श्राद्ध गरिसकेपछि वाँले तालमा ग’र जल उठाउँदै आफ्ना भगवानसँग माफी माग्नुभो । पितृभक्तहरूको संकटमोचन गरिदे’को हो मलाई सन्यासी धर्म विपरीत काम गरेकोमा क्षमा दिनुहोला प्रभो भन्नुभो वाँले आफ्ना भगवानसँग । ठूलो धर्म पूरा गरिदिने स्वामीलाई कोटिकोटी नमस्कार छ । 

राक्षस ताल पनि थ्यो रे पश्चिमपट्टि तर पहिरो ग’र बाटो रोकिएकाले हामी जान सकेनौँ । कैलाश पर्वतलाई नमस्कार गरियो, मनैदेखि प्रणाम गरियो । कैलाश पर्वतलाई हिउँ नै हिउँले ढाकेको थ्यो । जान सक्नेहरू माथिमाथि गौरीकुण्डसम्म जाने गर्दा रै’छन् । हामी मानसरोवरबाट त्यो दिन दार्चेनसम्म गयौँ । दार्चेनबाट तल तालहरू चैँ देखिने रैन’छन्  । कैलाश पर्वत भने छर्लंगै देखिँदो रै’छ । टाभलका सहयोगीहरूले दार्चेनबाट सप्पैै कुरा देखाए । दार्चेन पुग्न मानसरोवरबाट गाडीलाई कैलाशतिर दुई/तीन घण्टाजति लागो होला । बिहानको खाजा ख्वाएर हामीलाई दार्चेनबाट यमद्वारतर्फ लगे । गाडीमा चढेको आधा घण्टाजति पछि यमद्वार पुगियो । गारो हुन्छ भनेर उनीहरू मलाई ओखती ख्वाउँथे । सजिलो हुन्थ्यो मलाई पनि । यमद्वारमा गेट रै’छ ढुङ्गाको । त्याँभित्र छिर्नुपर्ने रे । त्याँ कपडा चढाउने चलन पनि रै’छ । साइँली बुहारीले ओढिराखेको मजेत्रो चढाई । अरूले पैसा चढाए । यमद्वारमा छिरेपछि मृत्युपछि यमद्वारमा छिर्नुपर्दैन भन्ने कुरो रै’छ ।  यमद्वार पुग्दा कुहिरो, हुस्सु लागेकाले वरपर चैँ के के थ्यो, केइ पनि देख्न पाइएन ।

यमद्वारभन्दामाथि दुई दिनमा पुगेर आउन सकिने गौरीकुण्ड रै’छ । हिँन्दैहिँन्दै जाने बाटो रै’छ ।  हामीसँग जाने अर्को बसका चार/पाँचजना हिँने गौरीकुण्डतिर । हामीचैँ फर्कियौँ दार्चेन । गौरीकुण्ड जानेलाई दार्चेनमा पर्खने चलन रै’छ । ती जानेहरू एकै दिनमा फर्केर आए । पानी परेर धेरै हिउँ झरेकाले जान सकेनछन् तिनेरू पनि । अर्को दिन तिनेरूले दार्चेनमा लाख बत्ती बाले । हामीले त्यैँबाट कैलाश पर्वतलाई नमस्कार गरेर विदा माग्यौँ । गाडी तलतिर लागो । मानसरोवर आइपुग्यो तर अब गाडी रोकिएन । ताल भने देखियो । ताल देखुन्जेलसम्म हेर्दै हेर्दै फर्किउँ मानसरोवरको यात्रा पूरा गरेर ।

जे होस्, बुढेसकालमा आँट गरेरै भए पनि पुगिछोडेँ कैलाश मानसरोवर । सक्तिनँ होला भनेर घराँ बसिरा’की भए काँ पुग्न पाउँथेँ र त्यस्तो ठाम ? त्यै भ’र पो पितापूर्खाले भन्ने गरेकारा’न्— जिन्दगीमा जे जस्तै परे पनि हरेस चैँ कहिल्यै नखानू ! देउदेउताले पनि भन्छन् रे— तँ चिता, म पु¥याउँछु । पु¥याइदिनु भो भगवानले । मलाई हरेस खान नदिने भगवानलाई पनि प्रणाम छ, धेरै धेरै धन्यवाद छ !

(लेखिका नन्दकला सुवेदी अहिले ९२ वर्षकी भईन्। वि. सं. १९८७ माघ १ मा दैलेखको पराजुल, पोखरीपाटामा जन्मिएकी नन्दकला प्रौढकक्षा पढेर साक्षर बनी स्वअध्ययनबाट राम्ररी लेखाइ पढाइ गर्नसक्ने भएकी हुन्। उनको यो प्रेरणाष्पद प्रयाशले एउटा कृति नै तयार भएको छ। त्यो निकट भविष्यमा सार्वजनिक हुने छ।)

प्रतिक्रिया