सर्लाहीमा कांग्रेस वडा अधिवेशनका क्रममा कांग्रेस कार्यकर्ताबीच झडप, चार घाइते

सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनस्थल राख्ने विषयमा सर्लाहीको बलरामा झडप भएको छ । सोमबार भएको झडपमा मतदान अधिकृतसहित ४ प्रहरी घाइते भएका छन् ।

बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो । तर संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो ।

त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले प्रहरी निरीक्षक सुरेश ठाकुरसहित ४ जना घाइते भएका जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  

आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले एक राउण्ड हवाइ फायर गरेका थिए ।
 

प्रतिक्रिया