विवेकशील कि हाइड्रोसिल ?

-शतीस चौधरी 

पृथ्वीमा मानिसलाई विवेकशील प्राणी भनिए पनि सबै विवेकशील हुँदैनन् । कतिपय मानिस या समूह विवेकशीलको साटो ‘हाइड्रोशील’ जस्ता हुन्छन् । 

जस्तो कि नाम ‘विवेक’ हुँदैमा कोहि मानिस विवेकशील हुन्छ नै भन्ने छैन । जोसँग विवेक हुन्छ, उसले आफुलाई विवेकशील भन्दै फेसबुकदेखि ट्वीटरसम्म, चुनावीसभादेखि चोकसम्म चिच्याउनु पनि पर्दैन । कुनै पनि समूह, दल या संस्थाको कामबाटै उ कति विवेकशील हो भन्ने छर्लङ्ग हुन्छ । 

विवेकशील हुन नसक्ने, तर ‘विवेकशील हुँ’ भन्दै हिँडनेहरुको विवेकको पोल एकदिन खुलीहाल्छ । अनि सारा जगलाई थाहा हुन्छ, उनीहरु त ‘हाइड्रोसिल’ पो रहेछन् । ‘दुइ तिहाइ बहुमत’ ले पनि उनीहरुलाई विवेकशील साबित गर्न सक्दैन । 

विवेकशील अघि हाइड्रोसिलकै चर्चा गरौं । हाइड्रोसिल पुरुषको अण्डकोष सुन्निने कष्टदायक समस्या हो । जब हाइड्रोसिल हुन्छ, तब अण्डकोष सुन्निएर हैरान हुन्छ । दुइ साँप्राको बीचमा तुर्लुङ झुण्डिने ममः डल्लाकार पिण्डका कारण मानिस हलचल गर्न सक्दैन । हिँड्दा पनि खोच्याएर हिँड्नुपर्ने हुन्छ । 

नौ कक्षामा पढ्दा यो पंक्तिकारलाई पनि हाइड्रोसिल भएको थियो । कम्ता दुःख पाइएन । टनक टनक दुख्थ्यो । स्कूल जानसमेत लाज भो । एकजना मामा पर्नेले आएर भाउँतो लगाए, ‘तातो खरानी दले चटक्कै निको हुन्छ ।’

तातो खरानी ल्याएर दलदाल पारियो । केको निको हुनु ? झन औडाहा भो । न काटेर फाल्न मिल्ने ? आम्मै, काटेर फाल्ने त कल्पना पनि नगरुँ । न घडी, जुत्ता या लुगा झैं फुकालेर पछि काम लाग्छ भनेर राख्न मिल्ने । भूँडी बढेको भए केही बात थिएन, मानिसहरुले ‘मोटाइछस्’ भन्थे । गाला पुक्क फुलेको भए केही सुर्ता थिएन, ‘ह्रष्टपुष्ट भइछस्’ भन्थे । 

जुन चिज फुल्नुको कुनै अर्थ थिएन, त्यही चिज फुल्यो । जुन देखाउनै मिल्दैन, त्यही जिनिस नदेखाइ नहुने भो । छिमेकका एकजना दाजुलाई देखाइयो । उनले भने, ‘पानको पात तताएर सेक्नू, थैलीको पानी सुकीहाल्छ ।’ 

पान पसलेकहाँबाट पानको पात ल्याएर सेकियो, अहँ बिसको उन्नाइस भएन । हुँदाहुँदा पिसाब फेर्नसमेत सकस हुन थाल्यो । आफुलाई पर्नु समस्या परिरहेको छ, उता घरका सदस्यलाई चाहिँ रमाइलो भएछ । 

‘बाबुको पोको फुलेछ है’, कसैले प्याच्च भन्यो । 

‘अब त यो काटेरै फाल्नुपर्छ, नत्र क्यान्सर हुन्छ’, अर्को उपबुजु्रकले भन्यो । 

टनक टनक दुखिरहेको बेला यस्ता उपहासपूर्ण कुरा सुनेर पंक्तिकारलाई झनक झनक रिस नउठेको हैन । फसाद के भने रिसाएर कराउनै नहुने, उपहास गर्नेसँग झगडा गर्न नमिल्ने । जति रिस उठ्थ्यो, त्यति दुख्थ्यो । 

आखिर जे कुराको पनि त निकास हुन्छ । जाबो अण्डकोष के हो र ? एकदिन डाक्टरकहाँ गइयो । नन कम्युनिकेटीङ प्रकारको हाइड्रोसिल रहेछ । डाक्टर साबले सिरिन्जबाट पानी झिकिदिए । भोलिपल्टदेखि अनावश्यक दम्भले फुल्ने नेता झैं फुलेको अण्डकोष सल्यातसुलुत आफ्नो मूल आकारमा आइहाल्यो । 

फेसबुक र ट्वीटर पेजमा लाइक, कमेन्टको बाढी देखेर सारा जगत आफ्नै पक्षमा भए झैं फुर्र्र्किएकाहरु जसरी ऐन मौकामा जनताको समर्थन नपाएर रन्थनिई आफ्नै ‘ओरिजिनल साइज’मा खुम्चिन्छन्, मानौं ब्रम्हाण्डकै आकार ग्रहण गर्न लागेको भान पार्न खोज्ने जाबो ‘टेस्टो स्टोरन हर्मोन’ युक्त अंगको गुच्चे तुजुक पनि शान्त भयो । 

गुदी थिएन, त्यो त पानीको फोका सरह थियो । हावा झिकेपछि बेलुन चाउरीए झैं पानी झिकेपछि त्यो पनि चाउरीयो । तर, दुःख चाहिँ निकै दियो, हाइड्रोसिलले । चार पाँच दिनको उर्जापूर्ण समय खेर गयो । उक्सिनु बेकार थियो, तर उक्सिनेले बुझेन । 

हामी कोही पनि हाइड्रोसिल हैन, विवेकशील हुनुपर्छ । विवेकशील हुन सकिएन भने हाइड्रोसिलजस्तै परपिडक भइन्छ । परोपकारी हुनु विवेकशील हुनु हो, परपिडक हुनु हाइड्रोसिल । जसले अरुलाई दिन्छ, उ विवेकशील । जसले अरुसँग चन्दा उठाएर मोज गर्छ, उ हाइड्रोसिल । 

विवेकशीलले सबैलाई समेट्छ, हाइड्रोसिलले सबैलाई तनाव दिन्छ । यदि कुनै व्यक्ति कुनै दलमा छ र उसमा हाइड्रोसिल प्रवृत्ति छ भने उसले कसैलाई गन्दैन । आफुमात्र उक्सीने, मोटाउने, फुल्ने र भरिपूर्ण हुने सोच राख्छ र स्वेच्छाचारी ढंगले दल संचालन गर्न खोज्छ । फलस्वरुप एक दिन हाइड्रोसिल चाउरीएझैं चाउरीनुपर्छ । 

हाइड्रोसिलले दुइ साप्राको कापमा सकस खडा गरिरहन्छ । दुइ धार, दुइ कित्ता, दुइ विचारको द्वन्द्व या दुइ दलको झगडामा हाइड्रोसिल प्रवृत्तिले जहिले पनि न यता न उता भएर अन्योल र अप्ठेरो सिर्जना गरिरहन्छ । 

लोकतन्त्र या अधिनायकबाद ? यसमा हाइड्रोसिल प्रवृत्ति स्पष्ट हुँदैन । एउटा भाग लोकतन्त्रतिर, अर्को भाग अधिनायकबादतिर राखेर यसले देश र समाजलाई टनक टनक दुःखाइरहन्छ । राजतन्त्र पनि ठिक, गणतन्त्र पनि ठिक । वैचारिक स्पष्ट लाइन छैन, तर अण्डकोष फुले झैं तर्क र गन्थनको बेलुन चाहिँ फुलाएको फुलायै । 

मान्छे विवेकशील प्राणी नै हो । आहार, निद्रा, भय र मैथुन त हरेक पशुमा हुन्छ । विवेक भएकै कारण हामी मानिस विवेकशील कहलिएका हौं । तर, अचेल मानिसमा विवेक हराउँदै गएको छ । चन्दा आतंक मच्चाइरहेको छ । भाषण आतंक मच्चाइरहेको छ । आफु महलमा बसेर गरीबको नाममा राजनीतिको च्याँखे दाउ थापिरहेको छ । फेसबुकमा आफ्नो चाहिँ हाँसेको तस्वीर देखाउँछ, तर दुनियाँलाई रुवाइरहेको छ । विवेकशीलताको पाठ पढाउँदै जनतासँग भोट माग्न गइरहेको छ, तर आफैं चाहिँ विवेकशील हुन सकिरहेको छैन । 

विवेक मान्छेको नियतमा हुन्छ । विवेक मानिसको इमानदारितामा हुन्छ । विवेक उसले के भन्यो हैन, के ग¥यो भन्नेमा निहित हुन्छ । विवेकको कसी भनेको मान्छेको जीवनशैली, सोच र व्यवहार हो । जो व्यक्ति दश जना मानिससँग पनि मिलेर बस्न सक्दैन, उ विवेकशील मानिदैन । जसले कसैलाई रिझाउन सक्दैन र सबैसँग कचकच गरिरहन्छ, उ चाहे समाजमा होस् या कुनै दलमा, उ विवेकशील हैन । 

विवेकशील मानिस अरुको कुरा सुन्छ, अरुको मर्म बुझ्छ र अरुको सल्लाहमा चल्ने कोशीस गर्छ । विवेक नभएको मानिस चाहिँ आफ्नै लिँडेढिपी थोपर्न खोज्छ । उसले आफुलाई नै सर्वेसर्बा ठान्छ । उसले अरुको कुरा पटक्कै सुन्दैन । मेरै विचार, मेरै तरिका, मेरै सोच, मेरै रोजाई सर्वश्रेष्ठ हो भन्ने दम्भले उ यसरी फुल्छ, छुट्याउन कठिन हुन्छ कि उ विवेकशील हो कि हाइड्रोसिल ? 

सोचौं, हाइड्रोसिल भयो भने त उपचार गर्न सकिन्छ । कसैको सोच, विचार या नियतमै हाइड्रोसिल सिन्ड्रोम भयो भने चाहिँ त्यसले समग्र समाजलार्ई दुःख दिन्छ । अझ कुनै दलमै यो सिन्ड्रोम देखियो भने त त्यसले समग्र राजनीतिलाई नै बिथोलिदिन्छ । 

अतः हामी सबैको ध्याउन्न केमा केन्द्रित हुनुपर्छ भने हामी विवेकशील हुनुपर्छ, हाइड्रोसिल हैन । विवेकशील हुँदा आफ्नो मात्र हैन, समाजकै कल्याण हुन्छ, परोपकार हुन्छ । कसैसँग चन्दा उठाएर परोपकार गर्नैैैपर्दैन, विवेकशील हुनु नै ठूलो परोपकार हो, पुण्य हो । 


 

प्रतिक्रिया