-नन्दकला सुवेदी
हामी बुढाबुढीको जोडी, ज्ञानु र माया दुइटी छोरी, ठूलो नाति प्रकाश र साइँली सम्धिनीगरी छजना थियौँ यसपटक । कान्छी छोरीको नाम त पवित्रा हो तर उसलाई हामी सबैले माया नै भन्थ्यौँ, अरूले पनि माया नै भन्थे । सुर्खेतबाट बिहानै गाडी चढेको मध्येदिनतिरै बुटोल पुग्यौँ । त्यहीँ नजिकै होटेलमा खाना खाएर बस्यौँ दिनभरि । बेलुका तीन चार बजेतिर पूर्व जाने बस चल्दोरैछ । टिकट काटेर त्यसैमा छिरिउँ । बिहान घाम उदाउँने बेलामा त्यसले झापाको दमकमा पुर्यायो । त्यहीँसम्म मात्रै जाने रैछ त्यो गाडी । होटेलमा न्वाइध्वाइ गरेर खाना खाएपछि दमक बजार घुम्न हिँनिउँ । धेरै ठूलो त रैनछ यो बजार तर घरहरू चाहिँ बाक्लै रैछन् । कुनै–कुनै घरचाहिँ सिमेन्टिका पनि देखिन्थे तर धेरैजसो चाहिँ काठकै काठका देखिए । अलि परपर चैँ साना साना छाप्रा पनि देखिन्थे । उत्तरतिर वनैवनजस्तो हरियै देखिन्थ्यो जताततै । फागुनको महिना अन्तिम भ'काले गर्मी भने निकै थ्यो । उनन्चास सालमा हो हामी त्यता गा'को ।
इलाम जाने बस आयो । हामी त्यसैमा चढिउँ । कन्काई नदी रैछ दमकभन्दा अलि अगाडि । लामै थ्यो पुल । नदीमा पानीचैँ खासै ठूलो थेन, गाडीबाट हेर्दा देखेको । बिर्तामोड, चारआली भन्थे ठामका नाम । चारआलीबाट सिधा अगाडि जाँदा काँकडभिट्टा हुँदै इन्डिया पुगिने रैछ । काकडभिट्टा, मेची नदी, पानीट्यांकी, सिलगुडी, जलपाइगुडी त हामी पहिले पनि गा'को । आजचैँ गाडी चारआलीबाट उत्तर तिर लाग्यो इलाम जान ।
इलामको पशुपतिनगरमा साइँलो छोरोको विद्युतको अफिस थ्यो । साँइली बुहारी पनि त्यतै थिई । सानो नाति कमल पनि उनेरूसँगै थ्यो । पहिले कान्छो छोरोसँग घुम्न जाँदा दार्जिलिङ जाने कुरा ढुङ्ग्यानी दिदी र ज्वाईँ हराएपछि त्यतिकै बिथोलिएको थ्यो चालिस सालमा । पछि जाउँला भनेको थ्यो कान्छाले त्यसबेला ।
यसपाली इलाम, दार्जिलिङ, सिक्किम घुम्ने भनेर हिँडेका हामी । काइँली छोरी ज्ञानु, कान्छी छोरी माया र जेठो नाती प्रकाश पढाइको जाँच सकेर खाली थे । यही मौकामा तिनेरू पनि हिडेका हुन् हामीसँगै ।
चारआलीबाट अलिकमाथि पुगेपछि इलामको पहाड आउँदोरैछ। हरियै देखिन्थ्यो जताततै । च्याका बुट्टा पनि जात्तिविधि देखिन्थे बाटोका तल–माथि परपरसम्म। डाँडाकान्ला सबैतिर च्याका बुट्टा हातले बनार राखेका जस्ता राम्रा । फिक्कलमा पुगेपछि गाडीबाट उत्रिनु भनेको थ्यो साइँलाले । फिक्कल आइपुग्यो भन्यो खलासीले । हामी उत्र्यौँ त्यही । त्यो बस इलाम बजार जाने रैछ । बसबाट उत्रिदा त साइँलो र नाति कमल हाम्रै छेउमा आइपुगेका रैछन् । उनेरले उतैबाट सानो गाडी ले'र आ'का थे ।
साइँलाको अफिस भा'को ठाम पशुपतिनगर पुग्दा झमक्कै साँझ परेको थ्यो । उसले अब मेरो सरुवा हुनसक्छ दार्जेलिङ, सिक्किम यताबाट नजिकै छन् घुम्न आउनु भनेकाले हामी यता आ'का हौँ। सम्धिनी स्वयंपाक्के भ'काले गर्दा खाना उहाँले नै पकाउनु पर्ने भयो तर म धेरै थाकेकी छुँ, मलाई रोटी तर्कारी दिए हुन्छ भन्दै आराम गर्न खाटमा पल्टनु भयो उहाँ त । साइँलालाई सघाउपघाउ गर्ने तोयानाथ दाहाल भन्ने बाहुन केटा रैछन् । तिनैले बनाएर सम्धिनीलाई रोटी तर्कारी दिए । हामी अरू चैँ उनैले पकाको खाना खा'र सुत्यौँ । कान्छी छोरी माया मसँग सुत्छु भन्दैथी सन्धिनीले माया नानी मसँग सुत्न आउनु भनेपछि ऊ सम्धिनीसँग सुत्न गई । ज्ञानु मसँग सुती ।
पर्सिपल्ट दार्जीलिङतिर जाने तालमेल मिला'को थ्यो साइँलाले । त्यसैले भोलिको दिन हामी कतै पनि गएनौँ । जाडो हुँदोरैछ पशुपति नगरमा जुनसुकै महिना पनि। एकैछिनमा बादल आएर घुम्लङ्ग छोपिहाल्ने । सानो नाति कमलले बाहिर जाऊँ कि जाऊँ भनेपछि यसो बाहिर चौरसम्म निस्क्यौँ। फाटकसम्म पुग्यौँ । तोयानाथले परपरसम्मका ठामहरू देखाए । सिधा पारि भारतको खर्साङ बजार देखियो । माथि सन्दकपुर भन्ने अग्लो डाँडो देखिँदो रैछ । त्यस्तै नेपालतिर हेर्दा अन्तुडाँडो पनि देखियो । सन्दकपुर पनि नेपालकै रे । अन्तु र सन्दकपुरबाट घाम झुल्केको, अस्ताको छर्लङ्गै देखिन्छ भन्थे तोयानाथ । परपरसम्म भारततिर चियाबारी हरियो थियो । भारतकै मिरिक बजार पनि देखिदो रैछ फाटकबाट । फाटक भनेको चाहिँ सिमाना रैछ । बीचमा बाटोले नेपाल र भारत छुट्याउँदो रैछ । दार्जिलिङ जाने जीप गाडीहरू यहीँ लाग्दा रैछन् । हामी भोलि यहीँबाट जीपगाडीमा चढेर दार्जेलिङ जाने हो भन्थे तोयानाथ । हामीले त यता र उता दुवैतिर गएर रमिता हेरिउँ । यता पशुपतिनगरभन्दा अलिक तल नेपालको सरकारी चिज कारखाना छ भन्थे तोयानाथ । भोलि दार्जिलिङबाट फर्केर आएपछि तोयानाथले त्यो कारखानामा घुमाउन लान्छु भने । घर चाहिँ काठैकाठका रैछन् यतातिर पनि ।
आज सुत्नेबेलामा मायाले मसँग सुत्छु भनी । ज्ञानु सम्धिनीसँग सुत्न गई । माया जहिले पनि कि एक्लै सुत्छे कि मसँग मात्र सुत्छे घरमा पनि । हिजो पनि मन नलागी नलागी गा'की हो त्यो सम्धिनीसँग सुत्न । प्रकाश र बड्डा नातिहजुरबुवा एउटा खाटमा सुते । दुईदुईजना सुत्ने बन्दोबस्त मिलाको थ्यो । अबेरसम्म फाटकबाट देखेका ठाम र भोलि घुम्न जाने दार्जेलिङ सहरका बारेमा कुरा गरिउँ हामीले । राम्रो छ दार्जिलिङ शहर भनो साइँलाले । सम्धिनीले धन्य मान्नुभो सधैँ हामीले घुम्न जाँदा सँगै लाने गरेको कुरा गरेर । हामीलाई पनि खुसी लाग्यो ।
बिहान सबेरै उठ्नु हुन्थ्यो सम्धिनी सधैँ । आज चाहिँ किन उठ्नुभएन । मलाई सम्धिनीलाई बोलाउन मन लाग्यो । सन्धिनी सम्धिनी भन्दै उहाँहरू सुतेको कोठामा छिरेँ । सम्धिनी बोल्नु भएन । सन्चो भएन कि किन यस्तरी निदाउनु भयो भन्दै यसो सिरक उठाएको त कस्तो कस्तो लाग्यो । सम्धिनीले त हलचल पनि गर्नु भएन । सिरानीमाथि हात, हातमाथि टाउको राखेर आनन्दले सुते जस्तै त देखेँ तर मन मानेन । यसो कुममा समाएर हल्ला'को सम्धिनीको त सिङ्गै जिउँ पो हल्लियो । निधारमा छामेको चिसो भैसकेको रैछ । विस्तारै ग'र था न'पाको जस्तो गर्दै साइँली बुहारीलाई जा जा सम्धिनी अझै उठ्नु भएन मलाई झकझकाएर उठाउन अप्ठेरो लाग्यो, आमालाई उठा त भनेँ ।
"आमा, आमा " भनेर बोलाई । अनि आमा त हुनुहुन्न भन्दै रुन थाली ऊ त । सम्धिनीसँगै सुतिराखेकी ज्ञान् पनि बिउझेर उठी बड्डालाई चैँ मलाई पो के भएछ कि जस्तो लागेछ र उतैबाट ए केटाकेटी हो के भयो हँ आमालाई भन्दै हुनुहुन्थ्यो । मलाई हैन, सम्धिनीलाई सन्चो नभएजस्तो छ भनेँ । सप्पैजना जर्याकजुरुक उठेर सम्धिनी सुतेको कोठामा आइपुगे । अचम्म भयो आधारातसम्म कुराकानी गरेर सुत्नुभएकी सम्धिनी त ओछ्यानमै बित्नुभएछ ।
एउटै हाल एउटै चाल गरेर घुम्न हिडेका हामी, सम्धिनीले छोडेर जानु भा'कै हो त ? पत्याउनै गारो भयो मलाई । मान्छेको जुनी कति कफलो रै'छ छिनमा छ, छिनमा छैन जस्तो । साइँलीको रुवाइले मुटुनै फुट्ला जस्तो भयो । सबैका आँखाबाट आँसु बगिरहे । बोल्ने कुरा केइ आएन । मुटुमा गाँठो परिर'यो ।
साइँलाले हतारहतार कताबाट कम्पाउण्डरलाई बोला'र ल्याएछ । उनले जाँचबुझ गरेर चार/पाँच घण्टा अगाडि नै प्राण गैसकेको हुनुपर्छ भन्ने कुरा गरे । उन्का कुरा सुन्दा सम्धिनी त सुत्नेबित्तिकै बित्नु भएछ जस्तो लाग्यो । ज्ञानुले आफैँसँग सुतेकी सासू बितेको चार पाँच घण्टासम्म चालै पाइनछे । सासूको निन्द्रा बिग्रेला भन्दै अर्कापट्टि फर्केर चुपचाप सुतेकी रै'छे त्यो ।
काठमाडौँमा बस्ने जेठान खगेन्द्र अधिकारी र सालो ओमप्रकाशलाई आमा बिरामी हुनुभयो, हामी ले'र आउदैछौँ, तपाईंहरू कतै पनि नजानु भनेर खबर गर्यो साइँलाले । सुर्खेतमा बस्ने सालो शिवलाई पनि आमाले बोलाइदिनु भन्नु भा'छ तिमी पनि तुरुन्तै काठमाडौँ आऊ भनेर फोन गर्यो ।
आफैँ खाटमा सुतेकी सम्धिनीलाई बोकेर आँगनमा ल्या'र सुताए । हिजो साँझसम्म वाँ आफैँले धो' को, पुछेको अनुहार मैले आफ्ना हात भिजार पुछिदेँ । हिजो साँझसम्म वाँ आफैँले खाने पिउने मुखमा ननिलिने दुई थोपा पानी हालिदेँ । आँगनको डिलमा फुलेका फूल टिपेर सम्धिनीको छातीमा चढाएँ । जानुहोला है शान्तिको बाटो, हाम्रो पनि बाटो त्यै हो भनेँ ।गाडीको बन्दोबस्त गरेर सम्धिनीलाई कपडाले छोपेर गाडीमा हाले छोराहरूले । सम्धिनी सम्धिनी भनिरहेँ । सम्धिनी बोल्नु भएन, ममात्रै बोलिरहेँ अब सम्धिनी नबोल्ने हुनुभयो, नसुन्ने हुनुभयो, नदेख्ने हुनुभयो । सम्धिनी त हामीले सम्झिने मात्र हुनुभयो ।
साइँला-साइँली यो लोकमा नरनुभ'की आमालाई ले'र काठमाडौँ हिँने । हेर्न गारो भयो त्यता । चुडिएजस्तै भयो मुटु । मलाई त यस्तो भयो, यो संसार छोडेर अर्कै लोक ग'की जन्मदिने आमाको लास लगाडि राखेर हिडेकी साइँली बुहारीलाई कस्तो भा'को होला ?
साइँलाका अफिसका मान्छेले हाम्रा लागि गाडीको टिकट काटिदे। बाँकी हामी छजना दिउँसो पशुपतिनगरबाट काठमाडौँ जाने नाइट बसमा चढिउँ ।
(अठासी वर्षमा कैलाश मानसरोवर नियात्रा कृतिकी लेखिका सुर्खेत निवासी नन्दकला सुवेदी आज ९३ वर्ष प्रवेश गर्दै छिन्। यो कृति लेखिका सुवेदीको दोस्रो कृति हो। गतवर्ष उनको पहिलो कृति पुराना भजन तथा तीजगीत सङ्ग्रह प्रकाशित भएको थियो। आजै सुर्खेतमा नियात्रा सङ्ग्रह अठासी वर्षमा कैलाश मानसरोवरको लोकार्पण हुँदैछ। यस अवसरमा लेखिकालाई धेरै धेरै बधाई। जन्मदिनको शुभकामनास्वरूप अठासी वर्षमा कैलाश मानसरोवरमा सङ्ग्रहित एउटा रचना प्रस्तुत गरेका छौँ।)
प्रतिक्रिया