म मरिरहें

मेरो उपवनमा ठिङ्ग खडा थियो ऊ
एउटा पल्लवहीन र पुष्पहीन ठुटो
वासन्तीको प्रणय याममा
डढेको अनुहार देखाउँदै
आयो मेरो अस्तित्वलाई खान

मैले रोजेको फूल खोस्यो गोधूलीमा
म लड्न खोजें
तर खुट्टाहरू खम्बा बने
म आफै लुटिएको साक्षी बनेर
खडा खडा तमासा हेरिरहें
निर्दयी आततायीले उनलाई हरण गरिरह्यो
डढेलाहरू बलिरहे
मलाई अविरल सल्काइरहे
म मरिरहें

मेरो सपना भङ्ग हुँदा कोइली रोए
सुगा र शारिकाले शोक गीत गाए
विशाल साल वनले बलिन्द्र आँसु झारिरह्यो
जुरेलीले प्रणय अस्वीकार गर्‍यो
भनिदियो ‘म यो सालको मदनोत्सव त्याग गर्दछु’
झरनाले रुँदै नुनिलो आँसु झारिरह्यो
फुकिढल चैते वानरले बरु काफल खान मानेन
सुस्तरी मेरो कानैमा भन्यो
‘तिम्रो सपना मरेकोमा सुतक बारेको छु
प्यारीसँग वासन्ती लीला अर्को ऋतुलाई सारेको छु’
परन्तु मेरो सजातीय मानवले मलाई रेटिरह्यो
म मरिरहें

निद्राबाट जाग्न नपाउँदै सुन्दर बाग वैलाएर गयो
हात पाऊ गलिरहे उल्लास बिलाएर गयो
दुई पाइला सार्दासार्दै पातहरू झरिरहे
फक्रन नपाई कोमल कोपिला बलिन्द्र आँसु रोइरहे
साथ दिने कोही रहेन धोकेबाज दोस्त गए
सुदिनका इस्टहरू कुदिनमा दुष्ट भए
दुर्दिनमा जगत बिरानो स्वार्थी मुन्टो लुकाइरह्यो
म मरिरहें

कत्रो दुर्दशा त्यो विकराल निशामा
चन्द्रमा बरु रोयो मध्यरातको अश्रुपातमा
जुनकिरी बाटो देखाउन आयो घनघोर नीरवतामा
बरु भाले बासेर शीतल बिहानीको सन्देश दियो
शीतका तरेलीहरू सजल नयनले मलाई हेरिरहे
परन्तु मान्छे पग्लेन झनै दागा धरिरह्यो
म मरिरहें

मेरो असह्य अवसानमा कुञ्जहरूमा शोक छायो
मेरी उनको दूर गमनमा न्याउली चरीले विरह गायो
’सहानुभूति छ है ?’ भन्दै वासन्ती वायुमा सुवास हरायो
‘नरो दु:खी आत्मा यो जगत पापी छ’ भनी
प्यारो गण्डकी सुसाउँदै गयो
धौलागिरीले बरु ‘यतै आ म शरण दिउँला’ सन्देश पठायो
परन्तु म सकसमा पर्दा
निष्ठुर मनुष्य भने तडतडी ताली बजाइरह्यो
म मरिरहें

प्रतिक्रिया