आत्महत्या समस्या समाधानको बाटो होइन है भन्ने म भन्दा बलियो उदाहरण मैले अर्को अहिलेसम्म भेटेको छैन। टेलिभिजनको स्टूडियोबाट प्रत्यक्ष प्रशारण सकेर निस्कँदाको मेकअप पनि नपुछि जेल परेको अनुभव छ मसँग। नौ महिना एक्काईस दिनको जेलजीवनमा मैले तीनपटक आत्महत्या गर्ने प्रयास गरें। जेलभित्र अनि आत्महत्या सम्झँदै पनि आङ सिरिङ्ग हुन्छ। हरेक पटकको प्रयास असफल भयो, त्यसको एकमात्र कारण हो— मेरो आत्मबल। मेरो विवेकले मलाई दिएको सकारात्मक सन्देश नै मेरो प्राण बचाउको कवच बन्यो।
कतै आत्मदाह त कतै आत्महत्याको दुःखद् श्रृंखला दिनहूँ बढ्दो छ हामी पटक्कै सम्वेदनशील देखिँदैनौं। पिडादायी आत्महत्याका घटना संचारमाध्यमका लागि थप एउटा समाचार बन्छ, प्रहरीलाई अनुसन्धानको थपभार अनि आफन्त र शुभचिन्तकलाई हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्न तँछाडमछाड! कति दयाहीन बन्दैछ मान्छे?
दुःख, कष्ट, ऋण, प्रेमील सम्बन्धमा अवरोध यस्तै यस्तै घटनाक्रम जोडिएर आत्महत्याका समाचार बाहिरिन्छन्। रहरले वा अनुभवका लागि कसैले गर्दैन आत्महत्या! आत्महत्या दुर्घटना हो, दुर्घटना प्लान गरेर हुँदैन “एक्सिडेन्ट एक्सिडेन्ट्ली हुन्छ” भन्ने मेरो विश्वास हो। एउटा सवारी चालक स्टेरिङमा बसेपछि आफू बाहेक सडकमा हिँड्ने सबै पागल हुन् जतिखेर पनि सवारीको अगाडि आउन सक्छन् भन्ने हेक्का सवारी चालकले स्टेरिङ नछोडेसम्म राख्नुपर्छ।
यत्ति सचेतनाले दुर्घटना आफ्नो कावुमा रहन्छ। यी शब्दहरु रचिरहँदा मलाई त्यो नौ महिना एक्काईस दिन जेलमा बितेको कालखण्ड झल्झली याद आइरहेको छ। जेलभित्र पहिलो पटक आत्महत्याको प्रयास गर्दा असम्भव भएर सफल हुनसकिनँ। दोस्रो पटक समयले साथ दिएन। तेस्रो पटकमा मेरो विवेकले मलाई भन्यो ‘तँ किन पटक पटक आत्महत्याको प्रयास गरिरहेको छस? तँ अपराधी नै होस्? तैंले अपराधै गरेको होस् भने गर आत्महत्या होइन तँ निर्दाेस छस् जालझेलमा परेको होस् भने तैले बाँच्नुपर्छ।’ हो यत्ति, ब्रम्हसत्यले बाँचेको मान्छे हूँ म!
परिबन्द र परिवेसलाई जसरी अर्थ्याए पनि निचोड घेराबन्दी नै हो। दुश्मनले घेराबन्दी गरेपछि सिपाहीसँग हुने विकल्प भनेको कि आत्मसमर्पण या लडाईं। मेरो हकमा मैले भोगेको कठीन क्षण पनि त्यो घेराबन्दीमा परेको सिपाहीकै अवस्था हो। आत्महत्या त सिपाहीको कायरता हो। झुटो आरोप प्रत्यारोपसँग लड्ने भिड्ने भनेकै संयमता र विवेक हो भन्ने कुराको आत्मवोध गर्ने सुवर्ण अवसर पाएको मान्छे हूँ म। सत्य जहिले पनि सत्य नै हुन्छ सत्यमाथि असत्यको हैकम टिक्दैन भन्ने सत्यको साक्षी पनि हूँ म।
यी सबै कथन भन्दा शक्तिसाली अर्काे अदृश्य महाशक्ति हो अध्यात्म। सत्य र असत्य, पाप र धर्म यो ब्रम्हाण्डको चलायमान औजार रहेछ, यो चेत मैले जेलजीवनबाट प्राप्त गरेको उपलब्धि हो। त्यसैले त मलाई जालझेल गर्ने प्रति कत्ति पनि वैरभाव छैन मसँग। जीवन परिवर्तन र संघर्षको मैदान हो। मैदानमा खडा भैसकेपछि अनेकन दिनचर्या भोग्नुपर्छ। घामपानी र दिनरात भनेजस्तै सत्य हो दुःख र सुख।
अष्टावक्रले राजा जनकलाई दीक्षान्त गर्दा सोधेका थिए— ‘राजा जनक तिमी त राजा, दरवारमा सुखसयलमा बाँचेको तिमी यो जंगलमा बस्दा तिमीलाई सकस होला!’ ‘गुरूदेव जेजस्तो कठिनाई होस् म भोग्न तयार छु’ भनेर राजा जनकले अष्टाबक्र समक्ष प्रतिवद्धता प्रकट गरेपछि मात्रै अष्टाबक्रले राजा जनकलाई दीक्षा दिएका हुन्। यो ज्ञान मैले जेलजीवनमा आर्जन गरेको सम्पति हो। मैले यो संस्मरण यहाँ प्रस्तुत गरिरहँदा एकजना कर्मवीरले आत्मदाह गरेको नमीठो दृश्य हेरिरहेको थिएँ। मान्छे किन आफ्नो बसमा छैन? मान्छेलाई जीवनको महत्व र त्यो जीवनयापन गर्ने सत्मार्गको चेत कसरी दिमागमा घुसाउने?
बस्, यही चिन्तनमा जागा रहेर मध्यरातमा तयार पारेको यो लेखको मकसद अब आइन्दा यस्ता आत्मदाह र आत्महत्या जस्ता क्रुरताको सामना गर्न नपरोस् भन्ने नै हो। मनुष्यले पाएको यो चोला यसरी दुरूपयोग नगरौं, जीवनको अनादर गर्नु हुँदैन। यति राम्रो मनुष्यको चोला जावो ऋण, बिछोड र दवावले नष्ट गर्ने हो? कदापी होइन, आफ्नो बहुमूल्य चोलालाई त्यसै खेर नफालौं। दुःखकष्ट भनेको त ईश्वरले मनुष्यको परीक्षा लिएको हो। दुःखकष्टको सामना गरेर खरो उत्रने मात्रै सफल मान्छे हुन्, आत्महत्या त लाछीको चिनारी हो, नभुलौं।
मृत्यु त हरेक प्राणीले जन्मदै लिएर आएको छ। कालगतिले वरण गर्नुपर्ने मृत्युलाई अकालमै मृत्यु शैयामा नपुर्याउँ भन्ने मेरो अनुनयविनय छ हरेक मान्छेलाई। बडे बडे राजा महाराजाहरू आए गए कसैले पनि आफुसँगै राज्य लगेनन्। कर्म छोडेर गएका कर्मवीरहरू अस्ताएको जुगजुग बितिसक्दा पनि तिनका कर्मकृति हराएको छैन। हो त्यस्तै जुगौंजुग बाँच्ने कर्म गरौं मित्र हो, यो जुनीमा अर्काे जुनी त खै के खै के। कसो ?
प्रतिक्रिया