काठमाडौं । नेकपा(एमाले)मा सर्वसम्मतीले नेतृत्व चयन गर्न अध्यक्ष केपी ओली असफल भएका छन् । उनले अघि सारेको ३०१ सदस्यीय केन्द्रिय सदस्यको सूचीलाई ३२ जनाले चुनौती दिए र ३३३ जना चुनावी मैदानमा देखा परे ।
अध्यक्षमै ओली सर्वसम्मत हुन सकेनन् । उनलाई भीम रावलले ठाडै चुनौती दिए । ओलीले एमालेमा लादन खोजेको ‘सर्वसम्मती’ नामक एकल एकाधिकारको मनसुवा भने पुरा भएन ।
यी पँक्ति लेखिरहँदा महाधिवेशन प्रतिनिधिहरुले मतदान पुरा गरिसकेका छन् र मतगणना जारी छ । यसमा कुनै शँका छैन, अब चुनीने एमाले नेतृत्वमा अध्यक्ष ओलीका वफादारहरु नै हुनेछन् । तर, केही व्यक्ति यस्ता छन्, जसलाई हार महंगो र पिडादायी हुँदैछ ।
अध्यक्ष ओलीले आफ्ना अति अनन्य इश्वर पोखरेललाई बरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाइसकेका छन् । ओलीपछिको एमालेका सर्वेसर्वा अब दुइ पोखरेल नै हुन्, अन्य उपाध्यक्ष र उप महासचिवहरु यीनकै खटनपटनमा रहनुपर्नेछ ।
तैपनि उपाध्यक्षमा कसले हार्ला भन्ने चौतर्फी कुतुहल छ । किनकी, उपाध्यक्षमा कसले जित्ला भन्ने हैन, कसले हार्ला भन्ने कुराले अर्थ राख्छ । उपाध्यक्षमा भएको निर्वाचन परिणामपछि एमालेमा कुनै एक महत्वाकांक्षी पात्रको राजनीतिक हैसियत नै धरापमा पर्नसक्छ ।
घनश्याम भुषाल हारे भने उनी केन्द्रीय सदस्यमै सिमित हुनेछन् र त्यसपछि एमालेको वैचारिक आधार स्तम्भ धरमराउनेछ । घनश्याम भुषालजस्ता नेता एमालेमा हारेको खण्डमा यो पार्टीमा निषेधको राजनीति’ दरिलैसँग हावी भएको मानिनेछ, जहाँ फरक विचार, समूह या व्यक्तिको कुनै गुन्जायस छैन । घनश्यामलाई यो हार र अपमानको कालकुट विष पिएर बसीरहन कठिन हुनेछ ।
औडाहा भएपछि उनले माधव नेपाल नेतृत्वको एकिकृत समाजबादीलाई गोसाइकुण्ड बनाउलान् या अपमानको विष कण्ठमै राखेर ‘निलकण्ठ’ सरह एमालेमै टिकीरहने छन् ? त्यो भने आगामी दिनले देखाउनेछ ।
रामबहादुर थापा ‘बादल’ हार्दा माओबादी केन्द्र छाडेर एमालेमा ओलीसँगै रहनुको उनको औचित्य समाप्त हुनेछ । उनको तिब्र महत्वाकांक्षामा ब्रेक लाग्नेछ । एमालेको उच्च नेतृत्व कोटरीमा उनको पहुँच हुनेछैन । उनले केन्द्रीय सदस्यका रुपमा पोखरेल बन्धुहरुको दबदबा सहेर बस्नुपर्नेछ या पुरानै माउपार्टी अर्थात माओबादी केन्द्रमा फर्किने हो कि भन्नेबारे सोच विचार गर्नुपर्नेछ ।
तिब्र महत्वाकांक्षी विष्णु पौडेल उपाध्यक्षमा हारेमा एमालेमा उनको पदीय भूमिका खस्कनेछ र पार्टीमा उनी शंकर पोखरेलभन्दा कनिष्ठ हैसियतमा पुग्नेछन् । पोखरेल र पौडेल दुबै लुम्बिनी प्रदेशका अनुहार हुन् । उनीहरुविच अध्यक्ष ओलीको उत्तराधिकारी को बन्ने भन्ने पहिलेदेखि नै प्रतिश्पर्धा थियो, यसमा शंकरले बाजी मारेको ठहरिनेछ । ओली कित्तामै पौडेलको राजनीतिक ओज र चुरीफुरी स्वाट्टै घटनेछ ।
पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ हारे पनि झन सकसमा पर्नेछन् । वरिष्ठ उपाध्यक्षकै महत्वाकांक्षा पालेका नेम्वाङले उपाध्यक्षमा पनि हार्नु भनेको उनका लागि प्रतिष्ठाकै अवमूल्यन हो । उनले यसअघि अध्यक्ष ओलीबाहेक अरुलाई नेता नमान्ने बताइसकेकाले हारेको खण्डमा उनलाई ‘वरिष्ठ नेता’ नामक मानका खातिर मान दिएर व्यवस्थापन गरिने संभावना छ ।
भूमिगत कालदेखि माले हुँदै एमालेसम्मको राजनीतिमा महिला फाँटमा शक्रिय अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा हारिन् भने एमालेको पदाधिकारी समुहमा महिलाको उपस्थिति कमजोर हुनेछ । एमाले नेतृत्व लैंगिक मैत्री देखिनेछैन । महिलाको भावनाको प्रतिनिधित्व एमालेले नगरेको ठहरिनेछ । युवराज ज्ञवालीले उपाध्यक्षमा हार्दा पुरानो, अनुभवी र वैचारिक नेतृत्व दिनसक्ने व्यक्ति किनारामा पर्नेछन् ।
पार्टीमा विधि, पद्धती, लोकतन्त्र र व्यवस्थित सँगठनात्मक सिद्धान्त लागू हुन नसक्दा र कुनै एक व्यक्तिको प्राधिकार र लहडमा पार्टी संचालन हुँदा देखिने दृश्य यस्तै हो ।
जुन हिसाबले नेतृत्व चयन हुँदैछ, त्यसले दशौं महाधिवेशनपछि एमालेमा असन्तुष्टी र तिक्तताको क्रम बढाउने देखिन्छ । ओलीको एकलौटी हैकम र नेतृत्व अनि अवसरबाट विस्थापित अनुहारहरुले वैकल्पीक बाटो रोज्नसक्ने आधार खडा हुनेछ । एमालेभित्र जन्मीने असन्तुष्ट समूहका लागि विकल्प पनि छन् । या त उनीहरु माकेतिर लहसीनेछन्, या एकिकृत समाजबादीतिर ।
यो संभावनालाई रोक्न र पार्टीमा एकताको बातावरण बनाउन अध्यक्ष ओली असफल भएका छन् । दुइ तिहाई बहुमतको कम्युनिष्ट सरकार जोगाउन नसक्नु, एकिकृत कम्युनिष्ट पार्टीको रक्षा गर्न नसक्नु र एमालेलाई विभाजनबाट रोक्न नसक्नु ओलीका हालसम्मका असफलता थिए नै, महाधिवेशनलाई साँच्चीकै ‘एकता महाधिवेशन’ बनाउन नसक्नु उनको चौथो असफलता हो ।
प्रतिक्रिया