जिउनुमा सार थियो

bhagawat khanalतिम्रो सान्निध्यका मोहनभोग झैँ  मोहक श्वासहरू 
तिम्रा पसिना सृजित मिहिन मनोहर सुवासहरू 
तिम्रो प्रश्वासका मनै उक्साउने न्याना न्याना ऊष्माहरू 
कसरी बिर्सनु परेलीका मनोहारी रिमझिमहरू 
तिम्रो मुस्कानमा हृदयभरि ढुकढुकीको पारावार थियो 
तिमी साथमा थियौ र पो जिउनुमा सार थियो 

मधुमय वाणीमा भन्थ्यौ  ‘झन सुन्दर देखियौ प्रिय !’ 
भावातिरेकमा चञ्चल  हृदयको स्पन्दन तीव्र गराउँदै 
छट्पटाउँदो मेरो छातीमा हात राखेर भन्थ्यौ 
‘कति मृदु ढुकढुकी यो ! सधै छामिरहुँ जस्तो’  
तिमी हुँदा यतै कतै जिन्दगीमा बहार थियो 
तिमी साथमा थियौ र पो जिउनुमा सार थियो 

एउटा हातमा फूल लिएर तिम्रो सामु पुगेको थिएँ 
‘मैले दिनसक्ने उपहार यही हो प्रिय’ 
फूल सुँघेर आहा ! गरी अर्धमुदित नयनले हेर्दै भन्यौ 
‘काँढामय अहङ्कारभन्दा निर्दोष  फूल अमूल्य थियो  
अभिमानी हार चाहिन्न निश्छल फूल बहुमूल्य थियो’ 
तिमी साथमा थियौ  र पो जिउनुमा सार थियो 

तिम्मी नहुँदा घनघोर निशामा तकिया भिजे 
तिम्रो तस्बिरमा अविरल अविरल अश्रुपात भयो 
त्यसै त्यसै यो मन उन्मादी हुँदा सम्झनामा यदाकदा 
‘म आउनेछु प्रिय’ भन्दै बोलायौ झैँ महसुस भयो 
सपनीको बहकाइमा पनि चुरा बजे सरी भयो 
तिमी साथमा थियौ  र पो जिउनुमा सार थियो 

वनमा शीतका थोपाहरू शनै: शनै: ओभाउँदै थिए 
चिसो बाफ माथि माथि गगनतर्फ उड्दै थियो 
तिमी देखिएकी थियौ धूप छायामय शीतलुमा 
तिम्रा लाल कपोल र लज्जाशील स्निग्ध अधरहरू 
मुस्काउँथे सकाम भावमा प्यारो प्यारो आलिङ्गन थियो   
तिमी  साथमा थियौ  र पो जिउनुमा सार थियो 

म रोएका असाइतहरूमा तिम्रो ठूलो साथ थियो 
तिम्रो स्वच्छ अनुरागमा मृदुल मृदुल मात थियो 
मधुरस झैँ  सरस सलील अनन्त त्यो रसैरसमा 
अमर प्रेमको सुन्दर लता झैँ अविस्मरणीय मुहार थियो 
सप्रेम प्रमादी नशा नशामा अनङ्गको प्रहार थियो 
तिमी साथमा थियौ र पो जिउनुमा सार थियो 


 

प्रतिक्रिया