-कुसुम भट्टराई
काठमाडौं । गायिका विष्णु माझीको स्वरमा एउटा गीत खुबै प्रख्यात छ, ‘सालको पातको टपरी हुनी, नहुनी सल्लैको’ ।
विवाह भोज, पिकनिक र पारिवारिक जमघटमा मानिसहरु यही गीत बजाएर नाच्छन् । नाच्न त ‘सालको पातको टपरी’ को धुनमै नाचिन्छ, तर यस्ता जमघटमा खानाका परिकार चाहिँ प्लास्टिक या थर्मकोलका भाँडामा पस्किने गरिन्छ । अल्मुनियम फोइल कोटेड प्लेट चल्तीमा छ ।
केही वर्षअघिसम्म गाउँघरतिर भोज भतेरमा सालको पातले बनेका दुना टपरीको प्रयोग हुन्थ्यो । दशैंमा टिका थापेपछि सालको पातका दुना टपरीमा सेल÷फिनी रोटी, छिप्पिएको काँक्रोको खाँदेको अचार र केरा राखेर दिइन्थ्यो । तिहारमा दिदी बैनीले भाइटिका लगाइदिएपछि ठूलो टपरीमा रोटीका परिकार, मसला, फलफूल राखेर दिँदाको रौनक नै अर्कै हुन्थ्यो ।
चाडपर्व आउनु एकमहिनाअघि वन जंगलबाट मुठाका मुठा सालका पात ल्याइन्थ्यो । घरका महिला एकै ठाउँमा बसेर दुःख सुखका गफ गर्दै बाँसका मसिना छेस्काले दुना र टपरी गुत्थे । साल सुगन्धबाटै चाड पर्व संघारमै आएको आभास हुन्थ्यो ।
अचेल शहर आधुनिकताको चंगुलमा फसिसक्यो, गाउँघरमा पनि सालको पातका दुना–टपरी करीब करीब हराउँदैछन् । यसपाली दशैंमा घर जाँदा पंक्तिकारले अनुभव ग¥यो, हरेक घरमा टिका लगाएपछि प्लास्टिकको ‘यूज एन्ड थ्रो’ कचौरामा राखेर दही, केरा र स्याउका टुक्रा मिसाएर दिइयो, द्ुना टपरीको गन्ध कतैबाट आएन । यसपाली छिप्पिएको काँक्राको अचार पनि चाख्न पाइएन, बरु पातलो प्लास्टीकका गिलासमा राखेर कोल्ड ड्रिंक्स दिइयो ।
अचेल कनिकुथी श्राद्ध या पूजाआजामा मात्र प्रयोग हुने सालको पातसँग नेपालीको बढदो दूरीले स्पष्ट गर्छ, हामी प्रकृतिबाट टाढिदै छौं । हाम्रो जीवन आधार सालको वन जंगलसँगको हाम्रो घनिष्ठता पातलिँदैछ । तराइको बन फँडानी, चुरे विनास र प्रकृति दोहनका कारण माटो, बनस्पति र अन्य जीवजन्तुसँगको हाम्रो मैत्री बिथोलिएको छ । हामी प्राकृतिक हैन, कृत्रिमतातिर अग्रसर छौं ।
प्लास्टीकमाथिको हाम्रो निर्भरता बढ्दैछ । सालको पातको संस्कृतिलाई विस्थापित गर्दै गाउँघरमा पातला प्लास्टिकका कप र प्लेटको प्रयोग भरमार छ । मिनरल वाटरका बोतल यत्रतत्र सर्वत्र देखिन्छन् । नदी, ताल, तलैया, झरना र जंगल आसपास हामी देख्छौं, जथाभावी फालिएका र व्यवस्थापन नगरिएका बियर र ह्वीस्कीका बोतल, क्यान, चाउचाउका प्याकेट, मिनरल वाटरका बोतल, कुरकुरे, लेजदेखि सुर्ती र गुटखाका खोलको फोहरले हस्तक्षेप गर्दैछ ।
प्लास्टीकमा पोको पारिएका सुक्ष्म पोषणरहित तथा प्रिजर्भेटिभले युक्त जंकफूड र फास्टफूडको जगजगी छ । सिसाको चिया गिलासलाई प्लास्टीककै यूज एन्ड थ्रो गिलासले पछाडि धकेल्दैछ । प्लास्टीकका प्याकेट जथाभावी फालिन्छ । मिनरल वाटरका बोतल र प्लास्टीकका पोकाहरु नदी हुँदै समुद्रसम्म पुगिरहेका छन् र प्लास्टीक खाएर समुद्री डल्फीन र अन्य माछा मरिरहेका छन् । हेक्का रहोस् प्लास्टीक गल्न हजारौं वर्ष लाग्छ ।
सालको पातको संस्कृतिसँग हाम्रो जीवनशैली अडिएको थियो । वृक्षका पात केही दिनमै प्रांगारिक मलमा परिणत हुन्छन् र त्यसले माटोको उर्वराशक्ति बढाउँछ । र यो समग्र पक्षमा हाम्रो संस्कृति, स्वास्थ्य, मौलिकता र आत्मनिर्भरता पनि जोडिएको थियो, जुन अब खण्डिन हुँदैछ ।
सालको पातको टपरी गाँसेर
पातसँग मानिसको सम्बन्ध अटुट छ । नेपाली जनजीवनमा मात्र हैन, विश्वकै मानव सभ्यतामा पातको भूमिका छ । पातपतिंगर खाएरै प्राणी हुर्किए । प्राकृतिक विपत्तिबाट पातकै ओत लागेर बाँच्दै आए ।
सुरुमा मानिस पातमै खान्थे । पातकै पोशाक लगाउँथे । ‘भोजपत्र’ नामक ठूलो पातमै बाँसको कलमले लेख्थे । सामुहिक भोज, चाड पर्वमा पातबाट निर्मित टपरीमै खाइन्थ्यो । आधुनिकतासँगै भाँडाको चलन आयो, पातमा खाने परम्परा हराउन थाल्यो ।
पातमा राखेको खानालाई हातले ग्रहण गर्नु (चम्चाले हैन) प्रकृतिसँग मानिसको आत्मीय स्पर्श हो । आयुर्वेदका अनुसार केराको पातमा भोजन गर्दा चाँदीको भाँडोमा भोजन गरेभन्दा बढी लाभ हुन्छ । रक्त अशुद्धी र पाचनतन्त्रमा गडबडी भएमा पलाँसको पातबाट बनेका दुना टपरीमा भोजन गर्दा लाभ हुन्छ । सालको पातमा त झन धेरै औषधिय गुण छन् ।
कान, छालाका रोगमा सालको चोप प्रयोग गरिन्छ । सालको फल छारे रोग, रक्त विकार, दाँत, कपाल र अन्य रोगमा उपयोग गरिन्छ । आचार्य चरकले आर्युवेदको पुरानो ग्रन्थ ‘चरक संहिता’ मा हातले मुछेर पातमा राखेको खाना खाँदाको स्पर्श लाभबारे चर्चा गरेका छन् ।
‘पातको थालमा खाने अभ्यासले जुन स्पर्श अनुभूति गराउँछ, त्यसले मनमा सवै संवेगी अंगलाई जगाउँछ । भोजन स्वस्थ र पुष्टीदायक हुन्छ’, चरक संहितामा उल्लेख छ ।
साल वृक्षले प्रकृति संरक्षण मात्र गर्दैन, वन आसपासको जनजीवनलाई बहुआयामिक लाभ दिन्छ । सालको काठ मात्र हैन, फल, बोक्रा, पात, फूल र चोपसमेत उपयोगि हुन्छ । सालको विउ साबुन र श्रृंगार प्रशाधन बनाउन उपयोग गरिन्छ ।
हिउँदभरी वृक्षबाट झरेका पातहरुको डंगुर कुहिएपछि वर्षायामा त्यसबाट डल्लो आकारको च्याउ निस्कन्छ, जुन तराइका बासिन्दा स्वाद मानेर खान्छन् । पंक्तिकार केटाकेटी हुँदा कपिलवस्तुको सालझण्डी र कोठी नदि आसपास ‘भुडकी च्याउ’ खोज्न जान्थ्यो, जुन सालका पातको थुप्रोमा भेटिन्थ्यो । कसैकसैले सालको फल र महुवाको फूल एकसाथ पकाएर पनि खान्थे ।
सालको मुख्य विशेषता भनेको काठ नै हो, जसबाट घरका झयाल, ढोकाका खापा, पलङ, दराज, सोफा, बस–ट्रकको बडी र रेलको पटरी बनाइन्थ्यो । अचेल काठको साटो अल्मुनियम, प्लास्टीक र अन्य नयाँ नयाँ सामग्रीले ओगट्न थालेको छ । सालको अग्राख महँगो ह्ुँदैछ ।
सालको वृक्ष पवित्र मानिन्छ । विवाह, ब्रतबन्ध या अन्य वैदिक अनुष्ठानमा बनाइने मण्डपमा चार कोणमा केराको खम्बासहित साल वृक्ष पनि राखिएबाट यसको पवित्रता आँकलन गर्न सकिन्छ । भारतमा वन आसपास बसोबास गर्ने आदिबासी जनजातीले शुभकार्यमा निम्तो दिँदा सालको टपरीमा बेसार र चामल राखेर दिने चलन छ । श्राद्ध र पुजाआजामा सालको पात नभइ हुन्न ।
विदेशमा बढ्दो माग
नेपालमा सालको पातको प्रयोग कम हुँदै गएको भए पनि जर्मनीमा सालको पातको लोकप्रियता बढ्न थालेको धेरै भइसकेको छ । केही वर्षअघि जैविक संस्कृतिलाई बढावा दिने नाममा त्यहाँको ‘लिफ रिपब्लीक’ ले पातबाट दुना टपरी बनाएर बेच्न थालेको थियो । ‘नेचुरल लिफ प्लेट्स’ भन्दै कम्पनीले सालको पातबाट निर्मित एउटा प्लेटकै १२ सय नेपाली रुपैयाँ मूल्य राखेको थियो ।
सन् २०१६ मा ‘लिफ रिपब्लीक’ले पातबाट बनेका थाल, ट्रे र कचौरा लन्च गर्दै पातको प्लेटको आविष्कार जर्मनीमै भएको दावी गरेपछि भारत र नेपालमा त्यसको व्यापक आलोचना भएको थियो । यो कम्पनीले बनाएका टपरी पूर्ण जैविक भने थिएनन् । पातका दुइ पत्रवीच जलरोधक कागज र सबैभन्दा माथि बायो प्लास्टीक ढक्कन राखिएको थियो ।
प्लास्टीक, गम, तेल र अन्य रसायन मिसाएर स्वचालीत मेशीनबाट उत्पादित सामानको प्रयोगबाट बनाइएका दुना टपरीलाई उनीहरुले जैविक दावी गरेका थिए, जसको पोल खुलीहाल्यो । प्रभावशाली डिजाइन र बलियो बजार व्यवस्थापन भए पनि यसका उत्पादनले बजार लिन सकेनन् । लिफ रिपब्लीक सन् २०१८ मा बन्द भयो ।
जर्मनीको अर्को कम्पनी ‘लिफ’ ले बायोडिग्रेडेबल टेबेलबेयर बेचिरहेको छ । युरोपकै सबैभन्दा ठूलो पाम लिफ उत्पादक भएकोमा यसले गर्व गर्दै आएको छ । यसले पनि पातबाट बनेका टपरी निर्यात गर्दै आएको छ ।
अमेरिकाको न्यूयोर्क इन्स्टीच्यूट अफ टेक्नोलोजीमा मेकानिकल इन्जीनियर अध्ययन गरिरहेका प्रकाश बजगाईको पहलमा केही वर्षअघि अमेरिकामा ‘लिफ प्लेट्स इनिसियटिभ्स’ गठन भएको थियो । कागज र प्लास्टीकका उत्पादनलाई विस्थापित गर्दै नेपालका दुना टपरीलाई अमेरिकाको बजारमा स्थापित गर्न उनले ‘लिफ प्लेट्स’ कम्पनी पनि खोलेका थिए ।
उनले नेपाल, भारतलगायतका मुलुकबाट दुना टपरी मगाएर अमेरिकाका रेस्टुरेन्ट र समुदायमा विक्री बितरण थालेका थिए । अहिले त्यहाँका नेपाली समुदायले उतै पनि दुना टपरी गाँसेर विक्री वितरण गर्न थालेका छन् ।
दुना, टपरी र बेहोता बनाएर युरोपदेखि अमेरिकासम्म निर्यातको व्यापार पनि सुरु भएको छ । सिन्धुली, दुधौली–११ का महिलाले उत्पादन गरेका दुना टपरी युरोपसम्म निर्यात हुन्छ । महिला उद्यमी महासंघ, काठमाडौंको पहलमा यस्तो कारोबार भएको हो । अहिले त्यहाँ महिलाले दुना टपरी कारखाना नै खोलेका छन् । अन्य जिल्लामा पनि यस्तो व्यवसाय सुरु भएको छ ।
मेसिनले स्टीच मारेका पाते प्लेटहरु पनि बजारमा विक्रीका लागि राखिएको पाइन्छ । कतिपय ठाउँमा मःम, पानीपुरी, मिठाइ यस्ता प्लेटमा राखेर दिने गरिन्छ । यद्यपी, आम रुपमा यस्ता पाते प्लेट र कचौरालाई प्लास्टीक र अल्मुनियम फोइलले विस्थापित गरिसकेको छ । उही, सांस्कृतिक झाँक्री प्रदर्शनका सिलसिलामा पर्यटकलाई दुना टपरी गुथ्न सिकाउने, दुना टपरीमा ढिँडो र गुन्द्रुक खुवाउने कर्मकाण्ड चाहिँ देखिन्छ । तर, अब यो आम जीवनशैलीको अपरिहार्य अंग हुन छाडेको छ ।
ब्राण्ड बनाउने कोशिस
नेपालमा पनि दु्ना टपरीको मौलिकतालाई व्यवसायमा ढाल्न एकथरी नलागेका हैनन् । पोखराको पामेस्थित फेवाताल किनारमा ‘दुना टपरी’ नामक भोजनालय छ, जहाँ दुना टपरीमा राखेर मौलिक नेपाली खानाका परिकार दिइन्छ । दुना टपरीका अन्य शाखा पनि खुल्दैछन् ।
मःमको लोकप्रियतासँगै यसका अनेक परिकार बजारमा छन् । यस्तैमा बजारमा आयो, ‘बोता मःम’ । अहिले नेपालभरी यसका आउटलेट छन् । सालको पातबाट बनेका बोतामा राखेर मःमका थुप्रै परिकार सर्भ गरिन्छ । मौलिक नेपाली संस्कृति झल्किने भएकाले बोता मःमको बजार बढ्दैछ ।
नेपालमा लकडाउनकै क्रममा फुरेको रचनात्मक सोच हो, ‘द साल लिफ’ । विनिशा श्रेष्ठ र सपना शाक्यले मिलेर स्थापना गरेको ‘द साल लिफ’ ले सालको पातको सुवासहित खानाका परिकार डेलिभिरी गर्दै आएको छ ।
खानालाई अल्मुनियम फोइलको बट्टामा राखेपनि त्यसभित्र सालको पात ओछयाईन्छ । विनिशाका अनुसार सालको पातमाथि तातो खाना प्याक गर्दा खानाको स्वाद र सुगन्ध फेरिन्छ ।
सुरुमा स्कुटरमा राखेर खाना डेलिभरी गर्दै आएका यी दुइ चेलीले सालको यसखालको उपयोग गर्नु प्रशंसनिय छ । अझ, दुना टपरीमै खाना बितरण गरे प्रकृति र संस्कृति दुबैका दृष्टिले उपयुक्त हुन्छ ।
तर, सालको सत्यानाश
ग्लास्गोमा जब यतिबेला ‘कोप–२६’ नामक जलवायु परिवर्तन सम्मेलन चलिरहेको छ, यस्तोबेला हाम्रो प्राकृतिले विनाशको कोप कसरी सहीरहेको छ भन्ने चर्चा गर्नैैपर्ने हुन्छ र यसमा पनि सालकै कुरा आउँछ ।
साल वृक्षसँग नेपालको प्रकृति, संस्कृति र संस्कार अन्योन्याश्रित भए पनि यसको संरक्षण हैन, विनास नै भइरहेको छ । पच्चिस सय वर्षपहिले भगवान ब्ुद्धले जुन साल वृक्षको घना जंगलमा विचरण गर्दै घोर तपस्या गरे, त्यो सालको जंगल अहिले अधिकांश मासिइसकेको छ ।
राणा शासनदेखि पंचायत हुँदै अहिलेको गणतन्त्रकालमा पनि सालको जंगल फँडानी रोकिएको छैन । विकास आयोजना प्रकृतिमैत्री हुन नसक्दा अनेक बहानामा सालको जंगल फाँड्ने क्रम जारी छ ।
कुनैबेला ‘हरियो बन नेपालको धन’ भनिन्थ्यो, जसमा साल वृक्ष प्रमुख थियो । मधेश, चुरे भावरदेखि पहाडसम्म फैलिएका हराभरा सालका बन जंगलमा समयक्रममा वस्ती विकासले तिब्रता लिँदैगयो । सुकुम्बासी समस्या, चुनावी दाउपेच, बसाइ सराइ र काठ तस्करी आदि अनेक बहानामा सालको जंगल नै मारमा पर्दै आयो ।
तराईमा पंचायतकालमै पुनर्वास योजना अनुसार जंगल फाँडेर वस्ती विकासको क्रम प्रारभ भएको हो । पूर्व–पश्चिम राजमार्गले यातायात र सहज पहुँचको ढोका त खोल्यो, तर यसको घानमा सालकै जंगल पर्न गयो । राजमार्ग आसपास जन घनत्व बढ्दै गयो, जंगल फाँडिदै गयो ।
नेपालमा कुनैबेला ८९ प्रतिशत रहेको बन क्षेत्र राणा शासनकालमा ५९ प्रतिशतमा झ¥यो । बेलायत सरकारले भारतमा रेलको लिक बनाउन चाहिने बलिया काठहरु नेपालसम्म आएर लगेको थियो । सन् १९२७ मा रक्सौल–अमलेखगञ्जसम्म ३९ किलोमिटर रेल नै संचालन गरिएको थियो ।
नेपालको चारकोसे झाडीमा रहेका अग्ला र मोटा साल वृक्ष धमाधम फाँडिन्थ्यो र यही रेलमा राखेर काठमा ओसारिन्थ्यो । सन् १९३७ मा भारतको ब्रिटीस कम्पनी सरकारले जयनगर–जनकपुर रेलवे लाइन निर्माण गर्नुको उद्देश्य पनि नेपालबाट काठ, जडीबुटी र खनिज पदार्थ ओसार्नु नै थियो ।
तीस वर्षे पंचायतीकालमा पनि व्यापक बन फँडानी भयो । जनमत संग्रहताका निर्दललाई जिताउन प्रशासनकै मिलेमतोमा पंचहरुले बन फाँडे । साल वृक्षका बोक्रा ताछेर त्यसमा ‘देशले रगत मागे मलाई बलि चढाउ’सम्म लेख्दै पंचहरुले बन फडानीको उत्पात मच्चाएका थिए । राणा कालको समाप्तीसम्म ५९ प्रतिशत रहेको बनक्षेत्र पंचायतको समाप्तीसम्म ३४ प्रतिशतमा झ¥यो र त्यसपछिका दिनमा यो क्रमशः घटन छाडेको छैन ।
सामुदायिक बनका कारण साल वृक्षको संरक्षणमा केही उपलब्धि भए पनि हिजोआज कहिले फास्ट ट्रयाक त कहिले रेलवे लाइनका बहानामा बन फँडानी चलिरहेकै छ । निजगढ विमानस्थल बनाउनैप¥यो, सालकै सत्यानाश । यहाँ ८ हजार ४६ हेक्टर सालको वन फाँडेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अघि सारिएको छ ।
विद्युत प्रशारण लाइन बनाउनैप¥यो, सालकै काल । डाँडाकाँडामा केवल कार, गाडी, रिसोर्ट, हाइड्रोपावर बन्नैप¥यो, बन जंगल नै ब्याकोलोडर र स्काभेटरको चेपुवामा ।
विकासलाई प्रकृतिमैत्री बनाउन नसक्दा जथभावि बन बिनासले प्रकृति मात्र हैन, हाम्रो संस्कृतिमाथि पनि धावा बोल्दैछ । प्रकृतिमा निर्भर हाम्रो सभ्यतामाथि आयातित सभ्यता र संस्कृति हावी हुँदैछ ।
‘सालको पात टपरी गाँसेर’ गीत गाउन र रमाउन सालको वृक्ष पनि त जोगाउनुपर्छ । कसरी टपरी गाँसिएला र सालको जंगल मासेर ?
१) जर्मनीका ‘लिफ रिपब्लीका’का संचालक ।
२) नेपालको ‘द साल लिफ’का संचालक बिनिशा श्रेष्ठ र सपना शाक्य ।
३) प्लास्टीकको बढदो प्रयोगबाट बढदै गएको प्रदुषण
प्रतिक्रिया