हिँड्दा,
हिँड्नु अघि
सँघार बाहिर निस्कने बित्तिकै
आँखाबाट
एउटा थोपो आँसु खसेर
उसको पाइतालाले
कुल्चिएको चिसो टाटो
अझै सुकेको छैन
दिनहरु बिते
बर्षहरु बिते
र, थुप्रै
दशक एवम्
केही शताब्दी नै बित्यो
उसले घर छाड्दा
सँघारमा खसाएर टेकेको
आँसुको थोपाको चिसो टाटो
मलाई थाहा छैन–
केवल
उसको पीडा मात्र हो कि
मेरी आमाको
सदैव दुखिरहने
र कहिल्यै निको नहुने
दीर्घ रोगको औडाहा पनि हो......
दुख्छ उसलाई हर क्षण
विपन्न हुँदा मात्र दुख्ने होइन रहेछ
सम्पन्न हुँदा पनि दुख्ने रहेछ
हो, आमाको न्यानो काखको
कुनै अर्को
विकल्प
नहुँदो रहेछ !
फेरि पनि
तपाईं परदेशमा बसेर रुनोस्
म तपाईंको आँसुमा
देशमा बसेर आँखाभरि
रुन्छु !
निरन्तर ........
क्रमशः......
पहिला–पहिला त आँसु
आँखाबाट बाहिर निस्कन्थ्यो
तर, क्रमशः.....
मान/अपमानले
ग्लानी/पीडाले
आँखाको भित्रभित्रै
आँसु जम्मै
एकमुष्ट भएर
मुटुमा रुन थाल्यो !
(यस पटक हामीले सशक्त कवि राजेश ढुंगानाको कविता छापेका छौं। विगत चालीस वर्षदेखि कविता लेखिरहेका उनको त्यति नै लामो राजनीतिक जीवन र पत्रकारिता जीवन रहेको छ। २०३६ सालतिर उनी मेची क्याम्पसको छात्र नेता हुँदा उनको भाषण सुन्न विद्यार्थीहरु लालायित हुन्थे।
२०३६ सालदेखि नै लेखन र पत्रकारितामा सम्लग्न उनी कुनै बेलाका प्रसिद्ध पत्रिकाहरु सुरुचि, देशान्तर, विमर्श, स्पेस टाइममा आवद्ध थिए भने अफसेटबाट निस्केको पहिलो पत्रिका साप्ताहिक जनमञ्चको चाहिँ सम्पादक नै थिए। उनको विशेषता भनेको के हो भने राजनीतिमा पत्रकारिता मुछिन्न, साहित्यमा राजनीति र पत्रकारिता मुछिन्न– सम्पादक)
प्रतिक्रिया