मैले भन्ने गरेको छु– नेतासँग सितिमिति फोटो खिच्दिन तर सेलिब्रेटी भेट्दाको मौका भने छोड्दिन !
‘ग्यालेक्सी फोर के’ को निर्माणाधीन भवनमा भाई दिपक पौडेल भेट्न पुग्दा रबिलाई देखेपछि ईच्छा दबाउन सकिन! टिभीमा उनी कन्दनी खुस्किउञ्जेल चिच्याउँदा हत्केलामा ठेला उठुञ्जेल ताली ठोक्ने निरीह मनुवाले आफ्नो रोलमोडलसँगको प्रत्यक्ष भेटको अवसर कसरी पो गुमाउँथ्यो र? उनको चिच्याहट सुन्दैगर्दा पचासौं गुण्डा एक्लै तह लाउने सिंघम जस्तो आफ्नो प्रिय मान्छेसँगको फोटो खिच्ने रहर पूरा गर्न दिपकको चाकडिमा लागें– भाई, फोटो खिचौं न, कुरो मिला !
दिपक भित्र पसेर खै के भन्यो कुन्नी? तुरुन्तै बाहिर आए मेरा सिंघम !
अहा! कति सरल? कति सजिलो मेरो बन्धु? मेरो हिरो! फुर्ति लाउन यसैपनि सिपालु झापाली परें म, झन् “सिधा कुरा” सँग नारिएर खिचेको फोटो देखाएर “साख्खै दाजु” भएको फुर्ति लाउन समेत भ्याईयो! त्यसपछि त “सिधा फोटो सिंघमसँग” पो भईयो !
प्रायः रबिको कार्यक्रम नछुटाउने फोटो सेसन पछि त प्राचिनकालमा साँझ नपर्दै कालो सेतो टिभी अघि चित्रहार हेर्न बसेझैं गर्न थालियो! सिधा कुराका बेला अरुले बाङ्गा कुरातिर च्यानल घुमाउलान् भन्ने त्रासले रिमोट तिघ्रा मुनि घुसाएर बस्न थालियो! काँचको पर्दामा मेरो सिंघम चिच्याउँदा आङ सिरिङ्ग हुने! कपाल ठाडो हुने!
उहिले गङ्गा चित्र मन्दिरको थर्डक्लासमा बसेर हेमा मालिनीको सारी तान्दा सेट्ठिले धर्मेन्द्रको धुलाई खाँदाको मज्जा सिंघमको वाणी धुलाईबाट प्राप्त! त्यो पनि घर बसिबसी! उहिले कुतुबमिनार हेरेजस्तो! धर्मेन्द्रको त मुक्का चल्थ्यो! मेरो सिंघमको त वाणी नै काफी! कोहि विदेश जान पाएन सिंघम! कोहि स्वदेश आउन पाएन सिंघम! कसैलाई गिलो आची आयो सिंघम! कसैलाई सारो आयो सिंघ! खडेखडे संकटमोचन, वाणीबाटै! बिहारीले “बिना अप्रेसन हाईड्रोशिलका सर्तिया ईलाज” भनेझैं !
जिन्दगी रमाईलै चल्दैथियो! मेरो सिंघमले फ्याट्टै टिभी छोड्यो! धर्मेन्द्रले सेट्ठिलाई धुलाई गर्दैगर्दा प्रोजेक्टर बन्द भएजस्तो भो आफूलाई चैं! सिंघम छोडेर जयकान्त हुने खवरले आक्रान्त सिट्ठी बजाईयो! टिनको भित्तामा मुड्की बजारियो! आफ्नै कपाल तानियो तर पार लागेन! प्रेमिका पोईल हिँडे जत्तिकै पिर पर्यो! यसै स्तम्भमा लेखें– “मेरो सिंघम मेची किनारको तस्करझैं असमय बित्यो! एउटा आक्रामक पत्रकार गुम्यो!”
किरा परेको हात! लेख्न त लेखियो नि! असंख्य गालिको बर्षा भो! ‘रबिजस्तो मान्छेको बिरोध लेख्ने?’ आदि ईत्यादी! मेरो हिरोले पत्रकारिता छोडेको कुरो मन नपरेको बेला कुनै गन्हाएका पार्टीको जागीरे हुन जाला कि भन्ने त्रासवीच आफ्नै पसल खोल्ने सुइँको पाएपछि ज्यानले त्राण पायो! मधेसी नेताले दल परिवर्तन गरेझैं मेरो पनि हृदय परिवर्तन भो! आखिर आफ्नै सिंघम जो थियो! नभन्दै मेरो हिरोले आफ्नै पसल खोल्यो चितवनतिर!
हेर्दाहेर्दै सोमले सात पसलमा कब्जा जमायो! पछि फेरि तेह्र थप्यो! मेरो हिरो बीस पसलको साहु भो !
आशा जाग्यो– अब केटाले केहि गर्ने भो! भ्रष्टाचारीलाई टुँडिखेलमा थुपारेर नाकको डाँडी भाँच्ने भो! छिमेकीले “दूध मागो तो खिर देङ्गे, कश्मिर मागो तो चिर देङ्गे” भनेझैं लिपुलेकमा आँखा लाईस् भने ....... भन्दै तर्साएर एक झमटमै लिपुलेक फिर्ता ल्याउने भो! नागरिकता समस्या चुट्की भरमा समाधान हुने भो! बलात्कारको नामोनिसान रहने भएन! भिआईपी सवारी जाम फु मन्तर हुने भो! कलब्रेक खेल्ने चार चार उप प्रधानमन्त्री ठेगान लाग्ने भए! नेता निहुँरिदै राजदुत भेट्न गए मेरो सिंघमले लात हान्ने भो!
जनताको करबाट पालिएका नेता नामका ब्वाँसा तह लाग्ने भए! महँगा गाडी चढ्ने नेता मन्त्रीको घुँडा खुस्किने भो! मानव तस्करी चेलीबेटी तस्करी ठाउँको ठाउँ रोकिने भो! पिर्के सलामी बन्द हुने भो! हैट, के के हो के के? समग्रमा मुलुक रामराज्य हुने भो!
ब्यापारको बोहोनिमै सरकारमा नजाने र बिपक्षी वारी बाटै भ्रष्ट विरुद्ध ढुङ्गा बर्साउने मेरो हिरोको उद्घघोषले मेरो अघिल्लो लेखाई प्रति पश्चाताप महसुश भो! अरु जस्तो ऐरेगैरे हो र? मेरो सिंघम त मेरो सगोत्री गर्ग ऋषिको सन्तान पो त! गर्वले छाती फुल्यो!
फुल्न त फुल्यो नि! फक्रिनै पाएन! केटो त सरकारमा जान खुट्टो पो उचाल्छ यार! मेरो हिरो बिग्रीने भो भन्ने चिन्ता ब्याप्त भो! दारु खान हिँडेको केटो र दर खान हिँडेकि केटीलाई कसले रोक्न सक्छ र? मेरो हिरोले सत्ताको दारु खायो! बिरक्त लाग्दै थियो! मेरो हिरोले चमत्कार देखायो– कुर्सीमा बस्ने बित्तिकै निर्मला फाईलको धुलो फुक्यो! “ए साला कुछ करेगा” शैलीमा ताली पिटियो! अब्दुल कलामको झल्को दिँदै पुलिसको कार्यक्रममा भब्य सोफा हटाएर सामान्य कुर्सीमा बसेपछि फेरि ताली ठोकियो!
चितवनमा बस भित्र उभिएर फोटो पोष्ट्याउँदा फेरि ताली बजाउने जमर्को गर्दैगर्दा झोला चैं आर्मिलाई बोकाएको देखेपछि मुटु हल्का चिसो भो! बेलुका खुकुरी विथ हनिले सेकताप गरेर सामान्य उपचार गरियो! तर जब संसद भित्रै आफ्नै अगाडिको हत्या अभियुक्त मेरो हिरोले देखेन पुरै ज्यान चिसो भो! उनकै दाजुको वाणी स्मरण भो– मेरो भाइ खतरनाक गफाडी हो! स्याल मात गराउने धुर्त हो!
हैट, हैन किमार्थ हैन!
दाजुभाइ भनेका केजातिको पिलो हुन् भन्छन् त्यै होला! भाईको बारेमा गलत कुरा गर्ने दाजु नै फटाहा भन्ने सोच्दैगर्दा झापामै मेरो हिरोको कलेज सहपाठी टुप्लुक्क भेटियो! कलेज देखि अमेरिका हुँदै नेपाल फिर्तीसम्मको कैरनले मेरो सिंघमलाई सोझै जयकान्त सिक्रे मा झार्दियो! उसको कथनले मेरो सर्बाङ्ग चिसो भो!
रत्नराज्य कलेजको पचासको दशक! दिनेश डिसीसँगको ट्वाक्क टुक्क! राजनैतिक चेत बेगरको झिल्के केटो! अन्ताक्षरी समुहको हाउडे! कलेज आउने जाने क्रममा नेवार कन्यासँगको इलुइलु! घरको अस्वीकृति पछि साथिभाईबाट चन्दा संकलन गरि धुतुरु! बागबजारतिरको डेरा भाडाको जोहो समेत साथिभाईकै कृपाबाट! मिरा लामिछानेसँग साईनो गाँस्दै उनकै पहलमा एफएमतिर सानोतिनो जागीर प्राप्त!
जनआस्थाको पत्रकारसँगको हिमखिमबाट पत्रकारिताको मैदान प्रवेश! मिरा लामिछानेकै प्रयत्नबाट अमेरिका प्रवेश पछि बर्गर हाउसको जागीर अनि बर्गर हाउस कब्जाको रहस्यमय कथा! ‘गोरी मेम’सँगको चक्करले घरवार चिलिमको क्रम सुरु! आफ्नै नामको फाउन्डेसन खोली अर्थ संकलनको धन्धा सुरु गरेपछि उनको संकास्पद गतिविधिबाट बिदेशी साथीभाई टाढिने क्रम सुरु! रहस्यमय तरिकाबाट नेपाल फिर्तिपछिको गतिविधि त ग्वालाले दुधमा पानी मिसाएझै छर्लङ्ग छ!
तालु रन्कियो! भाइ फटाहा हो भन्ने हरिशरण देखि रविकथा फलाक्ने सहपाठी कालिचरणको कुराले नौनारी गल्यो!
हुँदै हैन, हुनैसक्दैन! अरुबाट यस्तो फट्याइँ भएको भए पत्याईन्थ्यो होला तर गर्ग ऋषिको सन्तान मेरो सिंघमबाट कदापि यस्तो हुनसक्दैन! उनी प्रतिको यस्ता कुरामा विश्वास त के शंका समेत गर्नु भनेको पनि जघन्य अपराध हुन्छ! हरिशरण फटाहा हो! त्यो काल्पनिक कथा सुनाउने सहपाठी भनाउँदो कालिचरण पनि फटाहा हो! घण्टी लामिछाने चम्किलो भ्रम हो भनेर स्याल हुँईया मच्चाउने त्यो अमेरिका भासिएको राजेश मिश्र झनै फटाहा हो!
मुलुकको कायापलट सम्भव छ! यहाँ रामराज्य स्थापना हुन्छ भने मेरै सिंघमको पहलबाट मात्र सम्भव छ! यिनै गर्ग गोत्रीय ब्राह्मणबाट मात्रै आशा र भरोसा छ! यिनले उहिले टिभीमा चिच्याएका र अहिले फलाकेका कुरा हुबहु लागू हुनेछन्! सुरुआत भैसकेको छ– बिदाको दिन नीजि गाडीमा पत्नी घुमाएको दृश्य टिभीमा आईसकेको छ! बसमा उभिएर यात्रा सुरु गरिसकेका छन्! भलै झोला सिपाहीलाई बोकाउन्!
निर्मलाको फाईल खुलिसकेको छ! कोईरी नदेखुन् उनी उनकै अगाडि निर्वाध घुम्लान् तर निर्मलाका हत्याराले यिनकै बाहुलीबाट हतकडी ग्रहण गर्छन्! कोईरीलाई पनि आँखाबाट कुईरो हटेपछि अवश्य देख्नेछन्! त्यसका लागि अर्को चुनावसम्म पर्खिनु पर्ने हुनसक्ला, त्यो तपसिलको कुरो हो! भ्रष्टको नाक भाँचिन्छ पक्का हो! अब त हल्दार नै काफी छ! हिलो सफा गर्न पसेका छन्! स्वाभाविक छ लेग्रे देखिन सक्छन्! भ्रष्ट सक्न उफ्रेका छन्! भ्रष्ट देखिनु स्वभाविकै हुनसक्छ! जड्याँहा तह लाउन जड्याँहा हुनु पनि पर्ने हुनसक्छ!
बिचरा, गर्दैछन् त! एक्लैले कति गरुन्? प्रेम आत्मदाह पछि ग्यालेनमा पेट्रोल बिक्री प्रतिवन्ध उनकै पहल हो! फेसबुकमा समवेदना लेखे! दुःख व्यक्त गरे! पीडित परिवार भेटे! राज्यमन्त्री आईसियु छिराएर भिडियो सार्वजनिकसम्म गरे! लागिपरेका छन् बिचरा! अरु गफाडी लिपुलेक ल्याउने गफ दिन्छन्! मेरो सिंघमले चाहेमा टिष्टा काङ्गडा नै फिर्ता ल्याउँछ!
तर दुर्भाग्य, यावत कुरा गर्न देखि नन्दप्रसादको सद्गत गर्ने र गंगामायालाई न्याय दिँदै हत्यारा तह लाउने उनको कल्पना र सोम शर्माको सपना एकै बनाईदियो अदालतले!
अब जागौं, उठौं! एक जुट हौं! ढिलो नगरौं!
विधि र न्यायिक परिधिभित्र आउने अदालतको आदेश विरुद्ध सम्पूर्ण मुलुकवासी एकजुट हौं! हाम्रो आशा विश्वास र भरोसाको प्रतीक सिंघम जोगाउन लागीपरौं! अरु कोहि लागुन् नलागुन् हामी गर्ग गोत्रीय ब्राह्मण त लाग्नैपर्छ! हामीले आज स्वयं सिंघमका रूपमा साक्षात गर्ग अवतार भेटेका छौं! उनको सम्वध्र्दन र संरक्षणमा लागौं! मुलुकले कोहिनुर चिनोस् नचिनोस्, हामीले चिन्नुपर्ने आवश्यकता छ! उनको अमरत्वका लागि देवघाटमा निर्माणाधीन गर्गाश्रम आसपास प्रतिमा निर्माण खातिर एक टुक्रा जमीनको जोहो गरिहाल्नु पर्छ!
गर्ग अवतार मेरो सिंघमको जय होस्!
प्रतिक्रिया