काठमाडौं। ट्याक्टरमा आगो लगाउने अपराध गरेका सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी आगजनीको आरोपमा पक्राउ परेका हुन्।
सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो। फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
अदालतको आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो। २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो।
ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए। उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए। चालक साजन चौधरीले उनीहरूले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए।
जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन्। जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर ग¥यो र उनीहरूलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर ग¥यो। ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६÷६ महिनाको दरले कैद सजाय तोकियो।
क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भयो। फैसला भएको एक दशकसम्म पनि आरोपितहरू फरार नै थिए। दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको प्रहरीले पत्ता लाएको थियो।
पक्राउ परेका चौधरीलाई आजै काठमान्डौ ल्याउने तयारी गरिएको छ।
प्रतिक्रिया