एउटा शीतल छाया
प्रेमले मुसार्दै बोल्यो
‘अझै काम सकिएन ?
के गर्न बाँकी छ ?
जाने बेला भएन ?’
फेरि अर्को आयो विकराल छाया
चिच्यायो छातीमा प्रहार गर्दै
‘उठ् !’
आत्मा काँप्यो थरथरी
मन रोयो धरधरी
हृदयमा बबण्डर उठ्यो
परन्तु यो काया उठ्न सकेन
फेरि गर्ज्यो ऊ
‘तेरो पाप र पुण्यको हिसाब बता
म उताको महालेखा परीक्षक हुँ !’
मेरा निरीह नयन थोरै उठे
निन्याउरो आवाज फुट्यो
यो सपना हो कि बिपना प्रभु ?
फेरि निर्दयी आवाज आयो
कर्कस अकरुण क्रूर
‘बाठो हुन्छ्स् ?
विधातालाई प्रश्न सोध्छस् ?
को होस् तँ रु नाम के हो ?’
म सञ्चित याद हुँ
म सुकेको आँसु हुँ
म विश्रान्त इन्द्रियको सुखाकांक्षा हुँ
दर्द लुकाउने चेष्टा हुँ
म अनाम हुँ
म गुमनाम हुँ
ऊ अलि नम्र भयो
‘यस्तो भवसागरमा मस्तसँग सुतिदिने ?’
मलाई पनि झोक चल्यो
भनिदिएँ
आँखा चिम्म गर्दैमा कोही निदाएको हुँदैन !
आँखा खुला हुँदैमा कोही जागा हुँदैन !
ऊ दयालु देखियो
‘के चाहन्छस् ?’
म सारा गोरखधन्दा छाड्न चाहन्छु
म सबै प्रपञ्च बिर्सन चाहन्छु
म शून्यमा शून्य हुन चाहन्छु प्रभु !
हो म प्रकृतिमा लीन हुन चाहन्छु
म सत्व रज र तमको साम्यावस्थामा
विलीन हुन चाहन्छु
म फेरी बिउँझिनु नपर्ने निद्राको आकांक्षी हुँ प्रभु !
म मोक्ष चाहन्छु
उसले भन्यो ‘तथास्थु
प्रकृतिस्थ भव !’
सपनाको विधाताले शिरमा शीतल जल छरिदियो
म खुसीमा झल्याँस्स भएँ
फेरि बिपनाको महालेखाको चर्को आवाज आयो
‘उठ् !
तँ गए सबै फोहोर को सोहोर्छ ?
तँ नरहे सबै कहर को व्यहोर्छ ?’
कुन बेला उठेर फोहोर सोहोर्न थालेँछु
पत्तै भएन
प्रतिक्रिया