प्रकृतिसँग एक प्याला कफी

म घुम्न जानभन्दा उनीसँगै बसेर 
कफी खान मन पराउँछु 
किनकि 
उनलाई सामुन्ने देख्न पाउँछु 
प्रत्यक्ष 
हरियो परिधिभित्र लुकेको अस्तित्व 
कोट्याएर हेर्नै नपर्ने 
तानेर छुनै नपर्ने 
चुम्बनले जुठो पार्नुको प्रयोजन छैन  
बेइमानीको गुन्जायस छैन 
सुन्दरताको कुनै केन्द्रबिन्दु छैन 
सुन्दरता पूर्णतामा छ 

एक विरागभित्रको अनुराग 
एक नि:स्वार्थ आध्यात्मिक आसक्ति 
जहाँ 
दैहिक मिलन अर्थ राख्दैन 
केवल मन पर्नुमा छ मस्ती 
जहाँ 
कहिले उनी पुरुष म प्रकृति 
कहिले म पुरुष उनी प्रकृति 
भौतिक सुखको क्षणिक उन्माद छैन 
केवल शब्दहरू छन् 
अव्यक्त सङ्गीतहरू गुञ्जायमान 
भित्र कहीँ वर्णनातीत अन्तस्तलमा 
कफीको घुट्की गलाबाट झरेको हेर्न पाए पुग्यो 
उनको श्वासप्रश्वासमा मन्द सर्किने त्यो घुम्टो 
सुकोमल हातले सरक्क सारेको देख्न पाए पुग्यो 
उनको मुस्कान र वासनाहीन पावन कामनामा 
मनकै दीप्ति मनकै तृप्ति
आरोप नलाग्ने अत्याचार 

यो जीवन 
एक प्याला कफी त हो 
तर 
पिउन नजाने बरबाद छ रे 
जिउन नजाने बेकार छ रे 
त्यसैले त 
आमुन्ने सामुन्ने बसेर 
आँखामा आँखा राखेर 
कहिले सलज्ज कहिले निर्लज्ज 
हातले नछोइकन आवरण नफोइकन 
ऊष्मायुक्त कफीको बाफको मात्र लेनदेन 
एउट अनुपम अद्भुत आध्यात्मिक प्रेम 
गहन मोहक स्पन्दन 
एक मनमोहन घुट्की 
चरम आनन्द 
आत्मा र परमात्मासँग तादात्म्य 
मुस्कानभरि दुई थोपा आँसु 
समस्त जीवनको सुखद समाहरण 
मानौं एक सुखान्त समाधि 
सच्चा जीवन 


 

प्रतिक्रिया