वन उपवनमा गुञ्जन कुञ्जन कोहो कोहो स्वरधारा
कोकिल डाला डाला उफ्री कोमल कलिकी सहचारा
प्रेम सुनौला नील सरोवर नर्तन सरगम सुख कारा
अकलुष कलरव सौरभ धारा मधुर मिलनको सुख सारा
दूत कपोत शान्ति प्रदायक गान्धी बराबर छन सारा
तितरित तितरित बोल्यो तित्रा नारद ऋषिका सुरधारा
कमिला चल्दछ पंक्ति पंक्तिमा कर्मयोगी झैँ नरनारा
कालीदास झैँ गाउँछ मैना लेख्दछ काव्य लिई चारा
उड्छ पवन त्यो सिर्सिर सिर्सिर चिर्बिर चरीका शुभकारी
छैन जाल क्यै छाल छालमा धार सुरम्य मनहारी
वाणी सुनहला स्यास्या स्यास्या बोल्छ शारिका मोहनका
भर्खर भर्खर धूप मनोहर बाँसघारीमा जीवनका
धूल धूसर त्यो मस्त बिरालो सुत्दछ तातो तातामा
कुक्कुर ढल्दछ जिब्रो निकाली अमन चयन छ हातामा
काग कराउँछ सुबोल सुबोला पात कदली हल्लाई
बोल्दछ ढुक्कुर कूर कूरमा अभय दियौ जय तिमीलाई
मुकुलित मुजुरा पल्लव हरिया सुन्दर जीवन जीव सारा
सङ्ला सङ्ला तनका सग्ला पाखण्डले हीन मन सारा
करुणा वैभव शैशव शैशव प्रेम प्रेमीका तन सारा
आध्यात्मिकता शब्द शब्दमा गास गासमा मह चारा
बालबालिका खेल्दै खेल्दै प्यारा मुनि झैँ हितकारी
बोल्दछ बालक हेर अगाडि खतरा मानिस बलकारी
मानिस बस्दछ जुन आँगनमा व्यर्थ छ जानु भयकारी
गाऊ पछाडि नाच पछाडि बाँच पछाडि जयकारी
प्रतिक्रिया